प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. २ pp. ३-७
  • तपाईंले पढ्‌नै पर्ने किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले पढ्‌नै पर्ने किताब
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वर र नैतिकताबारे साँचो शिक्षा सिकाउँछ
  • बाइबलले दुःखकष्ट र युद्धको कारणबारे बताउँछ
  • बाइबलले उज्ज्वल भविष्यबारे बताउँछ
  • सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. २ pp. ३-७
एक व्यक्‍ति बाइबल पढ्‌दै

आवरण लेख

तपाईंले पढ्‌नै पर्ने किताब

बाइबल लेख्न सिद्धिएको लगभग २ हजार वर्ष भइसक्यो। त्यसपछि कत्ति किताबहरू आए र गए। तर बाइबल भने अहिलेसम्म लोकप्रिय छ। हामी किन यसो भन्‍न सक्छौं? तल दिइएका बुँदाहरू विचार गरौं।

  • ठूलठूला ओहदाका मानिसहरूले बाइबलको नामोनिसान मेटाउने प्रयास गरे। तर तिनीहरू सफल भएनन्‌। उदाहरणको लागि, एउटा किताबअनुसारa ‘मध्ययुगतिर कुनै-कुनै ख्रीष्टियन मुलुकमा आफ्नो भाषामा बाइबल राख्नु वा पढ्‌नुलाई धर्मत्याग मानिन्थ्यो अनि चर्चको सिद्धान्तअनुसार नचलेको ठहराइन्थ्यो।’ बाइबल अनुवाद गरेका र यो किताब पढ्‌न प्रोत्साहन दिएका कोही-कोही बाइबलविद्‌ले आफ्नो ज्यानसमेत जोखिममा पारे। कसै-कसैको हत्या पनि गरियो।

  • बाइबलको धेरै शत्रु भए तापनि आजसम्म सबैभन्दा धेरै वितरण गरिएको किताब यही हो। यो किताब पूरा वा आंशिकगरि ५ अरब प्रति छापिएको छ भने २,८०० भन्दा धेरै भाषामा पाइन्छ। यसकारण बाइबल अरू किताबहरूभन्दा बिलकुलै फरक छ। दर्शनशास्त्र, विज्ञानको किताब र अरू यस्तै किताबहरू थोरै वितरण हुन्छन्‌ अनि समयको अन्तरालमा त्यसमा भएका जानकारीहरू काम नलाग्ने हुन्छन्‌।

  • बाइबलले गर्दा कुनै-कुनै भाषाको विकास र संरक्षणमा मदत पुगेको छ। जस्तै, मार्टिन लुथरको जर्मन अनुवादले उक्‍त भाषामा ठूलो प्रभाव पारेको छ। अङ्‌ग्रेजी भाषाको बाइबल किङ जेम्स भर्सन-को पहिलो संस्करणलाई “प्रकाशन गरिएको सबैभन्दा प्रभावशाली किताब” भनिएको छ।

  • बाइबलले “पश्‍चिमी देशहरूको संस्कृतिलाई धेरै प्रभाव पारेको छ। धार्मिक आस्थामा मात्र नभई कला, साहित्य, राजनीति र अरू थुप्रै कुराहरूमा पनि यसले प्रभाव पारेको छ।”—द अक्सफोर्ड इन्साइक्लोपीडिया अफ द बुक्स्‌ अफ द बाइबल। (g16-E No. 2)

बाइबल अरू किताबभन्दा फरक छ भनेर देखाउने यी त केही उदाहरण मात्र हुन्‌। तर यो किताब किन लोकप्रिय छ? यसको लागि किन मानिसहरूले आफ्नो ज्यान जोखिममा पारे? किनभने बाइबलमा ईश्‍वरबारे साँचो कुरा लेखिएको छ र यसमा नैतिक शिक्षाबारे बुद्धिमानी सल्लाह पाइन्छ। साथै बाइबलले दुःखकष्ट र युद्धको मुख्य कारणबारे बताउँछ। अनि समस्याहरूको अन्त अवश्‍य हुनेछ भनेर आश्‍वासन दिनुका साथै यो कसरी हुन्छ, त्यसबारे पनि बताइएको छ।

संक्षिप्त जानकारी

खुला बाइबल

बाइबलमा ६६ वटा किताबहरू छन्‌; यी किताबहरू लगभग १,६०० वर्षको अवधिमा लेखियो।

बाइबल लगभग ४० जना व्यक्‍तिले लेखे। तिनीहरूमध्ये कोही किसान थिए त कोही माझी, कोही न्यायकर्ता थिए त कोही राजा भने कोही चाहिं सङ्‌गीतकार।

बाइबलको मुख्य विषय परमेश्‍वरको राज्य हो। स्वर्गमा भएको यस राज्यले पृथ्वीमाथि शासन गर्नेछ। (दानियल २:४४; ७:१३, १४) यस राज्यले दुष्टता, दुःखकष्ट अनि मृत्युको अन्त गरिदिनेछ। साथै यस राज्यले सबै मानिसलाई यहोवाको शासनअन्तर्गत एकतामा बाँध्नेछ।—१ कोरिन्थी १५:२४-२६.

ईश्‍वर र नैतिकताबारे साँचो शिक्षा सिकाउँछ

शिक्षा महत्त्वपूर्ण छ। तर शैक्षिक क्षेत्रमा जतिसुकै उपलब्धि हासिल गरे तापनि मानिसले सही निर्णय गर्न सक्छ भन्‍ने छैन भनेर क्यानाडाको एउटा अखबारले बताएको छ। वास्तवमै भन्‍नुपर्दा ठूलठूला नेता र व्यापारीजस्ता धेरै पढेलेखेका व्यक्‍तिहरूले समेत ठग्ने, चोर्ने, धोका दिने गर्छन्‌। त्यसले गर्दा तिनीहरूले मानिसहरूको भरोसा गुमाएका छन्‌ भनी जनसम्पर्क व्यवसायी एडलम्यानद्वारा प्रकाशित एउटा लेखमा बताइएको छ।

बाइबलले हामीलाई ईश्‍वर र नैतिकताबारे सिक्न प्रोत्साहन दिन्छ। यसले हामीलाई ‘जे ठीक र न्यायसंगत छ, सो बुझ्न र असल बाटोमा हिंड्‌न’ बुद्धि दिन्छ। (हितोपदेश २:९) उदाहरणको लागि, पोल्याण्डका २३ वर्षीय स्टेफनb जेलमा हुँदा बाइबल अध्ययन गर्न थाले र यसमा दिइएका व्यावहारिक सल्लाह तिनलाई धेरै मन पऱ्‍यो। तिनी यसरी लेख्छन्‌, “मैले ‘बुबा र आमाको आदर गर्नु’ भनेको के हो, राम्ररी बुझें। आफ्नो भावनालाई नियन्त्रणमा राख्न सिकें। विशेषगरि एकदमै रिसाउने बानी हटाउन मदत पाएँ।”—एफिसी ४:३१; ६:२.

तिनले मनमा राखेको एउटा सिद्धान्त हितोपदेश १९:११ मा पाउँछौं, “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” गाह्रो अवस्थाको सामना गर्नुपर्दा अहिले तिनी शान्त भएर विचार गर्छन्‌ अनि बाइबल सिद्धान्त लागू गर्ने कोसिस गर्छन्‌। तिनी यसो भन्छन्‌, “हामीलाई चाहिने निर्देशनहरू भएको सबैभन्दा राम्रो किताब बाइबल नै हो भनेर मैले अनुभव गरेको छु।”

मारिया यहोवाको साक्षी हुन्‌। एक पटकको कुरा हो, एक जना महिलाले धेरै मानिसको अगाडि तिनको बेइज्जत गरिन्‌। त्यहाँ निकै खैलाबैला मच्चियो। तर मारियाले जस्तालाई तस्तै गरिनन्‌। बरु चुपचाप आफ्नो बाटो लागिन्‌। पछि ती महिलालाई नमज्जा लाग्यो र मारियालाई खोज्न थालिन्‌। करिब एक महिनापछि उनले मारियालाई देखिन्‌ अनि तिनलाई अङ्‌गालेर माफी मागिन्‌। मारियाको धर्मले गर्दा तिनले कोमल र सहनशीलजस्ता गुण देखाउन सकेकी रहेछिन्‌ भनेर ती महिलाले बुझिन्‌। परिणाम? एक समय पूर्वाग्रह राख्ने ती महिलाका साथै तिनको परिवारको पाँच सदस्यले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले।

“असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ” भनेर येशू ख्रीष्टले भन्‍नुभयो। (लूका ७:३५) बाइबल बुद्धिले भरिएको किताब हो। किनभने यसका सिद्धान्तहरूले जीवनमा राम्रो प्रभाव पारेको थुप्रै प्रमाण छ। त्यसले हामीमा भएका असल कुराहरू प्रकट गराउँछ। बाइबल सिद्धान्तले ‘निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउँछ, हृदयलाई आनन्दित गराउँछ अनि आँखालाई उज्ज्वल तुल्याउँछ।’—भजन १९:७, ८.

बाइबलले दुःखकष्ट र युद्धको कारणबारे बताउँछ

अनुसन्धानकर्ताहरूले महामारीबारे अध्ययन गर्दा यसको सुरुवात कसरी भयो भनी खोज-अनुसन्धान गर्छन्‌। दुःखकष्ट र युद्ध पनि माहामारी जस्तै हो। यसको सुरुवात कसरी भयो भनेर बुझ्न हामीलाई बाइबलले मदत गर्छ।

पहिलो मानव दम्पतीले परमेश्‍वरको विद्रोह गरेपछि दुःखकष्टको सुरुवात भयो भनी उत्पत्तिको किताबले बताउँछ। सही र गलतको स्तर तोक्ने अधिकार परमेश्‍वरसित मात्र छ। तर ती दम्पतीले सही र गलतको स्तर आफैले तोके। (उत्पत्ति ३:१-७) दुःखको कुरा आज मानिसजातिमा त्यस्तै मनोवृत्ति व्याप्त छ। परिणाम कस्तो भएको छ? संसारमा शान्ति र सुरक्षा छाउनुको सट्टा लडाइँ, झैझगडा र अत्याचारले भरिएको छ। मानिसहरू नैतिक रूपमा खस्किसकेका छन्‌ अनि ईश्‍वरबाट पनि टाढिएका छन्‌। मानव इतिहासले यसको प्रमाण दिन्छ। (उपदेशक ८:९) बाइबलले भनेको यो कुरा सही छ, “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) तर खुसीको कुरा, मानिसजातिले गरेको विद्रोहबाट निम्तिएका सबै समस्याको अन्त चाँडै हुनेछ।

बाइबलले उज्ज्वल भविष्यबारे बताउँछ

परमेश्‍वरले उहाँको शासन र स्तरअनुसार चल्ने मानिसहरूका लागि संसारबाट खराबी र दुःखकष्ट अन्त गर्नुहुनेछ भनेर बाइबलमा लेखिएको छ। दुष्टहरूले “आफ्नो व्यवहारको फल भोग्नेछन्‌।” (हितोपदेश १:३०, ३१) अर्को तर्फ “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:११.

कफीसँगै खुला बाइबल

“[परमेश्‍वर] सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।”—१ तिमोथी २: ३, ४

परमेश्‍वरले पृथ्वीमा शान्ति छाओस्‌ भन्‍ने उद्देश्‍य राख्नुभएको थियो। यो उद्देश्‍य उहाँको “राज्य”-मार्फत पूरा हुनेछ। (लूका ४:४३) यस राज्यले मानिसजातिमाथि शासन गर्ने अधिकार परमेश्‍वरको मात्र हो भनेर प्रस्ट पार्नेछ र पूरै पृथ्वीमा शासन गर्नेछ। यो कुरा येशूको प्रार्थनाबाट पनि छर्लङ्‌ग हुन्छ। उहाँले यसरी प्रार्थना गर्नुभयो, “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ती ६:१०.

परमेश्‍वरको राज्यका प्रजाहरूले शासन गर्ने अधिकार परमेश्‍वरकै हो भनेर मानिलिनेछन्‌। अनि उहाँको इच्छा पूरा गर्नेछन्‌। भ्रष्टाचार, लोभ, आर्थिक असमानता, जातीय भेदभाव अनि युद्ध हुनेछैन। त्यतिबेला पूरै संसारमा एउटै सरकार हुनेछ अनि नैतिक र आध्यात्मिक स्तर पनि एउटै हुनेछ।—प्रकाश ११:१५.

नयाँ संसारमा बस्न पाउनको लागि बाइबलको ज्ञान लिनुपर्छ। पहिलो तिमोथी २:३, ४ ले यसो भन्छ, “[परमेश्‍वर] सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।” सत्यको सही ज्ञान लिनु भन्‍नाले परमेश्‍वरको राज्यको नियम र सिद्धान्त बुझ्नु हो। यही नियम र सिद्धान्तको आधारमा परमेश्‍वरले शासन गर्नुहुनेछ। यसका केही उदाहरण येशू ख्रीष्टको डाँडाको उपदेशमा पाइन्छ। (मत्ती, अध्याय ५-७) ती तीन अध्याय पढ्‌दा येशूले दिनुभएको बुद्धि सबै मानिसजातिले लागू गरेमा जीवन कस्तो हुनेछ भनेर कल्पना गर्नुहोस्‌।

बाइबल सबैभन्दा धेरै वितरण हुने किताब भएकोमा के हामी छक्क मान्‍नुपर्छ? पर्दैन। यसमा भएका शिक्षा परमेश्‍वरको प्रेरणा पाएर लेखिएको हो। अनि यसको व्यापक वितरणबाट सबै भाषा र राष्ट्रका मानिसहरूले परमेश्‍वरबारे सिकेको उहाँ चाहनुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। साथै उहाँको राज्यले ल्याउने आशिष्‌बाट सबैले लाभ उठाएको उहाँ चाहनुहुन्छ भन्‍ने कुरा पनि देखिन्छ।—प्रेषित १०:३४, ३५. (g16-E No. 2)

a An Introduction to the Medieval Bible.

b नाम परिवर्तन गरिएको छ।

ताराहरूले भरिएको आकाशमण्डल

ब्रह्‍माण्डलाई भौतिक नियमहरूले नियन्त्रण गर्छ भनेर बाइबल बताउँछ

अन्धविश्‍वासको पर्दाफास गर्ने किताब

इन्साइक्लोपीडिया अफ साइन्स एन्ड रिलिजन-अनुसार पहिले-पहिलेका मानिसहरूले “ब्रह्‍माण्ड डरलाग्दा देवीदेवताहरूको नियन्त्रणमा छ” भनेर विश्‍वास गर्थे। तर बाइबलमा चाहिं भौतिक नियमहरूले ब्रह्‍माण्डलाई नियन्त्रणमा राखेको छ भनेर लेखिएको छ। उदाहरणको लागि, बाइबलमा ३,५०० वर्षअघि “आकाशको शासन गर्ने नियमहरू” छ भनेर लेखिएको पाइन्छ। (अय्यूब ३८:३३) साथै यर्मिया ३१:३५ (TBS, पवित्र बाइबल) मा “चन्द्रमा र ताराहरूका नियम” छ भनेर लेखिएको छ। यो कुरा स्विकारेका मानिसहरू झूटो उपासना र अन्धविश्‍वासको प्रभावमा परेनन्‌।—अय्यूब ३१:२६-२८; यशैया ४७:१, १३.

सत्य कुरा मात्रै भएको किताब

बाइबल लेखकहरूको सबैभन्दा मनमोहक गुण तिनीहरूको इमानदारी हो। हुन त तिनीहरूमा पनि कमीकमजोरी थियो तैपनि तिनीहरू इमानदार थिए। उदाहरणको लागि, राजा दाऊदले बेतशेबा नामकी स्त्रीसित अवैध यौनसम्बन्ध राखेपछि तिनले यसरी स्विकारे, “[परमेश्‍वरको] दृष्टिमा जे खराबी छ, त्यही गरेको छु।” (भजन ५१:४) येशूको चेला यूहन्‍नाले दुई पटकसम्म स्वर्गदूतको उपासना गर्न लागेर गल्ती गरेको कुरा स्विकार्छन्‌। तिनलाई स्वर्गदूतले यसो भने, “होसियार! त्यसो नगर! . . . परमेश्‍वरको उपासना गर!” (प्रकाश १९:१०; २२:८, ९) यस्तो इमानदारी बाइबल लेखकहरूको विशेषता हो, जुन इतिहासका लेखकहरूमा पाइँदैन।

मानसिक स्वास्थ्य राम्रो बनाउँछ

बाइबलले हामीलाई मानसिक रूपमा स्वस्थ रहन मदत गर्ने गुणहरू विकास गर्न प्रोत्साहन दिन्छ। जस्तै: दया, क्षमा, आदि। एफिसी ४:३२ ले भन्छ, “एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एक-अर्कालाई खुला मनले क्षमा गर।”

अमेरिकाको रोग रोकथाम र निवारण केन्द्रको एउटा प्रकाशनअनुसार ‘तपाईंले अरूलाई माफी दिने बानी बसाल्नुभएन भने आफैलाई हानि पुऱ्‍याइरहनुभएको हुनेछ। माफी दिने बानीले सम्बन्ध राम्रो बनाउँछ; आध्यात्मिक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ; चिन्ता, तनाव, फिक्री कम गर्छ; रक्‍तचापलाई नियन्त्रणमा राख्छ; डिप्रेसन कम गर्छ; मद्यपान र यस्तै अन्य कुराको दुर्व्यसनबाट जोगाउँछ।’

बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ

मानव भ्रूण

मानिसको भ्रूण

विज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ। तर त्यसको पनि सीमितता छ। बायोटेक्नोलोजिको एउटा किताबमा यस्तो लेखिएको छ, “विज्ञानले नैतिक मूल्यमान्यता वा धर्मसम्बन्धी प्रश्‍नको जवाफ दिन सक्दैन भनेर वैज्ञानिक, डाक्टर अनि दार्शनिकहरू मानिलिन्छन्‌।”

  • विज्ञानले ब्रह्‍माण्डलाई नियन्त्रण गर्ने नियमको फर्मुला दिन सक्छ। तर ब्रह्‍माण्ड किन अस्तित्वमा छ अनि किन निश्‍चित नियमअनुसार चल्छ भन्‍ने प्रश्‍नको जवाफचाहिं दिन सक्दैन।

  • विज्ञानले प्रजनन अङ्‌गले कसरी काम गर्छ भनेर बताउन सक्छ। तर यौनसित सम्बन्धित विषयहरूमा सही निर्णय गर्न मदत दिन सक्दैन।

  • विज्ञानले भ्रूणको विकास कसरी हुन्छ भनेर बताउन सक्छ। तर गर्भपतन गर्नु ठीक हो कि होइन भनेर सही निर्णय गर्न मदत दिन सक्दैन।

तर बाइबलले यी र अरू थुप्रै महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिन्छ। अनि “जे ठीक र न्यायसंगत छ” त्यो बुझाउँछ र “असल . . . बाटोमा” हिंड्‌न सिकाउँछ।—हितोपदेश २:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने