प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१ pp. २९-३१
  • कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अर्थ र उद्देश्‍यको स्रोत
  • परमेश्‍वरसित मित्रता
  • परमेश्‍वरका उद्देश्‍यहरू पूरा हुन्छन्‌
  • तपाईंको जीवनलाई अर्थ दिनुहोस्‌
  • हाम्रो लागि परमेश्‍वरको उद्देश्‍य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • जीवनको उद्देश्‍य के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • जीवनमा अर्थपूर्ण उद्देश्‍यको पछि लाग्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१ pp. २९-३१

कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?

सत्र वर्षीया, हाई स्कूलकी एक विद्यार्थी जेसीलाई जीवनको अर्थबारे सोध्दा तिनले यस्तो जवाफ दिइन्‌, “बाँचुन्जेल जति सकिन्छ मस्ती गर्नुहोस्‌।” सुजीको सोच भने अर्कै थियो। तिनले यसो भनिन्‌: “जीवनको अर्थ भनेको आफ्नै हातको कुरा हो, तपाईंले जस्तो बनाउनुभयो त्यस्तै हुन्छ।”

के तपाईंले कहिल्यै जीवनको अर्थ के होला भन्‍ने प्रश्‍न सोध्नुभएको छ? के सबै मानिसजातिको जीवनको उद्देश्‍य एउटै छ? अथवा सुजीले भनेको पो सत्य हो कि—जीवन भनेको हरेकले जस्तो बनायो त्यस्तै बन्छ? हाम्रो समाजले जत्ति नै धेरै प्राविधिक उन्‍नति गरे तापनि हाम्रो मनले जीवनको उद्देश्‍य के हो भन्‍ने प्रश्‍नको उत्तर खोजिरहन्छ। जीवनको कुनै बिन्दुमा पुगेर हामीमध्ये अधिकांशले यस्तो प्रश्‍न सोध्ने गर्छौं, ‘हामी यहाँ किन छौं?’

आधुनिक विज्ञानले यस प्रश्‍नको जवाफ दिन धेरै प्रयत्न गरेको छ। कस्तो जवाफ भेटिएको छ त? मनोविज्ञान र प्राणी-विज्ञानका प्राध्यापक डेभिड पि. बारसले यसो भने, “विकासवादी पद्धतिअनुसार कुनै प्राणीको अस्तित्व हुनुको आफैमा कुनै अर्थ छैन।” विकासवादी जीवविज्ञानीहरूका अनुसार सजीव प्राणीहरूको एउटै मात्र उद्देश्‍य छ: बाँच्नु अनि सन्तान जन्माउनु। त्यसैले प्राध्यापक बारस यस्तो सल्लाह दिन्छन्‌, “मान्छेको कुनै मूल्य नभएको उद्देश्‍यरहित विशाल ब्रह्‍माण्डमा मानिस स्वयम्‌ले आफ्नो स्वतन्त्रता, विवेक र इच्छाअनुसारको छनौटहरू गरेर आफ्नो जीवनलाई अर्थ दिनुपर्छ।”

अर्थ र उद्देश्‍यको स्रोत

त्यसोभए, जीवन भनेको हरेकले आफूलाई जे मन लाग्छ त्यही गर्नु मात्र हो र? कुनै उद्देश्‍य नभएको संसारमा विना कुनै लक्ष्य भौंतारिनको लागि नभई कुनै उद्देश्‍यसहित हामी यहाँ छौं भनेर बाइबलले धेरै पहिलेदेखि नै बताउँदै आएको छ। ब्रह्‍माण्डीय विस्फोटले संयोगवश भएको कुनै घटनाद्वारा हामी अस्तित्वमा आएका होइनौं। सृष्टिकर्ताले मानिसलाई राख्नुअघि वर्षौं लगाएर पृथ्वीलाई तयार पार्नुभयो। संयोगवश हुनको लागि कुनै पनि कुरा छोड्‌नुभएन। सबै कुरा “साह्रै राम्रो” होस्‌ भनेर उहाँले पक्का गर्नुभयो। (उत्पत्ति १:३१; यशैया ४५:१८) किन? किनभने मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य थियो।

अझ रोचक कुरा त के छ भने, परमेश्‍वरले कुनै पनि व्यक्‍तिविशेषको भविष्यलाई पूर्वनिर्धारण गर्नुभएन चाहे त्यो ईश्‍वरीय हस्तक्षेपद्वारा होस्‌ अथवा कुनै जैविक प्रक्रियाद्वारा। हामी वशांणुगत गुणबाट प्रभावित हुने भए तापनि प्रायजसो हामी आफ्नै कामको नियन्त्रणमा हुन्छौं। हामी सबै जीवनमा आफ्नै बाटो रोज्न स्वतन्त्र छौं।

आफ्नो जीवनलाई के गर्ने भनेर छनौट गर्ने कुरा हाम्रो आफ्नै हातमा भए तापनि आफ्नो सोचविचारबाट सृष्टिकर्तालाई पन्छाउनु भूल हुनेछ। वास्तवमा, धेरैले जीवनको साँचो अर्थ र उद्देश्‍य परमेश्‍वरसितको सम्बन्धसित गाँसिएको हुन्छ भनेर पत्ता लगाएका छन्‌। परमेश्‍वर र हाम्रो जीवनको उद्देश्‍यबीचको महत्त्वपूर्ण सम्बन्धलाई परमेश्‍वरको व्यक्‍तिगत नाउँ यहोवामा प्रकाश पारिएको छ जुन नाउँको अक्षरशः अर्थ हुन्छ, “उहाँले गराउनुहुन्छ।” (प्रस्थान ६:३; भजन ८३:१८, NW) यसको अर्थ आफूले प्रतिज्ञा गर्नुभएको जुनसुकै कुरा पनि उहाँले क्रमशः पूरा गर्दै जानुहुन्छ अनि उहाँले गर्छु भनेर भन्‍नुभएको कुरा सधैं पूरा गर्नुहुन्छ। (प्रस्थान ३:१४; यशैया ५५:१०, ११) त्यस नाउँको अर्थबारे विचार गर्नुहोस्‌। हामी सबैको लागि यहोवा नाउँ, उहाँ अर्थपूर्ण उद्देश्‍यको मूल र अनन्त स्रोत हुनुहुन्छ भन्‍ने कुराको ग्यारेन्टी हो।

सृष्टिकर्ताको अस्तित्व स्वीकार्नाले मात्र पनि कुनै व्यक्‍तिको जीवनप्रतिको दृष्टिकोणमा गहिरो असर पर्छ। उन्‍नाइस वर्षीया एउटी किशोरी लाइनेट यसो भन्छिन्‌, “यहोवाले सृष्टि गर्नुभएका सबै अद्‌भुत थोकहरू अनि तिनीहरूको उद्देश्‍यलाई बुझ्दा म पनि कुनै उद्देश्‍यको लागि सृष्टि भएको हुनुपर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ।” एम्बर अझै यसो भन्छिन्‌: “मानिसहरूले ‘परमेश्‍वर छ कि छैन थाह छैन’ भन्दा आफूलाई परमेश्‍वर हुनुहुन्छ भनी थाह पाएकोमा गर्व लाग्छ। यहोवा हुनुहुन्छ भन्‍ने प्रमाण उहाँले बनाउनुभएका कुराहरूबाट सजिलै पाउन सकिन्छ।” (रोमी १:२०) हो, सृष्टिकर्ताको अस्तित्व छ भनेर मानिलिनु एउटा कुरा हो भने उहाँसित अर्थपूर्ण सम्बन्ध विकास गर्नु अर्कै कुरा हो।

परमेश्‍वरसित मित्रता

यस सन्दर्भमा पनि बाइबलले मदत गर्न सक्छ। यसका सुरुका अध्यायहरूले यहोवा मायालु पिता हुनुहुन्छ भन्‍ने स्पष्ट प्रमाण दिन्छ। उदाहरणको लागि, उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभएर उहाँ को हुनुहुन्छ भनी तिनीहरू आफैले अनुमान गरून्‌ भनेर तिनीहरूलाई त्यत्तिकै छोड्‌नुभएन। त्यसो नगरी उहाँले तिनीहरूसित नियमित रूपमा कुराकानी गर्नुभयो। आफू अर्कै काममा लागेर मानिसहरू आफैले आफूलाई डोऱ्‍याऊन्‌ भनेर परमेश्‍वरले अदनमा तिनीहरूलाई त्यसै छोड्‌नुभएन। बरु, सबैभन्दा उत्तम तरिकामा बाँच्नु भनेको के हो भनेर उहाँले तिनीहरूलाई तोकेरै निर्देशन दिनुभयो। उहाँले तिनीहरूलाई सन्तोषजनक काम दिनुभयो अनि लगातार शिक्षा दिइरहने प्रबन्ध मिलाउनुभयो। (उत्पत्ति १:२६-३०; २:७-९) के एक जना सक्षम मायालु आमा वा बाबुबाट तपाईंले आशा गर्ने कुरा यही होइन र? अब यसको अर्थ के हो विचार गर्नुहोस्‌। डिन्यल यसो भन्छिन्‌, “यहोवाले पृथ्वी सृष्टि गर्नुभएको अनि उहाँको सृष्टिबाट आनन्द उठाउने क्षमतासहित हाम्रो रचना गर्नुभएको कुरा थाह पाउँदा उहाँ हामी सुखी भएको चाहनुहुन्छ भनी म बुझ्छु।”

त्योभन्दा अझ, कुनै पनि असल पिताले झैं यहोवा उहाँका सबै सन्तानहरूले उहाँसित व्यक्‍तिगत सम्बन्ध राखेको चाहनुहुन्छ। यस सन्दर्भमा प्रेरित १७:२७ हामीलाई यस्तो आश्‍वासन दिन्छ: “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।” के त्यसले कुनै फरक पार्छ? एम्बर यसो भन्छिन्‌, “यहोवाबारे थाह पाउँदा मैले आफू कहिल्यै एक्लो हुनेछैनँ भन्‍ने आत्मविश्‍वास पाएकी छु। जस्तोसुकै परिस्थितिमा पनि भर पर्न सक्ने कोही त छ।” यसबाहेक, यहोवालाई चिन्दै जानुहुँदा तपाईंलाई उहाँ दयालु, न्यायी र असल लाग्नेछ। तपाईं उहाँमा भर पर्न सक्नुहुन्छ। जेफ यसो भन्छन्‌, “यहोवा घनिष्ठ साथी हुँदा मलाई चाहिएको बेला उहाँ जत्तिको मदतकारी अरू कोही हुन सक्दैन भनेर मैले थाह पाएँ।”

दुःखको कुरा, यहोवाबारे धेरै नकारात्मक टिकाटिप्पणीहरू गरिन्छ। धेरै मानवीय पीडा अनि धार्मिक दुर्व्यवहारहरूको दोष उहाँमाथि लगाइन्छ। मानव इतिहासका केही सबैभन्दा क्रूरताहरूको दोष उहाँमाथि थुपारिन्छ। तर व्यवस्था ३२:४, ५ ले यसो भन्छ, “उहाँका सबै काम न्यायसँगत छन्‌। . . . तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌।” त्यसैकारण परिस्थिति किन त्यस्तो भयो भनी यथार्थतालाई केलाउनु हाम्रो आफ्नै दायित्व हो।—व्यवस्था ३०:१९, २०.

परमेश्‍वरका उद्देश्‍यहरू पूरा हुन्छन्‌

हामीले जस्तोसुकै निर्णय गरे तापनि यो पृथ्वी र मानिसजातिको लागि आफ्ना उद्देश्‍यहरू पूरा गर्नदेखि परमेश्‍वरलाई कुनै कुराले पनि रोक्न सक्दैन। आखिर, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। त्यसोभए, त्यो उद्देश्‍य के हो? येशूले डाडाँको उपदेशमा त्यसबारे यसरी सङ्‌केत गर्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” पछि, परमेश्‍वर “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” कटिबद्ध हुनुहुन्छ भनी उहाँले आफ्ना प्रेरित यूहन्‍नालाई सङ्‌केत गर्नुभयो। (मत्ती ५:५; प्रकाश ११:१८) सृष्टि गर्नुहुँदा येशू परमेश्‍वरसँगै हुनुभएकोले सिद्ध मानव परिवारलाई सधैंभरि प्रमोदवनमा राख्ने परमेश्‍वरको उद्देश्‍य थियो भनेर येशूलाई सुरुदेखि नै थाह थियो। (उत्पत्ति १:२६, २७; यूहन्‍ना १:१-३) अनि परमेश्‍वर कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मलाकी ३:६) परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ, “जो युक्‍ति मैले गरेको छु, त्यो निश्‍चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।”—यशैया १४:२४.

हाम्रो समयमा यहोवाले एकताबद्ध समाजको जग बसाल्न सुरु गरिसक्नुभएको छ र यो जग आजको संसारमा व्याप्त लोभ र स्वार्थमा नभई परमेश्‍वर र छिमेकीप्रतिको प्रेममा आधारित छ। (यूहन्‍ना १३:३५; एफिसी ४:१५, १६; फिलिप्पी २:१-४) यस रीतिरिवाजको अन्त आउनुअघि आउँदै गरेको परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने उद्देश्‍यसहित उच्च मनोबल लिएर अघि बढिरहेकाहरूको यो एउटा उन्‍नतिशील स्वयंसेवी समाज हो। (मत्ती २४:१४; २८:१९, २०) एकताबद्ध मायालु अन्तरराष्ट्रिय भ्रातृत्वमा साठी लाखभन्दा धेरै मसीहीहरू २३० भन्दा धेरै मुलुकहरूमा एकसाथ उपासना गरिरहेका छन्‌।

तपाईंको जीवनलाई अर्थ दिनुहोस्‌

यदि तपाईं आफ्नो जीवनमा अझ धेरै अर्थ खोजिरहनुभएको छ भने यहोवा परमेश्‍वर आफ्ना जनहरू अर्थात्‌ उहाँका “धार्मिक जाति[सित]” संगत गर्न तपाईंलाई निमन्त्रणा दिइरहनुभएको छ भन्‍ने कुरालाई तपाईंले बुझ्नुपर्छ। (यशैया २६:२) यद्यपि, तपाईंको मनमा प्रश्‍न उठ्‌ला, “यो मसीही समाजमा जीवन कस्तो हुन्छ? के म साँच्चै यसको भाग बन्‍न चाहन्छु?’ केही जवान मानिसहरूले के भनेका छन्‌, सुन्‍नुहोस्‌।

क्वेन्टिन: “मण्डली मेरो लागि संसारबाट बच्ने सुरक्षास्थल हो। यहोवा मेरो जीवनको भाग हुनुहुन्छ भनी बुझ्दा उहाँको अस्तित्व छ अनि म खुसी भएको उहाँ चाहनुहुन्छ भनी बुझ्न मलाई मदत गर्छ।”

जेफ: “प्रोत्साहनको लागि जान सक्ने मेरो लागि सर्वोत्तम ठाउँ मण्डली नै हो। मलाई सहयोग र प्रशंसा गर्न त्यहाँ मेरा भाइबहिनीहरू हुनुहुन्छ। तिनीहरू मेरो ठूलो परिवारका भाग हुन्‌।”

लाइनेट: “कसैले बाइबल सत्य अँगालेको र यहोवाको सेवा गर्ने निर्णय गरेको देख्दा पाउने आनन्दलाई कुनै कुरासित तुलना गर्न सकिंदैन। यसले मेरो जीवनमा ठूलो सन्तुष्टि दिन्छ।”

कोडी: “यहोवाविना मेरो जीवन मूल्यहीन हुनेछ। खुसी पाउनको लागि यताउता भौंतारिरहेका तर कतै नपाएका अरू धेरैको जस्तै मेरो जीवन पनि हुने थियो। त्यसो नभई यहोवाले मलाई उहाँसित सम्बन्ध गाँस्ने बहुमूल्य सुअवसर दिनुभएको छ र त्यसले मेरो जीवनलाई अर्थ दिन्छ।”

त्यसोभए तपाईं आफैले जाँच्नुभए कसो होला? सृष्टिकर्ता यहोवासित नजिकिनुभयो भने तपाईंले आफ्नो जीवन अर्थपूर्ण भएको पाउनुहुनेछ।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

परमेश्‍वरसितको सम्बन्धले हाम्रो जीवनलाई अर्थ दिन्छ

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

NASA photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने