प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १२/८ पृ. ३-४
  • “अब त उहाँ सुध्रिनुहुन्छ होला”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अब त उहाँ सुध्रिनुहुन्छ होला”
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मौन
  • डरै-डरमा जीवन बिताउने
    ब्यूँझनुहोस्‌!—२००५
  • कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १२/८ पृ. ३-४

“अब त उहाँ सुध्रिनुहुन्छ होला”

चार छोराछोरीकी आमा रोक्सानाa सुन्दरी र जाँगरिली थिइन्‌। दक्षिण अफ्रिकाको एक जना सम्मानित शल्यचिकित्सकसित तिनको विवाह भएको थियो। तिनी यसो भन्छिन्‌, “मेरो पति स्त्रीहरूप्रति निकै शालीन अनि पुरुषहरूमाझ पनि निकै लोकप्रिय हुनुहुन्छ।” तथापि रोक्सानाको पतिको नराम्रो पक्ष तिनको घनिष्ठ मित्रलाई समेत थाह छैन। “घरमा उहाँले सबैलाई थर्कमान बनाउनुहुन्छ। स-सानो कुरामा पनि उहाँ अत्यन्तै ईर्ष्यालु हुनुहुन्छ।”

आफ्नो कथा सुनाउँदै जाँदा रोक्सानाको अनुहारमा बेदनाका रेखाहरू प्रस्टै देखिन्थे। “विवाह गरेको केही हप्ता नबित्दै समस्या देखा पर्न थाल्यो। मेरा भाइहरू र आमा हामीलाई भेट्‌न आउनुभएको थियो। उहाँहरूसित कुरा गरेर हाँस्न पाउँदा मलाई साह्रै रमाइलो लागिरहेको थियो। तर उहाँहरू जाने बित्तिकै रिसले आगो हुँदै मेरो पतिले मलाई जोरसित धक्का दिएर सोफामा पछार्नुभयो। उहाँको यस्तो व्यवहार देख्दा मलाई अचम्म लाग्यो।”

दुःखको कुरा, त्यो त रोक्सानाको परीक्षाको सुरुआत मात्र थियो किनभने वर्षौंको दौडान उनी क्रूर कुटपिटको सिकार भइरहिन्‌। तिनलाई गरिने दुर्व्यवहारको चक्र कस्तो हुनेछ भनेर पहिल्यै अड्‌कल काट्‌न सकिन्छ जस्तो देखिन्थ्यो। रोक्सानाको पतिले तिनलाई पिट्‌नसम्म पिट्‌छन्‌, त्यसपछि पछुतो गर्दै अनेक किसिमबाट माफी माग्छन्‌ र फेरि कहिल्यै यस्तो नगर्ने वाचा पनि गर्छन्‌। केही समय त तिनको आचरणमा केही सुधार देखिन्छ। तर त्यसपछि फेरि त्यही त्रासपूर्ण परिस्थिति सुरु हुन्छ। रोक्साना भन्छिन्‌, “अब त उहाँ सुध्रिनुहुन्छ होला भन्‍ने आशा मेरो मनमा पलाइरहन्छ। म उहाँलाई छोडेर पनि जान्छु तर किन हो फेरि उहाँकहाँ नै फर्केर आइहाल्छु।”

कतै कुनै दिन पतिको हिंसा झनै चर्किएला कि भनेर रोक्सानालाई डर पनि लाग्छ। तिनी यसो भन्छिन्‌, “उहाँले मलगायत छोराछोरी अनि आफैलाई समेत मार्ने धम्की दिनुभएको छ। एक चोटि त उहाँले मेरो घाँटीमा कैंची तेर्साउनुभयो। अर्को पटक उहाँले मलाई धम्काउँदै मेरो कानमा बन्दुक तेर्साएर बन्दुकको घोडो खिच्नुभयो! संयोगवश, बन्दुकमा गोली थिएन र बचें तर मलाई असाध्यै डर लाग्यो।”

मौन

रोक्साना जस्तै विश्‍वभरि करोडौं महिलाहरू हिंस्रक पुरुषहरूबाट पीडित छन्‌।b अधिकांश महिलाहरू आफूमाथि भइरहेको अत्याचारबारे मौन बस्छन्‌। तिनीहरू यसबारे उजुरी गर्नु बेकार हुनेछ भन्‍ने तर्क गर्छन्‌। आखिर, दुर्व्यवहार गर्ने अधिकांश पतिहरू आफूमाथि कसैले आरोप लगाउँदा सजिलै यसप्रकार खण्डन गर्ने गर्छन्‌, “मेरी स्वास्नी झनक्क रिसाइहाल्छे” अथवा “ऊ असाध्यै बढाइचढाइ गरेर कुरा गर्छे।”

आफूलाई सबैभन्दा सुरक्षित लाग्ने ठाउँ अर्थात्‌ आफ्नो घरमै महिलाहरू डरै-डरमा बाँच्नु भनेको साँच्चै दुःखलाग्दो कुरा हो। यद्यपि, अर्को दुःखलाग्दो कुरा के पनि छ भने, दुःख पाउनेलाई भन्दा दुःख दिनेलाई नै अक्सर सहानुभूति देखाइन्छ। निस्सन्देह, सीधासाधा व्यक्‍तिले आफ्नो पत्नीलाई कुट्‌छ भन्‍ने कुरा कसै-कसैलाई पत्याउनै गाह्रो लाग्छ। अनिता नाउँ गरेकी स्त्रीले आफ्नो आदरणीय पतिले गरेको दुर्व्यवहारबारे खुलस्त भएर कुरा गर्दा के भयो, विचार गर्नुहोस्‌। “हामीले चिनेको एक जना व्यक्‍तिले मलाई यसो भन्यो: ‘यस्तो भलादमी मानिसलाई तिमीले कसरी यस्तो आरोप लगाउन सकेकी हँ?’ अर्कोले चाहिं मैले नै उहाँसित निहुँ खोजेको हुनुपर्छ भन्यो! पछि, मेरो पतिको कर्तुत उदांग भइसकेपछि पनि मेरा केही साथीहरू मबाट टाढिन थाले। तिनीहरूको भनाइअनुसार मैले ती सबै सहनुपर्थ्यो किनकि ‘लोग्ने मानिसहरू त्यस्तै हुन्छन्‌।’ ”

अनिताको अनुभवले देखाएझैं आफनो जीवनसाथीमाथि गरिने दुर्व्यवहारको कटु सत्यता मानिलिन धेरैलाई गाह्रो पर्छ। आफूले माया गर्छु भनी दाबी गरेको पत्नीमाथि नै पुरुषहरू यतिबिघ्न निर्दयी हुनुको कारण के हो? हिंसाको सिकार भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ? (g01 11/8)

[फुटनोटहरू]

a यस श्रृंखलामा नाउँहरू परिवर्तन गरिएका छन्‌।

b धेरै पुरुषहरू पनि हिंसाको सिकार भएका छन्‌ भन्‍ने कुरालाई हामी मानिलिन्छौं। तर अध्ययनहरूले देखाएअनुसार कुटपिटको सिकार भएर घाइते हुनेहरूमा बढी महिलाहरू नै देखिन्छन्‌, जुन एकदमै गम्भीर कुरा हो। त्यसैकारण, यी लेखहरूमा महिलाहरूमाथि हुने दुर्व्यवहारबारे छलफल गरिएको छ।

[पृष्ठ ४-मा भएको पेटी/चित्र]

घरेलु हिंसाको व्यापकता

संयुक्‍त राष्ट्र संघले महिला विरुद्ध हिंसा उन्मूलनसम्बन्धी जारी गरेको घोषणापत्रअनुसार “महिला विरुद्ध गरिने हिंसा” भन्‍ने पदावलीले “सार्वजनिक वा व्यक्‍तिगत जीवनमा लिंगको आधारमा गरिने भेदभावको कारण हुने वा हुनसक्ने शारीरिक, यौन वा मानसिक हानि अथवा महिलालाई दिइने यातनालाई संकेत गरेको हुनसक्छ। यस्तो यातनामा धम्की दिनु, जबरजस्ती वा मनपरी स्वतन्त्रताको हनन गर्नेजस्ता कार्यहरू समावेश छन्‌।” यस किसिमको हिंसामा “परिवार वा समुदायमा हुने शारीरिक, यौन र मानसिक हिंसा समावेश छन्‌। यसमा कुटपिट, बालबालिकामाथि गरिने यौन दुर्व्यवहार, दाइजोसित सम्बन्धित हिंसा, वैवाहिक बलात्कार, स्त्री योनि विच्छेद र स्त्रीहरूलाई हानि गर्ने अन्य परम्परागत चलनहरू” पनि पर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने