प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ pp. २१-२३
  • अरूले जिस्क्याउँछन्‌ मात्र, के गर्ने होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूले जिस्क्याउँछन्‌ मात्र, के गर्ने होला?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरू किन खिसी गर्छन्‌
  • आफ्नो पक्षमा खडा हुने
  • बोल्नुहोस्‌
  • जाँचिएको विश्‍वास बलियो हुन्छ
  • मसीही युवक-युवतीहरू विश्‍वासमा दह्रो हुनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • युवाहरू हो–यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • स्कूलका साथीहरूलाई कसरी प्रचार गर्ने होला?
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ pp. २१-२३

युवा जनहरू सोध्छन्‌ . . .

अरूले जिस्क्याउँछन्‌ मात्र, के गर्ने होला?

आफ्ना साथीहरूभन्दा भिन्‍न व्यवहार गर्ने वा लुगा लगाउने जवानहरू क्रूर गिल्लाको सिकार हुनसक्छन्‌। यस्तो व्यवहार मसीही जवानहरूले पनि अनुभव गर्छन्‌ किनभने प्रायजसो तिनीहरूको आचरण अन्य जवानहरूको भन्दा फरक हुन्छ। आफ्ना साँचो अनुयायीहरूबारे ख्रीष्टले के यसो भन्‍नुभएन र: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।”—यूहन्‍ना १५:२०.

यसबाट यहोवाका जवान साक्षीहरू कसरी प्रभावित हुन्छन्‌? तिनीहरूमध्ये कसै कसैलाई केही बिदाहरू नमनाएकोमा गिल्ला गर्छन्‌ भने कसैलाई झन्डा सलामी नगरेकोमा जिस्काउँछन्‌। तिनीहरूमध्ये कसै कसैलाई त लागू पदार्थ सेवन नगरेकोमा, इमानदार भएको र बाइबलको उच्च नैतिक स्तरहरू पालन गरेको कारण समेत हैरान गर्छन्‌।

यस्ता परिस्थितिहरू कुनै नयाँ कुरा होइन। वास्तवमा प्रथम शताब्दीका मसीहीहरूलाई प्रेरित पत्रुसले यसो भने: “ज्यादै उपद्रवहरूमा तिमीहरू [संसारका मानिसहरूसित] . . . लागेनौ भनेर तिनीहरू ताजुब भएका छन्‌, र तिमीहरूका खराबी बोल्दछन्‌।” (१ पत्रुस ४:४) अन्य अनुवादहरूमा यसो भनिएको छ, “तिनीहरूले अनेक नाउँ बोलाउने छन्‌” (नक्स) वा “तिनीहरूले अपमान गर्छन्‌।”—टुडेज इंग्लिस भर्सन।

के तपाईंले कहिल्यै आफ्नो धार्मिक विश्‍वासको कारण गिल्ला खप्न परेको छ? छ भने निरुत्साहित नहुनुहोस्‌। यस्तो गिल्ला तपाईंले मात्र खप्न परेको होइन! आफ्नो विश्‍वासको कारण गिल्लाको पात्र हुँदा गाह्रो भए तापनि तपाईंले कसरी सहने भनी सिक्न सकिन्छ भनेर थाह पाउँदा तपाईं आनन्दित हुनुहुनेछ।

तिनीहरू किन खिसी गर्छन्‌

आफ्नो भन्दा भिन्‍न विश्‍वास तथा आचरण भएका व्यक्‍तिहरूको किन कसै कसैले खिल्ली उडाउने गर्छन्‌? अक्सर जिस्क्याउने व्यक्‍तिहरू दादागिरीहरूले जस्तै असुरक्षित महसुस गर्छन्‌। साथीहरूको अगाडि आफ्नो छवि राम्रो बनाउन तिनीहरूले तपाईंलाई जिस्क्याउँने गर्छन्‌। अनि तिनीहरू एक्लै हुँदा चाहिं तपाईंलाई जिस्काउन वास्तै नगर्ने वा आँट समेत नगर्ने हुनसक्छन्‌।

अर्कोतर्फ केही गिल्ला गर्नेहरू पत्रुसले भनेझैं “ताजुब” भएका छन्‌। हो, तिनीहरू तपाईंको व्यवहार देखेर साँच्चै अलमल्लमा परेको हुनसक्छन्‌। उदाहरणका लागि, तपाईं यहोवाका साक्षी हुनुहुन्छ भने तपाईंले केही खास बिदाहरूसित सम्बन्धित गतिविधिहरूमा किन भाग नलिएको होला भनी छक्क परिरहेका हुनसक्छन्‌। तिनीहरूले केही कट्टर विरोधीहरूबाट साक्षीहरूबारे गलत जानकारी पनि पाएका हुनसक्छन्‌।

कारण जेसुकै होस्‌, तपाईं हाँसोको पात्र हुँदा तपाईं बाइबलको निम्न हितोपदेशसित सहमत हुनुहुनेछ होला: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” (हितोपदेश १२:१८) तर स्मरण रहोस्‌ तपाईंको खिल्ली उडाउनुको कारण तपाईं मन नपरेर नहुनसक्छ। यसबाहेक, बाइबल हितोपदेशमा भनेझैं तिनीहरू “व्यर्थको गफ” गरिरहेका हुनसक्छन्‌।

तैपनि गिल्लाको पात्र हुँदा गहिरो चोट पर्नसक्छ। गिल्ला खप्न नसकेर तपाईंलाई कहिलेकाहीं विश्‍वासको सम्झौता गरूँ जस्तो समेत लाग्ला। त्यसोभए तपाईंले कसरी गिल्लाको सामना गर्न सक्नुहुन्छ?

आफ्नो पक्षमा खडा हुने

प्रेरित पत्रुसले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) आफ्नो विश्‍वासको पक्षमा बोल्न तपाईंले सही ज्ञान लिएर आफूले विश्‍वास गर्नुका कारणहरू बुझ्नुपर्छ।

तथापि, तपाईंले “गहिरो आदर” NW वा आधारभूत अंग्रेजीमा बाइबल-ले (अंग्रेजी) उल्लेख गरेझैं “घमण्डबिना” आफ्नो कुरा व्यक्‍त गर्न सिक्नुपर्छ। तपाईंसित भएको बाइबलको ज्ञान र यसका शिक्षाहरूको कारण अरूको अगाडि आफू श्रेष्ठ जस्तो देखाउनु हुँदैन। त्यसको विपरीत तपाईंले प्रेरित पावलको जस्तो मनोभाव विकास गर्न कोसिस गर्नुपर्छ जसले आफ्नो सेवकाईबारे यसो भने: “अझै धेरैलाई हात पारूँ भनेर मैले आफैलाई सबैका बन्धनमा पारें।”—१ कोरिन्थी ९:१९.

आफ्नो विश्‍वासबारे निर्धक्क भई बोल्न नसकेको महसुस हुन्छ भने निराश नहुनुहोस्‌। थुप्रै मसीही युवाहरूले त्यस्तै महसुस गरेका छन्‌। जमाल भन्छन्‌, “म सानो कक्षामा छँदा कुनै कुनै बिदाहरू किन नमनाएको वा झन्डा सलामी किन नगरेको वा म किन घरघर सेवकाईमा जान्छु भनेर राम्ररी भन्‍नै सक्दिन थिएँ।” तिनले कसरी मदत पाए त? “बुबाले मैले राम्ररी ती कुराहरूको कारण दिन नसकेसम्म मदत दिइरहनुभयो र अरूलाई बुझाउन सक्ने भएपछि यसले आकाश जमिनको फरक पाऱ्‍यो।” आफ्नो विश्‍वास अरूलाई बुझाउन गाह्रो लाग्छ भने सायद तपाईंले आमाबाबुको वा मसीही मण्डलीको कोही पाको सदस्यसित परमेश्‍वरको ज्ञान लिन मदत माग्न सक्नुहुन्छ।—एफिसी ३:१७ -१९.

स्कूलमा अरूसमक्ष बोल्न व्यक्‍तिगत बाइबल अध्ययनले मदत गऱ्‍यो भनी एक १६ वर्षीया केटी भन्छिन्‌। तिनी भन्छिन्‌: “म साक्षी भएकोले साथीहरूले जिस्क्याउँदा पहिला मलाई के भन्‍ने भनेर नै थाह हुँदैन थियो। तर अहिले पूर्ण-समय सुसमाचारकको हैसियतमा बाइबल धेरै अध्ययन गर्छु र पटापट जवाफ दिनसक्छु। प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरूका नवीनतम अंकहरू पढ्‌दा पनि आफ्ना सहपाठीहरूसित कुरा गर्न धेरै सजिलो भएको छ।”

निस्सन्देह, परिस्थितिहरू भिन्‍नाभिन्‍नै हुन्छन्‌। परिस्थितिअनुसार भिन्‍नाभिन्‍नै तरिका अपनाउनुपर्ने हुन्छ। तथापि, छुच्चो बोलीले गर्दा तपाईंको रिस उठेको छ भने पनि “खराबको बदला खराब” नगर्नु बेस हुन्छ। (रोमी १२:१७-२१) प्रतिउत्तर जति नै रसिक देखिए तापनि बलिरहेको आगोमा घिउ थप्नुजस्तो मात्र हुन्छ र झनै गिल्ला गर्नसक्छन्‌। तसर्थ कसै कसैले अपमानहरू गरिंदा त्यसमा ध्यानै नदिनु बेस हुने महसुस गरेका छन्‌।

कुनै कुनै अवसरमा ठट्टा गर्ने उद्देश्‍यले केही कुरा भनेका छन्‌ भने रिसाउनुको साटो उनीहरू सँगसँगै हाँस्नु पनि बेस हुनेछ। (उपदेशक ७:९) गिल्ला गर्नेले आफ्ना शब्दहरूले केही असर नगरेको देख्दा हैरान भएर जिस्काउन बन्द पनि गर्नसक्छन्‌।—हितोपदेश २४:२९ तुलना गर्नुहोस्‌; १ पत्रुस २:२३.

बोल्नुहोस्‌

तर कहिलेकाहीं यस्ता अवसरहरू पनि होला जहाँ तपाईंले आफ्नो विश्‍वासबारे सटीक जवाफ दिन सक्नुहुन्छ। एक १३ वर्षीया केटीले यसो गर्न कोसिस गरिन्‌ र असाध्यै राम्रो नतिजा हासिल गरिन्‌ । तिनी भन्छिन्‌: “म कक्षा कोठातिर जाँदै गर्दा केही विद्यार्थीहरूले यहोवाका साक्षीहरूबारे खिल्ली उडाउँदै थिए। मलाई बोल्न मन लागेको थियो तर तिनीहरू पन्छिए र मेरो ठट्टा उडाइरहे। तर एक जना विद्यार्थीले जिस्क्याएन।” साक्षी विद्यार्थी अझ यसो भन्छिन्‌: “जेमी नाउँ गरेकी केटीले तिनीसित तपाईं पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक भएको बताइन्‌।a तिनले त्यस पुस्तक सबैजसो पढिसकेकी र हाम्रो विश्‍वासबारे अझ बढी जानकारी प्राप्त गर्न इच्छुक भएकी बताइन्‌। मैले जेमीसित बाइबल अध्ययन गर्न थालें।” यस अनुभवबाट प्रोत्साहित भएर यस किशोरी साक्षीले अन्य जवानहरूसित पनि कुरा गर्न थालिन्‌। तिनी भन्छिन्‌, “चासो देखाएका चार सहपाठीहरू कहाँ म नियमित तवरमा जान्छु र तिनीहरूले अध्ययन थाल्ने छन्‌ भनी मलाई पक्का विश्‍वास छ।”

वर्षौंअघिको कुरा हो, अफ्रिकी देश लाइबेरियामा पनि एक विद्यार्थीले त्यस्तै अनुभव गरेका थिए। समाजशास्त्रको कक्षामा तिनले आफू यहोवाका साक्षी भएको कारण विकासवादमा नभई सृष्टिमा विश्‍वास गर्ने स्पष्टसित बताए। सुरुमा त तिनका थुप्रै सहपाठीहरूले आलोचना गरे। तर शिक्षकले तिनलाई आफ्नो विश्‍वासबारे कक्षालाई बताउने मौका दिए र त्यसपछि शिक्षकले जीवन—कसरी सुरु भयो? विकासवाद वा सृष्टिबाट?b (अंग्रेजी) पुस्तक लिए।

पुस्तक पढेपछि शिक्षकले कक्षामा यसो भने: “यस पुस्तकको बयान गरेर साध्य छैन। मैले अहिलेसम्म सृष्टिबारे पढेको विज्ञान पुस्तकहरूमध्ये सबैभन्दा राम्रो यही हो।” अनि शिक्षकले अर्को दुई सेमेस्टरमा अन्य पाठ्यपुस्तकहरू सँगसँगै उक्‍त पुस्तक पनि प्रयोग गर्ने बताए र अन्य विद्यार्थीहरूलाई साक्षी विद्यार्थीसित पुस्तक लेऊ भने। दर्जनौं पुस्तकहरू वितरण गरियो र यहोवाका साक्षीहरूप्रतिको विचारधारा थुप्रैको परिवर्तन भयो!

जाँचिएको विश्‍वास बलियो हुन्छ

हो, कहिलेकाहीं आफ्नो बाइबल विश्‍वाससित सहमत नहुने वा मूल्यांकन नगर्ने थुप्रो व्यक्‍तिहरू देखेर तपाईं तर्सनु होला। (भजन ३:१, २ तुलना गर्नुहोस्‌।) तसर्थ एउटै विश्‍वास भएकाहरूसित संगति गर्नु बुद्धिमानी हुनेछ। (हितोपदेश २७:१७) तर तपाईंको स्कूल वा छरछिमेकमा तपाईंको जस्तो विश्‍वास भएका जवानहरू छैन भने नि?

त्यस्तो हो भने, स्मरण रहोस्‌ तपाईंको सबैभन्दा महान्‌ मित्र यहोवा परमेश्‍वर हुनुहुन्छ र उहाँले तपाईंको मदत गर्न सक्नुहुन्छ। उहाँले शैतान अर्थात्‌ दियाबलको गिल्ला खप्नुभएको हजारौं वर्ष भइसक्यो। अतः तपाईं आफ्नो विश्‍वासमा दृढ हुनुभएको देख्नुहुँदा यहोवा औधी प्रसन्‍न हुनुहुनेछ। यस्तो मार्ग अपनाउँदा ‘उहाँको आलोचना गर्ने शैतानलाई मुखभरिको जवाफ दिन सक्नुहुनेछ।’—हितोपदेश २७:११.

हो, समय समयमा तपाईंको विश्‍वासको जाँच हुनेछ। (२ तिमोथी ३:१२) यद्यपि, प्रेरित पत्रसुले हाम्रो जाँचिएको विश्‍वास “नष्ट हुने सुनभन्दा ज्यादै किम्मती” हुन्छ भने। (१ पत्रुस १:७) तसर्थ, तपाईंको विश्‍वासको कारण कसैले गिल्ला गर्दा आफ्नो विश्‍वास बलियो पार्ने र धीरज प्रदर्शित गर्ने मौका ठान्‍नुहोस्‌। प्रेरित पावलले बताएअनुसार धीरजले “सदाचार” उत्पन्‍न गर्छ। (रोमी ५:३-५) हो, यहोवाको अनुग्रह प्राप्त गर्ने इच्छा गर्दा आफ्नो विश्‍वासको निम्ति गिल्ला खप्न बल पाउनुहुनेछ!

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २२-मा भएको चित्र]

के तपाईं आफ्नो विश्‍वासको पक्षमा खडा हुन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने