प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 २/८ पृ. १६-१८
  • घृणाको बन्धनबाट मुक्‍त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणाको बन्धनबाट मुक्‍त
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बदला मेरो लक्ष्य भयो
  • मैले जेलमा स्वन्त्रता पाएँ
  • परिवर्तन गर्दा सामना गर्नुपरेका चुनौतीहरू
  • मेरो परिवारको प्रतिक्रिया
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
ब्यूँझनुहोस्‌!—२००३
g03 २/८ पृ. १६-१८

घृणाको बन्धनबाट मुक्‍त

होसे गोमेजको वृत्तान्तमा आधारित

मेरो जन्म दक्षिणी फ्रान्सको सानो शहर रोन्याकमा सेप्टेम्बर ८, १९६४ मा भएको थियो। मेरा आमाबाबु र बाजेबज्यै आन्दालुसियन जिप्सी अर्थात्‌ फिरन्ते हुनुहुन्थ्यो र उहाँहरूको जन्म उत्तर अफ्रिकाको अल्जेरिया र मरोक्कोमा भएको थियो। प्रायजसो जिप्सी अर्थात्‌ फिरन्ते परिवारमा जस्तै हाम्रो पनि नातेदारहरू धेरै भएको ठूलो परिवार थियो।

मेरो बुबा हिंस्रक स्वभावको हुनुहुन्थ्यो। उहाँले आमालाई पिटेका दृश्‍यहरू मलाई अझै याद छ। केही समयपछि मेरी आमाले सम्बन्ध विच्छेद गर्ने निर्णय गर्नुभयो जुन कुरा फिरन्ते समुदायमा एकदमै विरलै हुन्थ्यो। आमाले मेरो दाइ, दिदी र मलाई बेल्जियम लैजानुभयो र त्यहाँ हामीले शान्तपूर्वक आठ वर्ष बितायौं।

तथापि, अवस्था त्यस्तै रहिरहेन। हामी बच्चाहरूलाई बुबासँग भेट्‌न मन लाग्यो। त्यसैले आमाले हामीलाई फ्रान्स लैजानुभयो र बुबासँग पुनर्मिलन भयो। बुबासँग बस्न थाल्दा मैले फेरि चुनौतीहरू सामना गर्नुपऱ्‍यो। बेल्जियममा हामी सबैतिर आमासँग जान्थ्यौं। तर बुबाको परिवारमा केटाहरूले केटाहरूसँग मात्र संगत गर्नुपर्थ्यो। उहाँहरूको पुरुषप्रधान सोचाइअनुसार पुरुषहरूसँग सबै अधिकार छ र स्त्रीहरूले सबै काम गर्नुपर्छ भन्‍ने थियो। उदाहरणका लागि, एक दिन मैले एक जना आन्टीलाई बेलुकी खाना खाइसकेपछि सफा गर्न सघाउन लाग्दा मेरो अंकलले मलाई समलिंगी भएको आरोप लगाउनुभयो। उहाँको परिवारमा भाँडा माझ्ने काम केटीहरूको मात्र थियो। अन्ततः यस्तो असन्तुलित मनोवृत्तिले मलाई पनि असर गर्न थाल्यो।

केही समय नबित्दै मेरी आमा फेरि पनि बुबाको हिंस्रक रिसको सिकार बन्‍नुभयो। कत्ति पटक आमालाई बचाउन खोज्दा म र दाइ बुबाको मुक्काबाट बच्न झ्यालबाट भाग्नुपऱ्‍यो। मेरी दिदीले पनि कठिनाइ सहनुपऱ्‍यो। फलस्वरूप, मैले घरबाहिर धेरै समय बिताउन थालें। पन्ध्र वर्षको उमेर पुग्दा मेरो जीवनमा कुनै उद्देश्‍य थिएन।

अन्ततः म मेरो रिसको लागि चिनिन थालें। दादागिरी गर्दा मलाई आनन्द लाग्थ्यो। कहिलेकाहीं म जानाजानी अरू केटाहरूलाई उक्साउँथे तर कमैले मात्र मसित निहुँ खोज्थे किनभने धेरैजसो म चक्कु वा सिक्री भिरेर हिंड्‌थें। चाँडै मैले गाडीहरू चोरेर बेच्न थालें। कहिलेकाहीं म गाडीमा त्यतिकै आगो लगाइदिन्थें र दमकलका मानिसहरूले आगो निभाउने कोसिस गरेको हेरेर मजा लिन्थें। पछि मैले पसल र गोदामहरू फोरेर चोर्न थालें। म थुप्रै चोटि पक्राउमा परें। अनि हरेक पल्ट मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्थें!

हो, परमेश्‍वरमाथि मेरो विश्‍वास थियो। हामी बेल्जियममा हुँदा म क्याथोलिक स्कूलमा गएको थिएँ। त्यसैले मलाई आफूले गलत गरिरहेको छु भनेर थाह थियो। तैपनि, परमेश्‍वरमाथिको विश्‍वासले मेरो आचारणमा केही प्रभाव पारेन। मलाई आफ्ना पापहरूको लागि क्षमा मागे पुग्छ र माफी पाइन्छ जस्तो लाग्थ्यो।

सन्‌ १९८४ मा चोरीको अभियोगमा मलाई ११ महिना कैद सजाय दिइयो। मलाई मार्सेलस्थित बोंमे जेलमा पठाइयो। त्यहाँ मैले शरीरको विभिन्‍न भागमा ट्याटु अर्थात्‌ चित्र अनि अक्षरहरू खोपें। एउटा ट्याटुमा “घृणा र बदला” लेखिएको थियो। जेलमा सुध्रिने कुरा त परै जाओस्‌, त्यहाँ छँदा अख्तियार तथा पूरै समाजप्रति मेरो घृणा झनै तीव्र भयो। जेलबाट तीन महिनापछि रिहा गरियो र त्यहाँबाट निस्कँदा मभित्र घृणाका भावहरू झनै बढ्‌न थाले। त्यसपछि भएको दुःखद घटनाले मेरो जीवनले अर्कै मोड लियो।

बदला मेरो लक्ष्य भयो

अर्को फिरन्ते परिवारसँग मेरो परिवारको झगडा भयो। मेरा अंकलहरू र मेलै विवाद सुल्झाउन तिनीहरूसँग भेट्‌ने निर्णय गऱ्‍यौं। दुवै परिवारले हतियार भिरेका थिए। त्यहाँ भनाभन सुरु भएपछि गोली लागेर मेरो अंकल पियर र मेरो बुबाको एक जना नातेदारको मृत्यु भयो। म यस्तो विचलित भएँ कि हातमा बन्दुक लिएर मूल सडकमा उभिई रिसको झोंकमा ठूलो स्वरले चिच्याएँ। मेरो एक जना अंकलले मलाई बल्लतल्ल च्याप्प समातेर मेरो हातबाट बन्दुक खोस्नुभयो।

मैले बुबाजस्तो ठान्‍ने अंकल पियरको मृत्यु भएपछि म शोकित भएँ। फिरन्ते चलनअनुसार म किरिया बसें। धेरै दिनसम्म मैले दाह्री खौरिनँ, मासु खाइनँ। टेलिभिजन हेर्न वा संगीत सुन्‍न पनि इन्कार गरें। मेरो अंकलको मृत्युको बदला लिने मैले प्रण गरें तर मेरा नातेदारहरूले मलाई बन्दुक लिन दिएनन्‌।

अगस्त १९८४ मा मलाई सैन्य सेवाको लागि बोलाइयो। बीस वर्षको उमेरमा संयुक्‍त राष्ट्रको शान्तिसेनामा भर्ती भएँ र लेबनान गएँ। मार्ने वा मारिने खतरा मैले स्वीकारिसकेको थिएँ। त्यतिबेला म एकदमै गाँजा पिउँथे। लागूपदार्थले सबै कुरा राम्रो भइरहेको छ भन्‍ने भावनाका साथै मलाई कुनै कुराले पनि हानि गर्न सक्दैन भन्‍ने महसुस गराउँथ्यो।

लेबनानमा हतियार किन्‍न केही गाह्रो थिएन, त्यसैले मेरो अंकलको मृत्युको बदला लिने मेरो योजना पूरा गर्न फ्रान्समा हतियार पठाउने निर्णय गरें। मैले स्थानीय बासिन्दाबाट गोली सहित दुईवटा पिस्तोल किनें। अनि बन्दुकको भाग-भाग छुट्याएर दुईवटा रेडियोमा लुकाएर घर पठाएँ।

मेरो सैन्य सेवा सिद्धिनुभन्दा दुई हप्ताअघि मात्र म र मेरा तीन जना साथीहरू अनुमतिविना अनुपस्थित भयौं। ब्यारेकमा फर्केपछि हामीलाई थुनियो। जेलमा छँदा म रिसले चूर भएँ र गार्डलाई आक्रमण गरें। एक जना पेयो अर्थात्‌ गैर-जिप्सीले होच्याउनु मलाई असह्‍य भयो। अर्को दिन फेरि मेरो ठूलो झगडा पऱ्‍यो र यसपालिचाहिं एक जना अफिसरसँग। मलाई लियोंस्थित मोन्टलुक जेलमा सैन्य सेवाको बाँकी समयको लागि पठाइयो।

मैले जेलमा स्वन्त्रता पाएँ

मोन्टलुक जेलमा मेरो पहिलो दिन, एक जना भद्र जवान पुरुषले मलाई न्यानो अभिवादन गरे। तिनी एक जना यहोवाका साक्षी थिए र तिनी अनि तिनको जस्तै विश्‍वास भएका अरू कतिजनालाई केवल हतियार उठाउन इन्कार गरेकोले कैद गरिएको मैले थाह पाएँ। म असाध्यै छक्क परें। म अझ धेरै जान्‍न चाहन्थें।

परमेश्‍वरप्रति यहोवाका साक्षीहरूको साँचो प्रेम भएको मैले पाएँ र म तिनीहरूको उच्च नैतिक स्तर देखेर प्रभावित भएँ। तैपनि मसित थुप्रै प्रश्‍नहरू थिए। विशेष गरी मरिसकेका व्यक्‍तिहरूले सपनामार्फत जीवितहरूसँग कुरा गर्न सक्छ कि सक्दैन भनेर म जान्‍न चाहन्थें र यो कुरामा थुप्रै फिरन्तेहरूको विश्‍वास छ। झाँ पल नाउँ गरेका साक्षीले मसँग पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकबाट बाइबल अध्ययन गर्ने प्रस्ताव राखे।a

मैले त्यो पुस्तक रातभरमै पढेर सिध्याएँ र आफूले पढेको कुराले मेरो हृदय छोयो। यहाँ जेलमा मैले साँचो स्वतन्त्रता पाएँ! पछि मलाई जेलबाट मुक्‍त गरिंदा झोलाभरि बाइबल साहित्यहरू लिएर म रेलबाट घर फर्कें।

मेरो इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्न म मार्टेगस्थित राज्यभवन गएँ। एरिक नाउँ गरेका एक जना जवान पूर्ण-समय सेवकको मदत लिएर बाइबल अध्ययनलाई निरन्तरता दिएँ। केही दिनमै मैले धूम्रपान गर्न र अपराधजगत्‌का मेरा पुराना साथीहरूलाई भेट्‌न छोडें। हितोपदेश २७:११ अनुरूप चल्न म कटिबद्ध थिएँ जहाँ यसो भनिएको छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” यहोवा एक जना मायालु पिता हुनुभएकोले म उहाँलाई प्रसन्‍न तुल्याउन चाहन्थें।

परिवर्तन गर्दा सामना गर्नुपरेका चुनौतीहरू

मसीही सिद्धान्तहरू व्यवहारमा उतार्न मलाई सजिलो भएन। उदाहरणका लागि, मैले फेरि लागूपदार्थ प्रयोग गर्न थालें र केही हप्तासम्म छोड्‌न सकिनँ। तर मेरोलागि सबैभन्दा ठूलो चुनौती, बदलाको भावलाई हटाउनु थियो। एरिकलाई मैले अझै बन्दुक बोक्दैछु र मेरो अंकलको मृत्युको बदला लिन योजनाहरू बनाइरहेको छु भन्‍ने कुरा थाह थिएन। म तिनीहरूलाई भेट्टाउन रातभरि हिंड्‌थें।

जब मैले एरिकलाई यो कुरा बताएँ, बदलाको भावसहित हतियार बोक्दै हिंडेर परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध स्थापना गर्न सकिंदैन भनेर तिनले मलाई स्पष्टसँग बताए। मैले छनौट गर्नुपर्ने थियो। रोमी १२:१९ मा प्रेरित पावलले दिएको सल्लाहलाई मैले गहिरिएर मनन गरें: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ।” यो सल्लाहलगायत व्यग्र प्रार्थनाले मलाई आफ्ना भावनाहरू नियन्त्रणमा राख्न मदत गऱ्‍यो। (भजन ५५:२२) अन्ततः मैले हतियार बोक्न छोडें। बाइबल अध्ययन गर्न थालेको एक वर्षपछि डिसेम्बर २६, १९८६ मा मैले पानीको बप्तिस्माद्वारा यहोवा परमेश्‍वरलाई आफ्नो समर्पणको जनाउ दिएँ।

मेरो परिवारको प्रतिक्रिया

मेरो बानीबेहोरा परिवर्तन भएको देखेपछि मेरा आमाबाबु पनि बाइबल अध्ययन गर्न प्रोत्साहित हुनुभयो। उहाँहरूले पुनर्विवाह गर्नुभयो र आमाले जुलाई १९८९ मा बप्तिस्मा लिनुभयो। समयको अन्तरालमा मेरो परिवारका अन्य केही सदस्यहरूले पनि बाइबल सन्देश स्वीकारे र यहोवाका साक्षी भए।

अगस्त १९८८ मा मैले पूर्ण-समय सेवक हुने निर्णय गरें। त्यसपछि मेरो मण्डलीको एक जना जवान बहिनी केटियासँग मेरो माया बस्यो। जून १०, १९८९ मा हाम्रो विवाह भयो। विवाहको पहिलो वर्ष सजिलो भएन किनभने मैले अझै पनि स्त्रीहरूप्रतिको मनोवृत्तिमा छाँटकाँट गर्नु आवश्‍यक थियो। आफ्नी पत्नीलाई आदर गर्नु भनी १ पत्रुस ३:७ मा बताइएका शब्दहरू लागू गर्नु मेरोलागि गाह्रो थियो। मैले आफ्नो घमण्डलाई निल्न र मेरो सोचाइमा परिवर्तन गर्न बारम्बार प्रार्थना गरेर बल माग्नुपऱ्‍यो। अनि बिस्तारै परिवर्तन हुन थाल्यो।

मेरो अंकलको मृत्युको कारण म अझै दुःखित हुन्छु र उहाँबारे सम्झिदाँ कहिलेकाहीं अझै पनि आँसु थाम्न सक्दिनँ। उहाँको हत्याको सम्झनाले जगाउने रिसका भावनाहरूसित अझै संघर्ष गर्नुपर्छ। बप्तिस्मा लिएको निकै वर्ष पछिसम्म पनि हाम्रो दुस्मनी भएको परिवारका सदस्यहरूसँग भेट होला कि भन्‍ने डर लागिरहन्थ्यो। तिनीहरूले मलाई आक्रमण गरे भने के गर्ने? मैले के गर्नेछु? के मेरो पुरानो व्यक्‍तित्वले प्रभुत्व जमाउनेछ?

एक दिन नजिकैको मण्डलीमा मैले जनभाषण दिएँ। मेरो अंकललाई मार्ने मान्छेको नातेदार पेपालाई मैले त्यहाँ देखें। उनलाई देख्दा मेरो मसीही व्यक्‍तित्वको एक-एक त्यान्द्राको परीक्षा भएको थियो। तर मैले आफ्ना भावनाहरूलाई दबाउन सकें। पछि पेपाले बप्तिस्मा लिएको दिनमा मैले उनलाई अंकमाल गरें र यहोवाको सेवा गर्ने निर्णय गरेकोमा बधाइ दिएँ। पहिला भएका सबै कुराहरूको बावजुद मैले उनलाई आध्यात्मिक बहिनीको रूपमा स्वीकारें।

मलाई घृणाको बन्धनबाट मुक्‍त हुन मदत दिनुभएकोमा प्रत्येक दिन म यहोवालाई धन्यवाद चढाउँछु। यहोवाको कृपा नपाएको भए म आज कहाँ हुन्थें होला? आज सुखी पारिवारिक जीवन बिताउन पाएकोमा म उहाँप्रति आभारी छु। घृणा र हिंसा मुक्‍त नयाँ संसारको प्रतिक्षामा छु। हो, परमेश्‍वरको प्रतीज्ञा पूरा हुनेछ भनी म पूर्णतया विश्‍वस्त छु: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४. (g03 1/8)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ १७-मा भएको चित्र]

सं.रा.-का शान्ति सेनाहरूसँग, १९८५

[पृष्ठ १८-मा भएको चित्र]

केटिया र मेरा छोराहरू तिमियो र पियर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने