प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. १५-१७
  • मह—मानिसलाई मौरीको उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मह—मानिसलाई मौरीको उपहार
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • औषधीको रूपमा महको प्रयोग
  • मह—मधुर निवारक
    ब्यूँझनुहोस्‌!—२००२
  • माहुरीपालन—“गुलियो” कथा
    ब्यूँझनुहोस्‌!—१९९७
  • अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्‍नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. १५-१७

मह—मानिसलाई मौरीको उपहार

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

वनमा जाँदा एक जना थकित इस्राएली सिपाहीले तपतप मह चुहिरहेको चाका देखेपछि लट्ठी पसारेर त्यसको टुप्पाले चाकामा घोचेर मह खाए। तुरुन्तै “तिनमा स्फूर्ति” आयो। (१ शमूएल १४:२५-३०) बाइबलको यस विवरणबाट महको एउटा गुण हामी थाह पाउन सक्छौं जसले मानिसलाई फाइदा गर्छ। त्यो हो—महले तुरुन्तै तागत दिन्छ। महमा पाइने प्रमुख पोषण कार्बोहाइड्रेट हो अर्थात्‌ यसमा झन्डै ८२ प्रतिशत कार्बोहाइड्रेट हुन्छ। चाखलाग्दो कुरा के छ भने, जम्मा ३० ग्राम मह खाएर तागत पाएको मौरीले पूरै संसार घुम्न सक्छ!

के मौरीले मानिसकै लागि मात्र भनेर मह बनाउने हो? होइन, किनभने मौरीको मुख्य आहार भनेकै मह हो। ठीक्कको मौरीको घारमा जाडो टार्न १० देखि १५ किलोसम्म मह चाहिन्छ। तर मौसम राम्रो छ भने चाकामा २५ किलोसम्म मह हुन सक्छ र यो बाँकी मह मानिस अनि भालु र मलसाँप्रोले खान सक्छन्‌।

मौरीले मह कसरी बनाउँछ? मौरी एउटा फूलबाट अर्को फूलमा घुम्दै ट्युबजस्तो जिब्रोले फूलको रस चुस्छ। मौरीले त्यो रस एउटा पेटमा जम्मा गरेर चाकामा लैजान्छ। अनि त्यो रस अरू मौरीहरूलाई सार्छ जसले तिनीहरूको मुखको ग्रन्थीबाट निस्कने इन्जाइमसित मिसाउँदै झन्डै आधा घण्टा “चपाउँछ।” त्यसपछि तिनीहरू मैनले बनेको षड्‌भुज चाकाहरूमा महलाई राख्छन्‌ अनि त्यसलाई सुकाउन आफ्नो पखेटाले हम्काउँछन्‌।a पानीको मात्रा १८ प्रतिशतभन्दा कम मात्र बाँकी भएपछि हरेक कक्ष मैनको पातलो पत्रले बन्द गरिन्छ। त्यसरी बन्द गरिएको मह कहिल्यै बिग्रँदैन। झन्डै ३,००० वर्ष पुरानो फिरऊनका चिहानहरूमा खान योग्य मह भेटिएको रिपोर्ट गरिएको छ।

औषधीको रूपमा महको प्रयोग

मह भिटामिन बी, विभिन्‍न किसिमको खनिज पदार्थ र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रा पाइने उत्तम खानेकुरा हुनुको अलावा सदियौंदेखि औषधीको रूपमा पनि मह प्रयोग हुँदै आएको छ।b सं.रा.अ.-को इलेनोइ विश्‍वविद्यालयमा कार्यरत कीटवैज्ञानिक डा. मे बेरेनबाउम यस्तो टिप्पणी गर्छिन्‌: “घाउ हुँदा, पोल्दा, मोतीबिन्दु, छालामा खटिरा आउँदा र घाउका दाग निको पार्न शताब्दीऔंदेखि मह प्रयोग गरिंदै आएको छ।”

औषधीको रूपमा महको उपयोगबारे अहिले बढ्‌दै गएको चासोमा टिप्पणी गर्दै सि एन एन समाचार संगठनले यस्तो रिपोर्ट गऱ्‍यो: “दोस्रो विश्‍वयुद्धको बेला एन्टिबायोटिक ड्रेसिङ उपलब्ध हुन थालेपछि मानिसहरूले घाउहरूको ड्रेसिङ गर्न मह चलाउन छोडे। तर नयाँ अनुसन्धानका साथै जसै जिवाणुहरूले एन्टिबायोटिक प्रतिरोध गर्न थाले महलाई फेरि पहिला-पहिला जस्तै औषधीको रूपमा प्रयोग गर्न थालियो।” उदाहरणका लागि, हाल गरिएको एउटा अनुसन्धान पोल्दाखेरिको उपचारसम्बन्धी छ। ड्रेसिङ गर्दा महको प्रयोग गर्दा पोलेको चाँडै निको हुनुका साथै दुखाइ पनि कम भएको पाइयो।

मौरीले फूलको रसमा इन्जाइम थप्ने भएकोले महमा केही मात्रामा एन्टिब्याक्टेरियल र एन्टिबायोटिक गुणहरू हुन्छ भनी अध्ययनहरूले देखाएको छ। त्यस इन्जाइममा हाइड्रोजन पेरोक्साइड हुने भएकोले हानिकारक ब्याक्टेरियाहरूलाई मार्छ।c साथै घाउ वा चोट लागेको ठाउँमा मह दल्दा पोल्ने वा सुनिने कम हुनुका साथै स्वस्थ कोषहरू विकास गर्न मदत गर्ने पाइएको छ। यसैकारण, न्यु जील्याण्डका जीवरसायनविद्‌ डा. पिटर मोलान यसो भन्छन्‌: “परम्परागत तरिकामा औषधोपचार गर्नेहरूले मह भरपर्दो र प्रभावकारी औषधीको रूपमा स्वीकारेका छन्‌।” वास्तवमा, अस्ट्रेलियन उपचार सामग्रीसम्बन्धी प्रशासनले महलाई औषधीको रूपमा प्रयोग गर्ने अनुमति दिएको छ र त्यस देशमा घाउहरूको ड्रेसिङ गर्न औषधीको रूपमा बजारमा मह बिक्री गर्न थालिएको छ।

पोषिलो र स्वादिष्ट हुनुका साथै औषधीको रूपमा पनि प्रयोग गर्न सकिने अरू कतिवटा खाना तपाईंलाई थाह छ? यसैकारण त विगतमा मौरी र मौरी पालकहरूको सुरक्षाको लागि विशेष कानुनहरू पारित गरिएका थिए! मौरीको घार वा घार भएको रूखलाई क्षति पुऱ्‍याउँदा धेरै जरिवाना तिर्नुपर्थ्यो वा मृत्युदण्ड समेत दिइन्थ्यो। साँच्चै, मह मौरीले मानिसलाई दिएको एउटा बहुमूल्य उपहार हो र यसको श्रेय सृष्टिकर्तालाई जान्छ। (g05 8/8)

[फुटनोटहरू]

a आफ्नो शरीरमा हुने विशेष ग्रन्थीबाट मौरीले चाका बनाउने मैन निकाल्छन्‌। चाकाको षड्‌भुज आकारका कक्षहरू विभाजन गर्ने पातलो भित्ता जसको मोटाइ एक मिलिमिटरको एक तिहाई मात्र हुन्छ। तर यसले मौरीको शरीरभन्दा ३० गुणा बढी वजन थाम्न सक्छ। यो साँच्चै एउटा अचम्मलाग्दो रचना हो।

b साना बच्चाहरूलाई एक प्रकारको पक्षघात हुन सक्ने खतराको कारण तिनीहरूलाई मह नखुवाउने सुझाव दिइएको छ।

c ताप र प्रकाशले इन्जाइम खतम हुने भएकोले औषधीको रूपमा अप्रशोधित मह प्रयोग गरिन्छ।

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

मह राखेर पकाउँदा

मह चिनीभन्दा गुलियो हुन्छ। त्यसकारण, चिनीको सट्टा मह राख्दा तपाईंलाई चाहिने चिनीभन्दा आधी वा त्यसको तीन चौथाइ मात्र राख्नुहोस्‌। महमा १८ प्रतिशत पानी हुने भएकोले तपाईंले पकाउने खानेकुरामा झोलको मात्रा पनि कम गर्नुहोस्‌। झोल चाहिंदैन भने एक कप महको लागि दुई ठूलो चम्चा पीठो थप्नुहोस्‌। ओभनमा खाना पकाउनको लागि चाहिं एक कप महमा सानो चम्चाले डेढ चम्चा बेकिङ सोडा थप्नुहोस्‌ र ओभनको तापक्रम पनि १५ डिग्री सेल्सिय घटाउनुहोस्‌।

[स्रोत]

National Honey Board

[पृष्ठ १६-मा भएको चित्र]

फूलको रस चुस्दै गरेको मौरी

[पृष्ठ १७-मा भएको चित्र]

महको चाका

[पृष्ठ १७-मा भएको चित्र]

मौरीको घार

[पृष्ठ १७-मा भएको चित्र]

मौरी पालकले घारबाट फ्रेम निकालेर हेर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने