प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ९/८ पृ. २६-२८
  • भऱ्‍याङको प्रयोग—के तपाईं यसको जाँच गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भऱ्‍याङको प्रयोग—के तपाईं यसको जाँच गर्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भऱ्‍याङ कस्तो छ?
  • के तपाईं सुरक्षित हुनुहुन्छ?
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • निर्देशन कहाँबाट आयो?
    जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
  • अहिले सुरक्षित महसुस गर्ने सदा सुरक्षित रहने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ९/८ पृ. २६-२८

भऱ्‍याङको प्रयोग—के तपाईं यसको जाँच गर्नुहुन्छ?

आयरल्याण्डका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

पलले आफ्नो घर बाहिरको बत्तीको चिम फेर्नु पर्नेथ्यो। तिनले माथिल्लो तलाको बाहिरी झ्याल पनि सफा गर्नु पर्नेथ्यो। तिनको पत्नीले तिनलाई ती कामहरू गर्नु भनेर बारम्बार भनेकी थिइन्‌। तर पलले ती कामहरू स्थगित गरिरहे। किन? किनभने तिनले भऱ्‍याङ प्रयोग गर्नु पर्नेथ्यो।

तिनले यसरी काम पन्छाइरहेको कारण हामी बुझ्नसक्छौं। भऱ्‍याङमा दुर्घटना हुँदा गम्भिर वा घातक चोटपटक लाग्नसक्छ भनेर तिनलाई थाह थियो। भऱ्‍याङ चलाउने व्यक्‍तिले त्यसलाई ठीकसित कसरी चलाउने भनेर नसोचेकोले अक्सर यस्तो हुने गर्छ।

पलले यी कामहरू गर्नुअघि भऱ्‍याङबारे के विचार गर्नु आवश्‍यक थियो? कुनै दुर्घटना नभई काम गर्न मदत गर्ने यहाँ दसवटा सुझाउहरू छन्‌।

भऱ्‍याङ कस्तो छ?

१ ठीक प्रकारको भऱ्‍याङ प्रयोग गर्नुहोस्‌। भऱ्‍याङ असाध्यै छोटो छ भने तपाईंले तन्केर काम गर्नुपर्ने हुन्छ। अनि असाध्यै लामो छ भने त्यसलाई एकदमै ठाडो राख्नु पर्ने हुन्छ र त्यसो गर्दा खतरा हुन्छ। तपाईंको बुइँगलमा जान खप्टाएर राख्न मिल्ने भऱ्‍याङ प्रयोग नगर्नुहोस्‌। तपाईंको बुइँगलमै जोडेर भऱ्‍याङ बनाउनुहोस्‌ वा भित्तामा अड्याउन मिल्ने भऱ्‍याङ प्रयोग गर्नुहोस्‌।

२ भऱ्‍याङलाई राम्ररी जाँच्नुहोस्‌। के भऱ्‍याङलाई बाहिर राखिएको थियो? पानीले भिज्दा काठको भऱ्‍याङ ढाडिन्छ र घाममा परेपछि सुक्छ। समयमा त्यसका खुड्‌किलाहरू खुकुला हुनसक्छन्‌ जसले गर्दा भऱ्‍याङ हल्लिने हुन्छ। के काठको खुड्‌किलो चर्केको वा मक्केको छ कि? काठको खुड्‌किलोमुनि टेवाको लागि अक्सर धातुको डन्डी लगाएको हुन्छ। के ती डन्डीहरू ठीक ठाउँमा राम्ररी जोडिएका छन्‌? भऱ्‍याङमा धातुको खुड्‌किलो जोड्‌न प्रयोग गरिएका पेच र कीलाहरू भाँचिएका वा खिया पो लागेको छ कि? लम्ब्याउन सकिने ठूलठूला भऱ्‍याङहरूमा घिर्नी र डोरीहरू हुन्छन्‌। के त्यो घिर्नीले राम्ररी काम गर्छ? कतै डोरी चुडिनै लागेको त छैन र के त्यसको लम्बाइ ठीक छ? मरम्मत गर्नुपर्ने छ र नयाँ माल फेर्नुपर्ने छ भने, ढिलासुस्ती नगरी तुरुन्तै गरिहाल्नुहोस्‌।

