कम्युनिष्ट सरकारको प्रतिबन्धमा ४० वर्षभन्दा बढी बिताएँ
मिखाएल भासेलिभिस साभित्सकिको वृत्तान्तमा आधारित
अप्रिल १, ७ र ८, १९५१ मा यहोवाका साक्षीहरूलाई “धपाउने महा अभियान” भयो भनी अप्रिल १, १९५६ को प्रहरीधरहरा-ले (अंग्रेजी) रिपोर्ट गऱ्यो। सोही पत्रिकाले अझ यस्तो भन्यो: “यी मितिहरू रुसका यहोवाका साक्षीहरूको लागि अविस्मरणीय छन्। ती तीन दिनमा पश्चिमी युक्रेन, स्वेत रुस [बेलारुस], बेसारबिया, मोल्दोभा, लिथुआनिया, लाट्भिया र इस्टोनियाका सात हजारभन्दा बढी यहोवाका साक्षीहरूलाई . . . गाडाहरूमा राखेर रेल स्टेसनमा लगियो अनि त्यहाँ गाईबस्तु ओसार्ने डिब्बामा राखेर टाढा टाढा पठाइयो।”
अप्रिल ८, १९५१ मा मेरी पत्नी, आठ महिनाको छोरा, मेरो आमाबाबु र भाइ तथा टार्नोपोल, युक्रेन वरपरका थुप्रै साक्षीहरूलाई आ-आफ्नो घर-घरबाटै निकालियो। उनीहरूलाई गाईबस्तु ओसार्ने डिब्बामा कोचे अनि त्यसपछि झन्डै दुई हप्ता यात्रा गऱ्यौं। अन्तमा उनीहरूलाई बाइकल तालको पश्चिमतिर साइबेरियाली जंगलमा ओराले।
यसरी धपाइँदा म कहाँ थिएँ? त्यस समयमा म कहाँ थिएँ र पछि हामी सबैलाई के भयो भनी बताउनुअघि म यहोवाको साक्षी कसरी भएँ तपाईंहरूलाई बताउँछु।
हामीकहाँ बाइबल सत्य पुग्छ
सेप्टेम्बर १९४७ मा १५ वर्षको मात्र छँदा टार्नापोलबाट झन्डै ५० किलोमिटर टाढा सानो गाउँ स्लाभियाटिनस्थित हाम्रो घरमा दुई यहोवाका साक्षीहरू आए। आमा र मलाई यी दुई जवानहरूको कुरा सुन्दा योचाहिं अन्य धर्महरूजस्तो होइन भन्ने थाह भयो र ती दुईमध्ये एकको नाउँ मारिया थियो। उनीहरूले आफ्नो विश्वास के हो, बताए अनि बाइबलसम्बन्धी हाम्रो प्रश्नहरूको स्पष्ट जवाफ दिए।
बाइबल परमेश्वरको वचन हो भनी मलाई विश्वास त थियो तर मलाई चर्च भने मन परेको थिएन। हजुरबुबाले यसो भन्ने गर्नुहुन्थ्यो: “नरकमा सास्ती खाने कुरा गरेर पादरीहरूले मानिसहरूलाई तर्साउने गर्छन् तर पादरीहरू आफै चाहिं पटक्कै डराउँदैनन्। तिनीहरू गरिबहरूलाई ठग्ने काम मात्र गर्छन्।” दोस्रो विश्वयुद्धको सुरुसुरुतिर हाम्रो गाउँका पोलिस नागरिकहरूमाथि गरेको आक्रमण र आगलागी गराएको मलाई अझै याद छ। तर छक्कलाग्दो कुरा के छ भने यी सबैको पछाडि ग्रीक क्याथोलिक पादरीहरू थिए। पछि, मारेर फालिएका थुप्रै लासहरू मैले देखें र यस्तो क्रूरताको कारण जान्न म उत्सुक थिएँ।
