प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १०/८ pp. १९-२३
  • तानाशाही दमनको बेलामा पनि विश्‍वास कायम गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तानाशाही दमनको बेलामा पनि विश्‍वास कायम गर्दै
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गेस्टापोबाट सोधपुछ
  • विश्‍व परिस्थितिमा परिवर्तन
  • रूसको जेलमा
  • फेरि युक्रेनमा
  • विश्‍वासको कठिन परीक्षा
  • मेरो प्रमुख चासो—वफादार रहनु
    ब्यूँझनुहोस्‌!—२०००
  • कम्युनिष्ट सरकारको प्रतिबन्धमा ४० वर्षभन्दा बढी बिताएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • साइबेरियामा निर्वासित!
    ब्यूँझनुहोस्‌!—१९९९
  • परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १०/८ pp. १९-२३

तानाशाही दमनको बेलामा पनि विश्‍वास कायम गर्दै

माइकल डासेभिचको वृत्तान्तमा आधारित

“जर्मनीमा हामी यहोवाका साक्षीहरूलाई गोली ठोक्ने गर्छौं। तिमीले त्यो बन्दुक देख्यौ कि देखेनौं?” कुनाको राइफल देखाउँदै गेस्टापो अफिसरले मलाई सोधे। “म तिमीलाई त्यसको किरिचले घोचेर मार्नसक्छु र मलाई पटक्कै पछुतो लाग्नेछैन।”

सन्‌ १९४२ मा नाजी सरकारले मेरो जन्मभूमि कब्जा गरेको बेला यस्तो धम्की सामना गर्दा म १५ वर्षको मात्र थिएँ।

नोभेम्बर १९२६ मा स्टानिस्लाभसँगैको (अहिले इभाने-फ्रान्कभिस्क भनिन्छ) सानो गाउँमा मेरो जन्म भएको थियो र त्यतिबेला यो पोल्याण्डको भाग थियो। सेप्टेम्बर १९३९ देखि मे १९४५ सम्म दोस्रो विश्‍वयुद्धको दौडान हाम्रो इलाका पहिला सोभियत संघ अनि केही समयको निम्ति जर्मनी र पछि फेरि सोभियत संघको अधीनमा पऱ्‍यो। युद्धपछि यो युक्रेनी सोभियत साम्यवादी गणतन्त्रको भाग भयो र १९९१ मा सोभियत संघको विघटन भएपछि यो युक्रेनको भाग भयो।

मेरो पोलिस बुबा र बेलारूसी आमा ग्रीक क्याथोलिक चर्चका सदस्य हुनुहुन्थ्यो। तर सन्‌ १९३९ मा नजिकैको गाउँ हरिल्याडीका ३० यहोवाका साक्षीहरूमध्ये दुई जना महिलाले हामीलाई युनिभर्सल वार नियर भन्‍ने सानो पुस्तिका दिनुभयो। मेरै आँखाअघि घटेका घटनाहरू त्यसमा वर्णन गरिएका थिए। तसर्थ, उक्‍त पुस्तिकाको शीर्षक “राष्ट्रहरू किन युद्धमा आत्तुरीका साथ लागिरहेका छन्‌?” देखेपछि मैले त्यसमा दिइएको बाइबल आधारित व्याख्यामा राम्ररी ध्यान दिएँ।

युक्रेनको समस्या भनेको युद्ध मात्र थिएन। त्यहाँ ठूलो अनिकाल पनि परिरहेको थियो। सोभियत प्रधानमन्त्री जोसेफ स्टालिनका नीतिहरूका कारण मानिसहरू रूसमा जबरजस्ती निर्वासित हुनुपऱ्‍यो। आफूले देखेका दुःखकष्टहरूको कारण मैले बाइबल राम्ररी केलाउन थालें। होरिहिलेडेमा बस्ने एक साक्षीलाई मसित बाइबल अध्ययन सञ्चालन गर्न आग्रह गरें।

हाम्रो गाउँ ओडायिभ होरिल्याडीबाट निस्टर नदीपारि छ र हप्ताको दुई तीन चोटि सानो डुंगाबाट नदी पार गरेर म बाइबल अध्ययन गर्न जान्थें। अगस्त १९४१ मा मेरी दिदी आना, म र अन्य दुई जनाले त्यही नदीमा बप्तिस्मा लियौं।

गेस्टापोबाट सोधपुछ

सन्‌ १९४१ मा जर्मन आधिपत्य सुरु भयो र सजाय दिने धम्की निरन्तर आए तापनि हामीले आफ्नो मसीही गतिविधि बन्द गरेनौं। लगत्तै अर्को वर्षदेखि मैले अग्रगामीको काम थालें र यताउता साइकलमा जान्थें। त्यसकै केही समयपछि हो, मैले माथि परिचयमा बताएको जर्मन गेस्टापोसित भेट भएको। वास्तवमा यस्तो भएको थियो।

एक दिन सेवकाईबाट फर्किंदै गर्दा म दुई सँगी मसीही, आमाछोरीलाई भेट्‌न गएँ। छोरीचाहिंको श्रीमान्‌ले हाम्रो विश्‍वासको विरोध गर्थे र श्रीमतीले साहित्यहरू कहाँबाट पाउँछि भनी जान्‍न उत्सुक थिए। त्यस दिन मसँग साहित्यहरू मात्र होइन तर सँगी मसीहीहरूको सेवा रिपोर्ट पनि थियो। श्रीमान्‌ले म तिनको घरबाट फर्कंदै गरेको देखे।

“पर्खी!” भनेर तिनी चिच्च्याए। तर म झोला च्याप्प समातेर दौडें।

तिनी अझ कराए, “पर्खी! चोर, चोर!” खेतमा काम गरिरहेका खेतालाहरूले मैले सामान चोरेर भागेको होला भन्‍ने सोचे र मलाई जबरजस्ती समाते। त्यस मानिसले मलाई पुलिसकहाँ लग्यो र त्यहाँ गेस्टापो अफिसरहरू थिए।

मेरो झोलाका साहित्यहरू देखेपछि गेस्टापो अफिसर जर्मन भाषामा यसो भन्दै गर्जिए: “रदरफोर्ड! रदरफोर्ड!” तिनी रिसाउनुको कारण बुझ्न मलाई अनुवादक चाहिंदैनथ्यो। त्यतिखेर यहोवाका साक्षीहरूद्वारा प्रकाशित हरेक पुस्तकको शीर्ष पृष्ठमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष जोसेफ एफ. रदरफोर्डको नाउँ हुन्थ्यो। त्यसपछि, त्यस सँगी मसीही बहिनीको पतिले म तिनकी श्रीमतीको प्रेमिका भएको आरोप लगाए। प्रहरी तथा गेस्टापो अफिसरहरूले त्यो आरोप अर्थहीन भएको देख्नसक्थे किनभने तिनकी श्रीमती मेरो आमा भन्‍न मिल्ने उमेरकी थिइन्‌। तिनीहरूले मलाई सोधपुछ गर्न थाले।

तिनीहरू म को हो, कहाँबाट आएको र अझ विशेष गरी मैले ती पुस्तकहरू कहाँबाट पाएँ आदि कुरा थाह पाउन चाहन्थे। तर म तिनीहरूलाई बताउने पक्षमा थिइनँ। तिनीहरूले मलाई निकै चोटि पिटे, गिल्ला गरे अनि छिंडीमा लगेर थुने। तिनीहरूले अर्को तीन दिनसम्म मलाई केरकार गरे। त्यसपछि मलाई गेस्टापो अफिसरको कार्यालयमा लगियो र त्यहाँ तिनले मलाई किरिचले घोप्ने धम्की दिए। एकछिन त मलाई तिनले साँच्चै घोप्न लागेको हो कि जस्तो लाग्यो। मैले आफ्नो शिर निहुऱ्‍याएँ। त्यसपछि छाएको सन्‍नाटा मलाई निकै लामो लाग्यो। त्यसपछि तिनले अचानक यसो भने: “तिमी गए हुन्छ।”

तपाईंहरूले थाह पाउनु नै भयो होला, त्यतिबेला हाम्रोनिम्ति प्रचार गर्नु साँच्चै चुनौतीपूर्ण थियो। तर सभाहरू सञ्चालन गर्नु पनि कम खतरनाक थिएन। अप्रिल १९, १९४३ मा होरिहिलेडेको एउटा घरको दुइटा कोठामा हामीले ख्रीष्टको वार्षिक स्मरणार्थ मनायौं। (लूका २२:१९) हामीले सभा सुरु गर्नै लागेको बेला पुलिस आउनै लागेको छ भनेर खबर पायौं। हामीमध्ये कोही कोही बगैंचामा लुक्यौं तर मेरी दिदी आना र अन्य तीन जना महिला छिंडीमा लुक्न जानुभएको थियो। पुलिसले उहाँहरूलाई त्यहाँ भेट्टाए र घिसार्दै केरकारको निम्ति लगे। उहाँहरूले घण्टौंसम्म अनुचित व्यवहार खप्नुपऱ्‍यो र एक जना त सिकिस्त घाइते हुनुभयो।

