अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्नुहोस्
अस्ट्रेलियाका ब्यूँझनुहोस्! लेखकद्वारा
बसन्तको आगमनसँगसँगै पारिलो घाम लागेको दिन थरी थरीका फूल चहार्दै उडिरहेको व्यस्त मौरीको भुनभुन आवाज सुनेर के तपाईंले आनन्द मान्नुभएको छ? साँच्चै, तिनीहरू एकदमै रमाइला छन्। तर चिल्ने भएर पो कुरा बिग्रियो!
नचिल्ने मौरीहरू पनि हुन्छन् भनेर थाह पाउँदा तपाईंलाई अचम्म लाग्ला। तिनीहरू अस्ट्रेलियाको नचिल्ने मौरी भनेर चिनिन्छन् र तिनीहरू पूर्वी अस्ट्रेलियाका थुप्रै ठाउँहरूमा पाइन्छन्। नचिल्ने मौरीहरू चार मिलिमिटरभन्दा अलिकता मात्र ठूला हुन्छन्। तिनीहरू कालो रंगका हुन्छन् अनि तिनीहरूको अनुहार र दायाँबायाँ सेतो बाक्लो रौंले ढाकिएका हुन्छन्। तिनीहरूमध्ये थुप्रैको खण्ड खण्ड परेको जीउको मध्य भागको पछिल्तिर छेउमा पहेंला थोप्लाहरू हुन्छन्। क्विन्सल्याण्डको सुदूर उत्तरको तट हुँदै न्यु साउथ वेल्शको दक्षिणी भागसम्म यी नचिल्ने मौरीका कम्तीमा पनि दस प्रजातिहरू पाइन्छन्। कतिपय त महादेशको उष्ण कटिबन्धीय उत्तरी इलाकामा पनि पाइन्छन्।
चाकाबाट मह काढ्नेहरूले पाउने फाइदाबारे सोच्नुहोस्। एक जना मौरीपालक यसो भन्छन्: “[मौरीका अन्य प्रजातिसित] काम गर्दा मौरीले नचिलोस् भनेर घुम्टी अनि डाँग्री लगाउने गर्छु तर [नचिल्ने मौरीबाट] जोगिन केही पनि गर्नुपर्दैन। मौरीको घार खोलेको पाँच मिनेटपछि पनि ती मौरीहरू मानौं म त्यहाँ छँदै छुइनँ जस्तो गरी काम गरिनै रहन्छन्।”
नचिल्ने मौरीहरूको घार अन्य मौरीहरूको तुलनामा निकै फरक हुन्छ। वास्तवमा, तिनीहरूलाई अक्सर गुँड भनिन्छ। अक्सर अन्य मौरीहरूले बनाउने षड्भुजीय चाकाहरूमा जस्तो नभई यी नचिल्ने मौरीहरू अण्डाकारका घडाहरूमा मह तथा परागकण सञ्चय गर्छन्। यी घडाहरू भरिएपछि ती बन्द गरिन्छन् र त्यसमा वा त्यस वरपर अरू घडा बनाउँछन्।
गुँडभित्र
आउनुहोस्, लगभग १५,००० नचिल्ने मौरीहरूको गुँडभित्र सयर गरौं। होस गर्नुहोस् है, यी मौरीहरूले नचिल्ने भए तापनि तपाईंलाई बंगराले किटिक्क टोक्लान् नि।
गुँडहरूको बरन्डा हुँदै हामी एउटा क्रियाशील संसारमा आइपुग्छौं। यी मौरीहरू समूहमा मिलेर काम गर्छन्। तिनीहरू प्रत्येकलाई के काम गर्ने र कहाँ काम गर्ने राम्ररी थाह हुन्छ। सानो मौरीले मह हाल्ने नयाँ घडालाई ब्लूप्रिन्ट हेरेर बनाएजस्तै गरी आकार दिदैं चिल्लो पारिरहेको हामी देख्छौं। हामी नजिकै अन्य चार मौरीहरूचाहिं भर्खरै भरिएका महका घडाहरूलाई बन्द गर्दैछन्। मह राख्न बनाइएका घडाहरूलाई बडेमानको तीनतर्फी जाली जस्तो थाँक्रोले आड दिन्छ। यस्तो उत्कृष्ट कार्यले महको भारलाई थाम्न मदत गर्दो रहेछ।
अब हामी अर्को भागमा जाँदैछौं र हामी त्यहाँ अन्य मौरीहरूभन्दा अलि ठूलो मौरी देख्नेछौं। यी रवाफिला रानी मौरी हुन्! चहकिलो कालो शरीरमा पहेंलो चक्का भएको शरीर भएकी रानी मौरी अन्य व्यस्त मौरीहरूमाझ साह्रै सुन्दरी देखिन्छे! उसैको लागि तयार पारिएको ६० वटा कोशहरूमा रानी मौरी फुल पार्दैछे। ऊ एकदमै होसियार र अति समझदार छे! कोक्रामा बच्चा सुताउन लागेकी आमा जस्तै। हेर्नुस् त, तिनले फुल पार्ने बित्तिकै अरू कामदार मौरीहरूले कत्ति छिटो त्यो कोशलाई बन्द गर्दैछन्। केही मिनेटमै सम्पूर्ण काम सिद्धिन्छ।
फुल कोरलिएपछि
फुल कोरलिएपछि त्यसबाट निस्केका स-साना कीराले (वा, लाब्रे) तिनीहरूकै निम्ति उक्त कोशमा राखिदिएको खाना खान्छन्। मैनले बनेको कोशमा नअटाउने भएपछि लाब्रेले आफैलाई रेसमजस्तो ककुनमा बेर्छ। यो ककुनभित्रै त्यो सानो कीरा (प्यूपा बनिसकेपछि) मौरी बन्छ। पछि यो ककुनबाट निस्कन्छ र स्याहारसुसार गर्ने मौरीहरूको माया पाएपछि काम गर्न थाल्छ। अनि मैनले बनेको कोशलाई के हुन्छ नि? तिनीहरू तुरुन्तै जम्मा गरिन्छन् र पुनः प्रशोधन गरिन्छन्। मौरी ककुनबाट निस्किसकेपछि त्यो ककुनको कुनै आवश्यकता पर्दैन। त्यहीं छोडिराख्यो भने त यी ककुनहरूले गुँडलाई फोहर पारिहाल्छन्। त्यसकारण, सफा गर्ने अनगिन्ती मौरीहरूले यी बाँकी रहेका ककुनहरूलाई तह लगाउँछन्।
नचिल्ने मौरीको थुप्रै प्रजातिले सेरुमिन भनिने निर्माण सामग्री उत्पादन गर्छन्। मौरीहरूले उत्पन्न गरेको मैन तिनीहरूले बोटबिरुवाबाट जम्मा गरेको चोप र मैनसित मिसेर बनेको हुन्छ। सेरुमिन थाँक्रो फ्रेम बनाउन र गुँडलाई अझ बलियो पार्न बीम तथा क्रसबीमहरू बनाउन प्रयोग गरिन्छ। अनि यी फ्रेमहरूमा मह र परागकण राख्ने घडाहरू बनाउँदा, मौरीहरू घडाहरूभित्र पसेर सेरुमिनलाई थिच्न र घडाको आकार दिनथाल्छन्। त्यसपछि, ती घडाहरू भरिन्छन् र सञ्चय गर्न बन्द गरिन्छ। मौसमअनुसारका बोटहरू र खराब मौसम पनि यी मौरीहरूले सहजै थाह पाउँछन् जस्तो देखिन्छ। जीवन धान्न भोजन जम्मा गर्नु र सञ्चय गर्नु अत्यावश्यक छ भनेर यिनीहरूलाई राम्ररी थाह छ जस्तो देखिन्छ।
निर्माण सामग्री बनाउने सामग्री तथा पुष्परस तथा परागहरू खोज्न मौरीहरू आफ्नो गुँड छोड्छन्। गुँड बाहिर पुगेपछि यी मौरीहरू कुशल चालकझैं उड्छन् र आफ्नो बाटो पत्ता लगाउन खप्पिस हुन्छन्। के जम्मा गर्ने र कहाँ खोज्ने, यिनीहरूलाई सबै राम्ररी थाह हुन्छ।
नयाँ घर बनाउँदै
मौरीहरूको संख्या बढ्दै गएपछि गुँडमा ठाउँको अभाव हुन थाल्छ। अब के हुन्छ? सायद, “हामीले नयाँ घर बनाउनु पऱ्यो” भन्ने सन्देश सम्पूर्ण परिवारले पाउँदा हुन्। कहिलेकाहीं, एउटा डफ्फालाई गुँड बनाउने उपयुक्त होलो ठाउँ खोज्न पठाइन्छ। त्यसपछि, “इन्जिनियरहरू” त्यो ठाउँ हेर्न जान्छन्। अक्सर ३० देखि ५० जत्ति यस्ता दक्ष मौरीहरूले घण्टौं लाएर त्यस होलो ठाउँमा रेखाहरू कोरेजस्तै गरेर त्यसको भित्री सतह जाँच्छन्। जग बलियो भएको पक्का गरिसकेपछि तिनीहरू रिपोर्ट गर्न घर फर्कन्छन्। त्यसपछि, ४८ घण्टाभित्रै “निर्माताहरू” आइपुग्छन्। यस डफ्फामा लगभग १००० जति मौरीहरू हुन्छन् तर रानी हुँदैन। तिनीहरू पुरानो घरबाट निर्माण सामग्री तथा खानाहरू ओसार्दै तुरुन्तै आफ्नो काम थाल्छन्।
यस नयाँ गुँडकी रानीलाई निम्त्याउन गुँडको तापक्रम एकदम सही अर्थात् २८ डिग्री सेल्सियस हुनुपर्छ। यसका लागि कामदार मौरीहरूले उक्त गुँडलाई सिरकले गुटमुटाएझैं वरिपरि सेरुमिन लगाउँछन्। यी बुद्धिमान् मौरीहरूलाई फुल न्यानो पार्नुपर्छ भनेर थाह छ जस्तो छ। अब सबथोक तयार भयो र करिब नवौं दिनमा पुरानो गुँडमा हुर्किएकी नयाँ रानीलाई उक्त गुँडमा ल्याइन्छ। आफ्नो दरबार थुप्रै मौरीले भर्न लगत्तै ऊ फुल पार्न थाल्छे।
पुरानो गुँडबाट सरेका मौरीहरू बिस्तारै मर्न थाल्छन् र तिनीहरूको ठाउँ नयाँ गुँडका नयाँ, जवान मौरीहरूले लिन्छन्। रहँदा बस्दा यस नयाँ गुँडका मौरीहरूलाई पनि अर्को नयाँ घर बनाउनुपर्ने आवश्यकता महसुस हुनेछ। यसरी, अतुलनीय सृष्टिकर्ताले रचना गर्नुभएको अद्भुत चक्र चलिरहन्छ!
[पृष्ठ १३-मा भएको चित्र]
षड्भुजीय चाका बनाउनुको साटो यी नचिल्ने मौरीहरू अण्डाकारका घडाहरूको झुन्ड बनाउँछन्
[पृष्ठ १४-मा भएको चित्र]
अस्ट्रेलियामा यी नचिल्ने मौरीका कम्तीमा पनि दस प्रजातिहरू पाइन्छन्