अध्याय १८
यूहन्ना घट्छन्, येशू बढ्नुहुन्छ
इस्वी संवत् ३० को वसन्त ऋतुमा निस्तार-चाडपछि येशू र उहाँका चेलाहरू यरूशलेम छाड्नुहुन्छ। तथापि गालीलमा आफ्नो घरतर्फ नफर्केर यहूदियाको प्रदेशमा जानुहुन्छ र त्यहाँ उहाँहरूले अरूलाई बप्तिस्मा गराउनुहुन्छ। बप्तिस्मा गराउने यूहन्नाले पनि एक वर्षदेखि सोही काम गरिरहेका छन् र तिनका साथमा अझै पनि तिनका आफ्ना चेलाहरू छन्।
यथार्थमा येशू आफैले बप्तिस्मा गराउनु हुन्न तर उहाँको निर्देशनमा उहाँका चेलाहरूले गराउँछन्। तिनीहरूले गराएको बप्तिस्माको महत्त्व पनि यूहन्नाले गराएको बप्तिस्मासरह नै छ। अर्थात् परमेश्वरको करारको व्यवस्थाको विरुद्धमा एक जना यहूदीले गरेका पापहरूको प्रायश्चितको त्यो एउटा प्रतीक हो। तथापि आफू पुनर्जीवित भएपछि येशूले आफ्ना चेलाहरूलाई अह्राउनुभएको बप्तिस्माको महत्त्व बेग्लै छ। आज ख्रीष्टियन बप्तिस्मा यहोवा परमेश्वरको सेवा गर्नका लागि गरिएको आत्म-समर्पणको एउटा प्रतीक हो।
तथापि येशूले गर्नुभएको सेवाको सुरुको समयमा उहाँ र यूहन्नाले बेग्लाबेग्लै काम गरे तापनि दुवैले पश्चात्ताप गर्नेहरूलाई सिकाउँदै र बप्तिस्मा गराउँदै छन्। तर यूहन्नाका चेलाहरूलाई डाह लाग्छ र येशूका विषयमा उनीसँग शिकायत गर्दै भन्छन्: “रब्बी, . . . हेर्नुहोस्, उहाँले त बप्तिस्मा गराउँदै हुनुहुन्छ अनि सबै जना उहाँकहाँ जाँदैछन्।”
डाह गर्नुको सट्टा येशूको सफलतामा यूहन्ना रमाउँछन् र उनका चेलाहरू पनि रमाऊन् भनी उनी चाहन्छन्। उनले तिनीहरूलाई याद गराउँछन्: “म ख्रीष्ट होइन तर उहाँको अघि-अघि पठाइएको हुँ भनी मैले भनेको थिएँ भन्ने कुराको तिमीहरू आफै साक्षी छौ।” त्यसपछि उनी एउटा सुन्दर उपमा प्रयोग गर्छन्: “जोसित दुलही छ, उही दुलहा हो। अनि दुलहाको नजिकै उभिएर उसको स्वर सुन्ने दुलहाको साथीको खुसीको सीमा रहँदैन। त्यसैले म पनि आनन्दले ओतप्रोत भएको छु।”
दुलहाको मित्रको हैसियतमा छ महिनाअघि येशूसँग आफ्ना चेलाहरूको परिचय गराउँदा नै यूहन्ना रमाएका थिए। ती चेलाहरूमध्येका केहीचाहिं पवित्र शक्तिद्वारा अभिषिक्त ख्रीष्टियनहरूले बनेको ख्रीष्टका स्वर्गीय दुलही वर्गका सदस्य भए। यूहन्ना चाहन्छन् कि उनीसित अहिले भएका चेलाहरूले पनि येशूको अनुसरण गरून् किनभने उनको उद्देश्य येशूको सफल सेवाको निम्ति बाटो तयार पार्नु हो। त्यसैले बप्तिस्मा गराउने यूहन्ना व्याख्या गर्छन्: “उहाँ बढ्दै जानुपर्छ तर म भने घट्दै जानुपर्छ।”
येशूका नयाँ चेला यूहन्ना, जो पहिले बप्तिस्मा गराउने यूहन्नाका पनि चेला थिए, येशूको उत्पत्ति र मानव उद्धारका लागि उहाँको महत्त्वपूर्ण भूमिकाबारे यसप्रकार लेख्छन्: “जो स्वर्गबाट आउँछ, ऊ अरू सबैको माथि हुन्छ। . . . बुबाले छोरालाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँको हातमा सुम्पनुभएको छ। जसले छोरामाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन तर ऊमाथि परमेश्वरको क्रोध आइपर्नेछ।”
बप्तिस्मा गराउने यूहन्नाले आफ्नो घट्दो गतिविधिबारे छलफल गरेको केही समयपछि नै राजा हेरोदले तिनलाई गिरफ्तार गर्छन्। हेरोद राजाले आफ्ना दाइ फिलिपकी पत्नी हेरोदियासलाई आफ्नी पत्नी बनाएर राखेका छन् र यूहन्नाले त्यो कुरा गलत हो भनी जनसमक्ष उदाङ्ग पारिदिएकाले हेरोदले तिनलाई झ्यालखानामा हालिदिन्छन्। यूहन्ना पक्राउ परेको कुरा सुनेपछि येशू आफ्ना चेलाहरूसहित यहूदिया छाडेर गालीलमा जानुहुन्छ। यूहन्ना ३:२२–४:३; प्रेषित १९:४; मत्ती २८:१९; २ कोरिन्थी ११:२; मर्कूस १:१४; ६:१७-२०.
▪ येशू पुनर्जीवित हुनुभन्दा अघि उहाँका निर्देशनअनुसार भएका बप्तिस्माहरूको महत्त्व के हो? र उहाँ पुनर्जीवित भएपछिको बप्तिस्माको महत्त्व के हो?
▪ आफ्ना चेलाहरूले गरेको गुनासो नचाहिंदो हो भनेर यूहन्नाले चेलाहरूलाई कसरी बताउँछन्?
▪ यूहन्ना झ्यालखानामा किन हालिन्छन्?