प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ पृ. ४-७
  • घृणाको जरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणाको जरा
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनभिज्ञता अनि डर
  • किन यतिबिघ्न हिंसा?
  • मनलाई भ्रष्ट पार्दै
  • घृणा निर्मूल पार्ने एउटै मात्र तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • किन यति धेरै घृणा?
    ब्यूँझनुहोस्‌!—१९९७
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ पृ. ४-७

घृणाको जरा

मानव इतिहासको सुरुमै घृणा देखापऱ्‍यो। उत्पत्ति ४:८ मा लिपिबद्ध बाइबल विवरण यसो भन्छ: “जब तिनीहरू खेतमा थिए तब आफ्नो भाइ हाबिलको विरुद्धमा उठेर कयिनले तिनलाई मारे।” “किन त्यसले उसलाई माऱ्‍यो?” भनी बाइबल लेखक यूहन्‍ना प्रश्‍न गर्छन्‌। “किनभने त्यसको काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो।” (१ यूहन्‍ना ३:१२) हाबिल घृणाका मूल कारणहरूमध्ये एक डाहको सिकार भए। हितोपदेश ६:३४ यसो भन्छ, “डाहले लोग्ने[पुरुष NW]-को क्रोधलाई उत्तेजित गराउँछ।” आज, अर्काको सामाजिक प्रतिष्ठा, धनसम्पत्ति र अन्य सुख सुविधाहरूप्रतिको डाहले मानिसहरूलाई एकअर्काको प्रतिद्वन्द्वी बनाउँछ।

अनभिज्ञता अनि डर

तर डाह घृणाको असंख्य कारणहरूमध्ये एउटा मात्र हो। अक्सर अनभिज्ञता अनि डरले पनि घृणा चर्काइरहेको हुन्छ। हिंसात्मक उग्र जातीय भेदभाव राख्ने समूहका एक जवान सदस्यले यसो भने, “मैले अरूलाई घृणा गर्नुअगाडि डराउँन सिकें।” धेरै हदसम्म, यस्तो डर उत्पन्‍न हुनुको कारण अनभिज्ञता हो। द वर्ल्ड बूक इनसाइक्लोपीडिया-अनुसार, पूर्वाग्रही मानिसहरू “उपलब्ध प्रमाणहरूलाई वास्तै नगर्ने हुन्छन्‌। . . . पूर्वाग्रही व्यक्‍ति आफ्नो पूर्वनिश्‍चित धारणासँग नमिल्ने विचारलाई बंग्याउने, गलत अर्थ लगाउने वा तथ्यलाई समेत इन्कार गर्ने झुकाउ भएको हुन्छ।”

यस्ता विचारधाराहरू कहाँबाट आउँछन्‌? एउटा इन्टरनेट जानकारी सेवा यसो भन्छ, “कुनै जाति वा संस्कृतिप्रति एकै प्रकारको विचारधारा राख्ने कुरामा इतिहास जिम्मेवार छ। तर हामीले अरूप्रति राख्ने पूर्वाग्रहको लागि भने हाम्रो आफ्नै व्यक्‍तिगत पृष्ठभूमि जिम्मेवार छ।”

उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकामा दास किनबेच प्रथाले नासोको रूपमा अधिकांश गोरा र अफ्रिकी मूलका मानिसहरूबीच तनाउपूर्ण वातावरण सृजना गरेर गएका छन्‌। यो तनाउ आजको दिनसम्म पनि विद्यमान छ। अक्सर नकारात्मक जातीय विचारधाराहरू आमाबाबुबाटै छोराछोरीले सिक्ने गर्छन्‌। जातीय भेदभाव राख्ने एक जना गोरा व्यक्‍तिले “काला जातिका मानिसहरूसित एक चोटि पनि नभेटिकनै अनि तिनीहरूसित कुनै सम्पर्कै नभईकन” आफूले तिनीहरूप्रति नकारात्मक जातीय भावना पालेको कुरा स्वीकारे।

त्यसैले, यहाँ यस्ता मानिसहरू पनि छन्‌, जो आफूभन्दा अलि भिन्‍न देखिने मानिसहरूलाई सजिलै तुच्छ एवम्‌ हेला गर्छन्‌। यस्तो विचारधारा भिन्‍न जाति वा संस्कृतिको मानिससितको मुठभेटमा आधारित हुनसक्छ। यसबाट तिनीहरू त्यस जाति वा संस्कृतिका सबै मानिसहरू पनि पक्कै खराब प्रवृत्तिको हुनुपर्छ भन्‍ने निष्कर्षमा पुग्छन्‌।

हठी स्वभाव व्यक्‍तिविशेषमा प्रशस्तै हुने हुँदा, जब यसले एउटा सिंगो राष्ट्र वा जातिका सम्पूर्ण मानिसहरूलाई असर गर्छ, त्यतिबेला यो घातक साबित हुनसक्छ। कुनै व्यक्‍तिको राष्ट्रियता, रङ, संस्कृति वा भाषाले उसलाई अर्को व्यक्‍तिभन्दा उच्च बनाउँछ भन्‍ने धारणाले हठी स्वभाव र जेनोफोबिया (कुनै विदेशी वा विदेशीवस्तुप्रतिको घृणा) उत्पन्‍न गराउनसक्छ। बिसौं शताब्दीको दौडान, यस्तो हठी स्वभाव हिंसात्मक तरिकामा व्यक्‍त गरिएको थियो।

चाखलाग्दो कुरा त के छ भने, रङ वा राष्ट्रियताकै कारणले मात्र घृणा वा हठी स्वभाव उत्पन्‍न हुन्छ भन्‍ने छैन। युनिभर्सिटी अफ पेन्सलभेनियाका अनुसन्धानकर्ता क्लार्क मककोली यस्तो लेख्छन्‌, “केवल सिक्का फ्याँकेकै भरमा छुट्टाइएको समूह पनि गुटबन्धीको लागि पर्याप्त छ।” तीन कक्षामा पढाउने एक जना शिक्षकले यस कुरालाई एउटा लोकप्रिय परीक्षणद्वारा प्रमाणित गरी देखाइ दिए। तिनले आफ्नो कक्षाका नीलो-आँखा र खैरो-आँखा भएका विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरे। केही समयभित्रमै यी दुई समूहका विद्यार्थीहरूबीच द्वेष देखापऱ्‍यो। एउटै खेलकुद टोलीमा पनि साना तिना नातावाद र कृपावाद जस्ता कुराहरूले गर्दा पनि हिंसात्मक झैझगडाहरू हुनसक्छन्‌।

किन यतिबिघ्न हिंसा?

तर किन मानिसहरूले यस्ता द्वेषलाई अक्सर हिंसात्मक तरिकामा व्यक्‍त गर्छन्‌? यस विषयमा अनुसन्धानकर्ताहरूले गहिरो अनुसन्धान गरेका छन्‌ र अहिलेसम्ममा तिनीहरूले सिद्धान्तहरू मात्र प्रतिपादन गर्न सकेका छन्‌। क्लार्क मककोलीले मानवीय हिंसा र आक्रमणबारे गरिएका अनुसन्धानहरूको विस्तृत पुस्तक सूची संकलन गरे। तिनी “हिंसात्मक अपराध भनेको कुनै युद्धमा भिड्‌नु र विजयी हासिल गर्नु” हो भन्‍ने तथ्यलाई संकेत गर्ने अध्ययन उद्धत गर्छन्‌। अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार “प्रथम र दोस्रो विश्‍वयुद्धमा भाग लिने राष्ट्रहरूमध्ये विशेष गरी युद्ध जित्ने समूहका राष्ट्रहरूले युद्धपछि बढी मात्रामा नरहत्या मच्चाए।” बाइबलअनुसार हामी युद्धको युगमा बाँचिरहेका छौं। (मत्ती २४:६) के यस्ता युद्धहरूले एउटा बेग्लै प्रकारको हिंसाको उत्थानमा योगदान पुऱ्‍याएको हुनसक्दैन र?

अन्य अनुसन्धानकर्ताहरूले मानवीय हिंसाको जैविक स्पष्टीकरण खोजे। एउटा अनुसन्धानात्मक अध्ययनले हिंसाका केही कारणहरूमध्ये “मस्तिष्कमा सेरोटोनिन नामक रासायनिक तत्त्व घट्‌नु”-लाई लिइएको छ। हिंसा मानवीय जीनमा हुन्छ भन्‍ने अर्को एउटा लोकप्रिय अनुमान छ। एक राजनैतिक शास्त्रविद्‌ले यस्तो तर्क गरे, “धेरैजसो घृणाको कारण वंशाणुगत नै हुनसक्छ।”

असिद्ध मानिसहरू खराब झुकाउ अनि खोटसहित जन्मेका हुन्छन्‌ भनेर बाइबलले पनि स्वीकार्छ। (उत्पत्ति ६:५; व्यवस्था ३२:५) निस्सन्देह, यी शब्दहरू सबै मानिसहरूलाई लागू हुन्छ। तर सबै मानिसहरूमा अरूप्रति अचाक्ली घृणा हुँदैन। यो पछि सिकिने बानी हो। उदाहरणका लागि, चिरपरिचित मनोवैज्ञानिक गोरडन डब्लु. अलपोर्टका अनुसार शिशुहरूमा “विनाशकारी स्वभाव . . . कमै हुन्छन्‌। शिशुहरू जसलाई पनि विश्‍वास गर्छन्‌, जस्तो सुकै प्रभाव, जुनसुकै व्यक्‍तिको पनि नजिक जान्छन्‌।” यस्ता निरीक्षणहरूले हिंसा, पूर्वाग्रह र घृणा पछि सिकिने बानी हुन्‌ भन्‍ने कुराको पुष्टि दिन्छ! मानिसहरूको घृणा सिक्न सक्ने दक्षताको घृणाका शिक्षकहरूले निकै फाइदा उठाइरहेका छन्‌।

मनलाई भ्रष्ट पार्दै

यस सन्दर्भमा सबैभन्दा अगाडि निओ-नाजी, स्कीनहेड र कु क्लक्स क्लानजस्ता घृणा समूहका विभिन्‍न नेताहरू पर्छन्‌। यस्ता समूहहरूले आफ्नो गतिविधिमा सरिक गराउन अक्सर सजिलै प्रभाव पार्न सकिने भताभुंग भएका परिवारहरूबाट आएका युवाहरूलाई आफ्नो तारो बनाउँछन्‌। निरुत्साह एवम्‌ हीनताबोधजस्ता भावनाहरूद्वारा ग्रसित युवाहरूले, घृणा समूहले उनीहरूलाई आत्मीयता देखाउनसक्छ भन्‍ने महसुस गर्नसक्छन्‌।

घृणालाई पोस्न कसैकसैले प्रयोग गर्ने शक्‍तिशाली साधन इन्टरनेट हो। हालसालैको एउटा सर्वेक्षणअनुसार घृणालाई बढावा दिने १,००० भन्दा धेरै वेब साइटहरू इन्टरनेटमा छन्‌। घृणालाई बढावा दिने एक वेब साइटका प्रबन्धकले धाक लाउँदै भनेका कुरालाई द इकोनोमिस्ट पत्रिका यसरी उद्धृत गर्छ: “इन्टरनेटले हामीलाई हाम्रा विचारहरू लाखौं मानिसहरू समक्ष राख्ने अवसर प्रदान गरेको छ।” तिनको वेब साइटमा “केटाकेटीहरूका वेबपेज” पनि समावेश छ।

जब किशोरकिशोरीहरूले संगीत सुन्‍न इन्टरनेट चलाउँछन्‌ त्यतिबेला तिनीहरूले घृणालाई बढावा दिने खालका संगीतहरू डाउनलोड गर्ने सम्भावना धेरै हुन्छ। यस्ता संगीतहरू अक्सर चर्को आवाज र हिंसात्मक अनि जातीय भेदभावका कडा शब्दहरूले भरिएका हुन्छन्‌। फलतः यस्ता वेब साइटहरूले घृणालाई बढावा दिने न्युजग्रुप, च्याट रूम वा अन्य वेब साइटहरूसित सम्पर्क स्थापित गर्न मदत गर्छ।

केही घृणालाई बढावा दिने बेव साइटहरूमा कम्प्युटर गेम र युवा जनहरूका गतिविधि पनि समावेश गरिएका विशेष बेवपेज हुन्छन्‌। एउटा नियो-नाजी वेब साइटले जातीय भेदभाव र यहूदी विरोधी सिद्धान्तलाई पुष्टि गर्न बाइबलको प्रयोग गरेको छ। त्यस समूहले जातीय भेदभाव राख्नेहरूका टिप्पणीहरू समावेश गरिएका कोठेपदहरूका वेबपेजहरू पनि राखेका छन्‌। यसो गर्नुको उद्देश्‍य? “गोरा जातिका युवा सदस्यहरूलाई नियो-नाजी समूहको संघर्षबारे अवगत गराउनु हो।”

तर घृणालाई बढावा दिने सबै व्यक्‍तिहरू सन्काहा वा उग्रवादी विचारधारा राख्ने हुँदैनन्‌। हालै बाल्कन क्षेत्रमा भएको संघर्षबारे लेख्ने एक जना समाजशास्त्रीले केही सम्मानित लेखक तथा जनतालाई सुसूचित गर्ने व्यक्‍तिहरूबारे यसो भने: “आफ्नै देशको जनताका अमानवीय कार्यहरूलाई बढावा दिने, तिनीहरूको निष्क्रिय घृणालाई जगाउने, कुनै निषेधित आचरणलाई वर्जित गरेझैं न्यायलाई धमिल्याउने र तथ्यलाई झूटो तुल्याउने तिनीहरूको लेखनशैली देखेर म त छक्कै परें।”

यस सन्दर्भमा पादरीहरूको भूमिकालाई पनि नकार्न मिल्दैन। लेखक जेम्स ए. हटले आफ्नो पुस्तक होली हेट्रेड: रिलिजियस कन्फ्लिक्टस्‌ अफ नाइन्टिज-मा आफूले देखेको निकै मर्माहत कुरा लेखे: “सन्‌ १९९० दशकको सबैभन्दा विडम्बनापूर्ण कुरा नै धर्म भएको छ अर्थात्‌ दया अनि मानवीय हितको स्रोत नै धर्म हुनुपर्ने हो। तर घृणा, युद्ध र आतंकवाद चर्काउने मूल तत्त्वको रूपमा यसले नेतृत्त्व लिएको छ।”

तसर्थ, घृणाका कारणहरू धेरै हुनुका साथै ती जटिल पनि देखिन्छन्‌। तर के यसको अर्थ घृणाले भरिएको इतिहास नदोहऱ्‍याउन अब मानिसले केही गर्नै सक्दैन? कतै असमझदारी, अनभिज्ञता, घृणा उत्पन्‍न गर्ने डरजस्ता कुराहरू विरुद्ध लड्‌न अनि त्यसमा विजयी हुन व्यक्‍तिगत र विश्‍वव्यापी रूपमै गर्न सकिने केही उपायहरू छन्‌ कि? (g01 8/8)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

पूर्वाग्रह र घृणा पछि सिकिने बानी हुन्‌!

[पृष्ठ ४, ५-मा भएको चित्र]

हामी घृणा अनि हठी स्वभाव. . .

. . . लिएर जन्मेका होइनौं

[पृष्ठ ७-मा भएको चित्र]

युवाहरूलाई आफ्नो समूहमा सामेल गर्न घृणा समूहरूले इन्टरनेटको प्रयोग गरिरहेका छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

अक्सर धर्मले नै झगडा मच्चाएको छ

[स्रोत]

AP Photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने