अध्याय ८९
यहूदियाको यात्रामा ठाउँ-ठाउँमा दया देखाउँदै
केही हप्ताअघि मात्र यरूशलेममा झुप्रोबासको चाडको समयमा यहूदीहरूले येशूलाई मार्न खोजेका थिए। यसकारण उहाँ उत्तरतर्फ गालील समुद्रको नजिक पर्ने इलाकामा यात्रा गर्दै जानुभएको थियो।
हालै उहाँ फेरि दक्षिणतर्फ यरूशलेम जान लाग्नुभएको छ र बाटोमा यर्दन नदीको पूर्वपट्टि पर्ने पेरिया जिल्लाका गाउँहरूमा प्रचार गर्दै हिंड्नुहुन्छ। धनी मानिस र लाजरसबारे दृष्टान्त बताइसकेपछि गालीलमा हुँदा सिकाएका कुराहरू उहाँ फेरि आफ्ना चेलाहरूलाई सिकाइरहनुहुन्छ।
उदाहरणका लागि, उहाँ भन्नुहुन्छ कि परमेश्वरका “सानाहरूमध्ये” एउटालाई बाधा दिनुभन्दा त “त्यस्ताको घाँटीमा जाँतो झुन्ड्याएर समुद्रमा फालिदिनु” बेस हुनेछ। क्षमा गर्नुपर्ने आवश्यकतामाथि जोड दिंदै उहाँ भन्नुहुन्छ: “यदि [भाइले] तिम्रो विरुद्धमा दिनको सात चोटि पाप गऱ्यो र सातै चोटि आएर ‘मलाई पछुतो लाग्यो’ भन्छ भने तिमीले उसलाई क्षमा दिनै पर्छ।”
“हाम्रो विश्वास बढाइदिनुहोस्” भनेर चेलाहरूले अनुरोध गर्दा येशू यो जवाफ दिनुहुन्छ: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्नेछ।” त्यसकारण थोरै विश्वासले पनि ठूलो काम गर्न सक्छ।
यसपछि सर्वशक्तिमान् परमेश्वरका सेवकमा हुनुपर्ने उचित मनोवृत्तिलाई प्रदर्शित गर्न येशूले एउटा वास्तविक उदाहरण बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूमध्ये कोचाहिं यस्तो होला, जसले आफ्नो दास हलो जोतेर वा भेडाबाख्रा चराएर खेतबाट फर्केपछि उसलाई यसो भन्छ: ‘तुरुन्तै यहाँ आएर खान बस’? बरु के उसले यसो भन्दैन र: ‘मेरो लागि बेलुकीको खाना तयार पार अनि मैले खानपिन नगरुन्जेल पटुका कसेर मेरो सेवा गर। त्यसपछि मात्र तिमीले खानपिन गर्नू’? दासले आफूलाई अह्राइएको काम पूरा गर्दा के मालिकले दासप्रति कृतज्ञ महसुस गर्छ र? त्यसैगरि तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्नू: ‘हामी निकम्मा दासहरू हौं। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौं।’ ” यसकारण परमेश्वरको सेवा गरेर हामीले उहाँप्रति दया देखाइरहेका छौं भनेर परमेश्वरका सेवकहरूले कहिल्यै पनि ठान्नु हुँदैन। बरु उहाँका घरानाका विश्वासी सदस्यहरू भएर उहाँको उपासना गर्न पाएको सुअवसरलाई सधैं सम्झिराख्नुपर्छ।
येशूले यो उदाहरण दिनुभएको केही बेरपछि नै एउटा सन्देशवाहक आइपुग्छ। उसलाई यहूदियाको बेथानी भन्ने ठाउँमा बस्ने लाजरसकी दिदीहरू मरियम र मार्थाले पठाएका छन्। सन्देशवाहकले भन्छ: “प्रभु, हेर्नुहोस्, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्।”
येशू जवाफ दिनुहुन्छ: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्वरको महिमा गर्नेछ, ताकि यसद्वारा परमेश्वरको छोराको महिमा होस्।” अरू दुई दिनसम्म त्यसै ठाउँमा बसेपछि येशू आफ्ना चेलाहरूलाई भन्नुहुन्छ: “आओ, हामी फेरि यहूदिया जाऔं।” तर चेलाहरूले उहाँलाई याद दिलाउँछन्: “रब्बी, यहूदियाका मानिसहरूले भर्खरै तपाईंलाई ढुङ्गा हान्न खोजेका थिए, तैपनि तपाईं फेरि त्यहीं जाँदै हुनुहुन्छ?”
प्रत्युत्तरमा येशू सोध्नुहुन्छ: “दिनमा बाह्र घण्टा उज्यालो हुन्छ, होइन? यदि कोही दिनको उज्यालोमा हिंड्छ भने ऊ कुनै कुरामा ठोक्किंदैन, किनकि उसले यस संसारको ज्योति देख्छ। तर यदि कोही राती हिंड्छ भने ऊ केही न केहीमा ठोक्किन्छ, किनकि ऊसित ज्योति छैन।”
“दिनको उज्यालो” अर्थात् परमेश्वरले येशूलाई पृथ्वीमा सेवा गर्न तोक्नुभएको समय अझै समाप्त भएको छैन र त्यो समाप्त नहोउञ्जेल उहाँलाई कसैले केही नोक्सान गर्न सक्नेछैन भनी येशूले भन्न खोज्नुभएको हुन सक्छ। उहाँका निम्ति बाँकी रहेको “दिनको उज्यालो” उहाँले पूर्ण रूपमा प्रयोग गर्नुपरेको छ किनभने केही समयपछि “राती” हुनेछ जब उहाँका शत्रुहरूले उहाँलाई मार्नेछन्।
येशू अगाडि भन्नुहुन्छ: “हाम्रा मित्र लाजरस सुतेका छन् तर म त्यहाँ तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।”
लाजरस निद्रामा परेर आराम गरिरहेका छन् भने उनी निश्चय पनि निको हुनेछन् र यो एउटा राम्रो चिन्ह हो भन्ठानेर चेलाहरू भन्छन्: “प्रभु, यदि तिनी सुतेका छन् भने त ठीक हुन्छन् होला।”
अनि येशूले स्पष्टसित भन्नुहुन्छ: “लाजरस मरिसकेका छन्, तर म त्यहाँ थिइनँ, त्यसैले तिमीहरूको खातिर म रमाउँछु, किनकि अब तिमीहरूको विश्वास अझ बलियो हुनेछ। अब हामी तिनीकहाँ जाऔं।”
यहूदियामा येशू मारिनुहुने सम्भावना छ भनी बुझेर उहाँको समर्थन गर्ने इच्छा गर्दै थोमाले आफ्ना सँगी चेलाहरूलाई यसप्रकार प्रोत्साहन दिन्छन्: “लौ, हामी पनि जाऔं अनि उहाँसितै मरौं।” अतः आफ्नो ज्यान खतरामा पर्ने अवस्थामा पनि चेलाहरू येशूले यहूदियाको विभिन्न ठाउँमा दया देखाउन लाग्नुभएको यात्रामा उहाँलाई साथ दिन्छन्। लूका १३:२२; १७:१-१०; यूहन्ना १०:२२, ३१, ४०-४२; ११:१-१६.
▪ हाल येशू कहाँ प्रचार गर्दै हुनुहुन्छ?
▪ येशूले कुन शिक्षा दोहोऱ्याउनुहुन्छ र जीवनमा हुने कुन वास्तविक घटनालाई उदाहरणको रूपमा प्रयोग गर्दै कुन कुरा दर्साउनुहुन्छ?
▪ येशूले के सन्देश पाउनुहुन्छ र उहाँले “दिनको उज्यालो” र “राती” भन्नुहुँदा त्यसको के अर्थ हुनुपर्छ?
▪ “लौ, हामी पनि जाऔं अनि उहाँसितै मरौं” भन्दा थोमाको मनसाय के थियो?