अध्याय ८५
हराएकोलाई खोज्ने
नम्रतापूर्वक परमेश्वरको सेवा गर्न चाहनेहरूलाई खोजेर पत्ता लगाउन येशू इच्छुक हुनुहुन्छ। अतः उहाँ खोज्दै हिंड्नुहुन्छ र कुख्यात पापीहरूलगायत सबैसित राज्यबारे कुरा गर्नुहुन्छ। यसप्रकारका मानिसहरू उहाँको वचन सुन्नलाई अब उहाँको नजिक जान्छन्।
यो देखेर फरिसी र शास्त्रीहरू आफूहरूले बेकम्मा ठानेका मानिसहरूसँग येशूले सङ्गत गरेकोमा उहाँको आलोचना गर्छन्। तिनीहरू गनगन गर्दै भन्छन्: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” यो तिनीहरूको प्रतिष्ठासँग कस्तो नसुहाउँदो कुरा हो! फरिसी र शास्त्रीहरूले साधारण मानिसहरूलाई आफ्नो पैतालाको धूलो बराबर ठान्छन्। यथार्थमा ती साधारण मानिसहरूप्रति आफ्नो घृणा व्यक्त गर्दै तिनीहरूलाई एमहारेट्स अर्थात् “धर्तीका मानिसहरू” भनेर सम्बोधन गर्छन्।
त्यसको विपरीत येशू प्रत्येकसँग आदर, दया र ममताका साथ व्यवहार गर्नुहुन्छ। यसले गर्दा यी नम्र खालका धेरै मानिसहरू, जसमध्ये गलत काम गर्ने कुख्यात व्यक्तिहरू पनि सम्मिलित छन्, उहाँको वचन सुन्न इच्छुक हुन्छन्। तर फरिसीहरूले बेकम्मा ठानेकाहरूलाई मदत दिन येशूले गर्नुभएका प्रयासहरूको आलोचना गर्ने फरिसीहरूको विषयमा के भन्ने?
तिनीहरूले उठाएको विरोधको जवाफ येशू एउटा दृष्टान्तद्वारा दिनुहुन्छ। उहाँ ती फरिसीहरूकै दृष्टिकोणबाट कुरा गर्नुहुन्छ। यस दृष्टिकोणअनुसार तिनीहरूचाहिं धर्मी र परमेश्वरको बगालमा सुरक्षित छन् तर ती घिनलाग्दा एमहारेट्स-चाहिं बाटो बिराएर हराएका छन्। उहाँले गर्नुहुने प्रश्न अब सुन्नुहोस्:
“तिमीहरूमध्ये कुनचाहिं मानिस यस्तो होला, जसको सय वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने उनान्सयलाई उजाडस्थानमै छोडेर हराएको त्यो भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन? अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’ ”
यसपछि आफूले भनेको कथाको अर्थ खोल्दै येशू भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, यसरी नै एक जना पापीले पश्चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ, त्यति रमाहट परमेश्वरको स्तरबमोजिम असल काम गर्ने उनान्सय जना मानिसका लागि हुँदैन, जसलाई पश्चात्तापको कुनै खाँचो छैन।”
फरिसीहरू आफूलाई धर्मी ठान्छन् र पश्चात्ताप गर्नुपर्ने केही खाँचो देख्दैनन्। केही वर्षअघि कर उठाउनेहरू र पापीहरूसित बसेर येशूले खानुभएकोमा तिनीहरूले उहाँको आलोचना गर्दा उहाँले तिनीहरूलाई भन्नुभएको थियो: “म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” पश्चात्ताप गर्नुपर्ने आवश्यकता देख्न नसक्ने ती आत्मधर्मी फरिसीहरूको कारण स्वर्गमा केही आनन्द हुँदैन। तर साँचो पश्चात्ताप गर्ने ती पापीहरूको कारणचाहिं हुन्छ।
हराएका पापीहरू फर्केर आउनु ठूलो आनन्दको कुरा हो भनेर अझ जोड दिन येशू अर्को दृष्टान्त बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “अथवा कुनचाहिं स्त्री यस्तो होला, जसले आफूसित भएको दस वटा सिक्कामध्ये एउटा हराउँदा त्यो नभेट्टाउन्जेल दियो बालेर आफ्नो घर बढार्दै धुइँधुइँती खोज्दिन? अनि भेट्टाएपछि आफ्ना दौंतरी र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छे: ‘तिमीहरू पनि मसँगसँगै रमाओ किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’ ”
यसपछि येशूले अघिकै दृष्टान्तको अर्थ यस दृष्टान्तमा पनि प्रयोग गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्चात्ताप गर्दा परमेश्वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।”
हराएका पापीहरूलाई फर्काउन परमेश्वरका स्वर्गदूतहरूको मायालु चासो वास्तवमा कस्तो अद्भुत कुरा हो! यो वास्तवमा एउटा अद्भुत कुरा हो किनभने कुनै समय घृणाका पात्र भएका यी नम्र एमहारेट्स-ले अन्तमा परमेश्वरको स्वर्गीय राज्यमा सदस्य हुने मौका पाउँछन्। फलस्वरूप तिनीहरूले स्वर्गमा ती दूतहरूभन्दा पनि उच्च स्थान प्राप्त गर्छन्! तर यी स्वर्गदूतहरूले डाह गर्नु वा आफ्नो उपेक्षा गरियो भन्ठान्नुको सट्टा नम्र भई पापी मानिसहरूको कदर गर्छन्। यी पापी मानिसहरू विजयी भएका हुनाले अब स्वर्गमा सहानुभूतिशील र दयालु राजा अनि पुजारी हुनेछन्। लूका १५:१-१०; मत्ती ९:१३; १कोरिन्थी ६:२, ३; प्रकाश २०:६.
▪ येशू किन कुख्यात पापीहरूको सङ्गत गर्नुहुन्छ र यसले गर्दा फरिसीहरू कस्तो आलोचना गर्छन्?
▪ साधारण मानिसहरूप्रति फरिसीहरू कस्तो दृष्टिकोण राख्छन्?
▪ येशू कस्ता दृष्टान्तहरू प्रयोग गर्नुहुन्छ र त्यसबाट हामी के सिक्न सक्छौं?
▪ स्वर्गदूतहरूको रमाहट किन उल्लेखनीय छ?