कीराजगत्का फोहोरमैला व्यवस्थापन विशेषज्ञहरू
मानवजातिले ढल र फोहोरमैला व्यवस्थापन प्रणालीको विकास गरेको त्यस्तै १५० वर्षभन्दा अलि बढी मात्रै भयो। तथापि, फोहोरमैला व्यवस्थापन विशेषज्ञ अर्थात् उष्ण-कटिबन्धीय अमेरिकामा पाइने एक किसिमको सानो कमिला भने त्योभन्दा धेरै समयअघि नै थियो।
पातपतिङ्गर टुक्रा-टुक्रा पार्न सक्ने लाखौं कमिलाहरूको ठूलो समुदाय जमिनमुनि विशाल गुँडमा बस्छन्। यस समुदायमा भएका कमिलाहरूको भिन्नाभिन्नै जिम्मेवारीहरू हुन्छन्। केही कमिलाहरूले झरेका पातहरू बटुल्छन् भने अर्को समूहले त्यसलाई चपाएर लेदो बनाउँछन्। माली काम गर्ने कमिलाहरूले चाहिं लेदोलाई गुँडको भित्री कोठाहरूमा खान हुने ढुसी उत्पादन गर्न प्रयोग गर्छन्। तिनीहरूले संक्रमण फैलाउने कुराहरू जस्तै, हानिकारक ढुसी, मरेको वा मर्न लागेका कमिलाहरू र कुहिएका वस्तुहरू तुरुन्त हटाइहाल्छन्। तर कमिलाहरूले कसरी आफ्नो फोहोरमैला तह लगाउँछन्?
शेफिल्ड विश्वविद्यालयका बेलाइती वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् भनी दी इन्डिपेन्डेन्ट खबरपत्रिका बताउँछ। माली काम गर्ने कमिलाहरूको कोठा नजिकै फोहोरमैला थुपार्ने ठूलठूला कोठाहरू हुन्छन्। फोहोरमैला तह लगाउने काम पाएका कमिलाहरूले आफ्नो सम्पूर्ण समय त्यहीं बिताउँछन्। त्यहाँ तिनीहरूले फोहोरमैला कुहाउने काम गर्छन्, जसले गर्दा रोग फैलाउने कीटाणुहरू खतम हुन्छन्। माली काम गर्ने कमिलाहरू कहिल्यै पनि फोहोरमैला थुपार्ने कोठाहरूभित्र पस्दैनन्। तिनीहरूले फोहोरलाई एउटा सुरुङसम्म पुऱ्याउँछन् र त्यहाँबाट फोहोरमैला बटुल्ने कामदारहरूले त्यसलाई बटुल्छन्। यस्तो प्रभावकारी फोहोरमैला व्यवस्थापन प्रणालीले प्रदूषणको खतराबाट जोगाउनुका साथै सारा समुदायको स्वास्थ्यको रक्षा गर्छ।
यहोवा परमेश्वरले कीराहरूलाई मात्र सहज बुद्धिसहित सृष्टि गर्नुभएन तर लगभग ३,५०० वर्षअघि इस्राएलीहरूलाई स्वास्थ्यसम्बन्धी व्यावहारिक निर्देशन पनि प्रदान गर्नुभयो। तिनीहरूले यी व्यवस्था लागू गरेको खण्डमा खाना र पानी दूषित हुनबाट बच्ने थियो, संक्रमित रोगहरू फैलिने थिएन अनि ढलको राम्रो व्यवस्था हुने थियो। यस्ता सिद्धान्तहरू पालन गरेको भए दुःखकष्ट र मृत्युबाट धेरै हदसम्म बच्न सकिने थियो!—लेवी ११:३२-३८; गन्ती १९:११,१२; व्यवस्था २३:९-१४. (g02 5/22)