८
पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्
१, २. परमेश्वरको राज्य शासनमा जीवन कस्तो हुनेछ?
१ परमेश्वरले यस पृथ्वीबाट दुष्टता र दुःख-कष्ट हटाउनुभएपछि उहाँको स्वर्गीय राज्यको करुणामयी रेखदेखमा जीवन कस्तो हुनेछ? त्यसबेला ‘आफ्नो मुठी खोलेर सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्छु’ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ।—भजनसंग्रह १४५:१६.
२ तपाईंका जायज इच्छाहरू के-के हुन्? के ती इच्छाहरू आनन्दित जीवन, लाभकारी काम, भौतिक सम्पन्नता, सुन्दर वातावरण, मानिस-मानिसबीचको शान्ति र अन्याय, रोग, दुःख तथा मृत्यृबाट मुक्त हुनु नै होइनन् र? अनि आनन्दले भरिपूर्ण आध्यात्मिक स्वास्थ्यको सम्भाव्यताबारे के भन्नहुन्छ? परमेश्वरको राज्य शासनमा यी सबै कुराहरू छिट्टै पूरा हुनेछन्। त्यस नयाँ संसारमा पाइने अद्भुत आशिषहरूबारे बाइबलका भविष्यवाणीहरूले के भन्छन्, विचार गर्नुहोस्।
मानिसहरू पूर्ण शान्तिमा
३-६. परमेश्वरको नयाँ संसारमा मानिसहरूले शान्ति उपभोग गर्नेछन् भन्ने कस्तो आश्वासन हामीसँग छ?
३ “पृथ्वीको अन्तसम्मै [परमेश्वरले] युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। [युद्धका] रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:९.
४ “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”—यशैया २:४.
५ “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
६ “सारा पृथ्वीले विश्राम पाएको छ, र शान्त छ। तिनीहरू गाउनलागेका छन्।”—यशैया १४:७.
मानिस र जनावरहरूबीच शान्ति
७, ८. मानिसहरू र जनावरबीच त्यहाँ कस्तो शान्ति हुनेछ?
७ “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। सिंहले गोरुले झैं पराल खानेछ। दूधे-बालक साँबे सर्पको कुरमा खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:६-९.
८ “त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमीनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। . . . [म] तिमीहरूलाई कुशलसित सुत्न दिनेछु।”—होशे २:१८.
सिद्ध स्वास्थ्य, अनन्त जीवन
९-१४. नयाँ संसारमा हुने स्वास्थ्य अवस्था वर्णन गर्नुहोस्।
९ “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५, ६.
१० “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।”—प्रकाश २१:४.
११ “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.
१२ “तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन् बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।”—अय्यूब ३३:२५.
१३ “परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.
१४ “उहाँमाथि विश्वास गर्ने प्रत्येक . . . [ले] अनन्त जीवन [पाउनेछ]।”—यूहन्ना ३:१६.
मृतकलाई जीवनको पुनर्प्राप्ति
१५-१७. अहिले मरिसकेकाहरूका लागि के आशा छ?
१५ “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.
१६ “बेला आउँछ, जब चिहानमा [परमेश्वरको स्मरणमा] हुनेहरू सबैले उसको सोर [सुनेर] . . . निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९.
१७ “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले [चिहान] पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।”—प्रकाश २०:१३.
पृथ्वी, प्रशस्तताले भरिपूर्ण प्रमोदवन
१८-२२. पूरै पृथ्वीमा कस्तो परिवर्तन हुनेछ?
१८ “ठीक ऋतुमा तिनीहरूका निम्ति झरी बर्षाइदिनेछु, आशिषको झरी त्यो हुनेछ। खेतमा भएका रूखहरूले फल दिनेछन्, भूमिले आफ्नो फसल दिनेछ, र मानिसहरू मनमा चैन लिएर निज भूमिमा बस्नेछन्।”—इजकिएल ३४:२६, २७.
१९ “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्वर, हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।”—भजन ६७:६.
२० “उजाड़ र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। बसन्तको फूलझैं त्यो फक्रनेछ।”—यशैया ३५:१.
२१ “पर्वत र डाँड़ाहरू तिनीहरूका सामने गाउँदै निस्कनेछन्, र वनका सारा रूखहरूले ताली बजाउनेछन्। तब काँढ़ाहरूका सट्टा सल्लाका रूख र लुहुढ़े काँढ़ाको सट्टा बैंस उम्रनेछ।”—यशैया ५५:१२, १३.
२२ “तिमी मसित [प्रमोदवनमा] हुनेछौ।”—लूका २३:४३.
सबैका निम्ति राम्रो आवास
२३, २४. सबैको निम्ति पर्याप्त आवास हुनेछ भन्ने कस्तो आश्वासन हामीसँग छ?
२३ “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, . . . तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, . . . छानिएकाहरूले आफ्ना हातले गरेको काम धेरै दिनसम्म भोग गर्नेछन्। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्।”—यशैया ६५:२१-२३.
२४ “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.
प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ
२५. हामीसँग भविष्यको कस्तो सुन्दर आशा छ?
२५ भविष्यको कति सुन्दर आशा! आफ्नो विश्वासलाई लङ्गरझैं बलियो गरी परमेश्वरको नयाँ संसारमाथि अडाउँदा जीवन साँच्चै नै कति उद्देश्यपूर्ण हुनसक्छ! परमेश्वरको यस नयाँ संसारमा आजका सबै समस्याहरू सदाकालका लागि हटेर जानेछन्। “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्।” (यशैया ६५:१७) अनि त्यतिबेला हाम्रो अनन्तकालीन जीवन हुनेछ भनेर थाहा पाउनु कति सान्त्वनादायी हुन्छ: “[परमेश्वरले] मृत्युलाई सदाको निम्ति निल्नुभएको छ।”—यशैया २५:८.
२६. परमेश्वरको नयाँ संसारमा सदा जीवित रहने कुञ्जी के हो?
२६ अब चाँडै नै आउने त्यस प्रमोदवनरूपी नयाँ संसारमा के तपाईं सधैंभरि जीवित रहन चाहनुहुन्छ? ‘उसोभए यस संसारको अन्तको बेला परमेश्वरको अनुमोदन पाउन र उहाँको नयाँ संसारमा बाँच्न मैले के गर्नु पर्छ त?,’ तपाईं प्रश्न गर्नुहोला। तपाईंले त्यही गर्नुपर्छ, जुन कुरा येशूले आफ्नो प्रार्थनामा परमेश्वरलाई भन्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३.
२७. परमेश्वरको उद्देश्यमा सरिक हुन तपाईंले के गर्नु अनिवार्य छ?
२७ त्यसकारण तपाईंले यस पुस्तिकामा जे-जति पढ्नु भयो, त्यसलाई बाइबलसित तुलना गर्नुहोस्। बाइबलमा पाइने यी सत्य कुराहरू अध्ययन गर्ने अनि सिकाउने अरू व्यक्तिहरूको खोजी गर्नुहोस्। बाइबल विपरीत शिक्षाहरू सिकाउने ढोंगी धर्महरूदेखि अलग्गिनुहोस्। परमेश्वरको इच्छा अनुरूप चलिरहेका लाखौं मानिसहरूसँगसँगै तपाईं पनि प्रमोदवनरूपी पृथ्वीमा मानिसहरू सदा जीवित रहून् भन्ने परमेश्वरको उद्देश्य अरूहरूसित कसरी बाँड्न सक्नुहुन्छ, सो सिक्नुहोस्। अनि चाँडै भविष्यमा हुने कुरालाई लिएर परमेश्वरको प्रेरित वचनले के भन्छ त्यसलाई हृदयङ्गम गर्नुहोस्: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
[पृष्ठ ३१-मा भएको चित्र]
पार्थिव प्रमोदवन पुनःस्थापना गर्ने परमेश्वरको उद्देश्य चाँडै पूरा हुनेछ