प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. १० पृ. ८२-८९
  • सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसले भन्यो र तपाईं आकर्षक हुनुहुन्‍न भनेर?
  • तिनीहरूजस्तो “एकै चालका” नहुनुहोस्‌!
  • सकेसम्म चिटिक्क पर्नुहोस्‌!
  • सन्तुलनको खाँचो
  • म कसरी अझ आकर्षक देखिन सक्छु होला?
    ब्यूँझनुहोस्‌!—२००२
  • आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • साथीहरूले दबाब दिंदा के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. १० पृ. ८२-८९

अध्याय १०

सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ?

तपाईं भन्‍नुहोला, मलाई मेरो रूपै मन पर्दैन। हो, हामीमध्ये थोरै मात्र हौंला जसलाई आफ्नो रूपरंग साँच्चै चित्त बुझेको छ। नार्सिसस्‌ पानीमा आफ्नो प्रतिबिम्ब देखेर मोहित भएका थिए भने हामीमध्ये कतिपय चाहिं आफ्नो रूप देखेर दिक्क हुन्छौं।

‘मेरो जीउडाल मलाई चित्तै बुझेको छैन,’ १६ वर्षीया मारिया गुनासो गर्छिन्‌। ‘आफू राम्रो देखिंदैन जस्तो लाग्छ।’ तेह्र वर्षीय बबको पनि त्यस्तै दुखेसो छ: ‘मेरो कपाल के भएको होला, पछाडि कस्तो ठाडठाडो उठ्‌छ।’ यसमाथि, किशोरकिशोरीहरूको जीउडाल असाध्यै चाँडचाँडो हेरफेर हुने भएकोले युवाहरूलाई अक्सर “आफ्नै शरीर पनि नौलो लाग्छ” भनी एक मनोवैज्ञानिकले बताए। आफ्नो अनुहार, कपाल, जीउडालबारे थुप्रैले यस्तै असन्तुष्टिहरू व्यक्‍त गर्छन्‌।

निस्सन्देह, परमेश्‍वरले सुन्दरताको मूल्यांकन गर्नुहुन्छ। उपदेशक ३:११ यसो भन्छ: “[परमेश्‍वरले] सबै काम त्यसको समयानुकूल [सुन्दर] बनाउनुभएको छ।” अनि तपाईंको रूप हेरेर मानिसहरूले तपाईंसित फरक फरक व्यवहार गर्नसक्छन्‌। डा. जेम्स पि. कमर यसो भन्छन्‌: “शारीरिक रूप मानिसको व्यक्‍तित्वको एउटा भाग हो। यसले मानिसको आत्मविश्‍वास र उसले जीवनमा के गर्छ, गर्दैन, त्यसलाई असर गर्नसक्छ।” तपाईंको रूपरंगबारे केही हदसम्म चिन्तित हुनु राम्रै हो। तर, रूपरंगबारे असाध्यै आत्मसंकोची भएर अरूसित घुलमिल नहुनु वा आफू देखेर दिक्क हुनु चाहिं ठीक होइन।

कसले भन्यो र तपाईं आकर्षक हुनुहुन्‍न भनेर?

चाखलाग्दो कुरा, सधैंजसो शारीरिक त्रुटिले गर्दा मात्र आफ्नो जीउडाल चित्त नबुझ्ने होइन। पातली केटी आफू मोटी भए हुन्थ्यो भन्ठान्छिन्‌ भने मोटी केटी चाहिं आफू “मोटी” भएकोमा गुनासो गर्छिन्‌। त्यस्तो असन्तुष्टिको कारण के हो? राम्रै जीउडाल भएका युवाहरू पनि किन आफूलाई आकर्षक ठान्दैनन्‌?

