अध्याय ३०
सधैंभरि बाँच्नकालागि तपाईंले के गर्नु पर्छ
१. (क) तपाईंको सामुन्ने कुन दुई बाटो खुल्ला छ? (ख) सही बाटो तपाईं कसरी रोज्न सक्नु हुनेछ?
यहोवा परमेश्वरले तपाईंलाई एउटा विलक्षण चीज प्रदान गर्दै हुनुहुन्छ। त्यो हो, उहाँको धार्मिक नया रीतिरिवाजमा, अनन्त जीवन। (२ पत्रुस ३:१३) तर, अहिले परमेश्वरको इच्छा गर्नु भयो भने मात्र त्यति बेला तपाईं बाँच्न सक्नु हुनेछ। यो बर्तमान दुष्ट संसार र त्यसको सहभागी भएर बस्ने सबैनै नष्ट भएर जान लागेका छन्, “तर परमेश्वरको इच्छा बमोजिम गर्ने चाहिं सधैं रहिरहनेछ।” (१ यूहन्ना २:१७) यसकारण तपाईंले दुई मध्य एउटा रोज्नु पर्छ। एउटा मार्गले मृत्यु तर्फ लैजानेछ र अर्कोले अनन्त जीवन तर्फ। (व्यवस्था ३०:१९, २०) तपाईं कुनचाहिं बाटो अपनाउनु हुन्छ?
२. (क) तपाईंमा साँचो विश्वाश छ भने, कुन कुरा बारे तपाईं विश्वश्त हुनुहुनेछ? (ख) एउटा बालकले मायालु पितामाथि भरोसा गरे झैं परमेश्वरमाथि भरोसा राख्दा, उहाँको सेवा गर्नमा तपाईंलाई कसरी मदद मिल्ने छ?
२ तपाईंले जीवन रोज्नु भएकोछ भनेर कसरी जनाउनु हुनेछ? सर्वप्रथम, यहोवा र उहाँका प्रतिज्ञाहरूमा तपाईंले विश्वाश गर्नु पर्दछ। परमेश्वर हुनुहुन्छ “र उहाँको खोजी गर्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्ने कुरामा के तपाईंको दृढ विश्वाश छ? (हिब्रु ११:६) एउटा छोरा अथवा एउटी छोरीले आफ्नो मायालु र करूणामय पितामाथि भरोसा गरेझैं, परमेश्वरमा भरोसा गर्नु आवश्यक छ। (भजन संग्रह १०३:१३, १४; हितोपदेश ३:११, १२) तपाईंको विश्वाश यस प्रकारको भयो भने, उहाँका कुराहरू कहिलेकाहीं सम्पूर्णतया बुझ्न नसक्नु भएता पनि, उहाँको सल्लाह बुद्धिमत्तापूर्ण छ र उहाँको बाटोनै ठीक छ भन्ने कुरामा कहिले शङ्का गर्नु हुनेछैन।
३. (क) विश्वाशको अलावा, अरू के पनि आवश्यक छ? (ख) तपाईंले जीवन रोज्नु भएको छ भनेर जनाउन, के कामहरू गर्नु आवश्यक छ?
३ तर विश्वाशले मात्र पुग्दैन। यहोवा प्रति तपाईंको साँचो भावनाहरू के कस्ता छन् भन्ने कुरा तपाईंले काम द्वारा देखाउनु पर्छ (याकुब २:२०, २६) बितेका समयमा गरेका गलतीहरूका लागि दु:ख प्रकटहुने कामहरू के तपाईंले गर्नु भएको छ? पश्चाताप गर्ने वा आफ्नो जीवनमा यहोवाको इच्छा अनुसारको आवश्यक परिवर्तन ल्याउने कोशिश गर्नु भएको छ? पहिलेका खराब आनी-बानीहरूलाई त्यागेर, आफ्नो स्वभावमा परिवर्तन ल्याउनु भएको छ? परमेश्वरको इच्छानुसारका कार्यहरू गर्न थाल्नु भएको छ? (प्रेरित ३:१९; १७:३०) तपाईंले जीवनको बाटो रोज्नु भएको छ भन्ने कुराको प्रमाण, यस प्रकारको काम बाट देख्न सकिनेछ।
समर्पण र बप्तिस्मा
४. (क) परमेश्वरको इच्छा गर्न तपाईंलाई के कुराले प्रेरित गराउनेछ? (ख) परमेश्वरको सेवा गर्ने तपाईंले निर्णय गरे पछि, के गर्न उचित हुनेछ?
४ परमेश्वरको इच्छा गर्दै, जीवनको बाटो छान्ने प्रेरणा तपाईंले कुन कुराबाट पाउनु पर्ने हो? मूल्याङ्कनबाट। अलिकता सोच्नुहोस्: यहोवाले हरप्रकारको रोग, कष्ट, र अझ मृत्युबाट समेत तपाईंले छुटकारा पाउन सम्भव पारि दिनु भएको छ! आफ्नो पुत्रको अनमोल उपहार द्वारा, उहाँले तपाईंको निम्ति एउटा पार्थिव प्रमोदबनमा अनन्त जीवन पाउने बाटो खोल्नु भएको छ। (१ कोरिन्थी ६:१९, २०; ७:२३; यहून्ना ३:१६) यहोवाको प्रेमको कारण, तपाईंको हृदयमा पनि उहाँ प्रति प्रेम उत्पन्न हुँदा, तपाईंले के गर्नु पर्छ? (१ युहन्ना ४:९, १०; ५:२, ३) येशूको नाउँ द्वारा परमेश्वरसँग सम्पर्क राख्दै तपाईंले उहाँको सेवक हुने र उहाँकै अधीनमा बस्ने आफ्नो इच्छा प्रार्थनामा उहाँलाई जाहेर गर्नुहोस्। यो एउटा व्यक्तिगत्, र निजी कुरो हो। तपाईंको निम्ति यो कुरो अरू कसैले गरी दिन सक्दैन।
५. (क) परमेश्वरलाई आफ्नो जीवन समर्पण गरी सके पछि, उहाँले तपाईंबाट के आशा गर्नु हुन्छ? (ख) आफ्नो समर्पण अनुसार जीवन बिताउन तपाईंलाई के मदद प्राप्त छ?
५ परमेश्वरलाई आफ्नो जीवन समर्पण गरिसके पछि, सो समर्पण अनुसारनै तपाईंले आफ्नो जीवन बिताउनु हुनेछ भनेर परमेश्वरले आशा गर्नु हुनेछ। त्यस कारण, आफ्नो वचनमा तपाईं पक्का हुनुहुन्छ भनेर देखाउनकालागि, आफूले गरेको निर्णय, अथवा, समर्पणलाई जीवनभरि निभाउनु होस्। (भजनसंग्रह ५०:१४) परमेश्वरको दृश्य सङ्गठनसँग नजिकको सम्बन्ध राख्नु भयोभने, अन्य मसीही मित्रहरूले प्रेमपूर्ण प्रोत्साहन र समर्थन दिएर खुशी-खुशी तपाईंलाई मदद दिनेछन्।—१ थिस्सलोनिकी ५:११.
६. (क) तपाईंले आफ्नो जीवन समर्पण गरी सके पछि, अर्को के कदम चाल्नु पर्ने आवश्यक छ? (ख) बप्तिस्माको अर्थ के हो?
६ तपाईं उहाँको हुन चाहनु हुन्छ भन्ने कुरा यहोवालाई गुप्त ढङ्गले भनेर मात्र पुग्दैन। तपाईंले परमेश्वरको सेवा गर्न आफूलाई समर्पण गर्नु भएको छ भनेर अरूहरूको सामुन्ने पनि देखाउन आवश्यक छ। यो कसरी गर्नु हुन्छ? पानीमा बप्तिस्मा लिएर। यसप्रकार पानीमा बप्तिस्मा लिनुको अर्थ, यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको इच्छा गर्न स्वयंलाई अघि सारेको कुरा सबैको सामने जनाउनु हो।
७. (क) येशूले मसीहीहरूका लागि के उदाहरण छाड्नु भएको छ? (ख) येशूले आज्ञा दिनु भएको बप्तिस्मा बच्चाहरूकालागि किन होइन?
७ पानीमा बप्तिस्मा लिनु एउटा महत्वपूर्ण आवश्यकता हो भन्ने कुरा, येशूको उदाहरणले स्पष्ट पार्दछ। येशुले आफ्नो पितालाई उहाँको इच्छा गर्न आउनु भएको हो भनेर भन्नु मात्र भएन। (हिब्रु १०:७) परमेश्वरको राज्यको प्रचारक भएर आफ्नो सेवा शुरू गर्नु अगाड़ि, येशुले स्वयंलाई यहोवाको सामने प्रस्तुत गर्दै पानीमा बप्तिस्मा लिनु भयो। (मत्ती ३:१३-१७) येशुले उदाहरण कायम गरेर जानु भएको हुनाले, आज यहोवाको इच्छा गर्न आफूलाई समर्पण गर्नेहरूले पनि पानीमा बप्तिस्मा लिनु पर्छ। (१ पत्रुस २:२१; ३:२१) वास्तवमा, सबै जातिका मानिसहरूलाई चेला बनाउनु र ती नया चेलाहरूलाई बप्तिस्मा दिलाउनु भन्ने आदेश, येशुले आफ्ना चेलाहरूलाई दिनुभयो। यो, बालकहरूलाई बप्तिस्मा दिने आदेश होइन। यो, यहोवाको सेवा गर्ने फैसला गरिसकेर विश्वासी भइसकेका व्यक्तिहरूले लिने बप्तिस्माको कुरा हो।—मत्ती २८:१९; प्रेरित ८:१२.
८. तपाईं बप्तिस्मा लिन चाहनु हन्छ भने, यसको सूचना मण्डलीमा कसलाई दिनु पर्छ र किन?
८ तपाईंले पनि यहोवाको सेवा गर्ने फैसलागर्नु भएको छ र बप्तिस्मा लिन चाहनुहुन्छ भने, तपाईंले के गर्नु पर्छ? यहोवाका साक्षीहरूको जुन मण्डलीसँग तपाईं सम्मिलित भइ रहनु भएको छ, सो मण्डलीका अध्यक्षकहाँ गएर आफ्नो इच्छा जाहेर गर्नु होस्। परमेश्वरलाई ग्रहणयोग्य सेवा चढ़ाउनकालागि तपाईंले जान्नुपर्ने विषयवारे उहाँ र अन्य अरू प्राचीनहरू भएर प्रेमपूर्वक तपाईंसँग छलफल गर्ने छन्। त्यस पछि तपाईंलाई बप्तिस्मा दिने प्रबन्ध मिलाइनेछ।
परमेश्वरको इच्छा आज तपाईंको निम्ति
९. जलप्रलय भन्दा अघि नूहले के काम गरे, जो काम तपाईंले पनि गर्नुहोस् भन्ने परमेश्वरको इच्छा छ?
९ जलप्रलय भन्दा अघि, यहोवाले, आउदै गरेको नाशको चेताउनी “धार्मिकताको प्रचारक नूह” द्वारा दिनु भयो र बचावको एकमात्र ठाउँ, एउटा ठूलो जाहाज तर्फ सङ्केत पनि गर्नु भयो। (मत्ती २४:३७-३९; २ पत्रुस २:५; हिब्रू ११:७) त्यस्तै प्रचारको कार्य अहिले तपाईंले पनि गर्नु पर्छ भन्ने परमेश्वरको इच्छा छ। येशुले हाम्रो समय बारे यो भविष्यवाणी गर्नु भयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।” (मत्ती २४:१४) यो रीतिरिवाजको अन्त पार गरेर सँधैभरि बाँच्न चाहने अरूहरूले पनि तपाईंले झैं परमेश्वरको इच्छा सिक्न र जान्न पर्छ। (यूहन्ना १७:३) यो जीवनदायी ज्ञानको जानकारी अरूहरूलाई दिने इच्छाले के तपाईंको हृदय पनि प्रेरित हुँदैन?
१०. (क) मानिसहरूका लागि हामीमा प्रेम छ भने येशूको के उदाहरण अनुसरण गर्नु पर्छ? (ख) प्रचारको काम आज विशेष गरी कसरी हुँदैछ?
१० येशूको उदाहरणको अनुसरण गर्नुहोस्। मानिसहरू उहाँकहाँ आउन् भनेर पर्खनुको सट्टा उहाँ आफै राज्यको समाचार सुन्न चाहनेहरूको खोजीमा जानु हुन्थियो। र उहाँले आफ्ना सबैनै चेलाहरूलाई त्यसै गर्ने आदेश दिनुभयो। (मत्ती २८:१९; प्रेरित ४:१३; रोमी १०:१०-१५) ख्रीष्टको उपदेश र उदाहरण अनुसरण गर्दै प्राचीन मसीहीहरू मानिसहरूको घर-घर जान्थिए। राज्यको समाचार लिएर तिनीहरू “घर-घर” गए (लूका १०:१-६; प्रेरित २०:२०) सच्चा मसीहीहरू आफ्नो सेवकाईको मुख्य भाग आज पनि यसैगरी पूरा गरिरहेका छन्।
११. (क) परमेश्वरको राज्य बारे प्रचार गर्दा साहसको किन खाँचो छ तर हामी किन डराउनु पर्दैन? (ख) हामीले गरेको कामलाई यहोवाले कुन दृष्टिले हेर्नुहुन्छ?
११ यो काम गर्न साहस चाहिन्छ। ख्रीष्टका प्राचीन चेलाहरूलाई प्रचार कार्य गर्न बाट रोकेको जस्तै, शैतान र त्यसको संसारले तपाईंलाई पनि निश्चयनै रोक्न खोज्ने छ। (प्रेरित ४:१७-२१; ५:२७-२९, ४०-४२) तर तपाईं डराउनु पर्दैन। यहोवाले जसरी ती प्राचीन मसीहीहरूको समर्थन र मदद गर्नु भयो, त्यसरीनै आज तपाईंलाई पनि गर्नु हुनेछ। (२ तिमोथी ४:१७) त्यस कारण हिम्मत बाँध्नु होस्! यो जीवनदायी प्रचार र शिक्षा दिने कार्यमा सम्पूर्णरूपले भाग लिएर, यहोवा र आफ्नो छिमेकीलाई तपाईं प्रेम गर्नु हुन्छ भन्ने प्रमाण दिनुहोस्। (१ कोरिन्थी ९:१६; १ तिमोथी ४:१६) यहोवाले तपाईंको कामलाई बिर्सनु हुने छैन, बरू प्रशस्त इनाम दिनुहुनेछ।—हिब्रू ६:१०-१२; तितस १:२.
१२. लूतकी पत्नीको उदाहरणबाट हामी के सिक्न सक्छौं
१२ यो पुरानो रीतिरिवाजले तपाईंलाई कुनैपनि ठोस बहुमूल्य चिज दिन सक्दैन। यसकारण यसलाई तिरस्कार गर्दा तपाईंको केही नोक्सान हुनेछैन। “लूतकी स्वास्नीलाई सम्झ”, येशुले भन्नु भएको छ। (लूका १७:३२) उ र उसको परिवार सदोम बाट भागेर निस्के पछि, मोह गर्दै आफूले पछाड़ि छाड़ेर आएका कुराहरूलाई फर्केर हेरी। उसको हृदय कहाँ थियो भन्ने कुरा परमेश्वरले देख्नु भयो। लूतकी पत्नी नूनको खामा भइ। (उत्पत्ति १९:२६) लूतकी पत्नी जस्तो न हुनुहोस्! सामने आउने कुरा तर्फ हेर्नुहोस्। परमेश्वरको धार्मिक नया रीतिरिवाज जहाँ “साँच्चैको जीवन” हुनेछ, त्यस तर्फ ध्यान लगाउनुहोस्।—१ तिमोथी ६:१९.
पार्थिव प्रमोदबनमा अनन्त जीवन रोज्नु होस्
१३. हामी सबैले गर्नु पर्ने फैसलालाई येशूले कसरी प्रस्तुत गर्नु भयो?
१३ वास्तवमा, दुईवटा विकल्प मात्र छन्। ख्रीष्टले त्यसलाई दुईवटा बाटोसँग तुलना गर्नु भएको छ। उहाँले भन्नुभयो, एउटा बाटो “चौड़ा र फराकिलो” छ। त्यसमा हिड़नेहरूलाई आफूखुसी गर्दै हिड़ने अनुमति छ। तर, अर्को बाटो “साँघुरो” छ। त्यसमा हिड़नेहरूले परमेश्वरको नियम र कानुनहरू पालना गर्नुपर्ने आवश्यकता पर्दछ। येशूका अनुसार, धेरैले फराकिलो बाटो रोजेका छन्। थोरैले मात्र साँघुरो बाटोमा हिड़ेका छन्। तपाईं कुन बाटो रोज्नुहुन्छ? रोज्नु भन्दा अघि यो कुरा ध्यानमा राख्नुहोस्: फराकिलो बाटोको अचानक अन्त हुनेछ, अर्थात त्यसले विनाशमा पुऱ्याउनेछ। तर अर्कोतिर, साँघुरो बाटोले तपाईंलाई परमेश्वरको नया रीतिरिवाज सम्मै पुऱ्याउनेछ। सधैंभरि आनन्दपूर्वक बाँच्न सक्नुहुने पृथ्वीलाई एउटा गौरवमय प्रमोदबन बनाउने काममा, त्यहाँ तपाईं सहभागी हुनसक्नु हुनेछ।—मत्ती ७:१३, १४.
१४. परमेश्वरको नया रीतिरिवाजमा बाँच्नकालागि तपाईं के को एउटा भाग हुनै पर्दछ?
१४ परमेश्वरको नया रीतिरिवाजमा जीवन प्राप्त गर्ने एउटा मात्र होइन, विभिन्नमार्गहरू र तरिकाहरू छन् भनी नठान्नु होस्। बाटो एउटा मात्र छ। जल-प्रलयबाट बाँच्ने जहाज एउटा मात्र थियो, धेरै नाउहरू थिएनन्। त्यसैगरी, चाँड़ै आउन लागेको “महा संकष्ट” पारगर्ने पनि एउटा मात्र सङ्गठन—परमेश्वरको दृश्य सङ्गठन हुनेछ। सबैनै धर्महरूको लक्ष्य एउटै हो भन्ने कुरा कदापि सत्य होइन। (मत्ती ७:२१-२३; २४:२१) अनन्त जीवनको आशिष पाउनका लागि तपाईंले यहोवाको सङ्गठनको सदस्य भएर उहाँको इच्छा पालन गर्नै पर्छ।—भजनसंग्रह १३३:१-३.
१५. (क) हामीले प्रत्यक दिन के गर्नु पर्छ? (ख) कुन आशा, एउटा सपना भन्दा धेरैनै बढिको बिषयहो?
१५ त्यसकारण, परमेश्वरले प्रतिज्ञा गर्नु भएको नया रीतिरिवाजको तस्वीर आफ्नो मन र हृदयमा सदा चहकिलो पारि राख्नुहोस्। पार्थिव प्रमोदबनमा अनन्त जीवनको महान इनाम, तपाईंका लागि यहोवा परमेश्वरले राख्नु भएको कुरा प्रत्यक दिन याद राख्नुहोस्। यो कुनै सपना होइन। यो वास्तविकता हो! किनभने बाइबलको प्रतिज्ञा अवश्य पूरा हुनेछ: “धर्मात्माहरूले पृथ्वी अधिकार गर्नेछन्, र त्यसमा सँधैभरि रहनेछन्; दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्”।—भजनसंग्रह ३७:२९, ३४.
[पृष्ठ -मा भएको चित्र]
आफूलाई यहोवामा समर्पण गर्नु होस् . . . र बप्तिस्मा लिनु होस्
[पृष्ठ -मा भएको चित्र]
“लूतकी पत्नीलाई सम्झिनु होस्”
[पृष्ठ -मा भएको चित्र]
परमेश्वरको नया रीतिरिवाजलाई आफ्नो मन र हृदयमा चहकिलो पारि राख्नु होस्