अध्याय ९
येशूको प्रारम्भिक पारिवारिक जीवन
येशू नासरतमा हुर्कनुहुँदा यो सहर सानो र महत्त्वहीन छ। गालील भनिने पहाडी क्षेत्रमा अवस्थित यो सहर, सुन्दर यिज्रेल बेंसीदेखि धेरै टाढा छैन।
येशू करिब दुई वर्षको हुँदा यूसुफ र मरियमले मिश्रबाट उहाँलाई यहाँ ल्याउँछन् र प्रत्यक्षतः उहाँ मरियमको एक मात्र बालक हुनुहुन्छ। तर धेरै समयका लागि होइन। समयमा याकूब, यूसुफ, सिमोन र यहूदा जन्मिन्छन् अनि मरियम र यूसुफका छोरीहरू पनि हुन्छन्। पछि येशूका कमसेकम छ जना कान्छा भाइबहिनीहरू हुन्छन्।
येशूका अरू नातेदारहरू पनि छन्। धेरै किलोमिटर टाढा यहूदियामा बस्ने उहाँकी सानी आमाका छोरा यूहन्नाबारे हामीले थाह पाइसकेका छौं। तर गालीलमा नजिकै बस्ने सलोमी छिन्, जो मरियमकी बहिनी हुनुपर्छ। सलोमीको विवाह जब्दीसित भएको छ। अतः तिनीहरूका दुई छोराहरू याकूब र यूहन्ना, येशूका दाजुभाइ पर्ने भए। हुर्किने बेलामा ती केटाहरूसँग येशूले धेरै समय बिताउनुभयो कि भएन त्यो हामीलाई थाह छैन, तर पछि तिनीहरू घनिष्ठ साथीहरू हुन्छन्।
आफ्नो ठूलो परिवारको पालनपोषण गर्न यूसुफले धेरै मेहनत गर्नुपर्छ। तिनी सिकर्मी हुन्। यूसुफले येशूलाई आफ्नै छोराजस्तै गरी हुर्काउँछन्। त्यसैकारण येशू “सिकर्मीका छोरा” कहलाइनुहुन्छ। यूसुफले येशूलाई पनि सिकर्मीको काम सिकाउँछन् र उहाँले राम्ररी सिक्नुहुन्छ। त्यसैकारण त पछि मानिसहरूले येशूलाई “के यो त्यही सिकर्मी होइन र?” भन्छन्।
यूसुफको पारिवारिक जीवन यहोवा परमेश्वरको उपासनामा केन्द्रित छ। परमेश्वरको नियमअनुसार यूसुफ र मरियमले आफ्ना छोराछोरीहरूलाई ‘घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्केर बस्दा र उठ्दा’ परमेश्वरको शिक्षा दिन्छन्। नासरतमा एउटा सभाघर छ र पक्कै पनि यूसुफले आफ्नो परिवारलाई उपासनाका निम्ति त्यहाँ नियमित रूपमा लाने गर्छन्। निस्सन्देह, यरूशलेममा यहोवाको मन्दिरसम्म नियमित यात्रा गरेर तिनीहरूले अपार आनन्द उठाउँछन्। मत्ती १३:५५, ५६; २७:५६; मर्कूस १५:४०; ६:३; व्यवस्था ६:६-९.
▪ येशूका कमसेकम कति जना कान्छा भाइबहिनीहरू छन् र तिनीहरूमध्ये केहीका नाम के हुन्?
▪ येशूका कुन तीन जना दाजुभाइको (सानी आमाका छोराहरू) नाम हामीलाई थाह छ?
▪ पछि गएर येशूले कुन व्यवसाय अपनाउनुहुन्छ र किन?
▪ यूसुफले आफ्नो परिवारलाई कस्तो महत्त्वपूर्ण शिक्षा दिन्छन्?