विश्‍व परिस्थितिमा परिवर्तन

सन्‌ १९४४ को गर्मी याममा जर्मनहरू फर्के र हामी फेरि सोभियतहरूको हातमा पऱ्‍यौं। यहोवाका सेवकको हैसियतमा हामीले नाजी कब्जाको बेलामा जसरी बाइबलीय सिद्धान्त पछ्याएका थियौं अहिले पनि त्यसै गऱ्‍यौं। हामीले कुनै पनि सैन्य वा राजनैतिक गतिविधिमा भाग लिन अस्वीकार गऱ्‍यौं। बाइबल सिद्धान्तप्रति हाम्रो त्यस्तो वफादारीको परीक्षाको दिन नजिकै थियो।—यशैया २:४; मत्ती २६:५२; यूहन्‍ना १७:१४.

केही दिनभित्रै रूसीहरूले सबै युवकहरूलाई सैन्य सेवामा भर्ती गर्न थाले। अझ त्यसमाथि पनि सेनामा भर्ना गर्न खोज्नेहरू सोभियतहरू मात्र नभएकाले परिस्थिति झनै जटिल भयो। युक्रेनी पक्षधरहरूले सम्पूर्ण इलाकाका जवानहरूलाई बटुलेर जंगलमा लडाकुको रूपमा प्रशिक्षण दिन लगे। यसप्रकार हामी साक्षीहरू आपत्‌कालीन परिस्थितिमा पऱ्‍यौं। हामीले दुई विरोधी समूह, सोभियत र युक्रेनी पक्षधरहरूलाई हाम्रो तटथस्ता साबित गर्नुपर्ने भयो।

यी दुई समूहको हाम्रै गाउँमा झगडा भयो र हाम्रो घरअगाडिको बाटोमै केही पक्षधरहरूको हत्या भयो। सोभियत अफिसरहरू हाम्रो घरमा आएर हामीले ती मृत व्यक्‍तिहरूलाई चिन्छौं कि भनेर सोधे। हाम्रो घरमा आएका अफिसरहरूले मलाई पनि तिनीहरूसँगै सेनामा भर्ती गर्न लाने विचार गरे। तिनीहरूले पोलिस सेनाहरूको छुट्टै दल बनाउन लागेका थिए। मेरो वंशावली पोलिस भएकोले म पनि त्यसमा भर्ती हुनुपर्ने थियो।

अन्य चार जना साक्षीहरू र मैले सेनामा भर्ती हुन इन्कार गऱ्‍यौं। त्यसैले हामीलाई रेलमा चडाएर झन्डै ७०० किलोमिटर पूर्वमा नेप्रोपेट्रोभस्क शहरमा लगे। त्यहाँ हामीले बाइबल आधारित विश्‍वासको कारण सेनामा भर्ती हुन नसक्ने कुरा बताएपछि हामी विरुद्ध अभियोग तयार नहोउञ्जेल हामीलाई हिरासतमा राखियो। हामी अदालतमा हाजिर हुँदा हामीले नागरिक अनुसन्धानकर्ता यहूदी भएको थाह पायौं। हामीले आफ्नो पक्षको प्रतिवाद गर्दा आफ्नो विश्‍वासबारे बतायौं र ती अनुसन्धानकर्ताले ध्यान दिएर सुने। हामीले तिनलाई चासो लाग्ने विषयहरू जस्तै, इस्राएलीहरूमाथि गरिएको दमन अनि मोशाले तिनीहरूलाई मिश्रबाट मुक्‍त गरेका घटनाहरू उल्लेख गऱ्‍यौं।

अदालतले हामी विरुद्ध न्याय नसुनाउञ्जेल महिनौं हामीलाई अन्य २५ जना कैदीहरूसँग एउटै कोठामा थुनियो। हामीले पनि सेनामा भर्ती हुन इन्कार गरेको थाह पाउँदा तिनीहरूले यस्तो उद्‌गार गरे: “तिमीहरू त हाम्रा भाइहरू रहेछौ!” तथापि, केही समयपछि हामीले तिनीहरू साक्षीहरू नभई ब्याप्टिस्टहरू रहेछन्‌ भनेर थाह पायौं। तिनीहरू सेनामा भर्ती हुन तयार भए तापनि हतियार उठाउन इन्कार गरेकोले थुनामा परेका रहेछन्‌।

मे १९४५ मा नेप्रोपेट्रोभस्कमा हिरासतमै छँदा मध्य रातमा नजिकैको ब्यारेक र बाहिर बाटोबाट आएको बन्दुक र मानिसहरूको आवाजले हाम्रो निद्रा खुल्यो। दंगाफसाद, युद्ध वा उत्सव वा के भएको होला भनेर हामीले सोच्यौं। भोलिपल्ट बिहान चमेना गर्ने क्रममा हामीले हजाम पसलबाट युद्धको अन्त्य भयो भन्‍ने खबर पायौं! त्यसको केही समयपछि अदालतले हाम्रो सजाय सुनायो। ब्याप्टिस्टहरू र हामीलाई एउटै सजाय दिइयो—त्यो हो, दस वर्ष कैद।

रूसको जेलमा

हामी पाँच जना साक्षीलाई रूसको जेलमा पठाइयो। दुई हप्ताको रेल यात्रापछि हामी अन्ततः सुकोबेजभोड्‌नोयेमा झऱ्‍यौं। यो मस्कोबाट झन्डै ४०० किलोमिटर पूर्वमा पर्छ। सुकोबेजभोड्‌नोये, रेलमार्गसँगसँगै फैलिएको ३२ वटा श्रम शिविरहरूको प्रशासनिक केन्द्र थियो। प्रत्येक शिविरमा हजारौं कैदीहरू थिए। सुकोबेजभोड्‌नोयेमा छ महिना बिताएपछि मलाई शिविर न. १८ मा पठाइयो। त्यहाँका प्रायजसो कैदीहरू अपराधी वा राजनैतिक कैदीहरू थिए।

अफिसरहरूले हामीलाई रूख काट्‌ने काम दिए जुन साह्रै गाह्रो काम थियो। कहिलेकाहीं हामी कम्मरसम्म पुग्ने हिउँमा जसोतसो हिंडेर गई हाते करौंतीले रूख काट्‌नुपर्थ्यो अनि फेरि हिउँमै घिसार्दै ल्याउनुपर्थ्यो। हप्ताको एक चोटि आइतबार चमेनापछि शिविरमा भएका अन्य चार जना साक्षीसित बाइबलबारे केही छलफल गर्ने मौका मिल्थ्यो। हाम्रो सभा भनेको त्यही थियो। हामी स्मरणार्थ पनि मनाउँथ्यौं र एक पटक त हामीले स्नानगृहमा मनायौं। हामीसित येशूको रगतको प्रतीकको रूपमा चलाउन दाखमद्य नभएकोले ऐंसेलुको सर्बत चलायौं।

बिरानोपनले मलाई असाध्यै सताउँथ्यो। मैले आफ्नो मनको कुरा यहोवालाई पोखाएँ र उहाँले त्यस्तै भावनाहरूले दबिएका एलियालाई बल दिनुभएझैं मलाई पनि दिनुभयो। (१ राजा १९:१४, १८) हामी एक्लो छैनौं भनेर बुझ्न परमेश्‍वरले मलाई मदत गर्नुभयो। उहाँ अवश्‍य पनि मेरो जीवनको एकदमै कठिन परिस्थितिमा पनि स्थिर, दृढ खम्बा साबित हुनुभयो।

सुकोबेजभोड्‌नोये नजिकै अन्य शिविरहरूमा मुठीभर साक्षीहरू थिए र आफ्नो कामकै सिलसिलामा अन्य शिविरहरू जान पाउने साक्षीमार्फत हामीले समय समयमा उनीहरूसित सम्पर्क कायम राख्थ्यौं। तिनी एउटा शिविरबाट अर्को शिविरमा साहित्य ओसारपसार गर्ने गर्थे। यसरी हामीले आफूसित भएका थोरै साहित्य आपसमा बाँड्‌न सक्यौं। अनि यो साँच्चै ठूलो प्रोत्साहनको स्रोत साबित भयो!

फेरि युक्रेनमा

राज्यले माफी घोषणा गरेपछि मेरो सजाय दसबाट पाँच वर्षमा घटाइयो। तसर्थ, अप्रिल १९५० मा म मेरो गृह मण्डली होरिल्याडी फर्कें। युक्रेनमा हाम्रो काम अझै प्रतिबन्धित थियो र सेवकाईमा भाग लिनु धेरै खतरनाक थियो। तर इनामहरू पनि त्यत्तिकै थियो।

म फर्केको केही समय नबित्दै मेरो घरबाट झन्डै २० किलोमिटर टाढा झबोक्रूक्रे गाउँमा बस्ने कोजाक नाउँका एक जना मानिससित कुरा गरें। तिनको र तिनको परिवारको कसरी गुजारा चल्दैछ भनेर मैले सोधें। सरकारी निरीक्षणमा खेतमा काम गर्ने खेतालाहरूलाई हातमुख जोर्ने चिन्ताले सताएको हुन्छ भनेर मलाई थाह थियो। त्यसैले, कुराकानी सुरु गर्न यो राम्रो प्रश्‍न हो भनेर मलाई थाह थियो। बाइबलले हाम्रो समयमा अनिकाल र युद्धहरू हुनेछ भनेर भविष्यवाणी गरेको छ भनेर मैले बताएँ। (मत्ती २४:३-१४) तिनी अझ बढी जान्‍न चाहन्थे। त्यसैले म तिनलाई फेरि भेट्‌न गएँ। हप्तैपिच्छे म कोजाक परिवारसित बाइबल अध्ययन गर्न झाबोक्रूके जान र आउन प्रत्येक चोटि झन्डैझन्डै ४० किलोमिटर हिंड्‌थें। अगस्त १९५० मा कोजाक परिवारले बप्तिस्मा लिएपछि तिनीसित अध्ययन गर्न मैले सामना गरेको खतरा अनि त्यसमाथि हिंड्‌न लागेको समय सबै बिर्सें।

कोजाकहरूले बप्तिस्मा लिएको केही समय नबित्दै अन्य हजारौंसँगै तिनीहरूलाई निर्वासनमा लगियो। तिनीहरूलाई अप्रिल १९५१ मा सेनाले अचानक घेरा लगायो र कुनै मुद्दा वा सुनुवाइविना साइबेरियामा निर्वासित गरे। त्यहाँ कोजाक र मेरा अन्य थुप्रै साथीहरू आफ्नो घर बनाउन बाध्य भए।a

होरिल्याडीमा भएका साक्षीहरूको १५ परिवारमा ४ परिवारलाई मात्र निर्वासित गरिएको थियो। तथापि, अन्य मण्डलीहरूमा निर्वासित भएका साक्षीहरूको अनुपात धेरै थियो। यस्तो आम निर्वासनको कसरी प्रबन्ध मिलाइयो? अफिसरहरूसित साक्षीहरूको सूची थियो। त्यसैले, आफूलाई चाहिएको बेला ठूलो संख्यामा एकै चोटि समात्न सके। यसो हेर्दा, तिनीहरूले १९५० मा म जेलमै छँदा सूची तयार पारेजस्तो देखिन्छ, त्यसैले मेरो नाउँचाहिं सूचीमा थिएन। एक महिनाअघि मार्च १९५१ मा मैले यहोवाका वफादार सेवक फियनासित बिहे गरेको थिएँ। फियनाको सबै परिवार निर्वासनमा परे तर तिनीचाहिं निर्वासित हुनबाट बचिन्‌ किनभने बिहेपछि तिनको थर मेरै भएकोले तिनको नाउँ पनि सूचीमा थिएन।

विश्‍वासको कठिन परीक्षा

निर्वासनपछि हामी घरमा भएकाहरूले काम फेरि व्यवस्थित गर्नुपरेको थियो। नजिकैको इभाने-फ्रान्कभिस्कका मण्डलीहरू हेर्न मलाई अह्राइयो। त्यहाँ अझै १५ वटा मण्डलीमा ३० जना जति साक्षीहरू थिए। आफू सिकर्मी भएकोले मेरो तालिका लचकदार थियो। त्यसैले, प्रत्येक मण्डलीका भाइहरूसित हरेक महिना गोप्य रूपमा भेटघाट गर्थें।

हामी अक्सर राती चिहानमा भेट्‌ने गर्थ्यौं किनभने त्यहाँ पक्राउमा पर्ने खतरा कम हुन्थ्यो। छलफलको मुख्य विषय, सबै मण्डलीलाई केही मात्रामा भए पनि बाइबल साहित्य कसरी पुऱ्‍याउने भन्‍ने हुन्थ्यो। समय समयमा हामीले पोलिस वा रोमेनियाली भाषामा नयाँ प्रहरीधरहरा पाउँथ्यौं र हामी युक्रेनी भाषामा अनुवाद गर्थ्यौं। तथापि, अफिसरहरू हर बखत हाम्रो पिछा गर्थे। तिनीहरू हाम्रो नकल प्रति बनाउने थोत्रो मेसिन खोजेर नाश गर्न चाहन्थे।

तर सबैभन्दा ठूलो समस्या हाम्रो मसीही गतिविधिमा अगुवाइ लिइरहेका ब्रूकलिन, न्यु योर्कस्थित भाइहरूलयागत अन्य देशका भाइहरूसित कुनै सम्पर्क नहुनु थियो। फलतः हाम्रो मण्डलीमा अक्सर विभाजन, झूटा हल्ला र षड्यन्त्रको वातावरण हुन्थ्यो। केही साक्षीहरूले संगठन छोडे र विरोधी समूह खडा गरे। ब्रूकलिनमा अगुवाइ लिनेहरूको सम्बन्धमा समेत गलत र झूटा हल्लाहरू फैलिए।

यसप्रकार, हामी थुप्रैको निम्ति आफ्नो विश्‍वासको सबैभन्दा कठिन परीक्षा विरोधीहरूको सतावट नभई मण्डलीभित्रकै झगडाहरू थिए। कोही कोहीले हामीसँग मिलेर उपासना नगर्ने निर्णय गरे तापनि हामीले संगठनसँगसँगै हिंड्‌नु र समस्याहरू समाधान गर्न यहोवालाई पर्खनु अत्यावश्‍यक छ भनेर सिक्यौं। खुसीको कुरा, हाम्रो इलाकाका थुप्रै साक्षीहरूले त्यसै गरे। संगठन छोडेका थुप्रै व्यक्‍तिहरूले पछि आफ्नो गल्ती स्वीकारेर यहोवाको सेवा गर्न नै फर्केकोमा पनि म खुसी छु।

ती कष्टदायी बिरानोपनका समयहरूमा पनि हामी सार्वजनिक सेवकाईमा व्यस्त भयौं र प्रचुर मात्रामा आशिष्‌ पायौं। अनि हामीले साँच्चै प्रशस्त इनाम पायौं! अहिले हरेक चोटि मण्डली पुस्तक अध्ययनमा उपस्थित हुँदा यहोवाबाट पाएका आशिष्‌हरू सम्झन्छु। हाम्रो अध्ययन समूहमा भएका २० जना जतिलाई मेरो परिवारका सदस्यले सच्चाइ सिक्न मदत गरेको हो।

मेरो आमाबाबु र दिदी आना सबैको मृत्यु भइसक्यो र उहाँहरू अन्तसम्मै यहोवाप्रति विश्‍वासी रहनुभयो। फियना र म अझै पनि यहोवाको सेवामा सक्दो गर्दैछौं। समय साँच्चै चाँडै बितेछ। विगत ३० वर्षको दौडान युक्रेनका यहोवाका साक्षीहरूले उल्लेखनीय घटनाहरूको अनुभव गरेका छन्‌ जुन छोटो समयमा बताउन असम्भव छ। तर अहिले यहोवाको सेवामा बिताएका थुप्रै वर्षसित म सन्तुष्ट छु र उहाँ मेरो दृढ खम्बा र सहायक रहिरहुनुहुनेछ भनेर म विश्‍वस्त छु किनभने उहाँ यसो भन्‍नुहुन्छ: “म परमप्रभु कहिल्यै परिवर्त्तन हुँदिनँ।”—मलाकी ३:६.

[फुटनोट]

a प्रहरीधरहरा मार्च १, १९९९ अकंको पृष्ठ २४-९ मा “कम्युनिष्ट सरकारको प्रतिबन्धमा ४० वर्षभन्दा बढी बिताएँ” र ब्यूँझनुहोस्‌!, मे ८, १९९९, पृष्ठ १२-१७ मा “साइबेरियामा निर्वासित!” लेखहरू हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिनीहरू म को हो, कहाँबाट आएको र अझ विशेष गरी मैले पुस्तकहरू कहाँबाट पाएँ आदि थाह पाउन चाहन्थे। तर तिनीहरूलाई म बताउने पक्षमा थिइनँ

[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]

बिरानोपनले मलाई असाध्यै सताउँथ्यो। मैले आफ्नो मनका कुराहरू यहोवालाई पोखाएँ र उहाँले मलाई बल दिनुभयो

[पृष्ठ २०-मा भएको चित्र]

सन्‌ १९५२ मा फियना र म

[पृष्ठ २३-मा भएको चित्र]

फियनासित अहिले

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने