युवा जनहरू सोध्छन् . . .
म कसरी सबैसित घुलमिल हुनसक्छु?
“म धेरै कुरा गर्ने खालको मान्छे नै होइन। मैले केही भनि हाले तापनि कसैले वास्ता गर्ने होइनन् जस्तो लाग्थ्यो। मेरो मुमा एकदमै लजालु हुनुहुन्छ र सायद म पनि उहाँकै गोता गएको होला।”—आर्टि
के तपाईंलाई कहिलेकाहीं आफू अलि कम लजालु, अलि बढी मित्रैलो र सबैसित घुलमिल हुनसक्ने भए हुन्थ्यो जस्तो लाग्छ? यस श्रृंखलाको अघिल्लो लेखले बताएझैं लजालुपन एउटा सामान्य समस्या हो।a त्यसकारण, तपाईं धेरै नबोल्ने गम्भीर खालको व्यक्ति हुनुहुन्छ भने त्यसमा खास कुनै खराबी छैन। तर अत्यन्तै लजालु हुँदा समस्या हुनसक्छ। अरू त के कुरा, तपाईंले मित्रताको आनन्द पनि उठाउन सक्नुहुन्न। अनि मानिसहरूसित भेटेर कुरा गर्नुपर्दा तपाईंलाई असजिलो लागेर कुरै राम्ररी गर्न सक्नुहुन्न।
वयस्कहरूलाई पनि लजालुपनको समस्या हुन्छ। ब्यारीb मसीही मण्डलीका प्राचीन हुन्। तर मानिसहरूको जमघटमा पऱ्यो कि तिनको मुख टप्पै हुन्छ। तिनी भन्छन्: “ममा केही अर्थपूर्ण कुरा भन्ने क्षमता नै छैन जस्तो लाग्छ।” तिनकी पत्नी डायनाको पनि त्यस्तै समस्या छ। उनले आफ्नो समस्याको समाधान कसरी गरिन्? उनी भन्छिन्: “म कुरा गर्ने मानिसहरूको जमातमा बस्न रुचाउँछु किनभने कुरा गर्ने काम सबै तिनीहरूले गरिहाल्छन् नि जस्तो लाग्छ।” सबैसित घुलमित हुन तपाईं आफैले गर्न सक्नुहुने केही कुराहरू के हुन्?
आफूलाई तुच्छ नठान्नुहोस्
प्रथमतः तपाईंको आफूबारे कस्तो धारणा छ, पुनः केलाउनुहोस्। के तपाईं आफूलाई जत्तिखेर पनि बेकारको ठान्दै अरूले तपाईंलाई मन पराउँदैन होला वा तपाईंसित भन्ने राम्रो कुरै के छ र, भन्ठान्नुहुन्छ? आफूबारे नकारात्मक भावनाहरू मात्र छन् भने सबैसित घुलमिल हुन झन् साह्रो अप्ठ्यारो हुनसक्छ। अनि येशूले पनि “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर्नू” भन्नुभयो, आफूलाई प्रेम नगरी छिमेकीलाई मात्र प्रेम गर भन्नुभएन। (मत्ती १९:१९) त्यसैले आफूलाई केही हदसम्म प्रेम गर्नु लाभदायक र उचित हो। यसले तपाईंलाई अरूसित कुरा गर्न चाहिने साहस दिनसक्छ।
तपाईंमा आत्मसम्मानको कमी छ भने युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ नामक पुस्तकको अध्याय १२ “मलाई आफैदेखि किन दिक्क लाग्छ?” पढ्नु मदतकारी हुनसक्छ।c त्यहाँ भएको जानकारीले तपाईंसित पनि मूल्यवान् गुन तथा क्षमताहरू छन् भनी बुझ्न मदत गर्नसक्छ। अनि तपाईं एक मसीही हुनु मात्र पनि तपाईंमा परमेश्वरले केही बहुमूल्य गुन देख्नुभएको प्रमाण हो! अनि येशूले पनि यसो भन्नुभएको छ नि: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।”—यूहन्ना ६:४४.
अरूमा चासो लिनुहोस्
हितोपदेश १८:१ यस्तो चेताउनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” हो, तपाईं अरूसित घुलमिल नगरी एक्लै बस्नुभयो भने तपाईं आफ्नैबारे मात्र धेरै सोच्न थाल्नुहुन्छ। “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ” भनी फिलिप्पी २:४ ले हामीलाई प्रोत्साहन दिन्छ। अरूका इच्छा तथा आवश्यकताहरूमा चासो दिन थाल्नुभएपछि तपाईं आफ्नैबारे मात्र त्यति चिन्तित हुनुहुने छैन। अनि अरूबारे जति बढी ख्याल राख्न थाल्नुहुन्छ त्यति नै अरूबारे जान्न अग्रसर हुनुहुनेछ।
उदाहरणका लागि, लिडियालाई लिनुहोस्। तिनी मित्रैलो र आतिथेय व्यक्तिको रूपमा चिनिन्छिन्। प्रेरित पावलको कुरा सुनेपछि तिनले बप्तिस्मा लिइन् भनी बाइबलले बताउँछ र तिनले पावल तथा तिनका सँगीहरूलाई यसो भनिन्: “तपाईंहरूले मलाई प्रभु-भक्त हो भनी ठान्नुहुन्छ भने मेरो घरमा आउनुहोस्, र त्यहीं बस्नुहोस्।” (प्रेरित १६:११-१५) लिडिया विश्वासमा नयाँ भए तापनि भाइहरूलाई चिन्न अग्रसर भइन् र निस्सन्देह तिनले थुप्रै आशिष्हरू पाइन्। पावल र सिलास जेलबाट मुक्त भएपछि कहाँ गए? चाखलाग्दो कुरा, तिनीहरू लिडियाको घर गए!—प्रेरित १६:३५-४०.