मनोविज्ञानका प्राध्यापक रिचर्ड एम. सार्ल्स यसो भन्छन्‌: “यौवन भनेको एउटा त्यस्तो समय हो जब शरीरमा ठूलठूला परिवर्तनहरू हुन्छन्‌। . . . शरीरमा नयाँ नयाँ कुरा बन्‍ने तथा परिवर्तन भइरहने हुँदा अलमल्ल परेर अधिकांश युवाहरूले आफ्ना साथीहरूको आडभरोसा खोज्छन्‌।” तर साथीहरूले तपाईंलाई नियालेर हेर्दा तपाईं तिनीहरूको नजरमा अग्लो, होचो, मोटो वा पातलो कस्तो हुनुहुन्छ, त्यो नै ठूलो चिन्ताको कारण हुनसक्छ। त्यसमाथि, तपाईंको नाक कान इत्यादिबारे अरूको टीकाटिप्पणी सुन्‍नु त छँदैछ। तपाईंलाई वास्ता गर्न छाडेर अरूको बखान गर्न थाल्दा वा अरूले तपाईंको रूपरंगको खिल्ली उडाउँदा आफू असाध्यै नराम्रो लाग्नसक्छ।

त्यसमाथि टिभी, पुस्तक तथा चलचित्रहरूको सर्वव्यापी प्रभाव त छँदैछ। टिभी र पत्रपत्रिकामा देखाइने आकर्षक पुरुष तथा स्त्रीहरूले अत्तरदेखि लिएर अनेक थरिका मालतालको विज्ञापन गर्छन्‌। तपाईंको छाला चिल्लो छैन र सबै कुरा चट्ट मिलेको पनि छैन वा “हट्टाकट्टा” देखिनुहुन्‍न भने, अरू मानिसहरूको सामु देखा नै नपरे भयो र अझ भनौं भने लोकप्रिय वा सुखी हुने कुरा त परै जाओस्‌ भनी विश्‍वास गराउन सञ्चार माध्यमहरू पछि परेका छैनन्‌।

तिनीहरूजस्तो “एकै चालका” नहुनुहोस्‌!

आफू हाँसको बच्चासरह हिसी नपरेको कुरूप लाग्छ भने तपाईंका शारीरिक त्रुटिहरू वास्तविक वा काल्पनिक हुन्‌, केलाउनुहोस्‌। आफ्नो अनुहारमा चित्त नबुझेको खोट (वा अरूले गिज्याउने कुरा) के साँच्चै त्यस्तो अनाकर्षक छ र? वा अरूले गर्दा पो त्यस्तो सोचाइ राख्न बाध्य हुनुभएको हो कि? बाइबलले यस्तो सल्लाह दिन्छ: “यस संसारसित एकै चालका नहोओ।”—रोमी १२:२.

यसो सोच्नुहोस्‌: लोकप्रिय, सफल वा सुखी हुन खास रूपरंग हुनुपर्छ भन्‍ने दृष्टिकोणलाई बढावा दिनेहरू को हुन्‌? लोकप्रिय भोजन वा महँगो सिंगार सामग्रीहरू किन्‍न लगाएर नाफा कमाउनेहरू, ती निर्माता तथा विज्ञापकहरू नै होइनन्‌ र? तिनीहरूको सोचाइअनुसार किन चल्ने? अनि साथीहरूले तपाईंको रूपको टीकाटिप्पणी गर्छन्‌ भने तिनीहरू तपाईंलाई मदत दिन खोजिरहेका हुन्‌ वा तपाईंलाई गिज्याउन मात्र खोजेका हुन्‌? तपाईंलाई गिज्याउन मात्र खोजेका हुन्‌ भने त्यस्ता “साथीहरू” के काम?

बाइबलले ‘समझ-शक्‍तिमा मन लगाउने’ सल्लाह दिन्छ। (हितोपदेश २:२) समझशक्‍तिले तपाईंलाई आफ्नो शारीरिक रूपरंगप्रति सही दृष्टिकोण राख्न र सञ्चार माध्यमले फैलाउने अफवाहलाई अन्धाधुन्ध पत्याइ नहाल्न मदत गर्नेछ। कमै मानिस ती विख्यात मोडेलहरूजस्तो सुन्दर देखिएलान्‌। अनि “सुन्दरता भनेको पानीको फोकाजस्तै हो।” (हितोपदेश ३१:३०, बाइङटन) सुन्दर रूपको लागि ख्याति कमाउने मानिसहरूको लोकप्रियता क्षणिक हुन्छ किनभने नयाँ अनुहार देखिने बित्तिकै पुरानोलाई बिर्सिहाल्छन्‌। साथै, मेकअप, बत्ती र फोटोग्राफरको कलाकौशलताले पनि कानीलाई रानी बनाउनसक्छ। (ख्यातिप्राप्त व्यक्‍तिहरूलाई मेकअपबिना देख्दा कोही कोही तीन छक पर्छन्‌!)

त्यसकारण टिभी वा पत्रपत्रिकाको मोडेलजस्तो देखिनुभएन भनेर निराश हुनुपर्ने कुनै कारण छैन। आकर्षक देखिन तपाईं कत्तिको अग्लो, होचो वा पातलो हुनुहुन्छ भनेर अन्तिम निर्णय गर्ने तपाईंका साथीहरू पनि होइनन्‌। आफ्नो रूपरंग ठीकै लाग्छ भने साथीहरूको कुरामा त्यति वास्ता नगर्नुहोस्‌। हाँसउठ्‌दो कुरा त के छ भने, जुन कुरा तपाईंलाई पटक्कै मन नपरिरहेको हुन्छ, त्यही कुरामा अरूले आँखा लाइरहेका हुनसक्छन्‌।

सकेसम्म चिटिक्क पर्नुहोस्‌!

कहिलेकाहीं युवाहरूसित आफ्नो रूपबारे चिन्तित हुने जायज कारणहरू हुन्छन्‌। जस्तै: छालामा नानाप्रकारका दागहरू, मोटोपन, बेछाँटको नाक, चुच्चो उठेको कान, होंचो कद इत्यादि। तपाई हुर्किरहनुभएको हुँदा तपाईंको रूपरंग चाँडचाँडो परिवर्तन हुन्छ नै। अनुहारमा खटिरा, तौलमा थपघट, हलक्कै बढ्‌ने (वा असाध्यै ढीला बढ्‌ने) जस्ता कुराहरू किशोरावस्थाका अभिशापहरू हुन्‌। कतिपय समस्याहरू त समयको दौडान आफै समाधान हुन्छन्‌।

कति चाहिं हुँदैनन्‌। अनि थुप्रै युवाहरूले आफ्नो रूपरंग त्यस्तो विशेष नभई सामान्य छ भन्‍ने तथ्यलाई स्वीकार्नुपर्ने हुन्छ। लेखक जोन किलिंगरले यसो भने: “कतिपय मानिसहरूको जीवनको तीतो सत्य, कुरूपता हो र यसबारे आत्मसंकोची हुन धेरै बेर लाग्दैन अनि त्यसले तिनीहरूलाई जिन्दगीभर पिरोल्छ।” तथापि, आफ्नो रूपरंग जस्तो छ, त्यसैमा चित्त बुझाएर सकेसम्म चिटिक्क पर्नुहोस्‌!

शारीरिक त्रुटिहरू मिलाउन शल्यचिकित्सा गर्नु महँगो हुनुका साथै खतरनाक पनि हुन्छ।a तर सफा बस्न धेरै पैसा खर्च गर्नु पर्दैन र त्यसले तपाईंलाई निकै आकर्षक बनाउनसक्छ। चलचित्रका अभिनेताअभिनेत्रीहरूको जस्तो तपाईंको कपालमा चमक नहोला तर सफा राख्न सक्नुहुन्छ। अनि त्यस्तैगरि तपाईंको अनुहार, हात र नङ पनि। सेता सफा चम्किला दाँतहरू र गुलाबी गिजाले तपाईंको मुस्कानलाई मोहक बनाउँछ। के तपाईं असाध्यै मोटो हुनुहुन्छ? ठीक अनुपातमा खाने अनि व्यायाम गरेर (डाक्टरको सल्लाहअनुसार गरे बेस) तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ।

आमाबाबुको स्वीकृति लिएर तपाईंले विभिन्‍न प्रकारको पहिरन तथा कपालको स्टाइल हेरफेर गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईं बढी आकर्षक देखिनुका साथै तपाईंका शारीरिक त्रुटिहरू पनि त्यति प्रष्ट देखिंदैनन्‌। उदाहरणका लागि, लेखक शारोन फाल्टेनको विचारमा ठूलो नाक भएकी केटीले “निधार देखिनेगरि सबै कपाल माथितिर पठाएर” कपाल बनाउनसक्छिन्‌। चुच्चो नाक, उठेको गाला वा ठूलठूला आँखा भएकाहरूले “कपाल घुमार्न” सक्छन्‌। ठिक्कको सिंगारपटारले अनुहारमा छाँटकाँट नमिलेका भागहरूलाई ढाकछोप गर्न सकिन्छ। केटा होस्‌ या केटी, लुगा लगाउने ढंगले पनि निकै फरक पार्नसक्छ। आफ्नो छालामा चमक थप्ने रंगको लुगा र आफूलाई सुहाउने स्टाइलहरू रोज्नुहोस्‌। लुगामा ठाडो, तेर्सो कस्तो धर्का छ, त्यसलाई पनि ध्यान दिनुपर्छ। ठाडो धर्काहरूले गर्दा पातलो देखिन्छ भने तेर्सो धर्का भएका लुगाहरू लगाउँदा मोटो देखिन्छ!

हो, तपाईंको जन्मजात रूपरंग राम्रो छैन भने पनि प्रयास गर्नुका साथै कल्पनाशक्‍ति प्रयोग गरेको खण्डमा तपाईं राम्रै देखिन सक्नुहुन्छ।

सन्तुलनको खाँचो

आफ्नो रूपरंगमा ध्यान दिनु महत्त्वपूर्ण भए तापनि त्यसैलाई जीवनमा अत्यन्त महत्त्वपूर्ण कुरा भने नबनाउनुहोस्‌। बाइबलले मानिसहरूको रूपरंगबारे कति थोरै वर्णन गर्छ, के तपाईंले याद गर्नुभएको छ? अब्राहाम, मरियम र अझ भनौं भने येशूसमेत कस्तो देखिनुहुन्थ्यो भनेर हामीलाई किन बताइएको छैन? कुरा स्पष्ट छ, परमेश्‍वरले रूपरंगलाई त्यत्तिको महत्त्वपूर्ण ठान्‍नुभएन।

चाखलाग्दो कुरा, परमेश्‍वरले अत्यन्तै आकर्षक जीउडाल भएको जवान पुरुष, एलीआबलाई राजा नियुक्‍त गर्न इन्कार गर्नुभयो। यहोवा परमेश्‍वरले अगमवक्‍ता शमूएललाई यसरी बताउनुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। . . . परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:६, ७) हामीलाई साँच्चै महत्त्वपूर्ण ठान्‍नुहुने व्यक्‍ति अर्थात्‌ परमेश्‍वरले हाम्रो रूपलाई अत्यन्त महत्त्वपूर्ण ठान्‍नुहुन्‍न भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! “परमप्रभुले हृदय हेरीकन विचार” गर्नुहुन्छ।

ध्यान दिनुपर्ने अर्को कुरा पनि छ: के तपाईंका साथीहरूको रूपरंग पनि विश्‍व विख्यात मोडेलको जस्तो छ र? अनि के तपाईंको आमा वा बुबासित फेशन पत्रिकाको आवरणमा आउन लायकको रूपरंग छ र? शायद छैन होला। निस्सन्देह, असल गुनहरूले गर्दा उहाँहरूको रूपरंगबारे तपाईंले सोच्नुसमेत भएको छैन होला! तपाईंका शारीरिक त्रुटिहरू वास्तविक वा काल्पनिक जेसुकै होऊन्‌, त्योभन्दा कहाँ हो कहाँ महत्त्वपूर्ण गुनहरू तपाईंसित पनि छन्‌।

तर जे होस्‌, तपाईंका साथीहरू रूपरंगलाई महत्त्वपूर्ण ठान्छन्‌ र शायद तपाईं तिनीहरूको जस्तै पहिरन तथा कोरीबाटी गर्नुपर्ने दबाब महसुस गर्नुहुन्छ। त्यस्तो बेला के गर्ने?

[फुटनोट]

a बांगो, बाहिर निस्केको दाँत मिलाउन तार लाउने जस्ता चिकित्सा प्रक्रियाहरू अपनाउनु स्वास्थ्य तथा सौन्दर्यको दृष्टिकोणले पनि लाभदायी हुनसक्छ।

छलफलका लागि प्रश्‍नहरू

◻ युवाहरू आफ्नो रूपरंगबारे किन असाध्यै चिन्तित हुन्छन्‌? तपाईंलाई आफ्नो रूपरंग कस्तो लाग्छ?

◻ सञ्चार माध्यम तथा तपाईंका साथीहरूले रूपरंगलाई कत्तिको महत्त्व दिन्छन्‌? त्यस्तो दबाब आउँदा तपाईंले के गर्नुपर्ने हो?

◻ डन्डीफोर आए के के उपाय गर्न सकिन्छ?

◻ आफू सकेसम्म चिटिक्क हुने तरिका के हो? यस सन्दर्भमा सन्तुलनको किन खाँचो छ?

[पृष्ठ ८२-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘मेरो जीउडाल मलाई चित्तै बुझेको छैन . . . आफू राम्रो देखिंदैन जस्तो लाग्छ’

[पृष्ठ ८८-मा भएको ठूलो अक्षरको क्याप्सन]

पाईंका राम्रा राम्रा गुनहरूले शारीरिक त्रुटिहरूलाई ढाक्छन्‌

[पृष्ठ ८४ र ८५-मा भएको पेटी/चित्र]

‘यी डन्डीफोरहरूलाई के गर्ने होला?’

डन्डीफोर, छालासम्बन्धी विकार हो र बिमिरा, कालोपोतो, रातो फोका वा गिर्खाले छाला नै बिगार्नसक्छ। धेरै युवाहरूलाई छालासम्बन्धी गम्भीर विकारले पिरोल्छ र यो केही महिनाभित्र हराउने सामान्य कुरा होइन। त्यसले सबै उमेरका मानिसहरूलाई असर गर्नसक्छ तर किशोरकिशोरीहरूलाई भने सबैभन्दा बढी सताउँछ। केही विशेषज्ञहरूअनुसार लगभग ८० प्रतिशतको अनुहारमा धेरथोर डन्डीफोर आएकै हुन्छ।

आफूलाई सबैभन्दा मन नपर्ने कुरा के हो भनी २,००० किशोरकिशोरीहरूलाई सोध्दा प्रायः सबैजसोको गुनासो, छालाको विकार नै भएको पाइयो। यो कुनै अचम्मको कुरा होइन। सान्ड्रा नाउँ गरेकी केटी उच्च माध्यमिक विद्यालयमा छँदा आफ्नो अनुहारमा आएका डन्डीफोरहरूलाई सम्झँदै यसो भन्छिन्‌: “मेरो अनुहारभरि डन्डीफोरले गर्दा सियो बिसाउने ठाउँसम्म थिएन। त्यसकारण म मानिसहरू भएको ठाउँमा जान्‍नथिएँ। आफ्नो रूप देखेर मलाई असाध्यै लाज लाग्थ्यो . . . कस्ती नराम्री देखिन्थें, के भनुँ।”—को-एड पत्रिका।

असाध्यै राम्रो देखिन मन लाग्ने समय अर्थात्‌ किशोरावस्थामा नै यत्तिको कुरूप किन भइन्छ? किनभने तपाईं हुर्कंदै हुनुहुन्छ। यौवनले गर्दा छालाका ग्रन्थीहरू पहिलेभन्दा क्रियाशील हुन्छन्‌।

यसो हुनुको कारण? द वर्ल्ड बुक इन्साइक्लोपीडिया-ले सरल ढंगमा यसरी बताउँछ: हरेक ग्रन्थी रौं उम्रने प्वालसित जोडिएको हुन्छ। मतलब, हरेक रौंमुनि एउटा सानो थैलो हुन्छ। साधारणतया छालाको प्वालबाट तेल निस्कन्छ तर कहिलेकाहीं प्वाल बन्द भएर तेल तुरुन्तै बाहिर निस्कन सक्दैन। बन्द भएको प्वालमा दाग बस्छ जसलाई कालोपोतो भनिन्छ किनभने प्वालबाट बाहिर निस्कन नसकेको तेलले अक्सिजन सोस्छ अनि त्यो सुकेपछि कालो हुन्छ। खील जमेपछि खटिरा बन्छ। जमेको खीलमा कीटाणुहरू बन्‍न थालेपछि गिर्खा पर्नथाल्छ। यी गिर्खाहरूले अनुहारमा दागै छोड्‌छन्‌। संक्रमण भएको छैन भने डन्डीफोरको दाग बस्दैन। तर डन्डीफोर निचोऱ्‍यो वा फुटायो भने प्रायजसो दाग बस्छ। त्यसकारण कहिल्यै डन्डीफोर नफुटाउनुहोस्‌, डन्डीफोर निचोर्ने पनि कहिल्यै नगर्नुहोस्‌!

चाखलाग्दो कुरा, तनाउ र भावनात्मक उतारचढाउले छालाका ग्रन्थीहरूलाई सक्रिय बनाउनसक्छ। कसै कसैले कुनै महत्त्वपूर्ण घटना वा जाँचअघि वा जाँच भइरहेको बेलामा ठूलो डन्डीफोर निक्लेको अनुभव गर्छन्‌। यसकारण येशूका यी शब्दहरू व्यवहारिक छन्‌: “भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।”—मत्ती ६:३४.

दुःखको कुरा, त्यसको कुनै चमत्कारपूर्ण उपचार भने छैन। तर डाक्टरको रायबिना औषधी पसलबाट किन्‍न सकिने औषधीहरू छन्‌। जस्तै: मलहम, क्रीम, मुख धुने झोलसाबुन, साबुन, अनुहारमा पोत्ने मिश्रण जसमा बेन्जोल पेरोक्साइड (ब्याक्टेरिया विरुद्ध लड्‌ने तत्त्व) हुन्छ। यस मिश्रणले अनुहारमा आउने डन्डीफोरलाई केही मात्रामा कम गर्न सकिन्छ। (कडा औषधोपचार आवश्‍यक भएमा तपाईंको निजी चिकित्सकको सल्लाह लिन सकिन्छ।) धेरैले बेन्जोल पेरोक्साइड भएको झोल वा साबुनले राम्ररी मुख धुँदा डन्डीफोरहरू अलि कम भएको अनुभव गरेका छन्‌। तर चिल्लो साबुन वा तेलले बनाइएको सिंगारसामग्री भने नचलाउनुहोस्‌।

केही युवाहरूले यथेष्ट व्यायाम गर्ने, स्वच्छ हावामा यथासम्भव हिंडडुल गर्ने र भरपूर आराम गर्ने जस्ता कामहरू गरेर आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्दा पनि अनुहारमा डन्डीफोरहरू आउन कम भएको पाएका छन्‌। चिल्लो खाना नखाँदा हुने फाइदाहरूबारे कसै कसैले अचाक्ली तर्कवितर्क गरे तापनि जथाभावी बजारी भोजन नखाई सन्तुलित आहार खानु बुद्धिमानी नै हुनेछ।

तर कुरा जे सुकै होस्‌, धीरजी भने हुनैपर्छ। नबिर्सनुहोस्‌: कति समय लागेर देखा परेको समस्या रातारात हराउँदैन। माथि उल्लिखित सान्ड्रा यसो भन्छिन्‌: “मेरो छालाका दागहरू सबै हट्‌न एक वर्षजति लाग्यो होला तर छ हप्ताभित्र नै मेरो छाला राम्रो हुँदै गइरहेको थियो।” झर्को नमानी औषधोपचार गरिरह्‍यो भने केही समयपश्‍चात्‌ अलिकता भए पनि कम हुन्छ होला।

तर त्यतिञ्जेल त्यस्ता सानातिना दागहरू हुँदैमा आफ्नो आत्मसम्मान नगुमाउनुहोस्‌ वा अरूसित कुराकानी नगरी गुमसुम नबस्नुहोस्‌। आफ्नो छालाको रूपले गर्दा अप्ठ्यारो त लाग्ला तर अरूले चाहिं तपाईंले सोचेजति याद नगरेका हुनसक्छन्‌। त्यसकारण सकारात्मक मनोवृत्ति राखेर हँसिलो हुन खोज्नुहोस्‌। अनि अहिले डन्डीफोर कम गर्न जेजति गर्न सक्नुहुन्छ, आल्याङटाल्याङ नगरी गरिहाल्नुहोस्‌!

[पृष्ठ ८३-मा भएको चित्र]

जुन कुरा तपाईंलाई पटक्कै मन नपरिरहेको हुन्छ त्यही कुरामा अरूले आँखा लाइ- रहेको हुनसक्छ

[पृष्ठ ८६-मा भएका चित्रहरू]

पत्रिकाहरूमा देखा- इने मोडेलहरूलाई सिंगार्न सिंगार टोली नै हुन्छ भनेर युवा- हरूले प्रायः याद गरेका हुँदैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने