प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ८/१५ pp. ४-७
  • घृणा निर्मूल पार्ने एउटै मात्र तरिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणा निर्मूल पार्ने एउटै मात्र तरिका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • डरले उब्जाएको घृणा
  • बदलिंदो मनोवृत्ति
  • घृणा निर्मूल हुनेछ!
  • यत्ति धेरै घृणा किन?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • किन यति धेरै घृणा?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के घृणा कहिल्यै अन्त हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ८/१५ pp. ४-७

घृणा निर्मूल पार्ने एउटै मात्र तरिका

“कहीं पनि डरबिनाको घृणा छैन। . . . हामी जेदेखि डराउँछौं त्यसैलाई घृणा गर्छौं। त्यसैले जहाँ घृणा हुन्छ त्यहाँ डरले पनि ढुकिरहेको हुन्छ।” –सिरिल कनोली, समालोचक तथा सम्पादक।

थुप्रै समाजशास्त्रीहरू घृणाले मानवजातिको चेतनामा गहिरो जरा गाडेर बसेको छ भन्‍ने विश्‍वास गर्छन्‌। “यो मानव प्रवृतिको अभिन्‍न अंगको रूपमा” समेत लुकेको हुनसक्छ भनी एक जना राजनीतिज्ञले बताए।

मानव स्वभाव अध्ययन गर्ने विद्यार्थीहरू किन त्यस्ता निष्कर्षमा पुग्छन्‌ भन्‍ने कुरा स्पष्ट छ। किनकि तिनीहरूले अध्ययन गर्ने व्यक्‍तिहरू बाइबलका प्रेरित अभिलेखअनुसार “अधर्म” र “पापैमा” जन्मेका मानिस तथा आइमाईहरू हुन्‌। (भजन ५१:५) सृष्टिकर्ता आफैले पनि हजारौं वर्षअघि असिद्ध मानिसहरूबारे यसो भन्‍नुभयो, “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।”—उत्पत्ति ६:५.

मानिसहरूमा द्वेष, वैरभाव तथा घृणा हुनुको कारण अन्तर्निहित असिद्धता तथा स्वार्थ हो। (व्यवस्था ३२:५) दुःखको कुरा कुनै पनि मानव माध्यम वा सरकारले जुनसुकै नीति बनाए तापनि मानिसको हृदयमा परिवर्तन ल्याउन सकेका छैनन्‌। विदेशी संवाददाता जोहाना मैकगिरीले यस्तो टिप्पणी गरिन्‌: “कुनै पनि शक्‍तिशाली विश्‍व प्रहरीले समेत बोस्निया, सोमालिया, लाइबेरिया र ककेसस्‌मा रगतको भल बगाउने घृणालाई नामेट पार्न सक्दैन।”

तथापि, हामीले समाधानहरूको खोजी गर्नुअघि घृणापछाडि लुकेका कुराहरूको आधारभूत ज्ञान लिनुपर्छ।

डरले उब्जाएको घृणा

घृणा विभिन्‍न रूप र प्रकारका हुन्छन्‌। लेखक एन्ड्रू सलाइभानले यस विषयलाई यसरी राम्ररी व्याख्या गरे: “डरले भरिएको घृणा, अपहेलित महसुस गर्ने घृणा; शक्‍ति प्रदर्शन गर्ने घृणा, दुर्बलताले पैदा गर्ने घृणा; बदला लिने घृणा, द्वेष र डाहबाट उब्जने घृणा हुन्‌। . . . त्यस्तै गरी अत्याचारीहरूको घृणा र त्यसलाई सहनेहरूको घृणा। बिस्तार बिस्तारै बढ्‌दै जाने घृणाका साथै तुरुन्ता तुरुन्तै हराउने घृणा पनि छन्‌। अनि भयानक रूप लिने र कहिल्यै नसल्कने घृणा पनि छ।”

निस्सन्देह, हाम्रो समयमा घृणाले भरिएको द्वेष उत्पन्‍न गर्ने प्रमुख तत्त्व सामाजिक र आर्थिक कुराहरू हुन्‌। घृणाले गर्दा उत्पन्‍न हुने कट्टर द्वेष तथा आक्रोश, आर्थिक तवरमा सम्पन्‍न व्यक्‍तिहरू कम भएका ठाउँहरूमा धेरै पाइन्छ। त्यसै गरी, विदेशीहरूको आगमनले गर्दा जीवनस्तर खस्किरहेको समुदायहरूबीच पनि प्रायः घृणा पाइन्छ।

कोही कोही नयाँ मानिसहरूले थोरै ज्यालामा काम गरेर अर्थात्‌ सम्पत्तिको मूल्य घटाएर तिनीहरूसित काममा प्रतिस्पर्धा गर्नेछन्‌ भन्‍ने महसुस गर्नसक्छन्‌। चाहे त्यस्तो डर न्यायोचित होऊन्‌ वा नहोऊन्‌ त्यो बेग्लै कुरा हो। तर आर्थिक नोक्सानी भोग्नुपर्ने डर र समुदायको स्तर अथवा जीवनशैलीमा असर पार्नसक्छ भन्‍ने डर पूर्वाग्रह अनि घृणा उब्जाउने शक्‍तिशाली प्रेरकहरू हुन्‌।

घृणा नामेट पार्ने पहिलो कदम के हुनुपर्छ? मनोवृत्तिमा परिवर्तन।

बदलिंदो मनोवृत्ति

“मानिसहरूले चाहेमा मात्र साँचो परिवर्तन हुनसक्छ” भनी म्याकगिरीले निष्कर्ष निकाले। त्यसोभए, मानिसहरूको चाहना कसरी बदल्न सक्छ त? घृणा हटाउने सबैभन्दा शक्‍तिशाली, प्रेरणादायी र अटल प्रभाव परमेश्‍वरको वचन बाइबल हो भनेर अनुभवहरूले देखाएको छ। यसो हुनु स्वाभाविकै हो किनभने “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।”—हिब्रू ४:१२.

हो, द्वेष तथा घृणा स्वतः उखेलिंदैन न त यो एकरातमै सेलाउँछ। तर हटाउन भने सकिन्छ। हृदय तथा अन्तस्करणलाई उत्प्रेरित पार्नसक्ने महान्‌ व्यक्‍ति येशू ख्रीष्टले थुप्रै मानिसलाई परिवर्तन गर्नुभयो। येशूको यो बुद्धिमानी सल्लाह पछ्याउन लाखौं सफल भए: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।”—मत्ती ५:४४.

आफूले जे सिकाउनुभयो त्यसैअनुसार गर्दै येशूले आफ्नो भरोसायोग्य मित्रहरूमा पहिले कर उठाउने व्यक्‍ति मत्तीलाई समावेश गर्नुभयो। तिनलाई यहूदी समाजले घृणा गर्थे। (मत्ती ९:९; ११:१९) यसबाहेक, येशूले शुद्ध उपासना स्थापित गर्नुभयो र त्यसले अन्ततः तिरस्कृत अनि घृणित अन्यजातिका हजारौं मानिसहरूसमेट्‌ने थियो। (गलाती ३:२८) त्यसबेलाको संसारका सारा ठाउँका मानिसहरू येशू ख्रीष्टको चेला भए। (प्रेरित १०:३४, ३५) यी व्यक्‍तिहरू तिनीहरूको उच्चकोटीको प्रेमको कारण चिरपरिचित भए। (यूहन्‍ना १३:३५) येशूको चेला स्तिफनसलाई घृणाले भरिएका मानिसहरूले ढुंगाले हानेर हत्या गर्दा तिनले अन्तिम शब्दहरू यसरी उद्‌गार गरे: “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्‌।” स्तिफनस आफूलाई घृणा गर्नेहरूको पनि भलाइ नै चाहन्थे।—प्रेरित ६:८-१४; ७:५४-६०.

आधुनिक समयका साँचो मसीहीहरूले पनि भलाइ गर भन्‍ने येशूको सल्लाह आफ्ना मसीही भाइबहिनीहरूतर्फ मात्र होइन तर तिनीहरूलाई घृणा गर्नेहरूतर्फ पनि त्यसरी नै प्रयोग गर्दै आएका छन्‌। (गलाती ६:१०) तिनीहरू आफ्नो जीवनबाट नमीठो घृणा नामेट पार्न कडा परिश्रम गरिरहेका छन्‌। आफूबीच घृणा उत्पन्‍न गर्नसक्ने बलियो शक्‍तिलाई चिनेर तिनीहरू सकारात्मक कदम चाल्छन्‌ र घृणालाई प्रेमले हटाउँछन्‌। हो, पुरातन समयका बुद्धिमान्‌ मानिसले भनेझैं, “घृणाले सधैं झगड़ा उत्पन्‍न गराउँछ, तर परमप्रभुले चाहिं कुनै दोषलाई हेर्नुहुन्‍न।”—हितोपदेश १०:१२.

प्रेरित यूहन्‍नाले यसो भने: “आफ्नो दाज्यू-भाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” (१ यूहन्‍ना ३:१५) यहोवाका साक्षीहरू यो कुरा विश्‍वास गर्छन्‌। परिणामस्वरूप, विभिन्‍न जातीय, सांस्कृतिक, धार्मिक तथा राजनैतिक पृष्ठभूमीका भए तापनि तिनीहरू एकताबद्ध, घृणामुक्‍त समुदाय र निष्कपट विश्‍वव्यापी भ्रातृत्वमा बाँधिंदै छन्‌।—सँगैका पेटीहरू हेर्नुहोस्‌।

घृणा निर्मूल हुनेछ!

‘तर’ तपाईं भन्‍नुहोला, ‘घृणा गर्ने र त्यसको सिकार हुने व्यक्‍तिविशेषका लागि त त्यो ठीकै छ। तथापि, यसले हाम्रो सारा पृथ्वीबाटै घृणा हटाउने त होइन नि।’ हो, वास्तवमा तपाईंको हृदयमा घृणा नभए तापनि, तपाईं घृणाको सिकार बन्‍नसक्नुहुन्छ। त्यसैले, यस विश्‍वव्यापी समस्याको वास्तविक समाधानको लागि हामीले परमेश्‍वरमै भर गर्नुपर्छ।

पृथ्वीबाट चाँडै नै घृणाको नामोनिसानसमेत मेटाउने परमेश्‍वरको उद्देश्‍य छ। यो स्वर्गीय सरकारअन्तर्गत हुनेछ जसका लागि येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

त्यस प्रार्थनाको जवाफ पूर्णतया पाएपछि घृणाको अस्तित्व नै रहनेछैन। घृणा उत्पन्‍न गर्ने परिस्थितिहरू पनि नामेट पारिनेछ। मत, अवहेलना र द्वेषको सट्टा ज्ञान, सत्यता र धार्मिकता हुनेछ। त्यसपछि, परमेश्‍वरले सबैका “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।”—प्रकाश २१:१-४.

अहिले त्योभन्दा राम्रो समाचार हामीसँग छ! हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भन्‍ने अकाट्य प्रमाण हामीले पाइसकेका छौं। तसर्थ, चाँडै नै दुष्ट्याइँले भरिएको घृणा यस पृथ्वीबाट हट्‌ने छ भनी हामी ढुक्क हुनसक्छौं। (२ तिमोथी ३:१-५; मत्ती २४:३-१४) परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारमा मानिसजातिले सिद्धता प्राप्त गरिसकेको हुने भएकोले निष्कपट भ्रातृत्व कायमै रहनेछ।—लूका २३:४३; २ पत्रुस ३:१३.

तथापि, निष्कपट भ्रातृत्वको आनन्द उठाउन तपाईंले त्यो समयसम्म कुर्नुपर्दैन। वास्तवमा, सँगैका विवरणहरूले देखाएझैं घृणाले ठाउँ लिनसक्ने लाखौं मानिसहरूको हृदय मसीही प्रेमले भरिइसकेको छ। त्यस मायालु भ्रातृत्वमा तपाईं पनि सामेल हुन सक्नुहुन्छ!

[पृष्ठ ५-मा भएको पेटी]

“येशूले भए के गर्नुहुन्थ्यो होला?”

जून १९९८ मा तीन जना गोराहरूले संयुक्‍त राज्यको टेक्सासस्थित बस्तीमा काला जातिका मानिस जेम्स बायर्ड, जुनियरमाथि आक्रमण गरे। तिनीहरूले उनलाई अनकन्टार ठाउँमा लगेर पिटे र उनको खुट्‌टाहरू साङ्‌लोले बाँधे। त्यसपछि, तिनीहरूले उनलाई पीकअप ट्रकमा बाँधेर पाँच किलोमिटर टाढासम्म घिसार्दै लगे र बाटोमा बिछ्याइएको पाइपमा तिनको लास नठोकिएसम्म घिसारिरहे। यसलाई त्यस दशकको (१९९० को) घृणाले भरिएको एकदमै डरलाग्दो हिंसा भनेर नाउँ दिइएको थियो।

जेम्स बायर्डका दुई दिदी र एक बहिनी यहोवाका साक्षी हुन्‌। यस्तो डरलाग्दो अपराध गर्ने ती अपराधीहरूप्रति तिनीहरू कस्तो महसुस गर्छन्‌? सामूहिक बयान दिंदै तिनीहरूले यसो भने: “आफ्नो प्रियजनलाई त्यस्तो शासना दिएर हत्या गरिंदा असोचनीय क्षति तथा दुःखको अनुभूति भएको छ। त्यस्तो अमानवीय क्रियाकलापको कसै कसैले कस्तो प्रतिक्रिया देखाउँछन्‌? बदला, सराप, घृणा? हामीले सोच्यौं: ‘येशूले भए के गर्नुहुन्थ्यो होला? उहाँले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुहुन्थ्यो?’ जवाफ ऐनाझैं स्पष्ट छ। उहाँको सन्देश शान्ति र आशाको थियो।”

तिनीहरूलाई घृणा बढ्‌न नदिन मदत गर्ने शास्त्रीय सिद्धान्तहरूमध्ये एक रोमी १२:१७-१९ पदहरू थिए। प्रेरित पावलले त्यहाँ यस्तो लेखे: “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”

तिनीहरू अझ भन्छन्‌: “कुनै कुनै अन्याय वा हिंसा निकै भयावह हुन्छ र ‘मैले माफ गरिदिएँ’ भनेर छोडिदिनसमेत नसक्ने किसिमको हुनसक्छ भनी हाम्रा प्रकाशनहरूमा भनिएको व्यावहारिक कुरा हामीले सम्झ्यौं। त्यस्तो अवस्थामा माफी दिनु भनेको आफ्नो आक्रोशलाई त्यागेर यसको कारण शारीरिक तथा मानसिक तवरमा हुनसक्ने तनाउ हटाई आफ्नो दिनचर्यामा लाग्नु हो।” घृणाले जरा गाड्‌न नदिने बाइबलको शक्‍तिको यो कस्तो जीवन्त उदाहरण!

[पृष्ठ ६-मा भएको पेटी]

वैरभाव मित्रतामा बद्‌लियो

हालैका वर्षहरूमा हजारौं मानिसहरू जागिरको खोजीमा ग्रीसमा ओइरिरहेका छन्‌। तथापि, खस्कँदो आर्थिक अवस्थाले गर्दा जागिर पाउन गाह्रो हुन थालेको छ र यसले गर्दा जागिरको लागि निकै कठोर संघर्ष गर्नुपरेको छ। यसको परिणामस्वरूप विभिन्‍न जातीय समूहहरूबीच ठूलो द्वेषको भावना पलाएको छ। यसको एउटा विशेष उदाहरण अल्बेनिया र बुल्गेरियाबाट आएका मानिसहरूबीचको संघर्ष हो। ग्रीसका थुप्रै भू-भागमा यी दुई समूहका मानिसहरूबीच गम्भीर प्रतिस्पर्धा चलेको छ।

उत्तरपूर्वी पेलोपोनिसस्‌को कियाटो शहरमा एउटा बुल्गेरियाली परिवार र अल्बेनियाली मानिसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले र तिनीहरूको पनि चिनजान भयो। बाइबलका सिद्धान्तहरू जीवनमा उतारेको कारण ती दुई जातिहरूबीच रहेको वैरभाव पग्लिएको छ। यसले गर्दा तिनीहरूबीच साँचो भ्रातृत्वको बन्धन बनाउन पनि मदत पुग्यो। बुल्गेरियाली ईभानले अल्बेनियाली लुलिसलाई आफ्नै घरसँगै कोठा खोज्नसमेत मदत गरे। यी दुई परिवार एकआपसमा आफ्नो भोजन तथा कुनै कुनै भौतिक चीजहरू पनि बाँडचुड गर्छन्‌। दुवै अहिले बप्तिस्मा प्राप्त यहोवाका साक्षी हुन्‌ र राज्यको सुसमाचार प्रचार गर्ने काममा सँगसँगै भाग लिन्छन्‌। भनिरहनु नपर्ला, यस्तो मसीही मित्रता, अवश्‍यै छिमेकीहरूले याद गरे।

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको राज्यमा घृणा पूर्णतया पृथ्वीबाट नामेट पारिनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने