अध्याय ७
येशू र ज्योतिषीहरू
पूर्वबाट धेरै मानिस आउँछन्। तिनीहरू ज्योतिषीहरू हुन्—तारागणको स्थान हेरर भविष्यवाणी गर्न सक्ने दाबी गर्नेहरू। पूर्वमा आफ्नो घरमा छँदा तिनीहरूले एउटा नयाँ तारा देख्छन् र त्यसलाई सयौं किलोमिटरसम्म पछ्याउँदै यरूशलेम आइपुग्छन्।
ज्योतिषीहरू यरूशलेम पुगेपछि तिनीहरू सोध्छन्: “जो यहूदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौं र उहाँको दर्शन गर्न हामी आएका छौं।”
यरूशलेममा हेरोद राजाले यो सुनेपछि तिनलाई छटपटी लाग्छ। अनि तिनले सबै मुख्य पुजारीलाई जम्मा गर्छन् र ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गर्छन्। धर्मशास्त्रको आधारमा तिनीहरूले उत्तर दिन्छन्: “बेतलेहेममा।” तब हेरोदले ज्योतिषीहरूलाई आफूकहाँ बोलाएर भन्छन्: “जाओ, त्यस सानो बालकलाई राम्ररी खोज अनि तिमीहरूले भेट्टाएपछि फर्केर मलाई खबर गर ताकि म पनि गएर उहाँको दर्शन गर्न सकूँ।” तर वास्तवमा हेरोदले बालकलाई मार्न खोजिरहेको छ!
तिनीहरू बिदा भएपछि एउटा आश्चर्यजनक कुरा हुन्छ। जुन तारा तिनीहरूले पूर्वमा देखेका थिए, त्यो तारा तिनीहरूको अघि-अघि लाग्छ। स्पष्टतया, त्यो कुनै साधारण तारा होइन तर तिनीहरूलाई डोऱ्याउनकै लागि त्यो देखा परेको हो। त्यो तारा यूसुफ र मरियम बसेका घरमाथि पुगेर नअडिन्जेल ज्योतिषीहरू त्यसका पछि-पछि लाग्छन्।
ज्योतिषीहरू घरभित्र पस्छन् र मरियमलाई तिनको सानो बालक येशूका साथ भेट्टाउँछन्। अनि तिनीहरू घोप्टो परेर उहाँलाई दण्डवत् गर्छन्। र आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, धूप, मर्रका भेटी चढाउँछन्। त्यसपछि तिनीहरू फर्केर हेरोदलाई बालक कहाँ छन् भनेर खबर गर्न लाग्दा सपनामा परमेश्वरले तिनीहरूलाई त्यसो नगर्न चेतावनी दिनुहुन्छ। त्यसकारण तिनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्किन्छन्।
तपाईंको विचारमा ज्योतिषीहरूलाई डोऱ्याउन आकाशमा त्यो तारा कसले पठाएको होला? याद गर्नुहोस्, त्यो ताराले तिनीहरूलाई सोझै बेतलेहेममा येशू भएको ठाउँमा लगेन। बरु त्यसले तिनीहरूलाई यरूशलेम लग्यो, जहाँ येशूलाई मार्न चाहने राजा हेरोदसँग तिनीहरूको सम्पर्क गरायो। येशू कहाँ हुनुहुन्छ भनेर हेरोदलाई नभन्नू भनी परमेश्वर स्वयम् अघि सरेर ज्योतिषीहरूलाई चेतावनी नदिनुभएको भए हेरोदले येशूलाई मार्ने थियो। परमेश्वरको शत्रु, सैतान अर्थात् दियाबलले येशूलाई मार्न चाहेको थियो र सो उद्देश्य प्राप्त गर्न त्यसले नै तारालाई प्रयोग गरेको थियो। मत्ती २:१-१२; मीका ५:२.
▪ ज्योतिषीहरूले देखेको तारा कुनै साधारण तारा थिएन भनी केले प्रदर्शित गर्छ?
▪ ज्योतिषीहरूले येशूलाई कहाँ भेट्टाए?
▪ ज्योतिषीहरूलाई डोऱ्याउने ताराको प्रबन्ध सैतानले नै मिलाएको थियो भनी हामी कसरी थाह पाउँछौं?