प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १०/१५ pp. ४-७
  • दीर्घ जीवन कसरी पाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दीर्घ जीवन कसरी पाउन सकिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हर्मोन उपचारविधि र आनुवंशिक विज्ञान— के यसबाट हामी केही आशा गर्नसक्छौं?
  • के नानोटेक्नलजी र क्रायोनिक प्रविधिसित यसको जवाफ छ?
  • हामीले कसमाथि भरोसा राख्नुपर्ने हो
  • वृद्धावस्था र मृत्युको मूल कारण
  • साँचो आशा
  • पार्थिव प्रमोदवनमा अनन्त जीवन
  • “अमर” जीनको खोज
    ब्यूँझनुहोस्‌!—२०००
  • लामो समयसम्म बाँच्ने चाहना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • के विज्ञानले अनन्त जीवन दिनसक्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • के अनन्त जीवन साँच्चै सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १०/१५ pp. ४-७

दीर्घ जीवन कसरी पाउन सकिन्छ?

मानिसको आयु लम्ब्याउने प्रयास नयाँ सहस्र वर्ष सुरु हुँदा सार्थक हुनेछ भनेर कोही कोहीले आशा गरेका छन्‌। डा. रोनाल्ड क्लाट्‌ज पनि यस्तै आशा गर्छन्‌। तिनी मानिसहरूको आयु लम्ब्याउने कार्यमा समर्पित चिकित्सक तथा वैज्ञानिकहरूको संगठन बुढ्यौली विरुद्ध औषधोपचारसित सम्बन्धित अमेरिकी प्रतिष्ठानका अध्यक्ष हुन्‌। तिनी र तिनका सहकर्मीहरूले लामो समयसम्म जिउने आशा राखेका छन्‌। डा. क्लाट्‌ज भन्छन्‌, “मैले कम्तीमा पनि १३० वर्ष बाँच्ने आशा राखेको छु। हामीलाई मानिसहरू बूढाबूढी हुनै पर्छ जस्तो लाग्दैन। शारीरिक विकार तथा रोगबिमारले गर्दा हुने बुढ्यौलीपनलाई पर सार्ने, रोक्ने वा हटाउने वर्तमान प्रविधिहरू अहिले छन्‌।” डा. क्लाट्‌ज पनि आफ्नो आयु लम्ब्याउने खोजमा दिनहुँ ६० वटा जति चक्की खाने गर्छन्‌।

हर्मोन उपचारविधि र आनुवंशिक विज्ञान— के यसबाट हामी केही आशा गर्नसक्छौं?

आशा दिने एउटा क्षेत्र, हर्मोन उपचारविधि पनि हो। प्रयोगशालामा प्रयोग गरिने जनावरहरूमा डि एच इ ए भन्‍ने हर्मोनबारे परीक्षण गरेर हेर्दा ती जनावरहरूमा बुढेसकाल एकदमै ढिलो सुरु भएको जस्तो देखियो।

वनस्पतिमा पाइने काइनेटिन भनिने हर्मोनबारे डेनमार्कस्थित आरहस विश्‍वविद्यालयका प्राध्यापक डा. सुरेश रतनको भनाइ उद्धरण गर्दै स्वीडेली दैनिक अखबार आफ्टोनब्लाडेट-ले यसो भन्यो: “हाम्रो प्रयोगशालामा काइनेटिनमा तयार गरिएको मानव छालाको कोषिकाहरूको परीक्षणले के देखायो भने, ती कोषिकाहरू उमेर बित्दै जाँदा हुने सामान्य प्रक्रियाअनुसार परिवर्तन भएनन्‌। ती कोषिकाहरू जीवित रहुञ्जेल बूढो हुँदैनन्‌।” भनिन्छ, काइनेटिन हर्मोन दिइएका कीराहरू तिनीहरूको सामान्य आयुभन्दा ३० देखि ४५ प्रतिशत बढी समयसम्म बाँच्छन्‌।

मेलाटोनिनले मुसाको आयु २५ प्रतिशत बढाएको दाबी गरिन्छ। साथै, ती मुसाहरू जवान, स्वस्थ र अझ बलिया भएका देखियो।

मानव विकास हर्मोनका (एच जी एच) समर्थकहरूले दाबी गरेअनुसार यसले छाला सफा बनाउँछ, मांसपेशी बढाउँछ, यौन आवेग वृद्धि गर्छ, प्रसन्‍न चित्तको बनाउँछ, मस्तिष्क तिखो बनाउनुका साथै किशोरहरूको जस्तै शरीरमा पोषक पदार्थ दिन्छ।

आनुवंशिक विज्ञानबाट पनि केही होला भन्‍ने आशा थुप्रैले राखेका छन्‌। वंशाणुहरूमा विभिन्‍न प्रक्रियाहरू गरेर त्यान्द्रे जुका वा गोलाकार कीरालाई धेरै समयसम्म बचाउन सकिन्छ भन्‍ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्‌। भनौं भने, तिनीहरूले त्यस्ता केही जुकाहरूलाई त्यसको साधारण आयुभन्दा छ गुणा बढी समयसम्म बचाउन सकेका छन्‌। अतः मानिसहरूमा पनि यस्तै वंशाणु पत्ता लगाएर त्यसमा विभिन्‍न प्रक्रियाहरू प्रयोग गर्न सकिन्छ भन्‍ने आशा पलाएको छ। टाइम पत्रिकाले मोन्ट्रिआलस्थित म्याकगील विश्‍वविद्यालयका डा. सिग्फ्रीड हेकीमीको कुरा उद्धृत गर्दै यसो भन्यो: “यदि हामीले मानिसको आयु निर्धारण गर्ने सबै वंशाणुहरू पत्ता लगायौं भने सायद ती वंशाणुहरूको गतिमा हेरफेर गरेर आयु बढाउन सक्नेथ्यौं।”

कोष विभाजन भएपिच्छे क्रोमोजोमको टुप्पोमा हुने टेलोमियर छोटिन्छ भनेर जीवशास्त्रीहरूलाई धेरै समयअघि नै थाह थियो। टेलोमियरको लम्बाइ लगभग २० प्रतिशत छोटिएपछि कोष विभाजन हुनसक्दैन र ती मर्छन्‌। टेलोमिरेस भन्‍ने एक प्रकारको इन्जाइमले टेलोमियरको लम्बाइ पहिलाको जतिकै बनाउनसक्छ। फलतः कोष विभाजन भइरहन्छन्‌। अधिकांश कोषिकाहरूमा उक्‍त इन्जाइमले काम गर्दैन अनि निष्क्रिय हुन्छन्‌ तर सक्रिय टेलोमिरेस केही कोषिकाहरूमा राखेर ती कोषिकाहरू बढाउन र पहिलेको भन्दा धेरैपल्ट विभाजन गर्न सकिएको छ।

अनुसन्धानकर्ताहरूअनुसार, यसले गर्दा वृद्धावस्थासित सम्बन्धित रोगबिमारहरूसँग लड्‌ने सम्भावनाहरूको बाटो खोलिन्छ। शरीरमा हुने स्टेम सेल्स्‌हरूको सट्टा सक्रिय टेलोमिरेस दिएर “क्रियाशील गराइएका” स्टेम सेल्स्‌हरू (शरीरका तन्तुलाई पुनर्जीवित गर्ने कोषिका) राखे कसो होला? डा. विलियम ए. हेसिल्टन भन्छन्‌: “यो, अबको ५० वर्षभित्रमा बिस्तारै विकास हुने मानिसहरूको अमरत्वको सुस्पष्ट धारणा हो।”—द न्यु योर्क टाइम्स।

के नानोटेक्नलजी र क्रायोनिक प्रविधिसित यसको जवाफ छ?

नानोटेक्नलजी भनेको नानोमिटर (एक मिटरलाई एक अरबले भाग गर्दा निस्किने अंक) बराबरको हिसाब गर्ने विज्ञान हो। यो विज्ञानले पनि आशा जगाएको छ। केही केही मानिसहरू यस्तोसम्म पनि कल्पना गर्छन्‌, भविष्यमा कोषिकाहरूभन्दा पनि सानो कम्प्युटरयुक्‍त यन्त्र निर्माण गरिनेछ जसलाई अणु अणुसम्म पठाएर बिग्रेका कोषिका, तन्तु र अंगहरूलाई मरम्मत अनि नवीकरण गर्नसकिन्छ भनेर यस क्षेत्रका सिद्धान्तवादीहरू दाबी गर्छन्‌। वृद्धावस्था रोक्ने विषयक सम्मेलनमा एक अनुसन्धानकर्ताले बताएअनुसार, २१ औं शताब्दीका चिकित्सकहरूको नानोटेक्नलजीद्वारा सायद मानिसहरूको शरीरै मर्दैन।

क्रायोनिक भनेको विज्ञानले मृत कोषिकाहरूलाई पुनर्जीवित गरेर मृत व्यक्‍तिलाई फेरि जीवित पार्न सकिन्छ भन्‍ने आशामा मृतकलाई बरफमा राखिने प्रक्रिया हो। पूरै शरीर वा मस्तिष्कलाई मात्र पनि बरफमा राख्न सकिन्छ। एक जना मानिसले त एउटा तन्‍ना पनि बरफमा राखे। तन्‍ना किन नि? किनकि त्यो तन्‍ना तिनको हराएको मित्रको थियो र त्यसमा तिनको छालाका केही कोषिका र कपालहरू थिए। विज्ञानले मानिसहरूलाई तिनीहरूको केही कोषिकाहरू वा एउटै मात्र कोषिकाबाट पुनर्जीवित बनाउन सकेको खण्डमा तिनी आफ्नो मित्रलाई नयाँ जीवन दिन चाहन्थे। त्यसैले, तिनले ती कोषिका र कपालहरू बरफमा राखेका हुन्‌।

हामीले कसमाथि भरोसा राख्नुपर्ने हो

मानिसहरूसित मर्ने होइन तर बाँच्ने जन्मजात चाहना हुन्छ। त्यसैकारण त, चिकित्सा जगतमा गरिएका वैज्ञानिक उन्‍नतिलाई खुसीसाथ स्वागत गरिन्छ र ठूलठूला आशाहरू राखिन्छ। तर अहिलेसम्म डि एच इ ए, काइनेटिन, मेलाटोनिन, एच जी एच वा अन्य कुनै पनि पदार्थले मानिसहरूलाई बूढाबूढी हुनबाट रोक्न सकेको छैन। कोषिकाहरूमा टेलोमिरेसलाई विभिन्‍न प्रक्रिया प्रयोग गर्दा क्यान्सरका कोषिकाहरू शरीरमा बनिन्छन्‌ भनेर शंकालु व्यक्‍तिहरू डराउँछन्‌। अनि नानोटेक्नलजी र क्रायोनिक प्रविधिको प्रयोग पनि अहिलेसम्म वास्तविकता नभई वैज्ञानिक कथामा नै सीमित छ।

विज्ञानले कसै कसैलाई दीर्घ तथा स्वस्थ जीवन दिएको छ अनि भविष्यमा अझै देला तर अनन्त जीवनचाहिं कहिल्यै कसैलाई दिन सक्नेछैन। किन? किनकि सरल भाषामा भन्‍ने हो भने, वृद्धावस्था र मृत्युको मूल कारण हटाउने क्षमता मानव विज्ञानसित छैन।

वृद्धावस्था र मृत्युको मूल कारण

कुनै न कुनै तरिकामा वृद्धावस्था र मृत्युका तत्वहरू हाम्रो वंशाणुमा हुन्छ भनी धेरैजसो वैज्ञानिकहरू सहमत हुन्छन्‌। यहाँ प्रश्‍न खडा हुन्छ: आनुवंशिक कोडमा कहिले, कसरी र किन वृद्धावस्था र मृत्यु आयो?

बाइबलले सरल जवाफ दिन्छ। तर बाइबलले आनुवंशिक विज्ञान वा डि एन ए-को भाषामा जवाफ दिंदैन। रोमी ५:१२ यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”

पहिलो मानिस आदमले सधैंभरि बाँच्ने प्रत्याशा पाएका थिए। तिनलाई अनन्त जीवन र त्यसको आनन्द उठाउने आवश्‍यक सबै क्षमताहरूसहित सृष्टि गरिएको थियो। तथापि, अनन्त जीवन एउटा शर्तमा आधारित थियो। सधैंभरि बाँच्न आदमले जीवनको स्रोत अर्थात्‌ आफ्नो सृष्टिकर्ताको काममा साथ दिएर उहाँप्रति आज्ञाकारी हुनपर्ने थियो।—उत्पत्ति १:३१; २:१५-१७.

आदमले सृष्टिकर्ताप्रति अनाज्ञाकारी हुन रोजे। परमेश्‍वरबाट स्वतन्त्र भएर मानिस आफैले शासन गऱ्‍यो भने राम्रो हुन्छ भनेर आदमले दाबी गरे। यसरी तिनले पाप गरे। त्यस समयदेखि तिनको आनुवंशिक कोड नै परिवर्तन भएजस्तो भयो। आदमले आफ्नो सन्तानलाई पुर्ख्यौली सम्पत्तिस्वरूप अनन्त जीवन दिनुको सट्टा पाप र मृत्यु दिए।—उत्पत्ति ३:६, १९; रोमी ६:२३.

साँचो आशा

तथापि, सधैंभरि यस्तो अवस्था रहिरहने थिएन। रोमी ८:२० यस्तो भन्छ: “यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्‍यो।” मानिसको सृष्टिकर्ता अर्थात्‌ यहोवा परमेश्‍वरले मानिसहरूलाई मृत्युको अधीनमा राख्नुभयो किनभने तिनीहरूले उहाँको विरुद्ध पाप गरे। तर उहाँले आशाको आधार पनि बसाल्नुभयो।

येशू ख्रीष्ट पृथ्वीमा आउनुहुँदा त्यो आधार स्पष्ट भयो। यूहन्‍ना ३:१६ यस्तो भन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” तथापि, येशू ख्रीष्टमा विश्‍वास गर्नाले हामीलाई मृत्युबाट कसरी बचाउनसक्छ?

पापले गर्दा मृत्यु भएको हो भने मृत्यु नामेट गर्नुअघि पापलाई हटाउनु पर्छ। बप्तिस्मा दिने यूहन्‍नाले आफ्नो सेवकाईको थालनीमा येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर बुझेपछि यसो भने: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूहन्‍ना १:२९) येशू ख्रीष्टमा कुनै पाप थिएन। तसर्थ, उहाँ पापको सजाय अर्थात्‌ मृत्युको अधीनमा हुनुहुन्‍नथ्यो। तैपनि अरूले उहाँलाई मार्न खोज्दा उहाँले इन्कार गर्नुभएन। किन? किनभने त्यसो गरेर उहाँले हाम्रो पापको मोल चुकाउनुभयो।—मत्ती २०:२८; १ पत्रुस ३:१८.

येशूले त्यो मोल चुकाउनुभएकोले येशूमाथि विश्‍वास गर्ने प्रत्येकले कहिल्यै मर्नु नपर्ने जीवन पाउन सम्भव भयो। विज्ञानले हाम्रो जीवनलाई केही हदसम्म लामो बनाउन सक्ला तर येशूमा विश्‍वास गर्नु नै अनन्त जीवनतर्फ लाने साँचो मार्ग हो। येशूले यस्तै जीवन स्वर्गमा पाउनुभयो। साथै उहाँका विश्‍वासी प्रेरितहरू तथा अरू केहीले पनि यस्तै जीवन पाउनेछन्‌। यद्यपि, येशूमा विश्‍वास गर्ने हामीमध्ये धेरैजसोले यहोवा परमेश्‍वरले पार्थिव प्रमोदवन पुनर्स्थापित गर्नुभएपछि यसै पृथ्वीमा अनन्त जीवन पाउनेछौं।—यशैया २५:८; १ कोरिन्थी १५:४८, ४९; २ कोरिन्थी ५:१.

पार्थिव प्रमोदवनमा अनन्त जीवन

एक जना मानिसले यस्तो प्रश्‍न गरे: “कतिजना मानिसलाई कहिल्यै नमरी बाँच्ने जीवन सार्थक लाग्ला र?” के अनन्त जीवन पट्टाइ लाग्दो हुनेछ? हुनेछैन भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। “सबै काम त्यसको समयानुकुल उहाँले बनाउनुभएको छ। त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको चेतना दिनुभएको छ, तर शुरूदेखि अन्तसम्म परमेश्‍वरको कार्य बुझ्ने-शक्‍ति दिनुभएको छैन।” (उपदेशक ३:११) यहोवा परमेश्‍वरको सृष्टि यति पर्याप्त र जटिल छ कि त्यसले हामी बाँचुञ्जेल अर्थात्‌ सदासर्वदा हाम्रो चासो जगाउँछ, हामीलाई प्रेरणा र आनन्द दिन्छ।

साइबेरियन जे भन्‍ने चराको अध्ययन गर्ने एक पुरुषले त्यो चरा “बेग्लै खाले, रोमाञ्चकारी” लाग्यो भनेर बताउनुका साथै चरा अवलोकन गर्दाको अनुभव तिनको जीवनको एउटा रोमाञ्चकारी अनुभव थियो भनी बताए। तिनले जति बढी त्यो चराको अध्ययन गर्थे उति बढी तिनको जिज्ञासा बढ्‌थ्यो। तिनले भनेअनुसार, १८ वर्षसम्म अध्ययन गर्दा पनि तिनको अध्ययन सिद्धिएकै थिएन। अठार वर्षसम्म गहिरो अध्ययन गर्दा एक जना बुद्धिमान्‌ मानिसलाई एकै थरीका चराले जिज्ञासा, प्रेरणा र आनन्द दिनसक्छ भने पृथ्वीको सम्पूर्ण सृष्टिको अध्ययन गर्दा झन्‌ कत्ति आनन्द र सन्तुष्टि पाइन्छ होला, कल्पना गर्नुहोस्‌ त।

समयको कुनै रोकटोक नभएको मानिसले अध्ययन गर्नसक्ने विज्ञानको सबै चाखलाग्दा क्षेत्रहरूबारे विचार गर्नुहोस्‌। हेर्न पाइने सबै मनमोहक ठाउँहरू र भेट्‌न पाइने रमाइला मानिसहरूको कल्पना गर्नुहोस्‌। कल्पना गर्नसक्ने, रचना गर्नसक्ने तथा बनाउनसक्ने तमाम कुराहरूबारे विचार गर्नुहोस्‌। हामीले आफ्नो सृजनशीलता विकास गर्ने र सदुपयोग गर्ने असीमित मौकाहरू पाउनेछौं। सृष्टिको प्रशस्ततालाई विचार गर्दा असीमित समय छ भने मात्र जीवनमा सबै कुराहरू गर्न सकिन्छ।

पुनरुत्थानद्वारा मरेकाहरूले पनि सधैंभरि जिउन पाउनेछन्‌ भनेर बाइबलले औंल्याउँछ। (यूहन्‍ना ५:२८,२९) हामीलाई थाह नभएका इतिहासका थुप्रै कुराहरू स्पष्टसित बुझ्नेछौं किनकि ती कुराहरू अनुभव गर्नेहरूले हामीलाई विस्तृत रूपमा बताउनेछन्‌ अनि हाम्रा प्रश्‍नहरूको जवाफ पनि दिनेछन्‌। पुनरुत्थान भएकाहरूले इतिहासको भिन्‍नाभिन्‍नै समयका कत्ति थुप्रो कुराहरू बताउलान्‌, कल्पना गर्नुहोस्‌ त।—प्रेरित २४:१५.

त्यस समयबारे विचार गर्दा पुनरुत्थान भएका अय्यूबले अय्यूब १४:१ को भनाइलाई संशोधन गर्न चाहन्छन्‌ होला भनेर बुझ्न सक्नुहुन्छ। बरु, सायद तिनले यसो भन्लान्‌: ‘स्त्रीबाट जन्मेको मानिस अब अनन्तसम्म बाँच्छ र शान्तिले भरिएको हुन्छ।’

यहोवामाथि भरोसा गर्ने र येशूलाई विश्‍वास गर्नेहरूका लागि असीमित समय भएको जीवन साकार हुन नसक्ने सपना मात्र होइन। यो चाँडै वास्तविकतामा परिणत हुनेछ। वृद्धावस्था र मृत्युको अन्त हुनेछ। यो कुरा भजन ६८:२० सित मिल्दो छ, जहाँ यसो भनिएको छ: “परमप्रभु परमेश्‍वरमानै मृत्युबाट बचाउने उपाय छन्‌।”—प्रकाश २१:३, ४.

[पृष्ठ ४, ५-मा भएका चित्रहरू]

विज्ञानमा भएको प्रगतिले लामो समयसम्म बाँच्ने आशा जगाएको छ

[पृष्ठ ७-मा भएको चित्र]

असीमित समय छ भने मात्र जीवनमा सबै कुराहरू गर्न सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने