एड्स—यो महामारी अझै चर्किरहेको छ
करेन संयुक्त राज्यको पश्चिमी भागमा हुर्किन्बढिन्।a यहोवाको साक्षी भएकी हुँदा उनले सानैदेखि उच्च नैतिक स्तर कायम गर्दै आएकी थिइन्। सन् १९८४ मा २३ वर्षकी हुँदा उनले बिलसित विवाह गरिन् र बिल यहोवाको साक्षी भएको दुई वर्ष मात्र भएको थियो। उनीहरूका एक छोरा र एक छोरी भए।
सन् १९९१ सम्म तिनीहरूबीचको प्रेम प्रगाढ भइसकेको थियो र तिनीहरू सन्तुष्ट तथा सुखी थिए। त्यसै सालको अन्ततिर बिलको जिब्रोमा देखिएको सेतो टाटा निकै भएन। त्यसैले तिनी डाक्टरकहाँ जचाउन गए।
त्यसको केही समयपछिको कुरा हो, करेन र बच्चाहरू बगैंचामा सुकेका पातहरू बटुल्दैथिए। घरबाहिरको खुड्किलोमा टुसुक्क बसेका बिलले करेनलाई आफूसँगै बस्न बोलाए। तिनले करेनलाई अँगालो हालेर आँखाभरि आँसु पार्दै तिनी उनलाई माया गर्छन् र उनीसित सधैंभरि बाँच्न चाहन्छन् भने। त्यसोभए आँसु किन त? किनभने डाक्टरले बिल एड्स रोगको जीवाणु एच आइ भी-द्वारा संक्रमण भएको हुनसक्ने शंका व्यक्त गरे।
सम्पूर्ण परिवारको स्वास्थ्य परीक्षण गरियो। बिल र करेन दुवैलाई रोगले छोइसकेको थियो। यहोवाका साक्षी हुनुभन्दा अघि नै बिल संक्रमित भइसकेका थिए र तिनी मार्फत करेनलाई पनि रोग सऱ्यो। बच्चाहरूलाई भने संक्रमण भएको थिएन। त्यसको तीन वर्षभित्र बिलको मृत्यु भयो। करेन भन्छिन्: “आफूले माया गरेको र जिन्दगीभर सँगै बिताउने इच्छा गरेको ह्याण्डसम मानिस सुकेर हाड र छाला मात्र बाँकी भएको हेर्नु पर्दा मलाई यस्तो लाग्यो भनेर वर्णन गर्ने शब्दहरू नै छैनन्। धेरै रातहरू त रोएरै बिताएँ। हाम्रो विवाहको दसौं वार्षिकोत्सवभन्दा तीन महिनाअघि बिलको मृत्यु भयो। तिनी असल बुबा र असल पति थिए।”
आफ्नो पतिजस्तै उनको पनि चाँडै मृत्यु हुनेछ भनी डाक्टरले भनेका थिए तर धन्न, अहिलेसम्म उनी जीवितै छिन्। उनलाई एड्स संक्रमणको प्रारम्भिक चरणले छोइसकेको छ।
अहिले एच आइ भी/एड्स-द्वारा पीडित तीन करोड मानिसहरूमध्ये करेन एउटा उदाहरण हुन्। त्यो संख्या, अस्ट्रेलिया, आयरल्याण्ड तथा पाराग्वेको कुल जनसंख्याभन्दा बढी छ। आँकडाअनुसार अफ्रिकामा दुइ करोड १० लाख मानिसहरू यो रोगको सिकार भएका छन्। संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार २१ औं शताब्दीको सुरुसम्म त्यो संख्या बढेर चार करोड पुग्ने सम्भावना छ। सं रा-को एउटा प्रतिवेदनअनुसार एड्स रोग इतिहासकै सबैभन्दा ठूलो महामारी साबित भएको छ। विश्वभरि १५ देखि ४९ वर्षबीचका वयस्कहरूमध्ये हरेक १०० जनामा १ जना एच आइ भी-बाट संक्रमित भएको पाइन्छ। यसमा १० जनामध्ये १ जनालाई मात्र आफूलाई संक्रमण भएको थाह छ। अफ्रिकाका कुनै कुनै ठाउँहरूमा २५ प्रतिशत वयस्कहरूलाई संक्रमण भइसकेको छ।
सन् १९८१ मा महामारी सुरु भएदेखि एक करोड १७ लाख मानिसहरू एड्स रोगले मरिसकेका अनुमान छ। सन् १९९७ मा मात्रै २३ लाख मानिसहरूको मृत्यु भयो भन्ने अनुमान गरिन्छ। यस्तो अवस्थाको बावजूद एड्सविरुद्ध संघर्षमा आशावादी हुन सकिने नयाँ कारणहरू छन्। गत केही वर्षहरूको तथ्यांक हेर्ने हो भने सम्पन्न राष्ट्रहरूमा नयाँ एड्स रोगीहरूको संख्यामा कमी आएको छ। साथै, प्रभावशाली औषधीहरूले सुस्वास्थ्य तथा लामो आयुको आशा प्रदान गरेको छ।
तपाईं एड्सबाट कसरी बच्न सक्नुहुन्छ? यसको उपचार तथा खोपको क्षेत्रमा भएका नयाँ प्रगति के के हुन्? के यो रोग कहिल्यै निर्मूल होला? यी प्रश्नहरूको जवाफ यसपछिका लेखहरूमा दिइनेछन्।
[फुटनोट]
a नाउँ परिवर्तन गरिएका छन्।