के तपाईं सधैंभरि बाँच्ने आशा गर्न सक्नुहुन्छ?
“मानिसको शरीरमा विभिन्न प्रक्रियाहरू हुन्छन् जसले गर्दा तिनीहरू ११५ देखि १२० वर्षसम्म बाँच्न सक्छन्। मानिसको आयुलाई केले निर्धारित गर्छ, त्यो हामीले थाह पाएका छैनौं” भनी कोष जीवविज्ञानका प्राध्यापक डा. जेम्स आर. स्मिथले टिप्पणी गरे। तसर्थ, “वैज्ञानिकहरूले मानिसको आयु बढाउन नसक्नु र केहीले यसबारे विचार पनि नगर्नु” कुनै अचम्मको कुरा होइन भनी जीवविज्ञानी डा. रजर गस्डन बताउँछन्। के मानिसको आयु बढाउन सकिन्छ?
“एकदमै महत्त्वपूर्ण प्रश्न” बुझ्ने
बुढ्यौली हटाउने धारणाहरू थुप्रै छन्। तापनि थुप्रै विशेषज्ञहरू अमेरिकाको वृद्धावस्थासम्बन्धी अध्ययनका संगठनका अध्यक्ष डा. जीन डी. कोहेनका यी कुराहरूसित सहमत हुन्छन्, “ती सबै उपायहरू हात्ती आयो, हात्ती आयो फुस्सा जस्तै भएको छ।” किन? यु.एस. न्यूज एण्ड वर्ल्ड रिपोर्ट-मा विज्ञानको लेखिका न्यान्सी शुट भन्छिन्, एउटा कारण “बूढाबूढी हुनु र त्यसको अपरिहार्य परिणाम, मृत्यु हुनुको कारण अझसम्म कसैले पनि बुझेको छैन। अनि कारण थाह नभई कुनै रोगको उपचार गर्नु हावामा तिर हान्नु बराबर हो।” डा. गोस्डन पनि बुढ्यौलीको कारण अझै रहस्यमय छ भन्दै यसो भन्छन्: “हामी सबैजना बूढा-बूढी हुन्छौं तर त्यसको मुख्य कारण भने रहस्य नै छ।” तिनी यस्तो टिप्पणी गर्छन्, “यो किन हुन्छ भन्ने महत्त्वपूर्ण प्रश्नलाई” कसैले पनि त्यति वास्तै गरेको छैन।a
स्पष्टतया, मानिसको दौडने, उफ्रने र डुबुल्की मार्ने क्षमताको सीमा भए जस्तै तिनीहरूको सोच्ने र तर्क गर्ने क्षमताको पनि सीमा छ। अनि “किन भन्ने एकदमै महत्त्वपूर्ण प्रश्न” मानिसको सोचाइ र तर्क गर्ने क्षमता बाहिरकै कुरा हो। यसकारण, जवाफ पाउने एक मात्र तरिका मानव बुद्धिभन्दा सर्वोच्च स्रोतको मदत खोज्नु हो। बुद्धिको पुरातन पुस्तक अर्थात् बाइबलले तपाईंलाई त्यस्तै गर्ने सुझाउ दिन्छ। सृष्टिकर्ता अर्थात् “जीवनको मूल[बारे]” बाइबलले हामीलाई यस्तो सान्त्वना दिन्छ: “तिमीहरूले उहाँलाई खोज्यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ।” (भजन ३६:९; २ इतिहास १५:२, नयाँ संशोधित संस्करण) त्यसोभए, परमेश्वरको वचन, बाइबलले मानिस मर्नुको मूल कारणबारे के बताउँछ?
मृत्युको मूल कारण
परमेश्वरले प्रथम दम्पतीलाई सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूको “हृदयमा अनन्तता पनि राखिदिनुभएको छ” भनी बाइबल हामीलाई बताउँछ। (उपदेशक ३:११, नयाँ संशोधित संस्करण) तथापि, सृष्टिकर्ताले मानिसहरूको पहिलो आमाबाबुलाई सधैं जिउने इच्छा मात्र दिनुभएन तर उहाँले तिनीहरूलाई सधैं जिउने मौका पनि दिनुभयो। तिनीहरूलाई सृष्टि गरिंदा तिनीहरूको शरीर र मन सिद्ध थियो अनि तिनीहरूले शान्त वातावरणमा आनन्दसाथ जीवन बिताउन सक्थे। सृष्टिकर्ताको उद्देश्य प्रथम मानिस सधैंभरि जीवित रहोस् र समयमा सिद्ध सन्तान जन्माएर पृथ्वीलाई भरोस् भन्ने थियो।—उत्पति १:२८; २:१५.
तथापि, कहिल्यै अन्त नहुने जीवन एउटा सर्तमा आधारित थियो। परमेश्वरप्रति आज्ञाकारी रहनुमा त्यो निर्भर थियो। आदमले परमेश्वरको आज्ञा उल्लंघन गरेमा ऊ ‘मर्ने थियो।’ (उत्पत्ति २:१६,१७) दुःखको कुरा, पहिलो मानव अनाज्ञाकारी भए। (उत्पत्ति ३:१-६) त्यसो गर्दा तिनीहरू पापी भए कारण “पाप ता व्यवस्थाको विरोध हो।” (१ यूहन्ना ३:४) फलस्वरूप, तिनीहरूले अनन्त जीवनको आशा गुमाए किनकि “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) यसकारण, पहिलो मानवलाई सजाय दिनुहुँदा परमेश्वरले यसो भन्नुभयो: “तँ माटै होस् र माटैमा फर्किजानेछस्।”—उत्पत्ति ३:१९.
तसर्थ, पहिलो दम्पतीले पाप गरेपछि अगमवाणी गरिएको पापको छाप तिनीहरूको वंशाणुमा कहिल्यै नमेटिने गरी बस्यो र त्यसरी जीवनको सीमा तोकियो। फलस्वरूप, तिनीहरू बूढा-बूढी भएर मरे। साथै, तिनीहरूको मौलिक प्रमोदवन घर अर्थात् अदनबाट निकालिएपछि पहिलो मावनले तिनीहरूको जीवनमा हानिकारक असर गर्ने अर्को पक्षको सामना गरे—अदन बाहिरको अवरोधजस्तो वातावरण। (उत्पति ३:१६-१९,२३,२४) दोषपूर्ण वंशाणु र दुःखदायी वातावरणले पहिलो दम्पती र तिनीहरूको भावी सन्तानलाई पनि असर गऱ्यो।
सजाय र प्रतिज्ञा
पहिलो दम्पतीको जीवनमा यो हानिकारक परिवर्तन भएपछि मात्र तिनीहरूको सन्तान जन्मे। अतः तिनीहरूले आफूजस्तै असिद्ध, पापी र बूढा-बूढी हुने सन्तान जन्माए। बाइबल भन्छ, “मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२; भजन ५१:५ तुलना गर्नुहोस्।) द बडि मशीन—योर हेल्थ इन पर्स्पेक्टीभ पुस्तकले टिप्पणी गरेअनुसार, “हाम्रो कोषको संरचनामै हाम्रो मृत्युको पुर्जी लेखिएको हुन्छ।”
तथापि, यसको अर्थ अन्त अर्थात् बुढ्यौली र मृत्यु नभएको जीवनको आशै छैन भनेको होइन। प्रथम, मानव जीवन र अन्य जात जातका भिन्नाभिन्नै अद्भुत प्राणीहरूका सबैभन्दा बुद्धिमानी सृष्टिकर्ताले कुनै पनि वंशाणुगत विकारहरूलाई निको पारेर मानिसलाई सधैंभरि जिउने शक्ति प्रदान गर्नुहुन्छ भनी विश्वास गर्नु व्यवहारिक छ। दोस्रो, सृष्टिकर्ताले यस्तै गर्ने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले पहिलो दम्पतीलाई मृत्युको सजाय दिनुभएपछि मानिसलाई यसै पृथ्वीमा अनन्त जीवन दिने आफ्नो उद्देश्य परिवर्तन भएको छैन भनेर उहाँले थुप्रै पटक देखाउनु भयो। उदाहरणका लागि, उहाँ यस्तो सान्त्वना दिनुहुन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजनसंग्रह ३७:२९) यस प्रतिज्ञाको पूर्ति अनुभव गर्न तपाईंले के गर्नुपर्छ?
सधैंभरि—जिउन तपाईंले के गर्न सक्नुहुन्छ
चाखलाग्दो कुरा, विज्ञान लेखक रनाल्ड कोट्युलकले ३०० भन्दा बढी अनुसन्धानकर्ताहरूसित अन्तरवार्ता लिएपछि यसो भने: “मानिसको स्वास्थ्य र आयुलाई असर गर्ने मुख्य पक्षहरू आय, पेसा र शिक्षा हुन् भनेर वैज्ञानिकहरूले पहिल्यै थाह पाएका कुराहरू हुन्। . . . तर अहिले आयुलाई लम्ब्याउने सबैभन्दा निर्णायक पक्ष शिक्षा साबित भएको छ।” तिनले यसो भने: “हामीले खाने भोजनले हाम्रो रोग प्रतिरोध क्षमतालाई घातक सरुवा रोगविरुद्ध लड्न शक्ति प्रदान गरेजस्तै शिक्षाले हामीलाई हानिकारक छनौट गर्नदेखि जोगाउँछ।” एक जना अनुसन्धानकर्ताले भनेअनुसार “तपाईंलाई शिक्षाले आफ्नो संसारका गतिविधिहरू बुझ्न” र “अवरोधहरू कसरी पार गर्ने” भनेर सिकाउँछ। तसर्थ, लेखक कोट्युलकले भनेजस्तै एक अर्थमा शिक्षा, “स्वस्थ र दीर्घायु जीवनका महत्त्वपूर्ण पक्ष हुन्।”
भविष्यमा अनन्त जीवन पाउने पहिलो खुड्किलो पनि शिक्षा अर्थात् बाइबलको शिक्षा हो। येशू ख्रीष्टले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) सृष्टिकर्ता अर्थात् यहोवा परमेश्वर, येशू र परमेश्वरले गर्नुभएको छुटकाराको प्रबन्धको ज्ञानले मात्र मानिसलाई अनन्त जीवनतर्फ लाने मार्गमा पाइला चलाउन तयार बनाउँछ।—मत्ती २०:२८; यूहन्ना ३:१६.
यहोवाका साक्षीहरूले तपाईंलाई यो जीवनदायी ज्ञान प्राप्त गर्न मदत गर्ने बाइबल शिक्षाको कार्यक्रम सञ्चालन गरिरहेका छन्। यो निश्शुल्क कार्यक्रमबारे अझ बढी जानकारी पाउन तिनीहरूको राज्यभवनमा जानुहोस् वा तपाईंलाई सुविधा पर्ने समयमा तिनीहरूलाई बोलाउनुहोस्। जीवनलाई बाधा पुऱ्याउने अवरोध अनि जीवनको अन्त नहुने समय नजिकै छ भन्ने ठोस प्रमाण बाइबलमा पाइन्छ भनेर तपाईंले देख्नुहुनेछ। हो, मृत्युले हामीमाथि शासन गरेको हजारौं वर्ष भइसक्यो तर त्यसलाई चाँडै सदाको लागि पराजित गरिनेछ। बूढा-बूढी र जवान दुवैको लागि कस्तो रोमाञ्चकारी आशा!
[फुटनोट]
a वृद्धत्वशास्त्रीहरूले मानिस कसरी बूढो हुन्छ भनेर बुझाउने थुप्रै सिद्धान्तहरू (एउटा अनुमानअनुसार, ३०० भन्दा बढी छन्!) प्रस्तुत गरेका छन्। तथापि, ती सिद्धान्तहरूले बूढाबूढी हुनुको कारण भने बताउँदैन।
[पृष्ठ १३-मा भएको चित्र]
अनन्त जीवन पाउनको लागि चाल्नु पर्ने पहिलो कदम बाइबलको शिक्षा लिनु हो