यी सबै कुराहरू मैले साक्षीहरूसित बाइबल अध्ययन गर्दै जाँदा बुझ्न थालें। अग्निमय कुण्ड छैन र शैतान तथा दियाबलले युद्ध तथा रक्तपात गर्न झूटा धर्म चलाउँछ भन्नेजस्ता आधारभूत बाइबल सत्यहरू सिकें। कहिलेकाहीं म व्यक्तिगत अध्ययन गर्दागर्दै बीचैमा रोकेर आफूले सिकिरहेको कुराहरूको लागि धन्यवाद दिन यहोवालाई हार्दिक प्रार्थना गर्थें। मैले यी बाइबल सत्यहरू मेरो भाइलाई भन्न थालें र तिनले पनि सत्य स्वीकार्दा म अत्यन्तै खुसी भएँ।
सिकेको कुरा व्यवहारमा उतारें
मैले आफ्नो जीवनमा पनि काँटछाँटहरू गर्नुपर्ने देखें र तुरुन्तै धूम्रपान छोडिदिएँ। व्यवस्थित बाइबल अध्ययनको निम्ति सभाहरूमा अरूसित नियमित भेला हुनुपर्ने कुरा पनि मैले बुझें। यसको लागि म जंगलको बाटो हुँदै लगभग १० किलोमिटर हिंडेर सभाहरू हुने गोप्य स्थानमा पुग्थें। कहिलेकाहीं त सभामा केही बहिनीहरू मात्र हुन्थे र म बप्तिस्मा प्राप्त नभए तापनि मलाई सञ्चालन गर्न आग्रह गरिन्थ्यो।
बाइबल साहित्यहरू राख्नु खतरनाक थियो र भेट्टाइयो भने २५ वर्षको जेल सजाय दिइन्थ्यो। तैपनि मलाई आफ्नै पुस्तकालय राख्ने चाहना भयो। मेरा एक जना छिमेकीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेका थिए तर डरले तिनले अध्ययन छोडे र आफूसँग भएको सबै साहित्यहरू बगैंचामा गाडेर राखे। त्यस मानिस ती सबै पुस्तक तथा पत्रिकाहरू निकालेर मलाई दिन राजी हुँदा मैले यहोवालाई लाख धन्यवाद चढाएँ! मैले ती साहित्यहरू बुबाको मौरीको घारहरूमा लुकाएँ, जहाँ अरूले हतपती खोज्ने विचार गर्दैनन्।
जुलाई १९४९ मा मैले पानीको बप्तिस्माद्वारा यहोवालाई आफ्नो जीवन समर्पण गरें। त्यो नै मेरो जीवनको सबैभन्दा आनन्दमय क्षण थियो। मलाई गोप्य रूपमा बप्तिस्मा दिने साक्षीले साँचो मसीही हुन सजिलो छैन र थुप्रै परीक्षाहरू आउँछ भनी जोड दिए। केही समय नबित्दै तिनले भनेका कुराहरू कत्तिको सत्य रहेछन् भनेर थाह पाएँ! तैपनि बप्तिस्मा प्राप्त साक्षीको रूपमा मेरो जीवनको थालनी आनन्दसाथ भयो। बप्तिस्मा लिएको दुई महिनापछि, म र आमालाई सत्यसँग परिचित गराउने दुई युवतीहरूमध्ये एउटी मारियासित मेरो विवाह भयो।
मेरो पहिलो परीक्षा अचानक आयो
अप्रिल १६, १९५० मा म एउटा सानो शहर पोडज्गाटिसबाट फर्किराख्दा सेनाहरूले मलाई अचानक समाते र मेरो झोलामा हाम्रो अध्ययन समूहको निम्ति राखेको केही बाइबल साहित्यहरू भेट्टाए। म पक्राउमा परें। हिरासतमा रहेको सुरुका केही दिन मलाई डन्डाले पिटे र सुत्न वा खान केही दिंदैन थिए। दुइटै हात टाउकोमा राखेर सय चोटि उठ् बस् गर्ने आज्ञा दिए। फतक्कै गलेकोले मैले पूरा गर्नै सकिनँ। त्यसपछि मलाई २४ घण्टासम्म ओसिलो ठाउँमा राखे।
यस्तो सास्ती गर्नुको उद्देश्य मलाई कमजोर बनाउने अनि मबाट सबै जानकारी ओकलाउनु थियो। “कहाँबाट सहित्यहरू पायौ अनि त्यो कसकहाँ लग्न लागेको?” भनी तिनीहरूले प्रश्न गरे। मैले तिनीहरूलाई केही पनि बताइनँ। अनि त्यसपछि ममाथि लगाइने मुद्दा अलिकति पढेर सुनाए। त्यसमा सोभियत संघ विरुद्ध साहित्यहरू बाँड्नु तथा राख्नुको कारण सजायको रूपमा प्राणदण्ड वा २५ वर्ष कैद गर्नसक्ने बताइएको थियो।
“तिमी कुन चाहिं दण्ड छान्छौ?” भनी तिनीहरूले सोधे।
मैले यस्तो उत्तर दिएँ: “कुनै पनि छान्दिन, म यहोवामाथि भरोसा गर्छु र उहाँको मदतमा म जे पनि सहन तयार छु।”
अचम्मको कुरा तिनीहरूले मलाई सात दिनमै छोडिदिए। त्यस अनुभवबाट मैले यहोवाका प्रतिज्ञाहरू साँच्चै भरोसायोग्य छन् भनी थाह पाएँ: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।”—हिब्रू १३:५.
घर पुगुञ्जेल म असाध्यै बिरामी भइसकेको थिएँ तर बुबाले मलाई डाक्टरकहाँ लग्नुभयो र चाँडै निको भएँ। बुबा र हाम्रो विश्वास एउटै नभए तापनि उहाँले हाम्रो विरोध गर्नुहुन्नथ्यो।
कैद र निर्वासन
केही महिनापछि मलाई सोभियत सेनामा अनिवार्य सेवाको लागि बोलाइयो। मैले युद्धमा भाग नलिने आफ्नो धार्मिक अडानबारे बताएँ। (यशैया २:४) तैपनि, मलाई फेब्रुअरी १९५१ मा चार वर्ष कैद सजाय दिइयो र टार्नापोलको झ्यालखानामा पठाए। पछि मलाई १२० किलोमिटर टाढा अलि ठूलो शहर लेभ्भेफमा पठाए। त्यस झ्यालखानामा हुँदा मैले थुप्रै साक्षीहरूलाई साइबेरियामा निर्वासित गरेको थाह पाएँ।
सन् १९५१ को वसन्त ऋतुमा हामीहरूको एक हूललाई साइबेरियाभन्दा अझ पर सुदूर पूर्व पठाइयो। हामीले एक महिनासम्म यात्रा गऱ्यौं र यस अवधिमा ११,००० किलोमिटरभन्दा बढी पार गऱ्यौं जसमध्ये ११ ठाउँहरूको स्थानीय समय फरक फरक थियो! रेलमा यात्रा गरेको दुई हप्ताभन्दा बढीपछि एकचोटि बल्ल रेल रोके र त्यहाँ हामीलाई नुहाउन दिए। यो नोभोस्सिर्बिस्क, साइबेरियामा थियो जहाँ एउटा ठूलो सार्वजनिक स्नानगृह छ।
त्यहाँ कैदीहरूको ठूलो हूलमा एक जना मानिसले ठूलो स्वरले यसो भनेको सुनें: “यहोनादाब परिवारको यहाँ को को छ?” त्यतिबेला “यहोनादाब” पदावली पृथ्वीमा अनन्त जीवन बिताउने आशा भएकाहरूलाई चिनाउन प्रयोग गरिन्थ्यो। (२ राजा १०:१५-१७; भजन ३७:११, २९) तुरुन्तै कोही कोही कैदीहरूले आफूलाई साक्षीको रूपमा चिनाइ हाले। हामीले कस्तो हर्ष साथ एकअर्कालाई अभिवादन गऱ्यौं!
झ्यालखानामा आध्यात्मिक गतिविधि
नोभोस्सिर्बिस्कमा हुँदा हामीले आफ्नो गन्तव्यस्थान नपुगुञ्जेल एकअर्कालाई चिनाउन हामीले मात्र बुझ्ने केही विशेष सांकेतिक शब्दहरू चलाउने निर्णय गऱ्यौं। आखिरमा, भ्लाडिभोस्टकबाट नजिकै जापानी समुद्रमा अवस्थित जेलमा हामी सबैलाई राखियो। त्यहाँ हामीले बाइबल अध्ययनको निम्ति नियमित सभाहरू आयोजना गर्थ्यौं। लामो समयदेखि जेलमा परेका यी परिपक्व भाइहरूसित संगत गर्न पाउँदा म आध्यात्मिक तवरमा साँच्चै बलियो भएँ। तिनीहरूले पालैपालो सभाहरू सञ्चालन गर्थे र बाइबल पदहरू चलाउँथे र प्रहरीधरहरा पत्रिकाबाट आ-आफूले सम्झेका बुँदाहरू बताउँथे।
प्रश्नहरू सोधिन्थ्यो र भाइहरूले जवाफ दिन्थे। हामीमध्ये थुप्रैले सिमेन्टको थैलो टुक्रा टुक्रा पार्थ्यौं र त्यसमा ती टिप्पणीहरू टिप्थ्यौं। अनि ती टिपोटहरू सिलाएर राख्थ्यौं र आफ्नो व्यक्तिगत पुस्तकालयको रूपमा चलाउँथ्यौं। केही महिनापछि लामो कैद सजाय पाएकाहरूलाई साइबेरियाको सुदूर उत्तरमा पर्ने झ्यालखानामा पठाइयो। हामी तीन जवान भाइहरूलाई चाहिं जापानबाट लगभग ६५० किलोमिटर टाढा नेकोट्के पठाइयो। त्यहाँ मैले जेलमा दुई वर्ष बिताएँ।
हामीले त्यहाँ कहिलेकाहीं प्रहरीधरहरा पाउँथ्यौं। महिनौंको लागि हाम्रो आध्यात्मिक भोजनको स्रोत हुन्थ्यो। समयमा हामीले पत्रहरू पनि पाउन थाल्यौं। मेरो परिवारले (अहिले निर्वासनमा) पठाएको पहिलो पत्र पढ्दा मेरो आँखा रसाए। माथि उल्लिखित प्रहरीधरहरा-मा बताएझैं साक्षीहरूको घरमा गरिएको आक्रमण र दुई घण्टाभित्र घर छोड्ने आदेश सम्बन्धी वृत्तान्त थियो।
मेरो परिवारसित पुनर्मिलन
जम्मा चार वर्षको कैद सजायमा दुई वर्ष बिताएपछि मलाई डिसेम्बर १९५२ मा रिहा गरियो। म, मेरो परिवारलाई निर्वासन गरेको सानो गाउँ टुलुनसँगैको ठाउँ ग्याडेलिए गएँ। करिब तीन वर्षको छोरा इभान र करिब दुई वर्षकी छोरी आना सबैलाई भेट्न पाउँदा अत्यन्तै खुसी भएँ। तथापि, म पूर्णतया स्वतन्त्र थिइनँ। स्थानीय अधिकारीहरूले मेरो राहदानी जफत गरेका थिए र ममाथि कडा निगरानी राख्थे। घरबाट तीन किलोमिटरभन्दा बढी यात्रा गर्न पाउँदैनथें। पछि मलाई टुलुनको बजारसम्म घोडामा जाने अनुमति दिइयो। सावधानी साथ मैले सँगी साक्षीहरूलाई त्यहाँ भेटें।
त्यतिबेलासम्म हाम्रो अर्को दुई छोरीहरू आना र नाडिया तथा दुई छोरा इभान र कोल्या भइसकेका थिए। सन् १९५८ मा अर्को छोरा भेल्ड्या पनि जन्मियो। अनि पछि १९६१ मा अर्की छोरी गेल्या पनि जन्मिन्।
के जि बि -ले (भूतपूर्व सरकारको सुरक्षा निकाय) मलाई अक्सर समातेर केरकार गर्थ्यो। तिनीहरूको उद्देश्य मबाट मण्डलीहरूबारे जानकारीहरू हासिल गर्नु मात्र थिएन तर मैले तिनीहरूलाई सहयोग गरिरहेको छु भन्ने शंका पैदा गर्नु पनि थियो। त्यसैले मलाई तिनीहरूले राम्रा राम्रा भोजनालयमा लग्थे र मैले तिनीहरूसित असाध्यै मजा गरिरहेको भान पार्न म हाँसिरहेको फोटो खिच्न खोज्थे। तर मैले तिनीहरूको मनसाय थाह पाइहालें र जानाजानी म सधैं अलि ठुस्केर बस्थें। हरेक पल्ट मलाई पक्रदाँ के के भयो सबै भाइहरूलाई बताउँथें। अतः भाइहरूले मेरो वफादारीमा कहिल्यै शंका गरेनन्।
कैदमा रहेकाहरूसित सम्पर्क
वर्षौंको दौडान सयौं साक्षीहरू कैदमा परे। यस समयमा हामीले कैदमा परेका भाइहरूसित नियमित सम्पर्क राख्थ्यौं र तिनीहरूलाई साहित्यहरू दिन्थ्यौं। यो कसरी गरिन्थ्यो? भाइबहिनीहरूलाई शिविरबाट रिहा गर्दा कडा सुरक्षाको बावजूद कसरी साहित्यहरू लग्न सकिन्छ भनेर बुझ्थ्यौं। झन्डै दस वर्षसम्म हामीले भाइहरूलाई पोल्याण्ड तथा अन्य देशहरूबाट प्राप्त भएका पत्रिका तथा पुस्तकहरू पुऱ्याई दिन्थ्यौं।
हाम्रा थुप्रै मसीही बहिनीहरूले स-साना अक्षरमा सम्पूर्ण पत्रिकाहरू सार्न धेरै समय बिताए। ती सारिएका प्रति यति सानो हुन्थ्यो कि सलाईको बट्टामा समेत अटाउँथ्यो! सन् १९९१ मा हाम्रो कार्यमाथिको प्रतिबन्ध हटेर चार रंगको आकर्षक पत्रिकाहरू पाउन थाल्यौं तब एउटी बहिनीले यसो भनिन्: “हामीलाई कसैले सम्झने छैन।” तर तिनको कुरा ठीक थिएन। मानिसहरूले बिर्से तापनि यस्ता वफादार जनहरूको कार्य यहोवाले कहिल्यै बिर्सनु हुनेछैन!—हिब्रू ६:१०.
फेरि बसाइँ सराइ तथा दुःखहरू
सन् १९६७ को अन्ततिर इरकुत्स्कमा बसोबास गर्ने मेरो भाइको घरमा खानतलासी गरियो। फिल्म तथा बाइबल साहित्यका केही प्रतिहरू भेट्टाए। तिनलाई दोषी ठहऱ्याए र तीन वर्ष कैद सजाय दिए। तथापि, हाम्रो घरमा खानतलासी गर्दा केही पनि भेट्टाएनन्। तैपनि अधिकारीहरूलाई हामी यस काममा संलग्न छौं भनी पक्का थियो। त्यसैले त्यस इलाका छोडेर हामी अन्तै जानुपऱ्यो। हामी नेभिनोमस्क शहरभन्दा झन्डै ५,००० किलोमिटर पश्चिम काउकसमा सऱ्यौं। त्यहाँ हामीले जोडतोडले अनौपचारिक प्रचार गर्न थाल्यौं।
जून १९६९ मा स्कूलको गर्मीको छुट्टिको पहिलो दिन नै दुःखपूर्ण दुर्घटना भयो। हाइ भोल्टेज भएको खम्बा नजिकै बल लिन जाँदा हाम्रो १२ वर्षको छोरा कोल्यालाई नराम्रोसित करेन्ट लाग्यो। तिनको शरीर ७० प्रतिशतभन्दा बढी त जलेको थियो। अस्पतालमा उसले मलाई सोध्यो: “हामी त्यो टापुमा फेरिसँगै जान पाउँछौं होला?” (तिनले हामी अक्सर जाने एउटा टापुबारे भनिरहेका थिए।) मैले भने, “हामी त्यस टापुमा पक्कै फेरि जानेछौं कोल्या। येशू ख्रीष्टले तिमीलाई ब्यूँताउनु भएपछि हामी पक्कै त्यहाँ जानेछौं।” अर्ध चेतनामा तिनले मण्डलीको अक्रेस्ट्रामा आफ्नो ट्रम्पेटमा बजाउन मनपर्ने राज्य गीतहरू गाइरहे। तीन दिनपछि पुनरुत्थानको आशामा विश्वस्त हुँदै तिनको मृत्यु भयो।
अर्को वर्ष हाम्रो २० वर्षको छोरा इभानलाई अनिवार्य सैनिक सेवाको लागि बोलाइयो। तिनले सेवा गर्न इन्कार गर्दा तिनलाई पक्रेर तीन वर्षको कैद सजाय दिए। सन् १९७१ मा मलाई अनिवार्य सैनिक सेवाको लागि बोलाइयो र सेवा गर्न इन्कार गरेकोले फेरि कैदमा हाल्ने धम्की दिए। मेरो मुद्दा महिनौंसम्म लम्बिरह्यो। यति नै बेला मेरी श्रीमती मारिया क्यान्सर रोगले बिरामी भइन् र तिनको देखभाल गर्न आवश्यक पऱ्यो। यही कारणले तिनीहरूले मेरो मुद्दा खारेज गरे। सन् १९७२ मा मारियाको मृत्यु भयो। तिनी एक विश्वासी साथी थिइन् र मृत्युसम्मै यहोवाप्रति वफादार रहिन्।
हाम्रो परिवार टाढा टाढा फैलियो
सन् १९७३ मा मैले नीनासित बिहे गरें। उनी साक्षी भएकीले उनको बुबाले १९६० मा घरबाट निकालिदिएका थिए। कैदमा भएकाहरूको लागि पत्रिकाहरू सार्न मेहनत गर्ने बहिनीहरूमध्ये उनी पनि एक थिइन्। तिनी एक जोसिलो सेवक थिइन्। मेरा बच्चाहरूले पनि उनलाई मन पराए।
नेभिनोमस्क्का अधिकारीहरू हाम्रो गतिविधिबारे सजग हुन थाले र हामीलाई जान दबाब दिन थाले। त्यसैले १९७५ मा मेरी पत्नी, छोरीहरू तथा म काउकसको दक्षिणी प्रान्त जर्जिया सऱ्यौं। त्यति नै बेला मेरा छोराहरू इभान र भोल्ड्या काजगस्थानको दक्षिणी सीमा जाम्बुल सरे।
जर्जियामा यहोवाका साक्षीहरूको गतिविधि भर्खर भर्खरै सुरु भएको थियो। हामीले ब्ल्याक सी तट वरपर गाग्रा र शुखुमिमा अनौपचारिक प्रचार गऱ्यौं र एक वर्षपछि पहाडी नदीमा दस जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए। त्यहाँबाट पनि अधिकारीहरूले हामीलाई जान दबाब दिए र हामी पूर्वी जर्जियामा सऱ्यौं। त्यहाँ हामीले भेडा खाले व्यक्तिहरू भेट्टाउन जोडदार प्रयास गऱ्यौं र यहोवाले हामीलाई आशिष् दिनुभयो।
हामी स-साना समूहमा भेला हुन्थ्यौं। हामीलाई जर्जियाली भाषा नआउने र उनीहरू रुसी भाषा राम्ररी नजान्ने हुँदा भाषाको समस्या हुन्थ्यो। सुरुमा त हामीले रुसीहरूसित मात्र अध्ययन गऱ्यौं। तर चाँडै जर्जियाली भाषामा पनि प्रचार अनि शिक्षण कार्यमा बिस्तार भयो र अहिले जर्जियामा हजारौं राज्य उद्घोषकहरू छन्।
सन् १९७९ मा मेरो हाकिमले के जि बि -को दबाबमा मलाई अब उनको देशमा स्वागत छैन भने। यही समयतिर मेरी छोरी नाडिया मोटर दुर्घटनामा परिन् जसमा तिनी र तिनकी छोरी दुवैको मृत्युभयो। त्यसको एक वर्षअघि मेरी आमा नेभिनोमस्कमा बित्नुभयो। उहाँ अन्तसम्मै यहोवाप्रति विश्वासी हुनुहुन्थ्यो। अब त्यहाँ मेरो बुबा र भाइ मात्र हुनुहुन्थ्यो। त्यसैले हामी त्यहाँ फर्कने निर्णय गऱ्यौं।
धीरजी भएकोले आशिष्हरू पायौं
हामीले नेभिनोमस्कमा अझै लुकीछिपी बाइबल साहित्यहरू प्रकाशन गरिरह्यौं। सन् १९८० को दशकको बीचतिर एक चोटि मलाई अधिकारीहरूले बोलाउँदा मैले तिनीहरूलाई सपनामा हाम्रो पत्रिकाहरू लुकाइरहेको देखेको बताएँ। तिनीहरू हाँसे। म निस्कने बेलामा तिनीहरूमध्ये एकले भने: “साहित्यहरू कसरी लुकाउने भनेर अब तपाईंले सपना देख्न नपरोस्।” तिनले अन्तमा यसो भने: “चाँडै तपाईंले किताबहरू खुलमखुल्ला तख्ताहरूमा हाल्न सक्नुहुनेछ र हातमा बाइबल लिएर श्रीमतीसँगै सभाहरू जान सक्नुहुनेछ।”
सन् १९८९ मा मेरी छोरी आनाको मस्तिष्कमा धमनी सुजनको कारण मृत्यु भयो। तिनको मृत्युले हामी मर्माहत भयौं। तिनी ३८ वर्षकी मात्र थिइन्। सोही वर्ष अगस्त महिनामा हामी नेभिनोमस्कका साक्षीहरू रेल भाडामा लिएर वार्स, पोल्याण्डमा अन्तरराष्ट्रिय अधिवेशनको लागि गयौं। त्यहाँ ६०,३६६ उपस्थित थिए र यसमा सोभियत संघका हजारौं पनि थिए। हामीलाई यो सपना जस्तो लाग्यो! त्यसको झन्डै दुई वर्षपछि मार्च २७, १९९१ का दिन मस्कोमा यहोवाका साक्षीहरूको धार्मिक संगठनले कानुनी मान्यता प्राप्त गऱ्यो र त्यस ऐतिहासिक कागजातमा हस्ताक्षर गर्न बोलाइएको लामो समयदेखि सेवा गर्दै आएको पाँच प्राचीनहरूमध्ये म एक थिएँ!
मेरा अहिले जीवित बच्चाहरू सबैले यहोवाको विश्वासपूर्वक सेवा गरिरहेका देख्दा खुसी लाग्छ। अनि उत्सुकतासाथ परमेश्वरको नयाँ संसारको पर्खाइमा छु जहाँ मैले फेरि आना, नाडिया र तिनकी छोरी साथै कोल्यालाई भेट्न पाउनेछु। तिनको पुनरुत्थान भएपछि म पक्कै पनि तिनलाई हामी वर्षौं पहिला जाने टापुमा लैजानेछु।
यतिञ्जेल यस विशाल राष्ट्रमा भएको वृद्धि हेर्न पाउनु साह्रै आनन्दमय अनुभव भएको छ! मेरो जीवनसित कुनै गुनासो छैन र यहोवाको साक्षी हुन दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ छु। भजन ३४:८ को सत्यताबारे म विश्वस्त छु: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।”
[पृष्ठ २५-मा भएको चित्र]
मेरो परिवारलाई टुलुनमा भेटेको वर्ष
[पृष्ठ २६-मा भएका चित्रहरू]
माथि: साइबेरिया, टुलुनको हाम्रो घरबाहिर मेरो बुबा र मेरा बच्चाहरू
माथि दायाँ: मोटर दुर्घटनामा मरेका छोरी नाडिया र नातिनी
दायाँ: सन् १९६८ मा खिचिएको हाम्रो परिवारको फोटो