यहोवा—उहाँ को हुनुहुन्छ?
उन्नाइसौं शताब्दीका फ्रान्सेली अन्वेषक आन्री म्वो कम्बोडियाको जंगल पार गर्दै चौडा नहरले घेरिएको एउटा मन्दिरनेर आइपुगे। यो पृथ्वीकै सबैभन्दा विशाल मन्दिर आंकोर वाट थियो। लेउ नै लेउ लागेको त्यो मन्दिर मानिसको हस्तकला हो भनेर एकै नजरमा म्वो भन्नसक्थे। तिनले लेखे, “उसबेलाको कुनै माइकलएन्जेलोले खडा गरेको यो मन्दिर ग्रीस वा रोमका कुनै पनि संरचनाभन्दा कता हो कता भव्य छ।” यसरी शदाब्दीयौंसम्म त्यसै लथालिंग छोडिएको भए तापनि यो मन्दिर मानिसकै रचना हो भन्ने कुरामा तिनलाई रतीभर शंका थिएन।
चाखलाग्दो कुरा के छ भने, शताब्दीयौंअघि लेखिएको ज्ञानगुनको पुस्तकले पनि यस्तै तर्क गरेको थियो: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) तर कसै कसैले भन्लान्, ‘मानिस र प्रकृतिको काम गर्ने तरिका कहाँ एकै हुन्छ र।’ तथापि, उपरोक्त विचारसित सबै वैज्ञानिकहरू सहमत छैनन्।
“जीवरसायन प्रणालीहरू निर्जीव तत्त्वहरू होइनन्” भनेर स्वीकार्दै लीहाइ विश्वविद्यालय, पेन्सिल्भेनिया, सं.रा.अ.-का जीवरसायनशास्त्रका सह-प्राध्यापक मीकल बीही सोध्छन्: “के जीवित जीव रसायन प्रणालीहरूको बौद्धिक रचना गर्न सकिन्छ?” आनुवंशिक इन्जिनियरिङजस्ता प्रविधिहरू मार्फत वैज्ञानिकहरूले अहिले जीवित तत्त्वहरूमा आधारभूत परिवर्तनहरूको रचना गर्दैछन् भनेर तिनी प्रष्ट्याउँछन्। हो, जीवित तथा निर्जीव दुवै चीज ‘बनाउन’ सकिन्छ! सूक्ष्मदर्शक यन्त्रद्वारा जीवित कोषहरूको संसारलाई जाँच्दा बीही यी कोषहरूमा अन्योन्याश्रित तत्त्वहरूबाट बनेको उदेकलाग्दो जटिल प्रणाली पाइएको उल्लेख गर्छन्। अनि तिनको निष्कर्ष? “कोष अर्थात् जीवनको अणु अणुको जाँचपड्ताल गर्न लगाइएका यी अथक प्रयासहरूको परिणामले एउटै निष्कर्षमा पुऱ्याउँछ। त्यो हो, ‘रचना!’”
त्यसोभए, यी सब जटिल प्रणालीहरू पछाडिका रचनाकार को हुनुहुन्छ?
रचनाकार को हुनुहुन्छ?
यसको जवाफ सुरुमा उद्धृत बुद्धिले भरिपूर्ण पुरातन पुस्तक, बाइबलमा पाइन्छ। बाइबलको पहिलो पानामै सरल तथा स्पष्ट भाषामा यी सब रचना गर्नुहुने को हुनुहुन्छ, यसरी जवाफ बताइएको छ: “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१.
तथापि, देवता कहलिएकाहरूबीच आफूलाई भिन्न देखाउनुहुँदै सृष्टिकर्ता आफ्नो परिचय विशिष्ट नाउँद्वारा दिनुहुन्छ: “आकाश सृष्टि गरेर . . . पृथ्वी र त्यसबाट उत्पन्न हुनेलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास . . . दिनुहुने, परमेश्वर [“यहोवा,” NW]।” (यशैया ४२:५, ८) ब्रह्माण्ड अनि पृथ्वी, पुरुष तथा स्त्रीको रचना गर्नुहुने सृष्टिकर्ताको नाउँ हो, यहोवा। तर यहोवा को हुनुहुन्छ? उहाँ कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ? अनि तपाईंले उहाँको कुरा किन सुन्नुपर्छ?
उहाँको नाउँको अर्थ
सर्वप्रथम, सृष्टिकर्ताको नाउँ, यहोवाको अर्थ के हो? यस ईश्वरीय नाउँ चारवटा हिब्रू वर्णहरू (יהוה) मा लेखिएको छ र बाइबलको हिब्रू अंशमा ७,००० भन्दा बढी पटक प्रयोग गरिएको छ। यो नाउँलाई हिब्रू क्रिया हावाह (“हुन दिनु”) को कारणवाचक रूप मानिन्छ र यसरी यसको अर्थ “उहाँले हुन दिनुहुन्छ” लाग्छ। अर्को शब्दमा भनौं भने, आफ्ना उद्देश्यहरू पूरा गर्न आवश्यकताअनुसार यहोवा बुद्धिमानीसाथ आफूलाई जे पनि हुन दिनुहुन्छ। आफ्ना वाचाहरू पूरा गर्न उहाँ आफैलाई सृष्टिकर्ता, न्यायकर्ता, रक्षक, जीवनदाता र त्यस्तै अरू थुप्रै कुरा हुन दिनुहुन्छ। त्यति मात्र कहाँ हो र, यो हिब्रू क्रियाले पूरा हुनै लागेको कार्य भन्ने बुझाउने व्याकरणीय रूप पनि लिन्छ। यहोवाले आफैलाई अझै पनि आफ्ना वाचाहरू पूरा गर्ने व्यक्ति हुन दिइरहनुभएको छ भनेर यसले संकेत गर्छ। हो, उहाँ जीवित परमेश्वर हुनुहुन्छ!
यहोवाका प्रमुख गुणहरू
आफ्नो वाचा पूरा गर्नुहुने हाम्रो सृष्टिकर्ता परमेश्वर असाध्यै मनपर्दो व्यक्ति हुनुहुन्छ भनेर पनि बाइबलले देखाउँछ। यहोवा आफै आफ्ना विशिष्ट गुणहरू यसरी प्रकट गर्नुहुन्छ: “[“यहोवा,” NW] टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” भनेर व्याख्या गरेको छ। (प्रस्थान ३४:६, ७) यहोवालाई कृपा देखाउनुहुने परमेश्वरको रूपमा चित्रण गरिएको छ। यहाँ प्रयोग गरिएको हिब्रू शब्दलाई “वफादार प्रेम” भनेर पनि अनुवाद गर्न सकिन्छ। आफ्ना अनन्तकालीन उद्देश्य पूरा गर्न यहोवा आफ्ना प्राणीहरूलाई वफादार भएर माया गरिरहनुहुन्छ। के तपाईं यस्तो मायाको कदर गर्नुहुन्न?
यहोवा रिसाउनमा ढिलो र पापहरू क्षमा गर्नमा छिटो पनि हुनुहुन्छ। गल्ती कोट्याइ नरहने बरु क्षमा गर्ने व्यक्तिसित संगत गर्न पाउँदा जो-कसैलाई पनि रमाइलो लाग्छ। यद्यपि, यसको अर्थ यहोवा गलत कामहरूको भर्त्सना नै गर्नुहुन्न भन्ने चाहिं पटक्कै होइन। उहाँले यस्तो घोषणा गर्नुभएको छ: “[म यहोवा] न्यायलाई प्रेम गर्दछु, अन्यायको लूट मलाई घीन लाग्छ।” (यशैया ६१:८) न्यायको परमेश्वर हुनुभएकोले दुष्कर्म गरिरहने हठी पापीहरूलाई उहाँ सधैं माफ गरिरहनुहुन्न। यसकारण, आफ्नो निश्चित समयमा यहोवाले हामी वरपर यस संसारमा भइरहेको अन्याय हटाउनुहुनेछ भनेर हामी ढुक्क हुनसक्छौं।
प्रेम र न्यायबीच अचूक सन्तुलन कायम गर्न बुद्धि चाहिन्छ। हामीसित व्यवहार गर्नुपर्दा यहोवा यी दुई गुणहरूलाई अद्भुत तरिकामा सन्तुलनमा राख्नुहुन्छ। (रोमी ११:३३-३६) निस्सन्देह, सृष्टिकर्ताको बुद्धि सर्वव्याप्त छ। उदेकलाग्दा सृजनाहरूले नै त्यसको प्रमाण दिन्छ।—भजन १०४:२४; हितोपदेश ३:१९.
यद्यपि, बुद्धि मात्र भएर पुग्दैन। मनमा चिताउनुभएको कुरा पूरा गर्न सृष्टिकर्तासित अथाह शक्ति पनि हुनैपर्छ। बाइबलले उहाँ यस्तै शक्ति भएको परमेश्वर हुनुहुन्छ भनेर बताउँछ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर . . . ल्याउनुहुन्छ। उहाँको शक्तिको बड़प्पनले गर्दा, . . . तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।” (यशैया ४०:२६) हो, आफ्नो इच्छा पूरा गर्नसक्न यहोवासित “शक्तिको बड़प्पन” छ। के यस्ता गुणहरूले तपाईंलाई यहोवाप्रति आकर्षित गर्दैन र?
यहोवालाई चिन्दा हुने फाइदाहरू
यहोवाले “[पृथ्वी] व्यर्थको वस्तु सृष्टि गर्नुभएन” बरु उहाँसित अर्थपूर्ण सम्बन्ध गाँस्ने मानिसहरूद्वारा “आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८; उत्पत्ति १:२८) उहाँ आफ्ना पार्थिव सृष्टिहरूको चिन्ता गर्नुहुन्छ। उहाँले बगैंचाजस्तो घर, प्रमोदवन बनाउनुभएर मानिसजातिको सिद्ध सुरुआत गर्नुभएको थियो। तर, मानवहरू आफै यसको विनाश गरिरहेका छन् र यो यहोवालाई पटक्कै मन परेको छैन। यद्यपि, आफ्नो नाउँअनुसार यहोवाले मानिस तथा पृथ्वीको निम्ति आफूले सोच्नुभएको मूल उद्देश्य पूरा गरी छाड्नुहुनेछ। (भजन ११५:१६; प्रकाश ११:१८) छोराछोरीले जस्तो उहाँको आज्ञा पालन गर्न इच्छुक हुने जति सबैका लागि उहाँले यो पृथ्वीमा प्रमोदवन पुनःस्थापित गर्नुहुनेछ।—हितोपदेश ८:१७; मत्ती ५:५.
त्यस प्रमोदवनमा तपाईंले आनन्द उठाउनसक्नुहुने जीवनस्तरबारे बाइबलको अन्तिम पुस्तकमा यस्तो व्याख्या गरिएको छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:३, ४) तपाईंले आनन्द उठाओस् भनेर यहोवाले चाहनुभएको वास्तविक जीवन त्यही हो। कस्तो उपकारी पिता! के तपाईं उहाँबारे अझ धेरै सिक्न र त्यस प्रमोदवनमा जीवन बिताउन के गर्नुपर्छ, जान्न इच्छुक हुनुहुन्छ?
अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्-बाट उद्धृत गरिएका हुन्।