मेरो प्रमुख चासो—वफादार रहनु
एलेक्सी डाभिड्युकको वृत्तान्तमा आधारित
सन् १९४७ को कुरा हो; पोलिश सिमाना नजिकै युक्रेनको हाम्रो गाउँ, लास्किफभन्दा केही किलोमिटर पर। मभन्दा अलि ठूलो उमेरको साथी स्टिपानले पोल्याण्डबाट युक्रेनमा बाइबल साहित्य ओसारपसार गर्ने गर्थ्यो। एक चोटि राती सीमा गार्डले उसलाई देखेर लखेट्न थाल्यो अनि गोली हान्यो। स्टिपानको मृत्यु भएको बाह्रवर्षपछि यसले मेरो जीवनमा गहिरो असर गऱ्यो। यसबारे म पछि बताउनेछु।
लास्किफमा १९३२ मा मेरो जन्म हुँदा हाम्रो गाउँमा बाइबल स्टुडेन्ट्सको दश परिवार थियो र यहोवाका साक्षीहरू त्यतिबेला त्यो नाउँले चिनिन्थे। तिनीहरूमध्ये मेरा आमाबाबु पनि हुनुहुन्थ्यो। अनि उहाँहरूले १९७० दशकको बीचतिर आफ्नो मृत्यु नहोउञ्जेलसम्म यहोवाप्रति वफादार रहेर असल उदाहरण छोड्नुभयो। जिन्दगीभर नै यहोवाप्रति वफादार रहनु मेरो जीवनको प्रमुख चासो भएको छ।—भजन १८:२५.
दोस्रो विश्वयुद्ध सुरु भएको साल १९३९ मा हामी बसोबास गर्ने पूर्वी पोल्याण्डको इलाका सोभियत संघमा गाभियो। जर्मनहरूले आक्रमण गरेर हाम्रो इलाका आफ्नो हातमा नलेउञ्जेल जून १९४१ सम्म हामी सोभियत शासनको अधीनमा थियौं।
दोस्रो विश्वयुद्धको बेला स्कूलमा मलाई अलि गाह्रो भयो। केटाकेटीलाई राष्ट्रवादी गीतहरू सिकाइन्थ्यो अनि सैन्य प्रशिक्षणमा भाग लिन लगाइन्थ्यो। यस्तो प्रशिक्षणमा ग्रेनेड फाल्न पनि सिकाइन्थ्यो। तर मैले राष्ट्रवादी गीतहरू गाउन अनि कुनै पनि प्रकारको सैन्य प्रशिक्षणमा भाग लिन इन्कार गरें। आफ्नो बाइबल आधारित विश्वासको लागि अडिग रहन मैले सानै उमेरमा सिकेकोले पछिसम्म पनि परमेश्वरप्रति वफादार रहन मदत पाएँ।
हाम्रो मण्डलीको इलाकामा बस्ने थुप्रै मानिसहरूको बाइबल सच्चाइप्रति चासो भएको हुँदा तिनीहरूलाई सिकाउन दुई जना अग्रगामी हाम्रो इलाकामा खटाइयो। यहोवाका साक्षीहरूको पूर्ण समय सेवकहरूलाई अग्रगामी भनिन्छ। ती दुईमध्ये एक जना अग्रगामी, इल्या फेडोरोभिचले मसित बाइबल अध्ययन गर्नुभयो र मलाई सेवकाईमा प्रशिक्षण दिनुभयो। जर्मन आधिपत्यको बेला इल्यालाई देश निकाला गरेर नाजी यातना शिविरमा हालियो अनि त्यहीं उहाँको मृत्यु भयो।
तटस्थ रहन बुबाको संघर्ष
सन् १९४१ मा सोभियत अख्तियारवालाहरूले बुबालाई युद्धको लागि आर्थिक सहयोग गर्न वचन दिने एउटा कागतमा हस्ताक्षर गर्न जबरजस्ती गरे। उहाँले तिनीहरूलाई युद्धमा भाग लिने दुवै पक्षलाई सहयोग गर्न सक्दिनँ र साँचो परमेश्वरको सेवकको हैसियतमा तटस्थ रहनेछु भनी बताउनुभयो। बुबालाई शत्रु ठहर गराएर चार वर्ष जेल सजाय सुनाइयो। तर उहाँले जेलमा जम्मा चार दिन बिताउनुभयो। किन? किनभने उहाँलाई कैदमा हालिएको लगत्तैको आइतबारका दिन हाम्रो इलाकालाई जर्मन सेनाले कब्जामा लियो।
जर्मन सेनाहरू नजिकै आइपुगेको खबर सुन्नेबित्तिकै झ्यालखानाका गार्डहरू ढोका खोलेर भाग्न थाले। बाहिर निस्केका अधिकांश कैदीहरूलाई सोभियत सिपाहीहरूले मारे। बुबा त्यहाँबाट तुरुन्तै निस्कनुभएन तर पछि उहाँको साथीको घरमा जानुभयो। त्यहाँबाट बुबाले आमालाई कागजातहरू पठाइदिने समाचार पठाउनुभयो। किनकि त्यो कागजपत्रले उहाँले युद्धमा सोभियतहरूलाई समर्थन गर्न इन्कार गरेकोले झ्यालखानामा हालिएको हो भनेर प्रमाणित गर्ने थियो। बुबाले जर्मन अख्तियारवालाहरूलाई यी कागजातहरू देखाउनु भएपछि उहाँलाई मृत्युदण्ड दिइएन।
सोभियतहरूलाई सहयोग गर्ने सबै जनाको नाउँ जर्मनहरू जान्न चाहन्थे। तिनीहरूले बुबालाई ती नाउँहरू बताउन निकै दबाउ दिए तर उहाँले मान्नुभएन। उहाँले आफ्नो तटस्थ अडानबारे बताउनुभयो। उहाँले कसैको नाउँ दिनुभएको भए तिनीहरू गोली हानेर मारिने थिए। यसर्थ, बुबाको तटस्थताले गर्दा अरू मानिसको पनि ज्यान बच्यो र यसको लागि तिनीहरू बुबाप्रति साह्रै कृतज्ञ भए।
भूमिगत कार्य
सोभियतहरू अगस्त १९४४ मा युक्रेन फर्के अनि मे १९४५ मा युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भयो। पछि सोभियत युनियनले आफूलाई बाँकी संसारबाट अलग्याउँदा हामी अलग्गै भयौं। सीमापारि पोल्याण्डका यहोवाका साक्षीहरूलाई भेट्नसमेत गाह्रो भयो। आँटिला साक्षीहरू सुटुक्क सीमापारि गएर दुई चारवटा प्रहरीधरहरा पत्रिका लिएर फर्कन्थे। सीमा इलाका हाम्रो घर लास्किफबाट आठ किलोमिटर मात्र पर भएको हुँदा यी ओसारपसार गर्नेहरूले एकदमै खतरा मोल्नुपर्थ्यो भनेर मैले सुनेको थिएँ।
उदाहरणका लागि, सिल्भेस्टर नाउँका साक्षीले दुई चोटि सीमा वारपार गरे अनि दुवै चोटि त्यस्तो कुनै अप्रिय घटना भएन। तर तेस्रो पटक जाँदा सीमाका सुरक्षाकर्मीहरू र सुरक्षा कुकुरहरूले देखे। सिपाहीहरूले तिनलाई पर्खी भनी चिच्च्याए तर सिल्भेस्टर आफ्नो ज्यान जोगाउन भागे। कुकुरहरूबाट बच्ने एक मात्र उपाय नजिकैको ताल तर्नु थियो। तिनी रातभरि आफ्नो टाउको मात्र पानी बाहिर निकालेर लामा लामा घाँसको झाङमा लुके। सुरक्षाकर्मीहरूले खोज्न छोडेपछि लखतरान भएका सिल्भेस्टर लुखुरलुखुर घरतिर लागे।
माथि उल्लेख गरिएझैं सिल्भेस्टरको भतिजा स्टिपानले सीमा वारपार गर्दा आफ्नो ज्यान गुमाउनुपऱ्यो। यद्यपि, हामीले यहोवाका जनहरूसित सम्पर्क कायम राख्नु महत्त्वपूर्ण थियो। साहित्य ओसारपसार गर्ने यी साहसी व्यक्तिहरूको प्रयासले गर्दा हामीले आध्यात्मिक भोजन र मदतकारी निर्देशन पाउन सक्यौं।
त्यसपछिको साल १९४८ मा हाम्रो घर नजिकैको सानो तालमा मैले राती बप्तिस्मा लिएँ। बप्तिस्मा लिनेहरू हाम्रो घरमा भेला भए तर तिनीहरू को को थिए मलाई थाह थिएन किनभने अँध्यारो थियो र सबै गुपचुप ढंगले गरिएको थियो। हामी बप्तिस्मा लिन तयार भएकाहरूले एकअर्कासित बोलेनौं। बप्तिस्मा भाषण कसले दियो, तालको छेउमा उभिंदा बप्तिस्मा प्रश्नहरू मलाई कसले सोध्यो अनि मलाई कसले चुर्लुम्म डुबायो केही थाह भएन। वर्षौंपछि, कुरैकुरामा हामी दुवैले त्यही रात पो बप्तिस्मा लिएका रहेछौं भनेर थाह पायौं।
सन् १९४९ मा ब्रुक्लिनले युक्रेनका साक्षीहरूलाई सोभियत संघमा प्रचार कार्यको लागि कानुनी मान्यता लिन मस्कोलाई निवेदन गर्ने प्रोत्साहन दिएको थियो। त्यही निर्देशनअनुरूप गृहमन्त्रीद्वारा सोभियत संघको सुप्रिम सोभियतको निकायलाई निवेदन पठाइयो। त्यसपछि, मिकोला प्यातोका र इल्या बाबीचुकलाई हाम्रो निवेदनको सरकारी जवाफ लिन मस्को पठाइयो। तिनीहरू राजी भए र त्यही ग्रीष्मऋतुमा मस्को गए।
यो प्रतिनिधि मण्डलसित भेट्ने अधिकृतले हाम्रो कामको बाइबलआधारित कारण सुने। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ” भन्ने येशूको भविष्यवाणीको पूर्तिअनुरूप हाम्रो काम भइरहेको हो भनेर तिनीहरूले बुझाए। (मत्ती २४:१४) तथापि, सरकारले हाम्रो कार्यलाई कहिल्यै कानुनी मान्यता दिनेछैन भनी उक्त अधिकृतले भने।
साक्षीहरू घर फर्के अनि युक्रेनमा हाम्रो कार्यको कानुनी मान्यताको लागि युक्रेनको राजधानी किभ गए। पुनः अख्तियारवालाहरूले हाम्रो निवेदन अस्वीकार गरे। यहोवाका साक्षीहरूले सरकारलाई समर्थन गरेको खण्डमा मात्र तिनीहरूमाथि कुनै हस्तक्षेप हुनेछैन भने। तिनीहरूले भने कि साक्षीहरूले सैन्य दलमा सेवा गर्नैपर्छ अनि मतदान पनि गर्नैपर्छ। फेरि तटस्थताबारे बुझाउनुपऱ्यो अर्थात् हाम्रो मालिक येशू ख्रीष्टको अनुकरण गर्दै हामी पनि यस संसारको भाग हुन चाहँदैनौं भनेर बताउनुपऱ्यो।—यूहन्ना १७:१४-१६.
त्यसको केही समयपछि भाइ प्यातोका र बाबीचुकलाई गिरफ्तार गरियो, उहाँहरूमाथि आरोप लगाएर २५ वर्षे जेल सजाय सुनाइयो। त्यही समयताका १९५० मा मेरो बुबालगायत थुप्रै साक्षीहरूलाई अख्तियारवालाहरूले समाते। उहाँलाई २५ वर्ष जेल सजाय सुनाइयो अनि लगभग ७,००० किलोमिटर पर सोभियत युनियनको पूर्वीय छेउमा पर्ने खाबारोभ्स्क पठाइयो!
साइबेरियामा निर्वासन
अप्रिल १९५१ मा सोभियत सरकारले हाल लाट्भिया, एस्टोनिया, लिथुआनिया, मल्डोभा, बेलारूस अनि युक्रेन भनेर चिनिने पश्चिमी प्रान्तहरूमा साक्षीहरू विरुद्ध आक्रमण गरे। त्यो महिना लगभग ७,००० जनालाई साइबेरियामा निर्वासित गरियो अनि यो समूहमा आमा र म पनि थिएँ। सिपाहीहरू राती सरासर हाम्रो घरमा पसेर हामीलाई रेल स्टेशनमा लैजान्थे। त्यहाँ हामीलाई भेडाबाख्रा ओसारपसार गर्ने डब्बामा, एउटामा ५० जना जति कोच्थे अनि त्यसको दुई हप्तापछि झालारी भन्ने ठाउँमा ओराल्थे। यो ठाउँ, इर्कुट्स्क प्रान्तमा बाइकाल ताल नजिकै पर्छ।
हिउँको चिसो बतास अनि चारैतिर सिपाहीहरूको बीचमा उभिएका हामीहरूलाई अब के हुने हो, थाह थिएन। यहाँ म कसरी यहोवाप्रति वफादार रहिरहन सकूँला? चिसोको सम्झना नहोस् भनेर हामीले राज्य गीतहरू गाउन थाल्यौं। त्यसपछि, स्थानीय सरकारी व्यापारका मेनेजरहरू आइपुगे। कोही कोहीलाई कडा परिश्रम गर्न पुरुषहरू चाहिएको थियो भने अरूचाहिं गाईवस्तुको हेरचाह गर्न आइमाईहरूको खोजीमा थिए। आमा र मलाई टाङनिन्सकिया जल विद्युत स्टेशन निर्माण भइरहेको ठाउँमा पुऱ्याइयो।
त्यहाँ पुगेपछि हामीले निर्वासित मानिसहरूलाई राख्न काठले बनाएका ब्यारेकहरूको पंक्ति देख्यौं। मलाई ट्राक्टर चलाउन र बिजुलीको काम अनि आमालाई खेतको काममा लगाइयो। हामीलाई औपचारिक भाषामा कैदीहरू होइन, निर्वासितहरू भनिन्थ्यो। हामी पावर स्टेशनको छेउछाउसम्म कुनै रोकटोकविना जान सक्थ्यौं तर ५० किलोमिटर पर अर्को बस्तीमा जान भने अनुमति थिएन। अख्तियारवालाहरूले हामी त्यहाँ आजीवन रहनेछौं भन्ने कागजातमा हस्ताक्षर गर्न दबाउ दिए। भर्खर १९ वर्ष पुगेको हुँदा मलाई त्यो असाध्यै लामो समयजस्तो लाग्यो र मैले हस्ताक्षर गर्न मानिनँ। यद्यपि, हामीले यहाँ १५ वर्ष बितायौं।
साइबेरियाबाट पोलिस सीमा इलाका अब ८ किलोमिटर होइन, ६,००० किलोमिटरभन्दा टाढा थियो! हामी साक्षीहरूले मण्डलीको प्रबन्ध मिलाउन सक्दो प्रयास गऱ्यौं अनि नेतृत्व लिन पुरुषहरू नियुक्त गऱ्यौं। सुरुमा हामीसित साक्षीहरूले युक्रेनबाट ल्याएका दुई चार थोकबाहेक अरू बाइबल साहित्य थिएन। त्यसको हातैले सारेर अर्को प्रतिहरू बनाइए अनि हामीले यही प्रयोग गर्थ्यौं।
चाँडै हामीले सभाहरू सञ्चालन गर्न थाल्यौं। हामीमध्ये प्रायजसो ब्यारेकमा बस्ने हुँदा साँझमा भेटघाट गर्ने गर्थ्यौं। हाम्रो मण्डलीमा ५० जना जति मानिस थिए र मलाई ईश्वरतान्त्रिक सेवकाई स्कूल चलाउन खटाइयो। हाम्रो मण्डलीमा पुरुषहरू कम भएको हुँदा आइमाईहरूले पनि विद्यार्थी भाषण दिन्थे। यो तरिका १९५८ तिर नै यहोवाका साक्षीहरूको अरू मण्डलीहरूमा सुरु गरिसकिएको थियो। सबैले आफ्नो कार्यभार गम्भीरतासाथ लिन्थे अनि यो स्कूललाई यहोवाको प्रशंसा गर्ने तथा मण्डलीमा अरूलाई प्रोत्साहन दिने मौका ठान्थे।
हाम्रो सेवकाईमा आशिष्
हामी बस्ने ब्यारेकमा अन्य गैरसाक्षीहरू पनि भएको हुँदा अरूलाई हाम्रो विश्वासबारे हरेक दिनजसो बताउँथ्यौं तर यसो गर्न निषेधित थियो। सन् १९५३ मा सोभियत प्रधानमन्त्री जोसेफ स्टालिनको मृत्युपछि अवस्था सुध्रियो। हाम्रो बाइबल आधारित विश्वासबारे अरूसित कुरा गर्न हामीलाई अलि बढी छुट दिइयो। युक्रेनका साथीहरूसित पत्राचार गरेर हामीले हाम्रो इलाकाका अरू साक्षीहरूको ठेगाना पत्ता लगायौं र तिनीहरूसित सम्पर्क कायम गऱ्यौं। यसले गर्दा हामीले मण्डलीहरूलाई क्षेत्रमा व्यवस्थित गर्न सक्यौं।
सन् १९५४ मा मैले ओल्गासित विवाह गरें। उनी पनि युक्रेनबाटै निर्वासित भएकी थिइन्। यहोवाको सेवा गर्न वर्षौंको दौडान उनले मलाई निकै सहयोग गरिन्। सन् १९४७ मा युक्रेन र पोल्याण्डको सीमा इलाकामा मारिने स्टिपान, ओल्गाका दाइ थिए। पछि, हाम्री छोरी भ्यालेन्टिना जन्मिइन्।
साइबेरियामा मसीही सेवकाईको दौडान ओल्गा र मैले थुप्रै आशिष् पायौं। उदाहरणका लागि, हामीले ब्याप्टिस्ट समूहका जर्जलाई भेट्यौं। हामीले नियमित तवरमा तिनलाई भेट्यौं र हामीसित उपलब्ध प्रहरीधरहरा पत्रिकाबाट अध्ययन गऱ्यौं। यहोवाका सेवकहरूले बाइबलबाट सिकाउने कुरा नै सही हो भनेर जर्जले बुझे। तिनका अरू थुप्रै ब्याप्टिस्ट साथीहरूसित पनि हामीले अध्ययन गर्न थाल्यौं। जर्ज र तिनका थुप्रै साथीहरूले बप्तिस्मा लिएर हाम्रा मसीही भाइहरू बनेको देख्न पाउँदा हामी साह्रै खुसी भयौं!
सन् १९५६ मा म परिभ्रमण निरीक्षक नियुक्त भएँ र यसको अर्थ, हाम्रो इलाकाका मण्डलीहरूमा हामी हरेक हप्ता पालैपालो जानुपर्थ्यो। म दिनभरि काम गरेर साँझमा आफ्नो मोटरसाइकल चढेर मण्डलीको भ्रमण गर्न जान्थें। अनि भोलिपल्ट बिहानै फर्केर काममा जान्थें। मलाई परिभ्रमण कार्यमा सहयोग गर्न नियुक्त भएका मिइकिलो सर्डिन्स्की १९५८ मा सडक दुर्घटनामा मरे। तिनको मृत्यु बुधबारको दिन भयो तर सकेसम्म बढी साक्षीहरूले भाग लिन पाऊन् भनेर अन्त्येष्टि आइतबार मात्र गरियो।
चिहानतिर गइरहेको हाम्रो ठूलो समूहसँगसँगै सरकारी सुरक्षा परिषद्का सदस्यहरू पनि थिए। पुनरुत्थानबारे बाइबल आधारित आशा विषयमा भाषण दिंदा हामी गिरफ्तार हुनसक्ने सम्भावना थियो। तर मिइकिलो र तिनको अद्भुत भावी आशाबारे नबताई चुपो लागेर बस्नै सकिनँ। मैले बाइबल प्रयोग गरे तापनि सरकारी सुरक्षा परिषद्ले मलाई गिरफ्तार गरेन। तिनीहरूलाई मलाई गिरफ्तार गरेर केही काम छैन जस्तो लाग्यो होला। किनकि तिनीहरूको मुख्य कार्यालयमा सोधपुछको लागि धेरै चोटि “पाहुना” भइसकेको हुँदा मलाई राम्ररी चिनिसकेका थिए।
सुराकीबाट धोखा
सन् १९५९ मा सरकारी सुरक्षा परिषद्ले प्रचार कार्यमा नेतृत्व लिइरहेका १२ जना साक्षीलाई गिरफ्तार गऱ्यो। सोधपुछको लागि बोलाइएका अरू थुप्रैमध्ये म पनि थिएँ। मलाई सोधपुछ गर्ने पालोमा अधिकृतहरूले हाम्रो कार्यका गोप्य कुराहरू बताउन थाल्दा म तीन छक परें। यी सबै तिनीहरूलाई कसरी थाह भयो? हाम्रो विषयमा धेरै कुरा थाह भएको अनि सरकारसित मिलेर काम गरिरहेको सुराकी हुनुपर्छ भनेर स्पष्ट भयो।
गिरफ्तार गरिएका १२ जना सँगैको कोठामा थिए र तिनीहरू अब अख्तियारवालाहरूलाई केही नबताउन राजी भए। यसो गर्दा त्यो सुराकी तिनीहरू विरुद्ध बोल्न आफै हाजिर हुनु पर्ने थियो। ममाथि कुनै आरोप नलगाइए तापनि के हुन्छ भनी हेर्न म अदालत गएँ। न्यायधीशले प्रश्नहरू सोधे तर १२ जनै चुइँक्क बोलेनन्। त्यसपछि, मैले पहिल्यैदेखि चिनेको कन्स्टान्टिन पोलिश्चुक नाउँको साक्षीले ती १२ जना विरुद्ध बोले। यो मुद्दाको अन्तमा कोही कोही साक्षीहरूलाई जेल सजाय सुनाइयो। अदालत भवनबाहिर सडकमा पोलिश्चुक र मेरो जम्काभेट भयो।
“तपाईंले हामीलाई किन धोखा दिनुभएको?” मैले सोधें।
“किनभने मलाई विश्वास लाग्न छोड्यो,” तिनले जवाफ दिए।
“कुन कुरामा विश्वास लाग्न छोड्यो?” मैले सोधें।
“मलाई बाइबलमै विश्वास लाग्न छोड्यो,” तिनले जवाफ दिए।
पोलिश्चुकले मलाई पनि धोखा दिन सक्थे तर आफ्नो बयानमा मेरो नाउँ नै लिएनन्। त्यसकारण, मेरो नाउँ नलिनुको कारण के हो भनेर सोधें।
“म तिमी जेल गएको चाहन्नँ,” तिनले भने। “तिम्रो जेठान स्टिपानको मृत्युको लागि म अझै दोषी महसुस गर्छु। तिनको मृत्यु भएको रात सीमापारि मैले नै पठाएको थिएँ। म त्यसको लागि एकदमै क्षमाप्रार्थी छु।”
तिनको जवाफ सुनेर म अवाक् भएँ। तिनको अन्तस्करण कस्तो भ्रष्ट भइसकेको रहेछ! स्टिपानको मृत्युमा उसलाई पछुतो थियो तर अहिले यहोवाका सेवकहरूलाई धोखा दिन पछि परेनन्। त्यसपछि पोलिश्चुकलाई मैले कहिल्यै देखिनँ। केही महिनापछि तिनको मृत्यु भयो। मैले वर्षौंदेखि विश्वास गर्दै आएको व्यक्तिले यसरी धोखा दिएको देख्दा मलाई गहिरो भावनात्मक चोट पुग्यो। तर यो अनुभवबाट मैले एउटा अनमोल पाठ सिकें: पोलिश्चुकले बाइबल पढ्न छोडेर त्यसमा विश्वास नगरेकोले तिनी धोखेबाज भए।
हामीले पनि यो पाठ कहिल्यै बिर्सनुहुँदैन: हामी यहोवाप्रति वफादार रहिरहने हो भने पवित्र धर्मशास्त्र नियमित तवरमा अध्ययन गर्नुपर्छ। बाइबल यसो भन्छ: “आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।” यसबाहेक, प्रेरित पावलले मसीहीहरूलाई होसियार बस भने। किन? “नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।”—हितोपदेश ४:२३; हिब्रू ३:१२.
युक्रेनमा फिर्ता
सन् १९६६ मा साइबेरियामा हाम्रो निर्वासन पूरा भएपछि ओल्गा र म युक्रेनको लाभिफबाट ८० किलोमिटर टाढा पर्ने सोकाल भन्ने गाउँमा बस्यौं। सोकाल र नजिकैका शहरहरू, चेर्भोनोग्राड अनि सोस्निफ्कामा जम्मा ३४ जना मात्र साक्षीहरू भएकाले काम प्रशस्त थियो। अहिले यो इलाकामा ११ वटा मण्डली छ!
अन्तसम्मै विश्वासी भएर १९९३ मा ओल्गाको मृत्यु भयो। तीन वर्षपछि मैले लिडियासित विवाह गरें अनि त्यो बेलादेखि मलाई तिनले निकै बल दिंदै आएकी छिन्। साथै, मेरी छोरी भ्यालेन्टिना र उनको परिवार पनि यहोवाका जोसिला सेवकहरू भएका छन् र यसले मलाई निकै प्रोत्साहन दिएको छ। तथापि, मलाई सबैभन्दा आनन्द लागेको कुरा के हो भने, आफ्ना जनहरूलाई कहिल्यै नत्याग्नुहुने यहोवा परमेश्वरप्रति म वफादार रहन सकेको छु।—२ शमूएल २२:२६.
यो लेख तयार गर्दागर्दै फेब्रुअरी १८, २००० का दिन एलेक्सी डाभिड्युकको मृत्यु भयो र तिनी अन्तसम्मै यहोवाप्रति वफादार रहे।
[पृष्ठ २२-मा भएको चित्र]
सन् १९५२ मा पूर्वी साइबेरियाका ब्यारेकहरूमा भेला हुने हाम्रो मण्डली
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९५३ मा हाम्रो ईश्वरतान्त्रिक सेवकाई स्कूल
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९५८ मा मिइकिलो सेर्डिन्स्कीको अन्त्येष्टि
[पृष्ठ २६-मा भएको चित्र]
मेरी पत्नी लिडियासित