नैतिक स्तर दिशा पत्ता लगाउन मदत गर्ने कम्पासजस्तै हो, यसले छोराछोरीलाई सही बाटोमा हिँड्न मदत गर्छ
आमाबुबाका लागि
७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्
यसको अर्थ के हो?
तपाईँ जुन सिद्धान्तहरूअनुसार जीवन बिताउनुहुन्छ, ती नै तपाईँका “स्तरहरू” हुन्। जस्तै: तपाईँ इमानदार हुनुहुन्छ भने छोराछोरीलाई पनि त्यस्तै हुन सिकाउनुहुन्छ नि, होइन र?
नैतिक स्तरबारे सिकाउनुमा सामाजिक मूल्यमान्यताबारे सिकाउनु समावेश छ। नैतिकवान् मानिस मेहनती, निष्पक्ष र विचारशील हुन्छ। छोराछोरीलाई सानैदेखि यी गुणहरू विकास गर्न सिकाउनुपर्छ।
बाइबलको सिद्धान्त: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.
यस विषयमा किन चासो राख्नुपर्छ?
यस प्रविधिको युगमा नैतिकवान् हुनु महत्त्वपूर्ण छ। कारेन नामकी एउटी आमा भन्छिन्: “मोबाइल र ट्याब्लेटले छोराछोरीलाई बिगार्न सक्छ। तिनीहरू हाम्रै छेउमा बसेर मोबाइल वा ट्याब्लेटमा अश्लील कुरा हेरिरहेको हामीलाई पत्तै नहुन सक्छ!”
बाइबलको सिद्धान्त: ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।’—हिब्रू ५:१४.
सामाजिक मूल्यमान्यताबारे सिकाउनु पनि महत्त्वपूर्ण छ। छोराछोरीलाई अरूको आदर गर्न र साँचो चासो देखाउन सिकाउनुपर्छ। जस्तै: “कृपया” वा “धन्यवाद” भन्न, अभिवादन गर्न, आदि। आजकल यस्तो असल चालचलन भएका मानिसहरू कमै भेटिन्छन्। किनभने तिनीहरू मानिसमा भन्दा इलेक्ट्रोनिक साधनमा बढी चासो राख्छन्।
बाइबलको सिद्धान्त: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—लूका ६:३१.
तपाईँ के गर्न सक्नुहुन्छ?
आफ्नो नैतिक स्तरबारे बताउनुहोस्। अनुसन्धानले देखाएअनुसार किशोरकिशोरीलाई विवाहअघि यौनसम्बन्ध राख्नु गलत हो भनी स्पष्टसित बताउनुपर्छ। यसो गर्दा तिनीहरू अनैतिक सम्बन्ध राख्नदेखि अलग रहन सक्छन्।
सुझाव: हालसालैको घटनाबारे बताउँदै छोराछोरीलाई नैतिकताबारे सिकाउनुहोस्। जस्तै: कसैको हत्या भएको सुन्नुभयो भने यसो भन्न सक्नुहुन्छ: “मानिसहरू रिसको झोकमा अरूलाई मार्छन्। कस्तो नराम्रो! तिम्रो विचारमा के कारणले गर्दा मान्छे यस्तो काम गर्न पुग्छ?”
“छोराछोरीलाई सही र गलतबारे ज्ञानै छैन भने तिनीहरूले कसरी सही र गलत छुट्ट्याउन सक्छन् र!”—ब्रान्डोन
सामाजिक मूल्यमान्यताअनुसार चल्न सिकाउनुहोस्। साना केटाकेटीले समेत “कृपया” र “धन्यवाद” भन्न सिक्न सक्छन् र आदर गरेको देखाउन सक्छन्। छोराछोरी हुर्काउने सन्दर्भमा एउटा किताब भन्छ: “केटाकेटीले आफू परिवार, स्कुल वा समाजको भाग हुँ भन्ने महसुस गरे भने अरूलाई मदत गर्न र अरूको हित हुने काम गर्न जुरमुरिन्छन्।”
सुझाव: छोराछोरीलाई घरको काम गर्न अह्राउनुहोस्। यसो गर्दा तिनीहरूले अरूको लागि केही गर्नुपर्छ भनेर सिक्न सक्छन्।
“घरको काममा सहयोग गर्ने छोराछोरी भविष्यमा आफ्नै खुट्टामा उभिन सक्छन्। तिनीहरू जिम्मेवार हुन सिकिसकेका हुन्छन्।”—तारा