नचिप्लोस्‌ भनेर खुड्‌किलाहरूमा अक्सर खोपिल्टो पारिन्छ। ती खोपिल्टाहरूमा जम्मा भएको कसिंगर हटाउन नबिर्सनुहोस्‌। भऱ्‍याङ नचिप्लोस्‌ भनेर नचिप्लिने चिज भऱ्‍याङको खुट्टामा राखेको हुनुपर्छ। नचिप्लोस्‌ भनेर राखेको चिजहरू छ कि छैन वा फाटेको पो छ कि भनेर पनि हेर्नुहोस्‌।

३ भऱ्‍याङ ओसारपसार गर्दा होसियार हुनुहोस्‌। गाडीमा लानुहुँदैछ भने भऱ्‍याङलाई भऱ्‍याङ राख्ने ठीक ठाउँमा राख्नुहोस्‌ वा गाडीमा त्यसलाई दुईपट्टि बाध्नुहोस्‌। लामो भऱ्‍याङ गाडीको पछाडि निस्कन सक्छ। यसकारण, पछि आउने मानिसहरूलाई थाह होस्‌ भनेर त्यसको छेउमा सजिलैसित देखिने गरी केही कपडा बाँध्नुहोस्‌।

लामो भऱ्‍याङलाई दुई जना भएर बोक्दा सुरक्षित हुन्छ। तर तपाईं एक्लैले बोक्नु पऱ्‍यो र तेर्सो बोक्नुहुँदैछ भने तपाईंको एउटा हात भऱ्‍याङको बीचबाट छिराएर काँधमा बिसाउनुहोस्‌ र अर्को हातले त्यसलाई थाम्नुहोस्‌। कसैलाई पनि नलागोस्‌ भनेर अगाडिको भाग टाउको भन्दा माथि उचाल्नुहोस्‌। तथापि, होस गर्नुहोस्‌, भऱ्‍याङको जति लामो भाग तपाईंको अघि छ त्यतिकै लामो भाग पछाडि पनि छ भनेर! प्रहसन कार्यक्रममा मानिसहरूलाई भऱ्‍याङले लाग्दा हाँस उठ्‌छ। तर वास्तविक जीवनमा भने चोट लाग्ने मानिस र चोटको क्षतिपूर्ति गर्नुपर्ने मानिस, दुवैको लागि यो कहिल्यै हाँसउठ्‌दो हुँदैन।

तपाईंले भऱ्‍याङलाई ठाडो बोक्नुहुँदा त्यसलाई काँधमा बोक्नुहोस्‌ र अर्को हातले त्यसलाई थाम्नुहोस्‌। टाउको माथिका तार, बत्ती र साइनबोर्डहरू छ कि, होस गर्नुहोस्‌!

४ भऱ्‍याङलाई ठीकसित उभ्याउनुहोस्‌। भऱ्‍याङलाई बांगो टेढो नराखेर जमिनदेखि ७५ डिग्रीको कोणमा राख्नाले सुरक्षित हुन्छ।

५ भऱ्‍याङको टुप्पो र फेदमा टेवा दिनुहोस्‌। भऱ्‍याङको टुप्पो बिसाउँदा होस गर्नुहोस्‌। भऱ्‍याङको टुप्पो अड्याएको ठाउँ कच्चा र चिप्लो छ कि भनेर हेर्न नबिर्सनुहोस्‌। भऱ्‍याङलाई काँच वा प्लास्टिकमा कहिल्यै नअड्याउनुहोस्‌। सम्भव भए भऱ्‍याङलाई कतै राम्ररी बाँध्नुहोस्‌ र भऱ्‍याङ अड्याएको ठाउँ र भऱ्‍याङको टुप्पो बीच एक मिटर फरक राख्नुहोस्‌।

तपाईं भऱ्‍याङ चढ्‌नुहुँदा त्यसको टुप्पो बाँधेकै हुँदैन। यसकारण, चढ्‌दा एकदमै होस गरेर चढ्‌नुहोस्‌। सुरुमा भऱ्‍याङ चढ्‌दा बाँधेको हुँदैन र ओर्लंदा पनि डोरी फुकाइ सकेको हुँदा होस गर्नुहोस्‌। सुरक्षितसाथ चढ्‌नु र ओर्लनुको लागि कसैलाई भऱ्‍याङको फेदमा पक्रन लगाउनुहोस्‌। तथापि, भऱ्‍याङ पाँच मिटर भन्दा छोटो छ भने मात्र यो कुरा लागू हुन्छ।

जमिन भिरालो छ भने भऱ्‍याङको फेदमा कुनै गह्रौं चीज राख्नुहोस्‌ वा सबैभन्दा मुनिको खुड्‌किलोलाई कतै बाँध्नुहोस्‌। जमिन समतल छैन भने भऱ्‍याङको फेदमा कीलो राखेर जमिनलाई समतल बनाउनुहोस्‌। जमिन कच्चा छ वा फुक्का माटोले बनेको छ भने काठको टुक्रा वा त्यस्तै अरू कुनै चीज प्रयोग गरेर जमिनलाई पक्का बनाउनुहोस्‌।

खप्टाएर राख्न मिल्ने भऱ्‍याङ चलाउनु हुँदैछ भने भऱ्‍याङको चारै खुट्टा जमिनमा राम्ररी राखेको छ कि छैन, भऱ्‍याङको दुवै भाग अलग अलग छ कि छैन र चुकुलहरू राम्ररी लगाएको छ कि छैन भनेर हेर्न नबिर्सनुहोस्‌।

के तपाईं सुरक्षित हुनुहुन्छ?

६ तपाईंको जुत्ता हेर्नुहोस्‌। भऱ्‍याङ चढ्‌नुअघि तपाईंको जुत्ताको तलुवा सुक्खा पार्न नबिर्सनुहोस्‌। भऱ्‍याङ चढ्‌दा चिप्लनसक्ने हिलोजस्तो अरू कुनै पनि फोहेर छ भने जुत्ता टक्टक्याउन नबिर्सनुहोस्‌।

७ चीजबीज होसियारसाथ बोक्नुहोस्‌। चढ्‌दा दुवै हात खुल्ला राख्नको लागि सम्भव भएमा पेटीसित बाँधेको होल्डरमा औजारहरू राख्नुहोस्‌। बोक्न असुविधा पर्ने सामानहरू बोक्नको लागि अन्य तरिकाहरू खोज्नुहोस्‌। तर तपाईंले भऱ्‍याङ चढ्‌नै पर्छ भने तपाईंको खुल्ला हातले भऱ्‍याङको छेउमा पक्रंदै चढ्‌नुहोस्‌। होसियार हुनुहोस्‌, ढंग पुऱ्‍याएर काम गर्नुहोस्‌ र हतार नगर्नुहोस्‌।

विद्युतीय औजार चलाउनुहुँदैछ भने दुवै हातले ती औजारहरू नचलाउनुहोस्‌। उदाहरणका लागि, बर्मा थाहै नपाई अड्‌किन सक्छ वा चिप्लिन सक्छ। यसले गर्दा सन्तुलन हराएर तपाईं लड्‌न सक्छ। ती औजारहरूलाई बन्द नगरी त्यतिकै कहिल्यै नराख्नुहोस्‌। त्यो औजार झर्न पनि सक्छ।

८ अरूको पनि ख्याल गर्नुहोस्‌। तपाईं सार्वजनिक ठाउँमा काम गर्नुहुँदैछ भने भऱ्‍याङलाई देख्ने ठाउँमा उभ्याउनुहोस्‌। सम्भव भएमा त्यसमा कुनै सजिलै देखिने गरी केही कपडा बाँध्नुहोस्‌। तपाईंले कतै मोड भएको ठाउँमा काम गर्नुहुँदैछ भने मानिसहरूले भऱ्‍याङलाई देख्न सक्दैनन्‌ भनेर नबिर्सनुहोस्‌। चेताउनी दिन मित्रैलो भावमा कराउनुका साथै बाटोमा हिंड्‌नेहरूको लागि अप्ठ्यारो छ कि छैन भनेर पनि हेर्नुहोस्‌।

भऱ्‍याङमा हुँदा तपाईंसित औजारहरू छन्‌ भने अग्लो ठाउँबाट झरेको एउटा सानो पेचकसले पनि चोट पुऱ्‍याउन सक्छ भनेर नबिर्सनुहोस्‌। तपाईंलाई कतै जानु पऱ्‍यो र भऱ्‍याङलाई राम्ररी बाँध्न सक्नुभएन भने तपाईं नआउञ्जेल कसैलाई भऱ्‍याङको छेउमा उभ्याउनुहोस्‌ वा भऱ्‍याङलाई जमिनमा लडाउनुहोस्‌। भऱ्‍याङ मात्रै त्यत्तिकै छोडेर नजानुहोस्‌।

९ तपाईंको स्वास्थ्य जाँच्नुहोस्‌। भऱ्‍याङ चढ्‌दा निकै सन्तुलन कायम गर्नु पर्छ। यसकारण, तपाईं बिरामी हुनुहुन्छ वा वाकवाकी लाग्छ अथवा तपाईंलाई चक्कर लाग्छ भने भऱ्‍याङ नचढ्‌नुहोस्‌।

१० होसियारसाथ चढ्‌नुहोस्‌। सुरक्षाबारे सधैं होस गर्नुहोस्‌। भऱ्‍याङमा एकै पटक दुई वा दुईभन्दा बढी मानिस कहिल्यै नचढ्‌नुहोस्‌। आँधीबेह्री वा बेस्सरी हावा चलेको बेला कहिल्यै भऱ्‍याङ नचढ्‌नुहोस्‌। खप्टाएर राख्न मिल्ने भऱ्‍याङको टुप्पो खुड्‌किलो अथवा माथिदेखिको चौथो खुड्‌किलोभन्दा माथि कहिल्यै नउभिनुहोस्‌। लम्ब्याउन मिल्ने भऱ्‍याङलाई कहिल्यै बढ्‌ता नलम्ब्याउनुहोस्‌। कम्तीमा पनि तीन वटा खुड्‌किलोलाई खप्टाएर राख्नुहोस्‌। नभ्याइ नभ्याइ हात तन्काएर कहिल्यै काम नगर्नुहोस्‌। भऱ्‍याङमा हुँदा टाढासम्म तन्किनुभयो भने तपाईंले सन्तुलन गुमाएर लड्‌न सक्छ। ज्यान जोखिममा हाल्नुभन्दा भऱ्‍याङ सारेरै काम गर्नुहोस्‌ र यसो गर्दा बढी समय नै किन नलागोस्‌। सिधा अगाडि हेरेर चढ्‌नुहोस्‌।

तपाईंले जतिसुकै सावधानी लिनुभए तापनि भऱ्‍याङ चढ्‌दा खतरा अवश्‍य हुन्छ। तर सायद उक्‍त सुझाउहरूको मदतले तपाईंले ती खतराहरू कम गर्न सक्नुहुन्छ। ती सुझाउहरूले पलको मदत गऱ्‍यो। तिनले ती सुझाउहरू मानेर सुरक्षितसाथ घर बाहिरको बत्तीको चिम फेरे। अनि झ्याल सफा गर्नु नि? सायद . . . तिनले त्यो काम अरू कुनै समयमा गर्नेछन्‌!

[पृष्ठ २६, २७-मा भएको चित्र]

१ ठीक प्रकारको भऱ्‍याङ प्रयोग गर्नुहोस्‌

२ भऱ्‍याङलाई राम्ररी जाँच्नुहोस्‌

३ भऱ्‍याङ ओसारपसार गर्दा होसियार हुनुहोस्‌

४ भऱ्‍याङलाई  ठीकसित उभ्याउनुहोस्‌

५ भऱ्‍याङको टुप्पो र फेदमा टेवा दिनुहोस्‌

६ तपाईंको जुत्ता हेर्नुहोस्‌

७ चीजबीज होसियारसाथ बोक्नुहोस्‌

८ अरूको पनि ख्याल गर्नुहोस्‌

९ तपाईंको स्वास्थ्य जाँच्नुहोस्‌

१० होसियारसाथ चढ्‌नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने