एड्स भविष्यको लागि के आशा?
एच आइ भी संक्रमण रोक्न वा निको पार्न नसक्नुको कारण औषधीको कमी मात्र होइन, अरू कारणहरू पनि छन्। एउटा कारण हो, मानिसहरू आफ्नो जीवनशैली परिवर्तन गर्नुको साटो संक्रमण हुने खतरा मोल्न इच्छुक छन्। उदाहरणका लागि, संयुक्त राज्यमा एड्सले पूर्णग्रसित मानिसहरूको संख्यामा कमी आए तापनि संक्रमण दरमा कमी आएको छैन। “थुप्रै मानिसहरू रोकथामसम्बन्धी चेताउनीहरू पालन गर्न अनिच्छुक” भएकाले पनि हो भनी एसोसिएटेड प्रेस बताउँछ।
एच आइ भी-द्वारा संक्रमितमध्ये ९३ प्रतिशत संसारको विकासोन्मुख राष्ट्रहरूमा बसोबास गर्छन् र यो रोग नियन्त्रण गर्न अन्य थप समस्याहरू पनि सामना गर्नुपर्छ। प्रायजसो यी देशहरू असाध्यै गरिब छन् र आफ्ना जनताहरूलाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गर्न सक्दैनन्। ती प्रायजसो मुलुकहरूमा नयाँ औषधीहरू उपलब्ध छैनन् तर भएकै खण्डमा पनि यसको उपचारमा वर्षभरि खर्च हुने रकम थुप्रै मानिसहरूले जिन्दगीभर कमाउन सक्नेछैनन्!
यद्यपि, मानि लेऔं—रोगलाई साँच्चै निको पार्ने नयाँ, सस्तो औषधी तयार पारियो। औषधी चाहिएका जति सबैले पाउलान् त? पाउँछन् नै भन्ने छैन। संयुक्त राष्ट्र संघको बालकोषअनुसार (युनिसेफ) हरेक वर्ष ४० लाख बालबच्चाहरू विभिन्न पाँच प्रकारका रोगले मर्छन् जुन सस्तो, उपलब्ध खोपद्वारा रोकथाम गर्न सकिन्थ्यो।
उपचारको लागि औषधी पाउन नसक्ने मुलुकमा बसोबास गरिरहेका संक्रमित मानिसहरू नि? क्यालिफोर्निया, सान्टा क्रुजस्थित अन्तरराष्ट्रिय स्वास्थ्य कार्यक्रमका रूथ मोटाले थुप्रै विकासोन्मुख राष्ट्रहरूमा एच आइ भी रोकथाम तथा उपचार कार्यक्रमहरूको प्रबन्ध मिलाएकी छिन्। उनी भन्छिन्: “मेरो आफ्नै अनुभवबाट के थाह पाएकी छु भने सकारात्मक मनोवृत्ति राख्नु औषधोपचार उपलब्ध हुनु जत्तिकै महत्त्वपूर्ण छ। एच आइ भी-ले संक्रमित भएर कुनै औषधोपचार नगरी बाँचिरहेको १०/१५ वर्ष भइसकेका मानिसहरू पनि मैले देखेको छु। औषधीहरूले फाइदा गर्छन् तर निको पार्नु भनेको शरीरमा रासायनिक तत्त्वहरू हाल्नु मात्र होइन। यसमा मनोवृत्ति, सामाजिक सहयोग, आध्यात्मिकता र पोषण सबै बिथोलित छन्।”
समाधान अवश्य हुनेछ
एड्स कुनै दिन निर्मूल होला भनेर विश्वास गर्ने के कुनै कारण छ? अवश्य। यसको सर्वोत्तम आशा थुप्रैले प्रभुको प्रार्थना वा हाम्रो पिता भनेर चिन्ने प्रार्थनामा पाइन्छ। बाइबलको पुस्तक मत्तीमा उल्लिखित उक्त प्रार्थनामा हामी परमेश्वरको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पनि होस् भन्छौं। (मत्ती ६:९, १०) मानिसहरूलाई सधैंभरि रोगबिमारले पिरोलोस् भन्ने परमेश्वरको इच्छा होइन। परमेश्वरले त्यो प्रार्थनाको जवाफ दिनुहुनेछ। उहाँले मानिसजातिलाई पिरोल्ने एड्स मात्र होइन तर अरू सबै प्रकारका रोगहरूको अन्त गर्नुहुनेछ। त्यसपछि “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.
त्यतिञ्जेल सर्वोत्तम उपाय रोकथाम गर्नु हो। धेरैजसो रोगहरूको दुइटा उपाय हुन्छ: रोकथाम गर्ने वा निको पार्ने। एच आइ भी-को भने त्यस्तो कुनै विकल्प छैन। यसको रोकथाम गर्न सकिन्छ तर हाललाई भने यसको कुनै उपचार छैन। आफ्नो जीवनलाई संकटमा पार्ने खतराहरू किन मोल्ने? रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेस हो।
[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]
“निको पार्नु भनेको शरीरमा रासायनिक तत्त्वहरू हाल्नु मात्र होइन। यसमा मनोवृत्ति, सामाजिक सहयोग, आध्यात्मिकता र पोषण सबै बिथोलित छन्।” —रूथ मोटा
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
“मण्डली गजबको थियो”
प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) करेन र बिल एच आइ भी रोगी हुन् भनी थाह पाएपछि यहोवाका साक्षीहरूको स्थानीय मण्डलीले कस्तो प्रतिक्रिया देखाए भनी सुरुको लेखमा उल्लिखित करेनकी आमा बताउँछिन्। उनी भन्छिन्: “मण्डली गजबको थियो। बिललाई निमोनिया हुँदा करेन पनि बिरामी भएकीले बिल तथा छोराछोरीको हेरचाह गर्न धौ-धौ परिरहेको थियो। भाइहरूले उनीहरूको घर सफा गर्ने, गाडी मर्मत गर्ने र लुगाफाटाहरू धुने जस्ता सारा काम गरिदिए। कानुनी मामिलाहरू मिलाउन तथा अर्को घरमा सर्न पनि मदत गरे। उनीहरूको परिवारको लागि खानेकुरा किन्ने तथा पकाउने पनि गरिदिए। त्यो परिवारलाई चाहिएको भावनात्मक, आध्यात्मिक तथा भौतिक सहयोगको साँच्चै प्रबन्ध गरिदिए।”
[पृष्ठ ८-मा भएको चित्र]
पति र पत्नीप्रतिको वफादारीले एच आइ भी संक्रमण रोक्न सकिन्छ