त्यसरी नै तपाईंले अरूप्रति चासो देखाउनुहुँदा प्रायजसोले मन पराउँछन्। तपाईंले यो कसरी गर्न सक्नुहुन्छ? तल केही उपयोगी सुझाउहरू दिइएका छन्।
• सुरुमा स-साना कुरा गर्नुहोस्। सबैसित घुलमिल हुनुको अर्थ हाउभाउका साथ सबैसित कुरा गर्ने वा पार्टीहरू जानुमै बेफुर्सत हुनु होइन। एक चोटिमा एक जना मानिससित कुरा गर्ने कोसिस गर्नुहोस्। हरेक चोटि मसीही सभा धाउँदा कम से कम एक जना मानिससित कुरा गर्ने लक्ष्य बनाउन सक्नुहुन्छ। हाँस्ने कोसिस गर्नुहोस्। आँखामा हेरेर कुरा गर्न खोज्नुहोस्।
• आफै अग्रसर हुनुहोस्। तर तपाईं भन्नुहोला, ‘कसरी?’ तपाईं अरूप्रति साँचो चासो राख्नुहुन्छ भने अक्सर कुरा गर्ने विषय पाउन गाह्रो हुँदैन। स्पेनमा होरा नाउँका युवकले यसो भने: “मानिसहरूलाई कस्तो हुनुहुन्छ भनेर वा तिनीहरूको कामबारे सोध्दा मात्र पनि तिनीहरूलाई राम्रोसित चिन्न मदत मिल्छ।” फ्रेड नाउँ गरेका युवक यस्तो सुझाउ दिन्छन्: “तपाईंलाई के भनूँ, के भनूँ, हुन्छ भने प्रश्नहरू सोध्नुहोस्।” तर मानिसहरूलाई केरकार गरेको जस्तो महसुस हुनु हुँदैन। सबै जवाफ दिन त्यति इच्छुकजस्तो नदेखिएमा आफूबारे पनि केही कुरा बताउनुहोस्।
किशोर छोराकी आमा मेरी यसो भन्छिन्: “मानिसहरूलाई असजिलो महसुस नगराउने सबैभन्दा उत्तम तरिका तिनीहरूलाई आफ्नोबारे कुरा गर्न दिएर हो।” जवान केट यसो भन्छिन्: “मानिसहरूलाई तिनीहरूको लुगा वा अरू केहीबारे राम्रो टिप्पणी गर्दा पनि सजिलो हुन्छ। आफूलाई अरूले मन पराएको महसुस हुन्छ।” निस्सन्देह, तपाईंको टिप्पणी साँचो हुनुपर्छ, फोस्रो कुरा नगर्नुहोस्। (१ थिस्सलोनिकी २:५) मानिसहरूले अक्सर दयालु तथा मीठा वचनहरू सुन्न मन पराउँछन्।—हितोपदेश १६:२४.
• राम्रोसित कुरा सुन्नुहोस्। “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो” हुनुहोस् भनी बाइबलले बताउँछ। (याकूब १:१९) आखिरमा कुराकानी एक्लैले गर्न सकिंदैन। अतः कुरा गर्न तपाईंलाई लाज लाग्छ भने राम्रै पनि हुनसक्छ! राम्ररी कुरा सुन्ने मानिसहरूको मूल्यांकन गरिन्छ।
• समूहमा घुलमिल हुन सिक्नुहोस्। एक्लै एक्लै कुरा गर्ने कलामा पोख्त भएपछि समूहमा कुरा गर्न अग्रसर हुनुहोस्। यो कलामा पोख्त हुन पनि उपयुक्त ठाउँ मसीही सभाहरू नै हुन्। कहिलेकाहीं वार्तालापमा सहभागी हुने सबैभन्दा सजिलो तरिका चलिरहेको कुराकानीमा सहभागी हुनु हो। निस्सन्देह, विवेक र असल बानीबेहोरा चाहिन्छ। गोप्य वार्तालाप भइरहेको जस्तो देखिन्छ भने त्यहाँ त्यत्तिकै बीचमा गएर प्वाक्क नबोल्नुहोस्। समूह कुनै गम्भीर विषयबारे कुरा गरिरहेको होइन भनी स्पष्ट भएपछि मात्र त्यसमा सहभागी हुनुहोस्। चनाखो हुनुहोस्। कुरा बीचैमा काटेर आफू जान्ने भई नटोपल्नुहोस्। केही बेर सुन्नुहोस्। कुन विषयमा कुरा भइरहेको छ थाह भएपछि तपाईंले एक दुइटा टिप्पणी गर्न सक्नुहुन्छ।
• आफूबाट सिद्धताको आशा नगर्नुहोस्। कहिलेकाहीं युवा जनहरू आफ्नो मुखबाट नमिल्ने कुरा फ्याट्ट निस्केला भनी साह्रै डराउँछन्। इटालीका एलिजा नाउँ गरेकी केटी भन्छिन्: “मेरो मुखबाट नमिल्ने कुरा निस्किन्छ कि भनेर मलाई सधैं असाध्यै पीर लाग्थ्यो।” तथापि, बाइबलले हामी सबै असिद्ध छौं र हामी सबैबाट गल्ती त भइहाल्छ नि भनी सम्झाउँछ। (रोमी ३:२३; याकूब ३:२ तुलना गर्नुहोस्।) एलिजा यसो भन्छिन्: “मैले साँचो मित्रहरू चिनेकी थिएँ। त्यसैले केही गल्ती भइहालेमा पनि उनीहरूले बुझ्थे।”
• हँस्सी मिजास कायम राख्नुहोस्। हो, गलत कुरा मुखबाट प्याच्च निस्कँदा आफैलाई अप्ठ्यारो हुन्छ। तर फ्रेडले भनेझैं “त्यसो हुँदा हाँसोमा उडाउन सिक्नुभयो भने चाँडै बिर्सिहालिन्छ। त्यही कुरा लिएर दिक्क वा चिन्तित हुनुभयो भने तपाईंले तिललाई पहाड बनाउनुहुनेछ।”
• धीरजी हुनुहोस्। सबै एकैनासे हुँदैनन् भनी बुझ्नुहोस्। अप्ठ्यारो हुनेगरि कुरा बीचमा रोकियो भने यसको अर्थ त्यस व्यक्तिले तपाईंलाई मन पराउँदैन वा तपाईंले कुरा गर्न बन्द गर्नुपर्छ भन्ने होइन। कहिलेकाहीं मानिसहरू केवल व्यस्त वा तपाईंजस्तै लजालु हुनसक्छन्। त्यस्तो परिस्थितिमा त्यस व्यक्तिको अप्ठ्यारोपन हटाउन अलि समय दिनुहोस्।
• वयस्कहरूसित कुरा गर्न खोज्नुहोस्। कहिलेकाहीं वयस्कहरू र अझ विशेष गरी परिपक्व मसीहीहरू, लजालुपन हटाउन कोसिस गरिरहेका जवानहरूप्रति सहानुभूतिशील हुन्छन्। त्यसैले पाको व्यक्तिसित कुरा गर्नदेखि पछि नहट्नुहोस्। केट भन्छिन्: “म वयस्कहरूसित ढुक्क भएर बस्नसक्छु किनभने वयस्कहरूले मेरो कुरा काट्ने, गिल्ला गर्ने वा मेरै उमेरका केटाकेटीहरूले जस्तो जिस्क्याउने गर्दैनन्।”
प्रेमद्वारा उत्प्रेरित
यी सुझाउहरू उपयोगी भए तापनि लजालुपन हटाउने कुनै सजिलो सुत्र छैन। यो कुनै चतुर तरिका वा प्रक्रिया लागू गरेर हुने कुरा पनि होइन। “आफ्नो छिमेकीलाई आफूलाईझैं प्रेम” गर्नुपर्छ। (याकूब २:८) हो, अरू मानिसहरूको र अझ विशेष गरी आफ्ना मसीही भाइबहिनीहरूको ख्याल राख्न सिक्नुहोस्। (गलाती ६:१०) तपाईंको हृदयमा साँचो प्रेम छ भने तपाईंले डर तथा असुरक्षाहरू हटाएर अरूसँग कुरा गर्न सक्नुहुनेछ। येशूले भन्नुभएझैं “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।”—मत्ती १२:३४.
सुरुमा उल्लेख गरिएको ब्यारी यस्तो टिप्पणी गर्छन्: “मानिसहरूलाई म जति राम्ररी चिन्छु त्यति नै तिनीहरूसित कुरा गर्न सजिलो लाग्छ।” अर्को शब्दमा भन्ने हो भने, अरूसित घुलमिल हुन जति प्रयास गर्नुभयो तपाईंलाई त्यति नै सजिलो हुनेछ। अनि तपाईंले जसै नयाँ साथीहरू बनाउनुहुन्छ र अरूले तपाईंलाई स्वीकारेको पाउनुहुन्छ, निस्सन्देह आफ्नो प्रयास बेकारको रहेनछ भनेर तपाईंले महसुस गर्नुहुनेछ!
[फुटनोटहरू]
a नोभेम्बर ८, १९९९ अंकमा “युवा जनहरू सोध्छन् . . . म किन सबैसित घुलमिल हुनसक्दिनँ?” लेख हेर्नुहोस्।
b केही नाउँहरू परिवर्तन गरिएका छन्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १४-मा भएको चित्र]
आफै अग्रसर हुनुहोस् र कुराकानीहरूमा सहभागी हुनुहोस्!