प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. ८-१०
  • बाइबल—साँचो इतिहास?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल—साँचो इतिहास?
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जोडदार पाठ भएको उत्साहजनक इतिहास
  • पुरातन वृत्तान्तबाट समयसापेक्ष पाठ
  • जिवित इतिहासबाट पाठ
  • पछि कहिल्यै नदोहोरिने इतिहास
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. ८-१०

बाइबल—साँचो इतिहास?

शासकहरूले भोग्ने न्यायदण्ड तिनीहरूले सुनाए। तिनीहरूले पूजाहारीहरूलाई चेताउनी दिए। दुष्कर्मको लागि मानिसहरूलाई हप्काए। आफ्नै भूल तथा पाप पनि मानिसहरूबाट लुकाएनन्‌। तिनीहरू खेदिए अनि सताइए र कसै कसैलाई त सत्यबारे बोलेको र लेखेको कारण हत्यासमेत गरियो। तिनीहरू को हुन्‌? तिनीहरू बाइबलका अगमवक्‍ताहरू हुन्‌ र तिनीहरूमध्ये कतिपयले पवित्र धर्मशास्त्रका केही अंशहरू लेखेका छन्‌।—मत्ती २३:३५-३७.

द हिस्टोरियन एण्ड हिस्ट्री पुस्तकमा पेज स्मिथ यस्तो लेख्छन्‌: “[ती हिब्रूहरूले] बदमास होस्‌ वा वीर आफ्नो होस्‌ वा शत्रुको, केही कुरा लुकाउँदैनथे किनभने तिनीहरूले परमेश्‍वरको निगरानीमा लेखिरहेको हुँदा कुरा बंग्याउँदा आफ्नै क्षति हुनेथियो।” यसबाहेक तिनले लेखे “सिरिया अथवा मिश्रका योद्धा राजाहरूको पट्टाइलाग्दो कालक्रमलगायत परमेश्‍वरले छान्‍नुभएका मानिसहरूले भोगेको संकष्ट तथा विजयबारे लेखिएका कुराहरूले गर्दा . . . रोमाञ्चकारी कथा बनेको छ। ती हिब्रू इतिहासकारहरूले इतिहासको एउटा प्रमुख तत्त्व भेट्टाएका थिए। त्यो हो ती घटनाका पात्रहरू वास्तविक मानिसहरू हुन्‌ र तिनीहरूका आ-आफ्नै कमी कमजोरी तथा भूलहरू थिए।”

ती बाइबलका लेखकहरूले सानोभन्दा सानो कुराको पनि सत्य विवरण लेखेका छन्‌। बाइबललाई इतिहास र पुरातात्त्विक उत्खनन्‌मा भेट्टिएका कुराहरूसित दाँज्दा लेखक भर्नर केलरले द बाइबल याज हिस्ट्री पुस्तकको परिचयमै यस्तो लेखे: “अहिले उपलब्ध प्रशस्त तथ्य र प्रमाणित सबुतहरूले . . . गर्दा मेरो मनमा यो एउटा वाक्य मात्र घन्किरह्‍यो: ‘आखिर बाइबल साँचो रहेछ!’ ”

जोडदार पाठ भएको उत्साहजनक इतिहास

प्रायजसो बाइबल लेखकहरू साधारण मानिसहरू अर्थात्‌ किसान, गोठाला र माझीहरू थिए। तथापि, तिनीहरूले झन्डै १,६०० वर्षको दौडान लेखेका कुराहरूले जत्ति अरू कुनै प्राचीन अथवा आधुनिक लेखोटहरूले मानिसहरूलाई प्रभाव पारेको छैन। त्यसबाहेक, तिनीहरूको लेखोटहरू विरुद्ध अनेकन्‌ आक्रमण गरियो तर ती सबै व्यर्थ साबित भए। (यशैया ४०:८; १ पत्रुस १:२५) आज बाइबल पूरा अथवा आंशिक भाग गरेर जम्मा २,२०० जति भाषामा, अझ भन्‍ने हो भने अरू कुनै पनि पुस्तकभन्दा धेरै भाषामा पढ्‌न सकिन्छ! बाइबल किन यस्तो अतुलनीय छ? यस प्रश्‍नको जवाफ पाउन निम्न लिखित प्रसंगहरूले मदत गर्नेछ।

“परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

“जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।”—रोमी १५:४.

“यी कुराहरू [ इस्राएलीहरूलाई ] उदाहरणको रूपमा भएथे, र [ हामी मसीहीहरूलाई] चेताउनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।”—१ कोरिन्थी १०:११.

हो, बाइबल ईश्‍वरीय प्रेरणा अनि सुरक्षा पाएर लेखिएको पुस्तक हो। यसमा परमेश्‍वरलाई खुसी पार्ने र नपार्ने वास्तविक मानिसहरूको लेखोट भएको हुनाले यो अरू सबै पुस्तकहरूभन्दा उच्च छ। यो यसो गर्नुहुन्छ, त्यसो गर्नु हुँदैन भनेर लेखेको सूची अथवा केटाकेटीहरूको मनोरञ्जनका लागि समेटिएका कथाहरूको साना संगालो होइन। हो, परमेश्‍वरले मानिसहरूलाई नै लेख्न लगाउनुभयो तर यसले थुप्रै पुस्ताका मानिसहरूको हृदय छोएको छ। पुरातत्त्वविद्‌ विलियम अल्ब्राइट यसो भन्छन्‌: “मानिसहरूले भोगेका अनुभवहरूबाट परमेश्‍वरले विशेष ढंगबाट प्रकट गर्नुभएको बाइबलको गहन नैतिक तथा आध्यात्मिक ज्ञान दुई/तीन हजार वर्षअघि जत्ति उपयोगी थियो अहिले पनि त्यत्तिनै छ।”

बाइबलको अनन्त उपयोगीताबारे थाह पाउन आउनुहोस्‌ हामी बाइबलले मात्र बताउनसक्ने मानव इतिहासको सुरुआतलाई केलाऔं र उत्पत्तिको पुस्तकबाट केही मुख्य पाठहरू सिकौं।

पुरातन वृत्तान्तबाट समयसापेक्ष पाठ

उत्पत्तिको पुस्तकले अरू कुरालगायत मानव परिवारको सुरुआत, त्यसको नाउँ तथा सम्पूर्ण विवरणबारे बताउँछ। यस सन्दर्भमा अरू कुनै पनि इतिहासका पुस्तकहरू यतिबिघ्न सुस्पष्ट छैनन्‌। ‘तर हाम्रा प्रथम पुर्खाहरूबारे थाह पाएर के फाइदा हुन्छ र?’ भनेर तपाईं सोध्नुहोला। उत्पत्तिको पुस्तकले सबै रंग, कुल अथवा राष्ट्रका मानिस एउटै आमाबाबुबाट जन्मेका हुन्‌ भन्‍ने कुरा प्रकट गरेर जातीय भेदभाव राख्नुपर्ने कुनै कारण छैन भनेर प्रस्ट पार्ने हुनाले यसको धेरै महत्त्व छ।—प्रेरित १७:२६.

उत्पत्तिले नैतिकतासम्बन्धी निर्देशनहरू पनि दिन्छ। यसमा सदोम, गमोरा तथा त्यसकै छेउछाउका शहरहरूबारे पनि अभिलेख पाइन्छ। त्यहाँका बासिन्दाहरूको यौन अनैतिकताको कारण परमेश्‍वरले नाश गर्नुभयो। (उत्पत्ति १८:२०–१९:२९) बाइबलको पुस्तक यहूदाको पद ७ यसो भन्छ: “सदोम र गमोरा, औ तिनका आसपासका शहरहरू, जो तिनीहरू जस्तै व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका थिए, . . . उदाहरणजस्तै भएका छन्‌।” सदोम र गमोराका मानिसहरूले परमेश्‍वरबाट कुनै नैतिक नियम पाएका थिएनन्‌। तथापि, सबै मानिसहरूसित जस्तै तिनीहरूसित पनि परमेश्‍वरले दिनुभएको अन्तस्करण थियो। तसर्थ, परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको कार्यको लागि दोषी ठहराउनु न्यायोचित थियो। (रोमी १:२६, २७; २:१४, १५) आज पनि, मानिसहरूले उहाँको पवित्र वचन बाइबल स्वीकार गरून्‌ अथवा नगरून्‌ तिनीहरूका कामको लागि दोषी ठहराउनुहुनेछ।—२ थिस्सलोनिकी १:८, ९.

जिवित इतिहासबाट पाठ

रोममा रहेको आर्क अफ तीतसमा कुँदिएको चित्रमा रोमी सेनाहरूले यरूशलेम शहरलाई सा.यु. ७० मा विनाश गरेपछि त्यहाँको मन्दिरबाट पवित्र भाँडाकुँडाहरू बोकेर ल्याएको दृश्‍य छ। दस लाखभन्दा बढी यहूदीहरू मारिए। तथापि, येशूको यो अग्रिम चेताउनी सुन्‍ने आज्ञाकारी मसीहीहरू बचे: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्‌। किनभने लेखिएका कुराहरू सबै पूरा हुनालाई यी बदला लिने दिन हुनेछन्‌।”—लूका २१:२०-२२.

यरूशलेमको विनाश पुरातन इतिहास मात्र नभई सारा संसारमाथि आइलाग्ने महा विनाशको पूर्वचित्रण हो। तर यसबाट पनि बच्नेहरू हुनेछन्‌। तिनीहरूलाई “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” भनेर वर्णन गरिएको छ। बाइबलका विगतका घटनाहरू तथा भविष्यवाणीमा आधारित दृढ विश्‍वास अर्थात्‌ येशूले बगाउनुभएको रगतमाथि विश्‍वास गरेको हुनाले तिनीहरू “महा संकष्टबाट” बच्नेछन्‌।—प्रकाश ७:९, १४.

पछि कहिल्यै नदोहोरिने इतिहास

आज हामी बाइबल इतिहासको अन्तिम भविष्यवाणी अर्थात्‌ एंग्लो-अमेरिकी विश्‍वशक्‍तिले शासन गरिरहेको समयमा बाँचिरहेका छौं। विगतका घटनाहरू केलाउँदा अरू विश्‍वशक्‍तिको जस्तै यसको पनि अन्त हुनेछ। तर कसरी? बाइबलअनुसार यस शक्‍तिको अन्त एकदमै भिन्‍न ढंगमा हुनेछ। सा.यु. १९१४ लाई संकेत गर्दै शासनारुढ शक्‍ति अथवा राज्यहरूबारे दानियल २:४४ यसो भन्छ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”

हो, परमेश्‍वरको राज्य अर्थात्‌ येशू ख्रीष्टद्वारा शासन गरिने स्वर्गीय सरकारले माथि उल्लिखित “महा संकष्ट[को]” चरमोत्कर्ष अर्थात्‌ आरमागेडोनमा तानाशाही मानव सरकारहरूको नामोनिशान मेटिदिनेछ। त्यसपछि, यो राज्य “अरू कुनै जातिको हातमा दिइने[छैन।]” यसको मतलब कहिल्यै पनि सत्ता पल्टाइने वा सत्ताच्युत गरिने छैन। यसको प्रभुत्व “पृथ्वीको पल्लो छेउसम्म रहनेछ।”—भजन ७२:८.

बल्ल, झूटो धर्म, तानाशाही राजनीति अनि लोभी अर्थतन्त्रको निर्दयी शासनचक्र बन्द हुनेछ। भजन ७२:७ यस्तो प्रतिज्ञा गर्छ: “धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।” सारा पृथ्वीमा स्वार्थ र घमण्ड नभई परमेश्‍वरको प्रमुख गुण प्रेम फैलिनेछ। (१ यूहन्‍ना ४:८) येशूले भन्‍नुभयो: “एकअर्कालाई प्रेम गर।” यस सन्दर्भमा इतिहासकार वील डुरान्टले यसो भने: “मैले मानव गतिविधिहरूबारे इतिहासबाट सिकेको अन्तिम पाठ येशूको जस्तै छ। . . . संसारमा प्रेम नै सबैभन्दा उत्तम कुरा हो।”

मानवजातिप्रति परमेश्‍वरको प्रेमले गर्दा नै उहाँले बाइबल लेख्ने प्रेरणा दिनुभयो। यसैले मात्र विगत, वर्तमान र भविष्यबारे स्पष्ट पार्छ। कृपया बाइबल अध्ययनको लागि केही समय छुट्याउनुभएर यसको जीवनदायी सन्देश स्वीकार्नुहोस्‌। त्यसो गर्न र येशूको आज्ञा पालन गर्न यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूलाई “राज्यको . . . सुसमाचार” बताउँछन्‌। यो सुसमाचार भविष्यवाणीमा मात्र सीमित रहने छैन। अब छिट्टै नै यो विगतको वास्तविकता बन्‍नेछ।—मत्ती २४:१४. (g01 3/8)

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आखिर बाइबल साँचो रहेछ!”—रेनर केलर

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

“बाइबलको गहन नैतिक तथा आध्यात्मिक ज्ञान दुई/तीन हजार वर्षअघि जत्ति उपयोगी थियो अहिले पनि त्यत्तिनै छ।”—पुरातत्त्वविद्‌ विलियम अल्ब्राइट

[पृष्ठ १०-मा भएको चित्र]

सा.यु. ७० मा भएको यरूशलेमको विनाशलाई पुष्टि गर्ने आर्क अफ तीतसमा कुँदिएको चित्र

[स्रोत]

Soprintendenza Archeologica di Roma

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने