१
के जीवनको कुनै उद्देश्य छ?
१. जीवनको उद्देश्यबारे प्राय के सोधिन्छ र एक जना व्यक्तिले कस्तो विचार व्यक्त गरे?
जीवनको उद्देश्य के हो भनी एक न एक दिन सबैले सोच्छन्। आफ्नो जीवनस्तर उकास्नु, परिवारको लागि प्रबन्ध गर्नु अनि सायद ७०-८० वर्षपछि मरेर सदाको लागि अस्तित्वविहीन हुनु, के जीवनको अर्थ यही नै हो? यस्तै अनुभव गर्ने युवकले यसो भने, “बाँच्नु, छोराछोरी जन्माउनु, आनन्दित हुनु अनि मर्नु” बाहेक जीवनको अर्को उद्देश्य छैन। तर के यो सत्य हो? के मृत्यु नै सबै कुराको अन्त हो?
२, ३. भौतिक सम्पत्ति हासिल गर्नु किन जीवनको एक मात्र उद्देश्य होइन?
२ जीवनको मुख्य उद्देश्य भौतिक सर-सम्पत्ति हासिल गर्नु हो भनेर पूर्वी तथा पश्चिमी मुलुकका धेरै मानिसहरू महसुस गर्छन्। धन-सम्पत्तिले जीवन आनन्ददायी र अर्थपूर्ण बनाउँछ भनेर तिनीहरू विश्वास गर्छन्। तर भौतिक सर-सम्पत्ति प्राप्त गरिसकेका मानिसहरू के सोच्छन्? क्यानेडियाली लेखक ह्यारी ब्रुसले यसो भने: “थुप्रै धनी मानिसहरू आफू दुःखी भएको बताउँछन्।” तिनले यसो पनि भने: “उत्तर अमेरिकालाई भयंकर निराशाले छाएको कुरा सर्वेक्षणहरूबाट देखिन्छ। . . . कोही आनन्दित व्यक्ति छ? छ भने, त्यसको कुञ्जी के हो?”
३ भूतपूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले यसो भने: “सामानहरू हासिल गर्दैमा र त्यसको उपभोग गर्दैमा जीवनको अर्थ थाह लगाउने चाह मेटिंदैन रहेछ भनेर हामीले थाहा पायौं। . . . भौतिक सामानहरू थुपार्दैमा त्यसले भरोसाहीन र अर्थहीन जीवनको शून्यतालाई हटाउँदैन।” त्यस्तै गरी अर्का राजनैतिक नेताले भने: “केही वर्ष यतादेखि म आफू र आफ्नो जीवनको यथार्थको खोजीमा लाग्दैछु; मैले चिनेजानेका कतिपय मानिसहरू पनि म जस्तै खोजमा लागेका छन्। तैपनि पहिलेभन्दा झन् धेरै मानिसहरू ‘हामी को हौं? हाम्रो उद्देश्य के हो?’ भनेर सोध्दैछन्।”
अवस्था झन् कठिन
४. जीवनको उद्देश्यमाथि किन केही व्यक्तिहरूले शङ्का गर्छन्?
४ जीवनस्तर अझ कठिन हुँदा धेरैले जीवनको उद्देश्यमाथि शङ्का गर्ने गर्छन्। संसारभरि एक अरबभन्दा धेरै मानिसहरू गम्भीर बिमारी र कुपोषणले ग्रस्त छन्। फलस्वरूप अफ्रिकामा मात्रै वर्षेनी एक करोड बच्चाहरू मर्छन्। लगभग छ अरब पुगेको विश्व जनसंख्या वर्षेनी नौ करोडको दरले वृद्धि भइरहेको छ र यसको ९० प्रतिशत वृद्धि विकासोन्मुख देशहरूमा हुन्छ। यस्तो बढ्दो जनसंख्याले भोजन, बास र उद्योगको अरू आवश्यकता बढाउँछ। नतिजा, ठूल-ठूला कारखाना र अन्य प्रदूषकको कारण जमिन, पानी र हावामाथि थप हानि पुग्न जान्छ।
५. पृथ्वीको वनस्पतिलाई के भइरहेको छ?
५ वर्ल्ड मिलिटरी एण्ड सोसियल एक्सपेन्डीचर्स १९९१ नामक प्रकाशनले यस्तो रिपोर्ट दिन्छ: “हरेक वर्ष [ग्रेट ब्रिटेन] जत्रो क्षेत्रफलको जंगल फँडानी गरिन्छ। यस वर्तमान दरअनुसार सन् २००० सम्ममा उष्ण प्रदेशीय क्षेत्रको ६५ प्रतिशत जंगल नाश हुनेछ।” सं रा सं-को एउटा निकायअनुसार ती क्षेत्रहरूमा रोपिने एउटा रूखको सट्टामा दसवटा रूख ढालिन्छ; अफ्रिकामा यो दर १ को तुलनामा २० छ। फलस्वरूप मरुभूमी क्षेत्र विस्तार हुन्छ र प्रति वर्ष कृषि उत्पादनको लागि बेल्जियम जत्रो क्षेत्र फँडानी गरिन्छ।
६, ७. मानव नेताहरूले समाधान गर्न नसकेका केही समस्याहरू के-के हुन् र कुन प्रश्नहरूको जवाफ दिनु आवश्यक छ?
६ यस बाहेक २० औं शताब्दीका युद्धहरूमा मर्नेहरूको संख्या चार शताब्दीअघिका जम्मै युद्धहरूमा मर्नेहरूको भन्दा चार गुना बढी छ। चारैतिर अपराध, अझ भनौं भने हिंस्रक अपराधको बढ्दो वृद्धि छ। टुक्रिएको परिवार, लागू पदार्थको दुरुपयोग, एड्स, यौनजन्य रोगहरू तथा अन्य नकारात्मक तत्त्वहरूले जीवनलाई झन् कठिन बनाइरहेको छ। अनि मानव परिवारलाई पिरोल्ने थुप्रै समस्याहरूको समाधान संसारका नेताहरूले दिन सकेका छैनन्। त्यसैकारण मानिसहरूले जीवनको अर्थ के हो भनी सोध्दा हामी तिनीहरूको मर्म बुझ्न सक्छौं।
७ विद्वान अनि धार्मिक नेताहरूले यस प्रश्नको कस्तो जवाफ दिएका छन्? यतिका शताब्दी बितिसक्दा पनि के तिनीहरूले यसको कुनै चित्तबुझ्दो जवाफ दिन सकेका छन्?
तिनीहरू के भन्छन्
८, ९. (क) जीवनको उद्देश्यबारे एक चिनियाँ विद्वानले के भने? (ख) नाजी मृत्यु शिविरबाट उम्केका एक व्यक्तिले के भने?
८ कन्फुसियन विद्वान डु वेमिङ्गले भने: “हाम्रो साधारण मानव अस्तित्वमा जीवनको वास्तविक अर्थ पाइन्छ।” यस विचारअनुसार मानिसहरू जन्मने, अस्तित्त्वको लागि संघर्ष गर्ने अनि मर्ने क्रम यथावत चलिरहनेछ। यस्तो दृष्टिकोणमा कम आशा देखिन्छ। अनि यो कतिको सत्य हो, शङ्कास्पद छ।
९ दोस्रो विश्वयुद्धतिर नाजी मृत्यु शिविरबाट उम्केका इलि विजेल यस्तो निष्कर्षमा पुगे: “ ‘हामी यहाँ किन छौं?,’ यो नै मानवजातिले सामना गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो . . . मैले देखेको उद्देश्यहीन मृत्युको बावजुद मलाई जीवनको उद्देश्य छ जस्तो लाग्छ।” तर त्यो उद्देश्य के हो, त्यो भने तिनले बताउन सकेनन्।
१०, ११. (क) मानिससँग जवाफ छैन भनेर एक जना सम्पादकले कसरी देखाए? (ख) एक जना विकासवादी वैज्ञानिकको विचारधारा किन सन्तोषजनक छैन?
१० सम्पादक भर्मन्ट रोएस्टरले टिप्पणी गरे: “मानव स्वयम् अनि . . . ब्रह्माण्डमा उसको स्थानको सम्बन्धमा हामीसित पहिले जे जति ज्ञान थियो अहिले पनि त्यति नै छ। हामी को हौं, यहाँ किन छौं र कता गइरहेका छौं भनेर बताउन हामी अझै पनि निरुत्तर छौं।”
११ विकासवादी वैज्ञानिक स्टेफन जे गोल्डले यसो भने: “हामी ‘उत्कृष्ट’ जवाफको खोजी गरौंला तर पाइँदैन।” यस्ता विकासवादीहरूको धारणामा जीवन भन्नु नै अस्तित्वको लागि संघर्ष र त्यसको अन्त मृत्यु हो। यस्तो विचारधारामा पनि कुनै आशा पाइँदैन। यसमा कतिको सत्यता छ, कसलाई के थाहा?
१२, १३. चर्चका नेताहरूका विचारधाराहरू कस्ता छन् र के तिनीहरूका विचारधाराहरू संसारका अन्य व्यक्तिहरूको भन्दा सन्तोषजनक छन्?
१२ मृत्युपश्चात् मानिसहरूको आत्मा स्वर्गमा प्रवेश गरी सदाकाल रहन सकून् भनेर अहिले चरित्रवान् जीवन बिताउनु नै जीवनको उद्देश्य हो भनी थुप्रै धार्मिक नेताहरू बताउँछन्। अनि खराब मानिसहरूको लागि यसको विकल्प, नरककुण्डको अनन्त शासना। यद्यपि, यस अवधारणाअनुसार पृथ्वीमा प्राचीन कालदेखि रहिआएको असन्तोषजनक स्थितिमा भने कुनै परिवर्तन हुनेछैन। तर परमेश्वरको उद्देश्य स्वर्गदूतहरूलाई जस्तै मानिसहरूलाई पनि स्वर्गमा राख्नु थियो भने सुरुमै किन उहाँले तिनीहरूलाई स्वर्गदूतहरू जस्तै सृष्टि गर्नुभएन त?
१३ यस्तो विचारधारामा पादरीहरू समेत अन्योलमा छन्। लण्डनस्थित सन्त पावलको महा-गिर्जाका भूतपूर्व डिन डा. डब्ल्यु. आर. इङ्गले एक पटक यसो भने: “जीवनको उद्देश्य थाह लगाउन मैले आफ्नो सारा जीवन संघर्षमा बिताएँ। अनन्तको प्रश्न; मानव व्यक्तित्वको प्रश्न; र दुष्टयाइँको प्रश्न; मलाई सधैं मौलिक लागेका यी तीन प्रश्नहरूको जवाफ दिन मैले लाख प्रयत्न गरें तर सकिनँ। मैले तीमध्ये कुनैको जवाफ पाउन सकिनँ।”
असर
१४, १५. विरोधाभास विचारधाराहरूले मानिसहरूमाथि कस्तो असर पारेको छ?
१४ जीवनको उद्देश्यबारे विभिन्न विद्वान अनि धार्मिक नेताहरूले राखेका विचारहरूले कस्तो असर परेको छ? धेरैले यस वृद्धले जस्तै जवाफ दिन रुचाउँछन्: “म यहाँ किन छु भनेर जीवनभर आफूलाई सोधें। जीवनको कुनै उद्देश्य छ नै भने पनि अब मलाई के मतलब।”
१५ संसारका धर्महरूमा पाइने अनगिन्ती धारणाअनुसार चल्ने निकै व्यक्तिहरू आफूले जेसुकै विश्वास गरे पनि त्यसले खास फरक नपार्ने तर्क पेस गर्छन्। तिनीहरूको विचारअनुसार धर्म भन्नु केवल मन बहलाउने र जीवनका समस्याहरूसँग जुझ्न मनलाई मुठीभर शान्ति अनि सान्त्वना प्रदान गर्ने तत्त्व हो। अरू चाहिं धर्मलाई अन्धविश्वासको रूपमा हेर्छन्। तिनीहरूको विचारअनुसार शताब्दीयौंदेखि धर्मले गर्दै आएको अड्कलबाजीले न जीवनको उद्देश्य बताउन सकेको छ न त जनसाधारणको जीवन नै उकास्न सकेको छ। निस्सन्देह संसारका धर्महरूले मानवजातिलाई उन्नतिको मार्गतर्फ जानदेखि रोकेको छ अनि घृणा र युद्धको कारण बनेको छ भनेर इतिहासले साक्षी दिन्छ।
१६. जीवनको उद्देश्य थाह लगाउनु कतिको महत्त्वपूर्ण हुन सक्छ?
१६ यद्यपि, यसको बावजुद जीवनको उद्देश्यको सत्यता थाह लगाउनु कत्तिको महत्त्वपूर्ण छ त? मानसिक चिकित्सक भिक्टर फ्रयान्कलले यसरी जवाफ दिए: “आफ्नो जीवनको अर्थ थाह लगाउन गरिने प्रयत्न मानव मात्रको मुख्य प्रेरक शक्ति हो। . . . आफ्नो जीवनको अर्थ छ भन्ने ज्ञानले मानिसलाई कठिनभन्दा कठिन परिस्थितिको सामना गर्ने बल दिन्छ। यस्तो बल अरू कुनै कुराले दिन सक्दैन भनेर म ठोकुवा गर्न सक्छु।”
१७. हामीले अब कस्ता प्रश्नहरू सोध्नु आवश्यक छ?
१७ मानव दर्शन र धर्महरूले जीवनको उद्देश्य के हो भनेर चित्तबुझ्दो उत्तर दिन नसकेकोले प्रश्न उठ्छ, अब कसलाई सोध्ने? यसको यथार्थ तथ्य बताउन सक्ने के कुनै उत्कृष्ट बुद्धिको स्रोत छ?
[पृष्ठ ४-मा भएको चित्र]
“हरेक वर्ष [ ग्रेट ब्रिटेन ] जत्रो क्षेत्रफलको जंगल फँडानी गरिन्छ”
[पृष्ठ ५-मा भएको चित्र]
“म यहाँ किन छु भनेर जीवनभर आफूलाई सोधें”