माहुरीपालन—“गुलियो” कथा
ग्रीसका ब्यूँझनुहोस! संवाददाताद्वारा
पारि आकाशभरि प्रभातको मिरमिरे उज्यालो बिस्तारै फैलियो। मुटु कमाउने जाडो र कुइरोले ढाकेको एकाबिहानै एउटा ढुवानी ट्रक भिरालो पहाडमुनि सडकको छेउमा आएर बिस्तारै रोकियो। राम्ररी ठमाउन नसकिने दुइ व्यक्तिहरू बाहिर निस्किए। तिनीहरूले पन्जा, जुत्ता, सूतीको लुगा, घुम्टो र चौडा घेरा भएको टोपी लगाएका थिए। सतर्क तर उत्सुकतासाथ तिनीहरूले कैयौं काठको बाकस ट्रकमा हाले। के यी दुइले केही चोरिरहेका थिए? होइन, तिनीहरू मधुरस निकाल्ने बोटबिरुवाहरू भएको ठाउँमा जाने तरखरमा आफ्ना मूल्यवान् माहुरीका घारलाई होशियारीपूर्वक ओसारिरहेका माहुरीपालक थिए।
एक प्रकारको विशेष कीरासंग पारस्परिक सम्बन्ध भएको गौरव गर्ने माहुरीपालक बेग्लै प्रकारका व्यक्तिहरू हुन्। एकातिर, आर्थिक तवरमा हेर्ने हो भने माहुरी सबैभन्दा उपयोगी कीरा हो। तिनीहरूले मह र मैन बनाउँछन् अनि विभिन्न अनाजको परागसेचन गर्छन्। अर्कोतिर, माहुरी पालेर जीवन निर्वाह गर्नुको साथसाथै यी स-साना प्राणीहरूलाई माया गर्ने मानिसहरू पनि छन्। एक माहुरीपालकले बताएअनुसार तिनीहरू माहुरीसँग “चिरपरिचित छन्।”
“दैनिक आश्चर्यको” रखवाला
माहुरी पाल्नु सजिलो जस्तो लाग्ला। थुप्रै माहुरीहरू भएको दुइ चार वटा घार जम्मा गर्नु, मधुरस हुने ठाउँमा राख्नु र केही महिनापश्चात् मह निकाल्न जानु न हो जस्तो लाग्ला। तर सोचेजस्तो सजिलोचाहिं हुँदैन। माहुरीपालनमा कुन कुन कुरा विथोलित छ भनेर बुझ्न व्यावसायिक माहुरीपालक जोन र मारीसित कुरा गऱ्यौं। तिनीहरूले आफ्नो मन पर्दो पेशाबारे खुशीसाथ बताए।
खुल्ला घारमा अडेस लाउँदै जोन भन्छन्: “माहुरीपालनमा दैनिक आश्चर्य देख्न पाइन्छ। तर अहिलेसम्म, माहुरीको विचित्र सामूहिक जीवन, दक्ष सञ्चार कौशलता र बुद्धिमान् ढंगमा काम गर्ने कुराबारे कसैसँग पनि पूरा ज्ञान छैन।”
माहुरीपालनको इतिहासबारे बेलिविस्तार केलाउँदा, विगतमा मानिसहरूले रूखको टोड्का वा अन्य प्वालमा बसेको माहुरीको गोला भत्काएर मह निकाल्थे भनेर जोन बताउँछन्। तथापि, माहुरीले दुइटा चाकामा करिब छ मिलीमिटरको अन्तर राख्छ भनेर सन् १८५१ मा अमेरिकी माहुरीपालक लेरिन्जो लेरान लांगस्ट्रोतले पत्ता लगाए। यसले गर्दा घारमा त्यस्तै अन्तर राखेर मान्छेले नै काठे चाका बनाउन सक्ने भयो। माहुरीको गोलालाई धक्का नपुऱ्याई घारबाट प्रत्येक चाका झिकेर मह र मैन निकाल्न अब सम्भव भएको छ।
जोन अझ भन्दै जान्छन्: “सफल माहुरीपालनको लागि माहुरीप्रति अपार स्नेह हुनुपर्छ। तपाईं माहुरीको पिताझैं हुनुपर्छ र यो कुरा तिनीहरूले बुझ्छन् जस्तो छ र त्यसैअनुसार व्यवहार गर्छन्। तपाईं तिनीहरूको चिकित्सक, रखवाला र हिउँदको कठिन याममा पोषक पनि बन्नुहुन्छ।”
मारी कुरा थप्छिन्: “सिपालु माहुरीपालकले एउटा घारलाई झलक्क हेरेर धेरै कुरा भन्नसक्छन्, जसमा प्रायः ८ देखि ८० हजारसम्म माहुरी हुन्छ। तपाईं अनुभवी माहुरीपालक हुनुहुन्छ भने घार खोलेर माहुरीको मधुर भुनभुनाइ सुनेर तिनीहरू फस्टाएको, बच्चा र मह बढेको, ‘खुशी’ भएको; भोकाएको, रानी मरेर ‘टुहुरो’ भएको; अप्रिय कुराले खलबल भएको; साथै अन्य धेरै कुराहरू थाह पाउन सक्नुहुन्छ।”
सफल माहुरीपालनको लागि महत्वपूर्ण तत्त्वहरू
जोन बताउँछन्: “माहुरीलाई राख्ने उपयुक्त ठाउँ राम्ररी खोज्नु मुख्य कुरा हो। माहुरीले रस पाउने फूलैफूल भएको ठाउँ खोज्न हामी भरमग्दुर प्रयास गर्छौं।”
“माहुरीलाई सधैं व्यस्त गराउन सुन्तला र ज्यामिर फूलेको ठाउँ खोज्न सकिन्छ। धेरै बिक्री हुने, रातो रंगको गुणस्तरीय मह उत्पादन गर्न ग्रीष्म र शरद ऋतुमा सल्ला र देवदारूले भरिएको ठाउँ राम्रो हुन्छ। माहुरीपालकले बताएअनुसार, पुदिनाजस्तो बोटबिरुवा फुलेको ठाउँमा राम्रो मह अर्थात् सर्वोत्तम मह उत्पादन हुन्छ। सेतो तीनपाते घाँस, गुलियो-पहेंलो तीनपाते घाँस र अल्फाल्फा पनि माहुरीलाई असाध्यै मन पर्छ।”
राम्रो र दूरदर्शी निर्णय महत्वपूर्ण कुरा हो। मारी बताउँछिन्: “घारलाई पहाडी क्षेत्रमा राख्दा त्यसलाई पहाडको फेदीमा राख्नु बेस हुन्छ। यसो गर्दा माहुरीहरू माथितिर उडेर फूलैफूलले ढाकिएका वृक्ष भेटाउनसक्छन् र पूरा मधुरस लिएर सजिलैसित ओह्रालो आउनसक्छन्। घार रूखहरूभन्दा धेरैमाथि ठाडो भीरको टुप्पोमा छ भने, माहुरी लखतरान हुन्छ र एकदमै कम मह उत्पादन हुन्छ।”
कलिलो रानी भएको चाका होशियारीसित समात्दै जोन भन्छन्: “आफ्नो समूहको हित र उन्नतिप्रति रानीले निर्वाह गर्ने मुख्य भूमिकाबारे प्रत्येक माहुरीपालकलाई राम्ररी थाह हुन्छ। थोरै बच्चा जन्माउने र कम मात्र मह उत्पादन गर्ने रानी मारेर अर्कै राख्नुपर्छ। जवान रानी भएको माहुरीले सबैभन्दा बढी मह बनाउँछ। नयाँ झुण्ड बनाउनु पर्दा चाकाको दुवैतिर माहुरी भएको चाहिं निकाल्छौं र घारको माथिल्लो र तल्लो भाग अलग गर्छौं। एकापट्टि रानी रहन्छ र अर्कोपट्टि अर्को जवान रानी राखी दिन्छौं। फूल फुल्ने समयमा यो रानीले अण्डा पारिसकेको हुन्छ र श्रमिक माहुरीहरूको संख्या निकै बढिसकेको हुन्छ।”
माहुरी कतिसम्म बाँच्छ? धेरै काम गरेको बेला श्रमिक माहुरी थोरै समयसम्म मात्र बाँच्छ। गर्मी समयमा, प्रतिघण्टा लगभग २१ किलोमिटरको रफ्तारमा उडेर माहुरीले दिनमा १५ घण्टा जति फूल खोज्ने गर्छ। यतिखेर यो छ हप्ता मात्र बाँच्छ। जाडो समयमा थोरै परिश्रम गर्छ। दिनमा दुइ वा तीन घण्टा मात्र काम गर्छ र कैयौं महिनासम्म बाँच्छ।
विविध उत्पादन
निस्सन्देह, माहुरीको कुरा गर्दा हाम्रो मनमा आउने पहिलो वस्तु मह नै हो। यो गुलियो र बाक्लो तरल पदार्थ श्रमिक माहुरीले मधुरसबाट बनाएको वस्तु हो। व्यापारिक दृष्टिकोणले बनाइएको घारले वर्षमा औसत २९ किलोग्राम मह उत्पादन गर्छ। माहुरीको कार्यको अर्को बहुमूल्य उत्पादन मैन हो। पाँच छ वर्षसम्म चाका प्रयोग गर्न सकिन्छ। त्यसपछि, विभिन्न कीटाणु र परजीवीले गर्दा यसको रंग कालो हुन्छ र अर्को लगाउनुपर्छ। यो काम नलाग्ने चाकाबाट मैन निकालिन्छ। एक टन मह जम्मा हुँदा औसत ९ देखि १८ किलोग्राम मैन प्राप्त हुन्छ।
रानी, श्रमिक र भाले माहुरी हुर्कनलाई चाहिने प्रोटीन, भिटामिन, खनिज पदार्थ र बोसोको मुख्य स्रोत पराग हो। यसलाई विभिन्न शारीरिक रोगको असल प्राकृतिक औषधीको रूपमा पनि तारिफ गरिन्छ। वर्षदिनमा एक घारमा करिब पाँच किलोग्राम पराग हुनसक्छ। प्रोपोलिस भन्ने पदार्थलाई माहुरीले चाकालाई चिसो र गर्मीबाट जोगाउन र अनावश्यक वस्तुहरू भित्र पस्न नदिनलाई प्रयोग गर्छ।
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होस्, हामीले उपभोग गर्ने लगभग एक चौथाई खाद्यान्न उत्पादन माहुरीको परागसेचन दक्षतामा भर पर्छ। स्याउ, बदाम, तरबुजा, आलुबखडा, नासपाती, काँक्रो र ऐंसेलुजस्ता स-साना सबै फलहरू परागसेचनको लागि माहुरीमा नै निर्भर हुन्छन्। गाजर, प्याज अनि सूर्यमुखी फूल लगायत अन्न उमार्ने विभिन्न अनाजहरू पनि त्यस्तै हुन्। मासु र दूध उत्पादनमा पनि माहुरीको भूमिका रहेको हुन्छ किनकि माहुरीले अल्फाल्फालाई परागसेचन गर्छ जो गाईवस्तुको मुख्य आहार हो।
“साह्रै बुद्धिमानी”
मारी भन्छिन्: “मलाई लाग्छ, अधिकांश माहुरीपालकहरू परमेश्वरमा विश्वास गर्छन्” किनभने माहुरीको सामाजिक संरचनाको गहनता, जटिल सामूहिक जीवन अनि दिशाबोध र सञ्चारको महान् क्षमता हामी बुझ्नै सक्दैनौं। माहुरीको अध्ययन र चासो गर्ने अधिकांश मानिसहरूले माहुरी “साह्रै बुद्धिमानी” हुन्छ भनेर स्वीकार्छन्। यस्तो बुद्धि तिनीहरूलाई हाम्रो महान् सृष्टिकर्ता, यहोवा परमेश्वरले उदारतासित प्रदान गर्नुभएको हो।—हितोपदेश ३०:२४ तुलना गर्नुहोस्।
[पृष्ठ १६-मा भएको पेटी/चित्र]
फूलदेखि तपाईंको टेबलसम्म
१ श्रमिक माहुरी फूलमा गएर मधुरस बटुल्छ
फूलमा पुगेपछि, मह बटुल्ने थैलो अर्थात् इसोफेगसमा माहुरीले मधुरस बटुल्छ। यो थैलो भर्न माहुरीलाई १,००० देखि १,५०० फूल चहार्नुपर्ने हुन्छ
२ घारमा आएर चाकाभित्र मधुरस सञ्चय गर्छ
घारभित्र गएर श्रमिक माहुरीले बच्चा श्रमिक माहुरीको मुखमा थैलोबाट मह ओकली दिन्छ। त्यसपछि श्रमिक माहुरीले मधुरसलाई चाकामा जम्मा गर्छ र मह बनाउन के के गर्नुपर्छ, सबै गर्छ
३ माहुरीपालकले मह बटुल्छ
प्रत्येक चाका ढाकेको मैनलाई तिनले तातो छुरीले खुर्कन्छन्। त्यसपछि चाकालाई मह निकाल्ने यन्त्रमा राखेर मह निकाल्छन्
४ ठूलठूलो भाँडो वा बेग्लाबेग्लै सिसीहरूमा मह राखिन्छ
माहुरीले कस्ता बोटबिरुवाहरूबाट मह बटुलेका थिए भनेर भाँडोको लेबलबाट जान्न सकिन्छ। भाँडो पारदर्शक भएमा महको रंग हेरेर त्यसको गुणस्तर जान्न सक्नुहुन्छ
५ मह तपाईंको स्वास्थ्यलाई लाभदायी छ!
शरीरले मह सजिलै पचाउँछ र तुरुन्तै शक्तिमा परिणत गरिहाल्छ। प्रतिवेदनअनुसार जलन र विभिन्न घाउहरू उपचार गर्न यसलाई प्रयोग गर्न सकिन्छ