प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. १५ पृ. १२१-१२६
  • मलाई किन असाध्यै लाज लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई किन असाध्यै लाज लाग्छ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लजालुपन के हो
  • लजालुपनले तपाईंको जीवनलाई कसरी असर गर्छ
  • लजालुपनलाई हटाउने
  • अग्रसर हुने
  • म किन सबैसित घुलमिल हुन सक्दिनँ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • के तपाईं लजालु हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • म कसरी सबैसित घुलमिल हुनसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९९
  • कुराकानी एउटा कला हो
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. १५ पृ. १२१-१२६

अध्याय १५

मलाई किन असाध्यै लाज लाग्छ?

“सबैले भन्छन्‌, म एकदम राम्री छु,” एउटी युवतीले एउटा अखबारमा आफ्नो कुरा बताइन्‌। यद्यपि तिनले कुरा थप्दै यसो भनिन्‌: “तर मानिसहरूसित कुरा गर्न मलाई साह्रै गाह्रो लाग्छ। कसैसित आँखा जुधाएर कुरा गर्न थालें कि मेरो अनुहार रातोपिरो हुन्छ, कुरा सबै घाँटीमै अड्‌किन्छ . . . काम गर्ने ठाउँमा पनि म कसैसित नबोल्ने हुँदा ‘कस्ती घमण्डी’ भनेको धेरै चोटि सुन्‍नुपरेको छ। . . . म घमण्डी होइन तर मलाई असाध्यै लाज लाग्छ।”

एउटा सर्वेक्षणले देखाएअनुसार सोधपूछ गरिएकाहरूमध्ये ८० प्रतिशतले जीवनको कुनै न कुनै घडीमा आफू असाध्यै लजालु भएको र ४० प्रतिशतले अहिले पनि आफूलाई लजालु स्वभावको ठानेको पत्ता लागेको छ। निस्सन्देह, मानव इतिहासको सुरुदेखि नै लजालु मानिसहरू थिए। बाइबलले बताएअनुसार मोशा लजालु भएको हुँदा इस्राएल राष्ट्रको लागि परमेश्‍वरको प्रवक्‍ताको हैसियतमा काम गर्न पन्छिन खोजे। (प्रस्थान ३:११, १३; ४:१, १०, १३) मसीही चेला, तिमोथी पनि लजालु थिए जस्तो देखिन्छ र आफ्नो अख्तियार चलाएर केही भन्‍न समेत हिचकिचाउँथे।—१ तिमोथी ४:१२; २ तिमोथी १:६-८.

लजालुपन के हो

लजालुपन भनेको अरू मानिसहरू अर्थात्‌ नचिनेका मानिसहरू, अख्तियारवाला, विपरीत लिंगका व्यक्‍ति वा आफ्नै साथीहरूसित समेत घुलमिल हुन अप्ठ्यारो महसुस गर्नु हो। अरूले आफूलाई के कसो ठानिरहेको होला भनेर असाध्यै चिन्तित हुनु नै लजालुपन हो र यसले मानिसहरूलाई बेग्लाबेग्लै ढंगमा असर गर्छ। कोही लाजले भुतुक्क हुन्छन्‌; मुन्टो निहुऱ्‍याउँछन्‌, मुटु ढुकढुक गर्न थाल्छ र अरूसित कुरा गर्न मुखै खोल्न सक्दैनन्‌। अरू भने के गर्ने के नगर्ने थाह नपाएर फतरफतर बोलेको बोल्यै गर्छन्‌। यद्यपि, अरू कतिपय भने आफ्नो विचार तथा रुचिहरू बताउन एक शब्द उच्चारण गर्ने आँटसमेत गर्न सक्दैनन्‌।

तर वास्तवमा, अलि लजालु स्वभावको हुनुका केही राम्रा पक्षहरू पनि छन्‌। यो विनय तथा नम्रतासित सम्बन्धित छ र परमेश्‍वरले हामीमा चाहनुहुने एउटा गुन हो। ‘परमेश्‍वरसित नम्र भएर हिंड्‌ने’ व्यक्‍तिको उहाँ सराहना गर्नुहुन्छ। (मीका ६:८) फाइँफुट्टी गर्ने र झगडालु नभई नम्र र सोझो देखिनुमा अर्को लाभ पनि छ। लजालु व्यक्‍तिलाई अक्सर अरूको कुरा ध्यान दिएर सुन्‍ने व्यक्‍तिको रूपमा लिइन्छ। तर लजालु स्वभावको कारण आफूले गर्नसक्ने जति गर्न सकेन र मानिसहरूसितको हाम्रो सम्बन्ध, काम तथा भावनाहरूलाई नोक्सान पुऱ्‍याउन थाल्दा चाहिं केही गरिहाल्नुपर्छ!

सर्वप्रथम समस्यालाई बुझ्नुहोस्‌। (हितोपदेश १:५) लजालुपनले तपाईंको चिनारी दिंदैन। तर यसले तपाईंको स्वभाव, तपाईंको प्रतिक्रिया, अरूसितको अनुभवबाट तपाईंले सिक्नुभएको वा अपनाउनुभएको पद्धतिलाई बुझाउँछ। अरूले तपाईंबारे नकारात्मक सोचाइ राख्छन्‌ अर्थात्‌ तपाईंलाई मन पराउँदैनन्‌ भनेर सोच्नुहुन्छ। अरूहरू तपाईंभन्दा उत्तम वा बेस छन्‌ भनेर सोच्नुहुन्छ। अरूसित कुरा गर्न थालें भने अर्थ न बर्थको कुरा गर्न पुगिएला भन्‍ने सोच्नुहुन्छ। काम बिग्रिएला भन्ठान्‍नुहुन्छ र अप्ठ्यारो मानी मानी काम गर्न खोजेको हुँदा नभन्दै काम बिग्रि पनि हाल्छ।

लजालुपनले तपाईंको जीवनलाई कसरी असर गर्छ

एकलकाँटे हुने, कसैसित नबोल्ने वा अरूको वास्तै नराखी आफ्नै विषयमा मात्र फलाकिरह्‍यो भने अरूलाई तपाईं घमण्डी, अमित्रैलो, पट्टाइ लागेको, कसैको परवाह नगर्ने वा बुद्धूसमेत लाग्नसक्छ। सम्पूर्ण ध्यान आफूमै केन्द्रित छ भने त्यहाँ भइरहेको कुराकानीलाई ध्यान दिएर सुन्‍न गाह्रो हुन्छ। अतः कसैले तपाईंलाई बताइरहेको कुराप्रति त्यति ध्यान जाँदैन। अनि तपाईंलाई जे होला भनेर डर लागेको थियो, नभन्दै त्यही हुन्छ। अरूको सामु मूर्खजस्तो देखिनुहुन्छ।

भनौं भने, तपाईंले आफूलाई लजालुपनको झ्यालखानाभित्र थुनेर साँचो चाहिं अन्त कतै फ्याल्नुभएको छ। अनेकन्‌ अवसरहरू यत्तिकै खेर जान दिनुहुन्छ। आफूलाई मन नपरेको कुरा वा परिस्थिति पनि स्वीकार्नुहुन्छ। किनभने आफ्नो विचारधारा पोख्न तपाईं डराउनुहुन्छ। मानिसहरू भेट्‌ने अनि नयाँ साथीहरू बनाउने वा आफ्नो जीवनलाई रमाइलो बनाउने कुराहरूको आनन्द तपाईंले मात्र होइन अरूले पनि गुमाउँछन्‌। तपाईं वास्तवमा कस्तो व्यक्‍ति हुनुहुन्छ, कसैलाई थाह हुँदैन।

लजालुपनलाई हटाउने

समय बित्दै जाँदा र प्रयास गरेको खण्डमा तपाईंको व्यवहार बदल्न सकिन्छ। सर्वप्रथम, अर्को व्यक्‍तिले तपाईंबारे के के न सोचिरहेको होला भनेर चिन्ता गर्न छाड्‌नुहोस्‌। हुनसक्छ, आफूबारे सोच्न र के भन्‍ने अनि के गर्ने भनेर सोच्दैमा उसलाई फुर्सद छैन। अनि त्यो व्यक्‍तिले केटाकेटी स्वभाव देखाउँदै तपाईंको खिसी गर्छ भने समस्या त ऊसित पो रहेछ भनेर बुझ्नुहोस्‌। “निबुर्द्धि मानिसले अरूहरूलाई घृणा [खिसी] गर्छ।” (हितोपदेश ११:१२) साथी बनाउन लायकका व्यक्‍तिहरूले तपाईंको बाहिरी रूप हेरेर होइन तर तपाईं वास्तवमा जस्तो हुनुहुन्छ, त्यसको आधारमा तपाईंलाई साथी बनाउँछन्‌।

साथै, सकारात्मक ढंगमा सोच्ने प्रयास गर्नुहोस्‌। कोही पनि सिद्ध छैन। हामी सबैको आ-आफ्नै कमजोरी तथा सामर्थ्यहरू छन्‌। यो पनि नबिर्सनुहोस्‌, सबैको दृष्टिकोण एउटै हुँदैन। आफूलाई मन पर्ने र मन नपर्ने कुराहरू फरक फरक हुन्छन्‌। तपाईंको कुरामा सहमति नजनाउँदैमा तपाईंलाई इन्कार गरेको चाहिं होइन।

अरूलाई दोष दिइ नहाल्नुहोस्‌। पहिले असाध्यै लजालु स्वभावका युवकले यसो भने: “मैले आफूबारे दुइटा कुरा पत्ता लगाएँ . . . पहिलो त, म आफ्नै भलाइ मात्र खोज्दो रहेछु। आफूबारे अचाक्ली सोच्थें, अरूले मेरो कुरालाई के भन्ठाने होलान्‌ भन्‍ने पीर मात्र गर्थें। दोस्रो, अरूले मबारे नराम्रो कुरा मात्र सोच्छन्‌ भन्ठान्थें। कसैलाई पत्याउँदिनथें र अरूले मलाई हेप्छन्‌ भन्ठान्थें।”

यस युवक यहोवाका साक्षीहरूको एउटा सभामा आए। तिनी भन्छन्‌, “त्यहाँ सुनेको एउटा भाषणले मलाई निकै मदत गऱ्‍यो। वक्‍ताले भने, प्रेमले आफ्नै भलाइ मात्र खोज्दैन। प्रेम छ भने अरूको भलाइ खोज्छ, खराबी होइन। अतः अरूको शंका गर्ने बानीलाई छोडें। मैले मनमनै सोचें: ‘तिनीहरूले मेरो कुरा बुझ्नेछन्‌, दयालु हुनेछन्‌, समझदार हुनेछन्‌।’ मैले मानिसहरूलाई भरोसा गर्न थालें। कसै कसैले मलाई गलत ठान्लान्‌ तर त्यो त तिनीहरूको पो समस्या भनेर पनि बुझें।”

“मनमनै मात्र होइन तर अरूको लागि केही गरेर प्रेम देखाउनुपर्ने रहेछ भनेर पनि बुझें,” तिनी भन्छन्‌। “सुरुमा मैले स-साना केटाकेटीहरूको लागि केही गरिदिन थालें। पछि, घर-घरमा गएर अरूलाई भेट्‌न थालें। अरूका भावनाहरू बुझ्न सिकें, अरूलाई कसरी मदत गर्न सकिन्छ, त्यसबारे सोच्न थालें।” यसरी तिनले लूका ६:३७, ३८ मा उल्लिखित येशूको सल्लाहको सत्यतालाई बुझे: “आलोचना नगर, र तिमीहरूको आलोचना हुनेछैन। दोष नलगाओ, र तिमीहरूलाई दोष लाग्नेछैन। . . . देओ, र तिमीहरूलाई दिइनेछ। . . . किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।”

अग्रसर हुने

अरू मानिसहरूसित घुलमिल हुन सिक्नुहोस्‌। अभिवादन गर्न अनि कुरा थाल्न अग्रसर हुनुहोस्‌। त्यसपछि मौसमजस्तो सामान्य विषयबाट कुरा थाले पनि भो। नबिर्सनुहोस्‌: ५० प्रतिशत मात्र तपाईंको जिम्मेवारी हो। अर्को ५० प्रतिशत त अर्को व्यक्‍तिको जिम्मा हो। बोल्दा गल्ती हुन गयो भने आफूलाई नधिक्कार्नुहोस्‌। अरूहरू हाँसे भने उनीहरूसँगसँगै हाँस्न सिक्नुहोस्‌। “यो त अलि मिलेन हगि” भन्दै कुरा अघि बढाउनुभयो भने आखिरमा सबै ठीकै हुन्छ।

असजिलो हुने लुगाफाटा नलगाउनुहोस्‌। तपाईंको लुगा कच्याककुचुक नपरेको सुकिलो होस्‌। आफू सकेसम्म चिटिक्क हुनुभएको छ भने अप्ठ्यारो पनि हुँदैन र कुराकानीमा ध्यान दिन सजिलो हुन्छ। सीधा उभिनुहोस्‌ तर नहडबडाउनुहोस्‌। हँसिलो हुनुहोस्‌। मित्रैलो ढंगमा आँखा जुधाएर कुरा गर्नुहोस्‌ र अर्को व्यक्‍तिको कुरामा सही थाप्न मुन्टो हल्लाउनुहोस्‌ वा हो भन्‍नुहोस्‌।

भाषण दिने वा जागिरको लागि अन्तरवार्ता दिने जस्ता कठिन परिस्थितिहरूमा पनि यथासम्भव तयारी गर्नुहोस्‌। के भन्‍ने, पहिल्यै अभ्यास गर्नुहोस्‌। बोल्दा लरबरिने वा अकमकिने समस्या छ भने अग्रिम अभ्यास गरेर हटाउन वा कम गर्न सकिन्छ। अरू कुनै नयाँ सीप सिक्दा समय लागेझैं यसो गर्न पनि समय लाग्छ। तर यसबाट हुने राम्रा परिणामहरू देखेपछि अझ उन्‍नति गर्ने हौसला पाउनुहुनेछ।

परमेश्‍वरले दिन सक्नुहुने मदतलाई पनि बिर्सनु हुँदैन। पुरातन इस्राएल राष्ट्रका प्रथम राजा, शाऊल पहिले असाध्यै लजालु थिए। (१ शमूएल, अध्याय ९ र १०) तर ठोस कदम चाल्नुपर्ने क्षण आइपर्दा “परमप्रभुको आत्मा झट्टै तिनीमाथि आउनुभयो” र तिनी विजयी भए!—१ शमूएल, अध्याय ११.

आज मसीही युवाहरूले परमेश्‍वर र उहाँले प्रतिज्ञा गर्नुभएको धार्मिकताको नयाँ संसारबारे अरूलाई सिकाउने जिम्मेवारी पाएका छन्‌। (मत्ती २४:१४) यो सुसमाचार बताउँदा र ब्रह्‍माण्डको सर्वश्रेष्ठ अख्तियारवालाको प्रतिनिधित्व गर्दा आत्मविश्‍वास अवश्‍य बढ्‌नेछ र आफ्नै कुरा मात्र नसोच्न मदत गर्नेछ। अतः, विश्‍वासी भएर परमेश्‍वरको सेवा गर्नुभयो भने उहाँले आशिष्‌ दिनुहुनेछ र लजालुपन हटाउन मदत पाउनुहुनेछ भनेर ढुक्क हुन सक्नुहुन्छ।

छलफलका लागि प्रश्‍नहरू

◻ लजालुपन वास्तवमा के हो र लजालु व्यक्‍तिले अरू मानिसहरूसामु कस्तो व्यवहार गर्छ? के तपाईं पनि अलि लजालु स्वभावको हुनुहुन्छ?

◻ अरू मानिसहरूसित बस्नुपर्दा लजालु व्यक्‍तिले किन आत्मविश्‍वास गुमाउँछ?

◻ लजालुपनले कसरी हानि पुऱ्‍याउनसक्छ?

◻ लजालुपन हटाउने केही तरिकाहरू के के हुन्‌? के यसमध्ये कुनै सुझाउ तपाईंको लागि उपयोगी भएको छ?

[पृष्ठ १२१-मा भएको ठूलो अक्षरको क्याप्सन]

लजालु व्यक्‍तिले मित्रता तथा अन्य अवसरहरू गुमाउँछ

[पृष्ठ १२४-मा भएको पेटी]

यी तरिकाहरूद्वारा तपाईं लजालुपन हटाउन सक्नुहुन्छ

परिवर्तन गर्न चाहेर अनि परिवर्तन हुनु साँच्चै सम्भव छ भनी विश्‍वास गरेर

नकारात्मक भावनाहरूलाई सकारात्मक भावनाहरूले जितेर

व्यवहारिक तथा अर्थपूर्ण लक्ष्यहरू राखेर

चिन्ता हुँदा नहडबडाई त्यसको सामना गर्न सिकेर

कुनै परिस्थितिको सामना गर्नुअघि अभ्यास गरेर

आफूले पाएका सफलताहरूबाट आत्मविश्‍वास हासिल गरेर

मतभिन्‍नता हुन्छन्‌ र अरूले पनि गल्ती गर्छन्‌ भनी नबिर्सेर

निपुण हुन तथा नयाँ सीपहरू सिक्ने अभ्यास गरेर

अरूलाई प्रेम देखाउन तथा मदत गर्न अघि बढेर

सुहाउँदो लुगाफाटा लगाएर अनि आत्मविश्‍वासका साथ काम गरेर

परमेश्‍वरले दिनुहुने मदतमा भरोसा राखेर

मसीही सभाहरूमा संलग्न हुनुका साथै आफ्नो विश्‍वासबारे अरूलाई बताएर

[पृष्ठ १२३-मा भएको चित्र]

लजालु व्यक्‍ति अरूले आफ्नो कुनै मोल गर्दैन भनेर सोचिरहेको हुन्छ

[पृष्ठ १२५-मा भएको चित्र]

अरूसित घुलमिल हुन सिक्नुहोस्‌—मुसुक्क हाँस्न, अरूलाई अभिवादन गर्न अनि कुरा थाल्न अग्रसर हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने