के तपाईं लजालु हुनुहुन्छ?
१ आफ्नो आमा वा बुबापछाडि लुकेर चियाउने कुनै बच्चा देख्दा हामी छक्क पर्दैनौं। बाल्यकालमा लाज मान्नु स्वाभाविकै हो। वयस्क भइसकेपछि पनि धेरैजसो स्वाभावैले लजालु हुन्छन्। लाज लाग्ने भएकोले तपाईंलाई यसले सेवकाईमा पनि असर गर्छ भने तपाईं के गर्न सक्नुहुन्छ?
२ लाजको सामना गर्ने: “हृदयको त्यो गुप्त मानिस”-लाई ध्यान दिनु महत्त्वपूर्ण छ। (१ पत्रु. ३:४) यहोवा र तपाईंका छिमेकीहरूप्रति प्रेम बलियो बनाउनुहोस्। आत्मत्यागी प्रेम देखाउने एउटा अत्युत्तम तरिका प्रचार गर्ने आज्ञा पालन गर्नु हो भनी निश्चिन्त हुनुहोस्। व्यक्तिगत अध्ययन तथा सभामा उपस्थित हुने राम्रो तालिका बनाउनुहोस्। नियमित तवरमा प्रार्थना गर्नुहोस् र विशेष गरी यहोवाको मदत माग्नुहोस्। उहाँप्रतिको बलियो विश्वास तथा भरोसाले निश्चितता बढाउनेछ यसले ‘निष्फिक्रीसँग परमेश्वरको वचन बोल्नालाई झन् सुऱ्याउँछ।’—फिलि. १:१४.
३ असमर्थ छु भन्ने भावनासित लड्नुहोस्। तिमोथीले पनि यस्तै गर्नु परेको थियो जस्तो देखिन्छ। पावलले तिमोथीलाई “परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति . . . को आत्मा दिनुभएको छ” भनी सम्झाउँदै “कोही मानिसले तिम्रो जवानीलाई हेला गर्न नपाओस्” भनेर प्रोत्साहन दिए। (१ तिमो. ४:१२; २ तिमो. १:७) यहोवाले तिमोथीलाई पूर्णतया प्रयोग गर्नुभयो र उहाँमा पूर्ण भरोसा बढाउनुभयो भने तपाईंलाई पनि उहाँले प्रयोग गर्नुहुनेछ।—भज. ५६:११.
४ कातर स्वभावले गर्दा आफ्नो विरोध गर्ने पतिदेखि डराउने बहिनीले बाइबलको मत्ती १०:३७ पदमा ध्यान दिंदा मदत पाइन्। यसको बावजूद सेवकाईमा लागिरहँदा तिनलाई सेवकाई सजिलो लाग्नथाल्यो र अन्ततः तिनका पति, आमा र दाजुभाइहरूले पनि सच्चाइ स्वीकारे!
५ तयारी अनिवार्य छ: तपाईंले सेवकाईको लागि राम्ररी तयारी गर्नुभयो भने झन् झनै निर्धक्क हुँदै जानुहुनेछ। रीजनिङ पुस्तक वा हाम्रो राज्य सेवकाई-का पुराना अंकहरूबाट सरल प्रस्तुति छान्नुहोस् र अध्ययन गरिसकेपछि बारम्बार तयारी गर्नुहोस्। अनावश्यक चिन्ता बढाउनुको सट्टा सकारात्मक दृष्टिकोण राख्नुहोस्। भाइबहिनीहरूसँगसँगै काम गरेर साहस बटुल्नुहोस्। तपाईंले ढोका ढोकामा भेट्नुहुने थुप्रै मानिस पनि तपाईंजस्तै लजालु हुन्छन् भन्ने कुरा मनमा राख्नुहोस्। सबैलाई राज्य सन्देश चाहिन्छ।
६ तपाईं पनि लजालु हुनुहुन्छ भने निराश नहुनुहोस्। तपाईं आफै अग्रसर हुनुभयो भने, यहोवाले तपाईंलाई सुसमाचारको प्रभावकारी प्रचारक हुन मदत गर्नुहुनेछ। त्यसपछि तपाईंले आफ्नो सेवकाईबाट पनि आनन्द उठाउनुहुनेछ।—हितो. १०:२२.