प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ८/८ पृ. १०-११
  • नैतिकता—तपाईं कहाँ पाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नैतिकता—तपाईं कहाँ पाउन सक्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • ठगिनदेखि कसरी जोगिने
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • व्यापार गर्न तपाईंले कस्तो मोल चुकाउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ठगी—एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ८/८ पृ. १०-११

नैतिकता—तपाईं कहाँ पाउन सक्नुहुन्छ?

हामी नैतिक नीतिनियमहरू परिवर्तन भइरहेको संसारमा बाँचिरहेका छौं। विगतमा अस्वीकार्य ठानिने बेइमानी क्रियाकलापहरूप्रति आज आँखा चिम्लिने गरिन्छ। चोर तथा ठगाहाहरूको अक्सर तारिफ गरिन्छ र सञ्चार माध्यममा पनि तिनीहरू नै छाउँछन्‌। फलस्वरूप, थुप्रै मानिसहरू बाइबलमा वर्णन गरिएको व्यक्‍तिजस्तै छन्‌: “चोरलाई देख्ता तँ त्यसको सङ्‌गतमा खुशी भएको थिइस्‌।”—भजन ५०:१८.

यद्यपि, ठगाहाहरू प्रशंसा गर्न लायक छैनन्‌। एक जना लेखकले यस्तो लेखे: “अरूको विश्‍वास जितेर ठग्ने व्यक्‍तिको एउटा विशेषता भनेको आफ्नो नजिकको मान्छेलाई छलकपट गरेर आफ्नो अधीनमा पार्ने जन्मजात क्षमता हो र यस्तो क्षमता सानो उमेरमै देखिन्छ। यस क्षमताको अलावा यसरी छलकपट गरेर आफ्नो अधीनमा पार्ने कुराले तिनीहरूलाई दोषी महसुस गराउँदैन वा तिनीहरू पछुताउँदैनन्‌। त्यसको विपरीत, यसले गर्दा तिनीहरूलाई अपार सन्तुष्टि मिलेको आभास हुन्छ। अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूले यस्तो किसिमको सन्तुष्टि महसुस गर्छन्‌ कि त्यस खुसीले तिनीहरूलाई आफूले चाहेको कुनै पनि कुरा प्राप्त गर्न मानिसहरूलाई छलकपट गरिरहन प्रोत्साहित गर्छ, चाहे पीडित व्यक्‍तिले जस्तोसुकै मूल्य नै किन चुकाउन नपरोस्‌।”

निस्सन्देह, जीवनभर जोहो गरेको सम्पत्ति ठगाइमा परेर गुमाउने एउटी विधवाप्रति त मानिसहरूले सहानुभूति प्रकट गर्लान्‌ तर ठूल्ठूला व्यापारिक संगठनहरूमा कसैले पैसा हिनामिना गर्दा वा बिमा कम्पनीलाई ठग्दा भने कमै मानिसहरूले मात्र दुःख प्रकट गर्छन्‌। व्यापारमा त उसै पनि धेरै पैसा छँदै छ नि भनेर मानिसहरू आफ्नो तर्क अघि सार्ने गर्छन्‌। तर यस्तो जालझेल व्यापारहरूको मात्र समस्या होइन; तिनीहरूले आफ्नो घाटा उपभोक्‍ताहरूबाट असुल गर्छन्‌। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकामा औसत परिवारले अन्य बिमाहरू बाहेक ठगी भएको खण्डमा त्यसको क्षतिपूर्तिको लागि वर्षेनी १,००० अमेरिकी डलरभन्दा बढी रकम बुझाउने गर्छन्‌।

साथै, थुप्रै मानिसहरूले नाउँ चलेको कम्पनीको नाउँमा उत्पादित सस्तो नक्कली लुगाफाटा, घडी, अत्तर, सिंगारपटारका सामग्री तथा हाते झोलाजस्ता उत्पादनहरू किन्‍ने मौकाको फाइदा उठाउँछन्‌। नक्कली उत्पादनहरूको कारण व्यापारहरूले वर्षेनी खरबौं रुपियाँ बराबरको घाटा बेहोर्छन्‌ भन्‍ने कुरा थाह भए तापनि तिनीहरू यसले आफूलाई चाहिं केही असर गर्दैन भन्ठान्छन्‌। तथापि, अन्ततः उपभोक्‍ताहरूले असली सरसामान तथा सेवाहरूको लागि धेरै रकम तिर्नुपर्छ। यसबाहेक, नक्कली सरसामान किन्‍नु भनेको अपराधीहरूलाई धनी बनाउनु हो।

ठगी विरुद्ध लड्‌ने पेसामा संलग्न एक जना लेखकले यस्तो लेखे: “हामी रत्तीभर नैतिक नीतिनियम नभएको समाजमा बाँचिरहेको हुनाले नै आज यत्तिबिघ्न ठगीकार्य भएको हो भन्‍ने कुरामा म विश्‍वस्त छु। नैतिक नीतिनियममा आएको ठूलो ह्रासले गर्दा ठगी गर्ने संस्कारले आश्रय पाएको छ। . . . हामी घरमा नैतिक नीतिनियम नसिकाउने समाजमा बाँचिरहेका छौं। हामी स्कूलमा नैतिक नीतिनियम नसिकाउने समाजमा बाँचिरहेका छौं किनभने शिक्षकहरूमाथि नैतिक स्तरहरू सिकाएको आरोप लाग्न सक्ने डर छ।”

त्यसको विपरीत, यहोवाका साक्षीहरू परमेश्‍वरको वचनका नैतिक स्तरहरू सिकाउने तथा त्यसै अनुसार जिउने प्रयास गर्छन्‌। तल दिइएका जस्ता सिद्धान्तहरूद्वारा तिनीहरू डोऱ्‍याइएका हुन्छन्‌:

● “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३९.

● “नठग्नू।”—मर्कूस १०:१९.

● “चोर्नेले फेरि नचोरोस, बरू त्यसले परिश्रम गरोस, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।”—एफिसी ४:२७, २८.

● “सबै कुरामा इमानदारीसाथ रहने इच्छा . . . गर्दछौं।”—हिब्रू १३:१८.

साक्षीहरू आत्म-सन्तुष्ट वा आत्म-धर्मी नभए तापनि सबैले यी सिद्धान्तहरू लागू गरेको खण्डमा संसार बस्न लायक ठाउँ हुनेछ भनेर उनीहरू विश्‍वास गर्छन्‌। एक दिन संसार पक्कै यस्तो ठाउँ हुनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञामा पनि उनीहरू विश्‍वास गर्छन्‌।—२ पत्रुस ३:१३. (g04 7/22)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरको वचनका नैतिक सिद्धान्तहरू अनुरूप सबै जना चलेको खण्डमा संसार बस्न लायक ठाउँ हुनेछ

[पृष्ठ १०-मा भएको चित्र]

“तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्‍ने जस्ता बाइबलका सिद्धान्तहरू साँचो मसीहीहरूले लागू गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने