युवा जनहरू सोध्छन् . . .
टाढाको मान्छेसित माया बस्यो भने त्यसलाई कसरी कायम राख्ने?
“म यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा भेला हुन आएका प्रतिनिधिहरूको एउटा समूहलाई तिनीहरू बसेको होटेलमा भर्खरै पुऱ्याएर आएको थिएँ। तिनीहरूलाई पुऱ्याएर घर फर्कनै लागेको बेला अर्को एउटा समूह पनि त्यहीं आइपुग्यो। म पनि रोकिएर तिनीहरूसित कुरागर्न थालें र त्यहाँ अडेटलाई भेटें। अर्को हप्ता पनि हाम्रो आँखा जुध्न पुग्यो। हामीले एक अर्कालाई पत्र लेख्ने निधो गऱ्यौं र दुई वर्षसम्म चिठीबाट चिनजान भएपछि हामी दुईबीच रोमान्स सुरु भयो।”—टोनी।
अहिले संसार साँघुरिंदै गइरहेको छ। बितेका केही दशकहरूमा हवाई यातायातको मूल्यमा आएको कमी, अन्तरराष्ट्रिय टेलिफोन सेवा, द्रुत हुलाक सेवा साथै इन्टरनेट सेवाले रोमान्सको दुनियाँमा नयाँ आयाम थपेको छ। थुप्रै कुराहरूले गर्दा सयौं, हजारौं किलोमिटर पार हुने रोमान्सलाई कायमै राख्नु रहरलाग्दो देखिनसक्छ—अझ विशेषगरि आफू बस्ने ठाउँमा भनेजस्तो केटा वा केटी पाइँदैन भने, त्यसो गर्नु झनै रहरलाग्दो हुनसक्छ।
केही दम्पत्तिहरूको लागि टाढाको मान्छेसित रोमान्स गर्नु आशिषै साबित भएको छ। टोनी भन्छन् “हामीले विवाह गरेको १६ वर्ष भइसकेको छ,”। यस्तो रोमान्सले अनावश्यक शारीरिक आकर्षणमा नपरिकन एक अर्कालाई चिन्ने मदत गर्छ भन्ने कसैकसैको दाबी छ। तथापि, टाढाको मान्छेसित गरिने रोमान्समा जस्तोसुकै लाभ भए तापनि सामना गर्नुपर्ने केही विशेष किसिमका चुनौतीहरू पनि छन्।
एकअर्कालाई चिन्ने
तपाईंले विवाह गर्न चाहनुभएको व्यक्तिलाई जतिसक्दो राम्ररी चिन्नु अत्युत्तम कुरा हो। तथापि, “वास्तविक व्यक्ति अर्थात् ‘हृदयको त्यो गुप्त मानिस’ चिन्न गाह्रो हुन्छ,” भन्दै फ्रान्क नाम गरेको पति आफ्नो अनुभव सुनाउँछन्। (१ पत्रुस ३:४) टाढाको मान्छेसित रोमान्स गर्ने अर्को मसीही डगले यसरी स्वीकारे: “अहिले ती कुराहरूलाई सम्झँदा हामीले त एक अर्कालाई राम्ररी चिनेकै रहेनछौं भन्ने म महसुस गर्छु।”
सयौं, हजारौं किलोमिटर टाढा बस्ने मान्छेलाई चिन्नु के साँच्चै सम्भव छ? छ, तर यसको लागि कडा परिश्रम गर्नुपर्छ। डग भन्छन्, “फोन गर्न हामीसित पैसा पुग्दैनथ्यो त्यसैले हप्ताको एकचोटि चिठी लेख्थ्यौं।” तथापि, जोआन र फ्रान्क चिठी लेख्नुमात्र पर्याप्त छैन भन्छन्। जोआन भन्छिन्, “हामी पहिला चिठी लेख्ने गर्थ्यौं अनि पछि फोनमै कुरा गर्ने प्रयास गऱ्यौं। तर पछि फ्रान्कले मलाई एउटा सानो टेप रिकर्डर पठाइदियो। अनि हामीले प्रत्येक हप्ता एउटा नयाँ टेप आदानप्रदान गर्न थाल्यौं।”
इमानदारी, एक मात्र तरिका
कुराकानी गर्ने जस्तो सुकै तरिका अपनाएपनि इमानदार हुनु जरुरी छ। मसीही पत्नी एस्तर भन्छिन्, “झूट बोल्नुभयो भने, सच्चाइ पछि अगाडि आउनेछ र तपाईंहरूको सम्बन्धलाई असर पार्नेछ। एक अर्कासित इमानदार हुनुहोस्। आफैसित पनि। कुनै विषयमा चित्तबुझेको छैन भने छिट्टै कुरा गरिहाल्नुहोस्। छलफल गर्नुहोस्।” प्रेरित पावल एफिसी ४:२५ मा यस्तो राम्रो सल्लाह दिन्छन्: “हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल।”—हिब्रू १३:१८ तुलना गर्नुहोस्।
तपाईंले छलफल गर्नैपर्ने केही विषयहरू के के हुन्? हरेक प्रेमी-प्रेमीकाहरूले लक्ष्य, छोराछोरी, घर खर्च र स्वास्थ्यसम्बन्धी विषयहरू छलफल गर्नु आवश्यक छ। तथापि, विशेष ध्यान पुऱ्याउनु पर्ने अरू कुराहरू पनि छन्। उदाहरणका लागि, तपाईं दुईमध्ये एक वा दुवैले विवाह पश्चात् आफ्नो घर अनि आफ्नो देश छोड्नुपर्ला। के तपाईं मानसिक तथा भावनात्मक तवरमा त्यसो गर्न इच्छुक अनि सक्षम हुनुहुन्छ? हुनुहुन्छ भनेर कसरी थाह पाउने? के तपाईं कहिल्यै लामो समयसम्म आफ्नो परिवारबाट छुट्टै वा टाढा रहनुभएको छ? जोआनको हुनेवाला पति, तिनले पनि आफूसितै मिलेर वाचटावर सोसाइटीको मुख्यालयमा स्वयंसेवा गरोस् भन्ने चाहन्थे। तिनी सम्झन्छिन्, “सानो कोठा, थोरै पैसामा गुजारा गर्न सक्छ्यौ भनेर उहाँले मलाई सोध्नुभएको थियो। यस विषयमा हामीले राम्ररी छलफल गर्नुपरेको थियो।”
यदि तपाईंको रोमान्स अन्य देशको व्यक्तिसित चलिरहेको छ भने के उसको संस्कृतिसित भिज्न सक्नुहुन्छ? “के तपाईं दिनानुदिन एक अर्काको संस्कृतिबाट आनन्द उठाउन सक्नुहुन्छ?” फ्रान्क सोध्छन्। “यस्तो महत्त्वपूर्ण विषयहरूबारे तपाईंहरूको सुरुका भेटघाटमै कुरा गर्नुहोस्। आफ्नो भावना वा थुप्रै पैसा खर्च गर्नु अघि नै यी कुरा जान्नु बेस हुन्छ।” हो, बेग्लै संस्कृतिसित भिजेर दिनानुदिन जीवन बिताउनु केही दिनको पर्यटक हुनुजस्तो होइन। तपाईंले अर्को भाषा सिक्नुपर्ला कि? आफ्नो रहनसहनमा आउने ठूलो भिन्नताको सामना गर्न के तपाईं तयार हुनुहुन्छ? अर्कोतिर, तपाईं त्यस व्यक्तिसितभन्दा पनि तिनको संस्कृतिसित पो धेरै मोहित हुनुभएको छ कि? त्यस्तो मोह छ भने अवश्य पनि एकदिन बिलाएर जानेछ। नबिर्सनुहोस्, विवाहले दुई जनालाई सधैंभरिको लागि बन्धनमा बाँध्छ।—मत्ती १९:६.
टोनी यसो भन्छन्: “म अर्कै ठाउँमा बस्ने एक जना केटीलाई चिन्छु जसले क्यारिबियनको केटासित बिहे गरिन्। तर तिनले त्यहाँ जीवन बिताउनु निकै कठिन रहेछ भन्ने अनुभव गरिन्। टापुको चर्को गर्मी सहन नसक्नुका साथै घरी घरी विरामी भइरहन्थिन्। बेग्लै प्रकारको खाना खानु पर्दा त आफ्नो परिवारलाई झन् झल्झली सम्झिन थालिन्। यसकारण, तिनीहरु दुवैले केटीको देशमा सुखी जीवन बिताउने प्रयास गरे। तर लोग्नेचाहिंलाई त्यहाँको जीवनशैली अति भौतिकतावादी लाग्यो, आफ्नै परिवार अनि छिमेकीहरूबीच अनुभव गरेको आत्मियताबाट तिनी बञ्चित भए। अहिले तिनीहरू छुट्टिएर आ-आफ्नै देशमा जीवन गुजारिरहेछन्। तिनीहरूका दुई छोराछोरी आमाबाबुको माया अनि संरक्षणबाट बञ्चित हुनुपऱ्यो।”
टाढाको, त्यसमाथि पनि अर्कै संस्कृतिको मान्छेसित विवाह गर्दा झनै चुनौतीहरूको सामना गर्नुपर्छ। के तपाईं यातायात अनि संचार माध्यमहरूको लागि लाग्ने खर्च बेहोर्न सक्नुहुन्छ? लिडिया सम्झन्छिन्: “फोनको बिल निकै चर्को भयो त्यसैले बिहे गर्नुपऱ्यो भनेर फिल ठट्टा गर्थे, तर अहिले मेरी आमालाई फोन गर्न हामीले धेरै पैसा खर्च गरिरहनु परेको छ!” अनि छोराछोरी जन्मेपछि नि? केही केटाकेटीहरू आफ्ना नातेदारहरूबारे अजान हुन्छन्, यहाँसम्म कि भाषा नबुझ्ने हुनाले फोनमा कुरा गर्न समेत सक्दैनन्! यसको अर्थ समस्याहरू समाधान गर्नै सकिन्न भनेको होइन। तर त्यस्तो विवाह बन्धनमा बाँधिनुअघि आफूले खर्चहरूको हिसाब गर्नुपर्छ।—लूका १४:२८ तुलना गर्नुहोस्।
ऊ साँच्चै कस्तो खालको व्यक्ति हो?
तपाईंको साथी खुलस्त अनि निष्कपट छ भनेर कसरी थाह लगाउने? मत्ती ७:१७ भन्छ, “हरेक असल रूखले बढ़िया फल फलाउँछ।” त्यसैले उसको काम कस्तो छ? के उसको भनाइ र गराइ एउटै छ? उसका भावी योजनाहरू पूरा गर्न के उसले अहिले केही गरिरहेको छ? एस्तर वर्णन गर्छिन् “सबैभन्दा पहिला हामीले एकअर्काका आध्यात्मिक लक्ष्यहरूबारे थाह लगायौं।” “तिनले आठ वर्षदेखि पूर्णसमय प्रचारकको सेवा गरिरहेकाले त्यो कामलाई विश्वासीपूर्वक निरन्तरता दिन चाहन्छु भन्दा मलाई विश्वास लाग्यो।”
तर, तपाईंले मन पराउनुभएको व्यक्तिले खुलस्त कुरा गरेजस्तो लागेन भने नि? जेपर्ला पर्ला भनेर बेवास्ता नगर्नुहोस्। कोट्याउनुहोस्! किन थाह छ? हितोपदेश यसो भन्छ: “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितोपदेश २०:५) अर्को हितोपदेश यस्तो चेतावनी दिन्छ, “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यक्तालाई बुझ्छ।”—हितोपदेश १४:१५.
आमने सामने
तर जे नै भने पनि चिठी वा फोनबाट थुप्रै कुरा जान्न सकिंदैन। चाखलाग्दो कुरा प्रेरित यूहन्नाले आफ्ना मसीही भाइहरूलाई थुप्रै चिठीहरू लेखे। यी चिठीहरूले तिनीहरूबीचको सम्बन्ध बलियो बनाउन निकै मदत गरे तापनि तिनले भने: “तिमीहरूलाई धेरै कुरा लेख्नुछ, तर कागज र मसीले ती लेख्न म चाहन्नँ। तर तिमीहरूको आनन्द पूरा होस् भनी म तिमीकहाँनै आउने र मुखामुख भएर कुरा गर्ने आशा गर्छु।” (२ यूहन्ना १२) एकअर्कासित भेटेर समय बिताउनु जस्तो राम्रो कुरा केही हुन सक्दैन। तपाईंहरू अझ नजिक हुन दुईमध्ये एकले केही समयको लागि ठाउँ सर्नु बेस हुनेछ। यसो गर्दा सर्ने व्यक्तिले आफ्नो भावी घरको हावापानी अनि रहनसहनको अनुभव पनि गर्न सक्छन्।
तपाईंहरू दुवैले सँगसँगै बिताउने क्षणहरूको राम्रो उपयोग कसरी गर्न सक्नुहुन्छ? एकअर्काका गुनहरू झल्किने कार्यहरू गर्नुहोस्। सँगै बसेर परमेश्वरको वचन अध्ययन गर्नुहोस्। मण्डलीका सभाहरूमा र क्षेत्र सेवकाईमा एक अर्काको साथ दिनुहोस्। घरको सरसफाइ अनि किनमेलजस्ता दिनहुँ गर्नुपर्ने घरायसी कामकाज मिलेर गर्नुहोस्। व्यस्त तालिका हुँदा तपाईंको साथीले कस्तो प्रतिक्रिया व्यक्त गर्छ भनी निरीक्षण गर्दा धेरै कुरा जान्न सकिन्छ।a
तपाईंका सम्भाव्य सासू ससुरा आदिसित समय बिताउनु पनि बेस हुनेछ। तिनीहरूसित राम्रो सम्बन्ध स्थापित गर्ने प्रयास गर्नुहोस्। जे भए पनि, तपाईं दुईको विवाहपछि तिनीहरू तपाईंकै परिवार हुनेछन्। के तपाईं तिनीहरूलाई चिन्नुहुन्छ? के तपाईं तिनीहरूसित मिल्न सक्नुहुन्छ? जोआन सुझाउ दिन्छिन्: “सम्भव भए दुवै परिवारको भेटघाट हुनु राम्रो हो।” टोनी अझ थप्छन्: “आफ्नो परिवारसित तिनी जस्तो व्यवहार गर्छन् तपाईंसित पनि त्यस्तै व्यवहार गर्नेछन्।”
आमने सामने भेट्दा वा फोन अनि चिठीबाट कुरा गर्दा नै किन नहोस् हतारमा निर्णय नगर्नुहोस्। (हितोपदेश २१:५) यदि तपाईं दुईको विवाह सफल हुनसक्छ जस्तो देखिंदैन भने छुट्टिने हो कि भनेर सल्लाह गर्नु बुद्धिमानी हुनेछ। (हितोपदेश २२:३) अर्कोतिर, सायद त्यसो नगरी खुलेर, इमानदार भई वार्तालाप गर्दा पनि समस्या समाधान हुनसक्छ।
टाढाको मान्छेसित रोमान्स गर्नु असाध्य गाह्रो काम हो तर यो इनामदायी पनि हुनसक्छ। जे भए पनि, यो गम्भीर विषय हो। समय लगाउनुहोस्। एक अर्कालाई चिन्नुहोस्। अनि, तपाईंहरू विवाह गर्ने निष्कर्षमा पुग्नुभयो भने तपाईंहरूको रोमान्स खेर जानेछैन बरु अविस्मरणीय क्षण साबित हुनेछ।
[फुटनोट]
a रोमान्सबारे अझ बढी जानकारी हासिल गर्न वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकको पृष्ठ २५५-६० हेर्नुहोस्।
[पृष्ठ २५-मा भएको चित्र]
आफ्ना लक्ष्य तथा छोराछोरी अनि घरखर्च जस्ता विषयहरूमा सम्बन्ध बढाउनुभन्दा पहिला नै छलफल गर्नुहोस्