राज्य समाचार न. ३६
नयाँ सहस्राब्दी अनि तपाईंको भविष्य
नयाँ सहस्राब्दी—नयाँ युगको बिहानी?
सन् १९९९, डिसेम्बर ३१ तारिखको मध्ये रात २० औं शताब्दी अन्त भयो।a यो यस्तो शताब्दी थियो, जसले थुप्रै उथलपुथलको सामना गर्नुपऱ्यो तर सँगसँगै नयाँ नयाँ प्रविधि, चिकित्सा क्षेत्रमा भएका उल्लेखनीय प्रगति, जानकारीको विस्फोटनका साथै विश्वव्यापी अर्थतन्त्रमा भएको तीव्र प्रगतिको पनि अनुभव गऱ्यो। यस्ता उपलब्धिहरूले गर्दा थुप्रै मानिसहरूले नयाँ सहस्राब्दीलाई आशा अनि परिवर्तनको प्रतीकस्वरूप स्वागत गरेका छन्। कतै हामीले युद्ध, गरिबी, वातावरणीय प्रदूषण अनि रोगको अन्त पनि देख्न पाउनेछौं कि?
थुप्रैले त्यस्तै आशा राखेका छन्। तर नयाँ सहस्राब्दीले तपाईंलाई फाइदा पुऱ्याउने—हो, तपाईं अनि तपाईंको परिवारको जीवन सुरक्षित बनाउने बिहानीको उदय हुने सम्भावना कत्तिको छ? यसको जवाफका लागि अहिले हामीले सामना गर्नुपरिरहेका केही समस्याहरूले कस्तो भयानक रूप लिनसक्छ, त्यसलाई विचार गर्नुहोस्।
प्रदूषण
औद्योगिक मुलुकहरूले “विश्वव्यापी स्तरमा वातावरणीय हानि पुऱ्याउनुका साथै इकोसिस्टमलाई प्रदूषित अनि असन्तुलित बनाउँदैछन्।” यही रीतिले हानि पुऱ्याइनै रहने हो भने, “वातावरणमा ठूलो धक्का पुग्नेछ।”—“ग्लोबल इन्भाइरन्मेन्टल आउटलूक—टु थाउजेन्ड,” युनाइटेड नेशन्स् इन्भाइरन्मेन्ट प्रोग्राम।
रोगबिमार
“हाल प्रत्येक १० जनामध्ये ५, यस्ता रोगहरूको कारण मरिरहेका छन्, जुन सरुवा रोग होइनन्, तथापि, त्यो संख्या बढेर सन् २०२० सम्ममा, ७ पुग्नेछ।”—“द ग्लोबल बर्डन अफ डिजीज,” हार्वड युनिभर्सिटी प्रेस, नाइन्टिन नान्टिसिक्स।
केही विशेषज्ञहरूको अनुमानअनुसार “सन् २०१० सम्ममा [एड्स] रोगको महामारी चर्किएका २३ वटा मुलुकहरूमा ६ करोड ६० लाख मानिसहरू यो रोगले मर्नेछन्।”—“कन्फ्रन्टिङ एड्स: एभिडेन्स फ्रम द डेभलपिङ वर्ल्ड,” युरोपेली कमिशन अनि विश्व बैंकको रिपोर्ट।
गरिबी
“लगभग १ अरब ३ करोड मानिसहरू दैनिक एक डलरभन्दा न्यून आयस्रोतमा गुजारा चलाइरहेका छन् भने झन्डै १ अरब मानिसहरूले पर्याप्त भोजनसमेत खान पाइरहेका छैनन्।”—“ह्युमन डेभलपमेन्ट रिपोर्ट नाइन्टिन नाइन्टिनाइन,” युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम।
युद्ध
“[थुप्रै मुलुकमा] अपूर्व ढंगमा हिंसा बढ्नसक्छ। जातीय, साम्प्रदायिक अनि धार्मिक [भिन्नताहरू ], . . . आउँदो २५ वर्षभित्र मुठभेडका सबैभन्दा मुख्य कारण भइरहनेछन्। . . . वर्षेनी हजारौं मानिसहरू मर्नेछन्।”—“न्यु वर्ल्ड कमिङ: अमेरिकन सेक्युरिटी इन द ट्वेन्टिफस्ट सेन्चुरी,” राष्ट्रिय सुरक्षा/२१ औं शताब्दीबारे सं.रा.अ.-को कमिशन।
यसप्रकार, नयाँ सहस्राब्दीको जोस तथा रोमाञ्चले प्रदूषण, रोगबिमार, गरिबी अनि युद्धको भयानक रूपलाई ढाकिरहेको छ। यी समस्याहरूको जड लोभ, अविश्वास, स्वार्थ हुन्—जुन वैज्ञानिक अनुसन्धान, प्रविधि वा राजनीतिले मात्र निर्मूल पार्न सक्दैन।
मानवजातिले आशिष् पाउने सहस्राब्दी
प्राचीन समयका एक लेखकले एकपटक यसो भने: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) मानिससँग यो पृथ्वीमाथि शासन गर्ने क्षमता मात्र होइन, अधिकार पनि छैन। हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वरसित मात्र मानिसजातिका समस्याहरू समाधान गर्ने अधिकार अनि ज्ञान छ।—रोमी ११:३३-३६; प्रकाश ४:११.
तर कहिले? अनि कसरी? अहिले हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भन्ने प्रशस्त प्रमाणहरू छन्। कृपया तपाईंको आफ्नै बाइबल खोलेर २ तिमोथी ३:१-५ पढ्नुहोस्। यस “डरलाग्दो समय[मा]” मानिसहरूको स्वभावबारे त्यसले साह्रै जीवन्त वर्णन गरेको छ। मत्ती २४:३-१४ अनि लूका २१:१०, ११ ले पनि “आखिरी दिन[बारे]” बताएको छ। यी बाइबल पदहरू सन् १९१४ देखि हुन थालेका विश्वव्यापी युद्ध, महामारी अनि व्यापक अनिकालजस्ता भौतिक घटनाहरूमा केन्द्रित छन्।
अब छिट्टै “आखिरी दिन” सकिनेछ। दानियल २:४४ यसो भन्छ: “स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै [पार्थिव] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यसप्रकार, परमेश्वरले यस पृथ्वीमाथि राज्य वा सरकार बसाल्नुहुनेछ भनेर पहिल्यै भविष्यवाणी गरिएको थियो। प्रकाश २०:४ अनुसार यो सरकारले हजार वर्ष अर्थात् एक सहस्राब्दीसम्म राज्य गर्नेछ! यस महिमित सहस्राब्दीमा मानवजातिको जीवनस्तर कुन कुन तरिकामा उकासिनेछ, तीमध्ये केहीमाथि ध्यान दिनुहोस्।
अर्थतन्त्र। “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।”—यशैया ६५:२१, २२.
स्वास्थ्य। “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।” “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४; ३५:५, ६.
वातावरण। परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ।—प्रकाश ११:१८.
मानव सम्बन्ध। “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९.
बाइबलका यी प्रतिज्ञाहरूमाथि विश्वास गर्ने लाखौं मानिसहरूले भविष्यप्रति सकारात्मक आशावादी दृष्टिकोण राख्न सकेका छन्। फलतः तिनीहरू जीवनका दबाउ तथा समस्याहरूको सामना गर्न सक्षम भएका छन्। बाइबल तपाईंका लागि पनि प्रोत्साहनको स्रोत बन्नसक्छ। तर कसरी?
ज्ञान जसले जीवनतर्फ डोऱ्याउँछ!
विज्ञान अनि प्रविधिका कुराहरू कहिलेकाहीं निकै अचम्मलाग्दा हुन्छन्! तैपनि, मानव ज्ञानले थुप्रै मानिसहरूको जीवनलाई सुरक्षित अनि आनन्दमय बनाउन सकेको छैन। त्यसो गर्नसक्ने एउटै मात्र ज्ञानबारे बाइबलले यूहन्ना १७:३ मा यस्तो वर्णन गरेको छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”
यस्तो ज्ञान बाइबलमा पाइन्छ। यस पवित्र पुस्तकबारे थुप्रै मानिसहरूको नकारात्मक धारणा भए तापनि, तिनीहरूमध्ये कमैले मात्र आफैले जाँचेर हेरेका छन्। तपाईंले नि? हो, बाइबल पढ्न सजिलो छैन। तर तपाईंको मेहनत त्यसै खेर जानेछैन। किनकि, बाइबल मात्र “परमेश्वरबाट प्रेरणा भएको . . . [अनि] सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी” किताब हो।—२ तिमोथी ३:१६.
त्यसोभए, बाइबलसँग कसरी परिचित हुन सकिन्छ त? यहोवाका साक्षीहरूको मदत लिए कसो होला? यहोवाका साक्षीहरूले लाखौं मानिसहरूलाई तिनीहरूको आफ्नै घरमा गएर निश्शुल्क सिकाइरहेका छन्। तपाईंलाई सिकाउन तिनीहरू बाइबल आधारित विभिन्न प्रकाशनहरू चलाउँछन्, जस्तै परमेश्वर हामीबाट के चाहनुहुन्छ? शीर्षक भएको पुस्तिका। यो पुस्तिकाले हामीलाई बाइबलबारे सोध्न मन लागेका थुप्रै प्रश्नहरूको छोटोमीठो जवाफ दिन्छ, जस्तै: परमेश्वर को हुनुहुन्छ? परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो? परमेश्वरको राज्य के हो? बाइबलले तपाईंको पारिवारिक जीवनलाई कसरी सुखी बनाउनसक्छ?
यदि तपाईं यहोवाका साक्षीलाई आफ्नो घरमा बोलाउन चाहनुहुन्छ भने, कृपया तल दिइएको कुपन भर्नुहोस्। तिनीहरूले परमेश्वरको राज्यको गौरवमय सहस्रवर्षे शासनबारे खुसीसाथ तपाईंलाई जानकारी दिनेछन्।
□ मलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी दिनुहोस्।
□ म निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मलाई भेट्नुहोला
[फुटनोट]
a यहाँ हामी नयाँ सहस्राब्दीबारे लोकप्रिय पश्चिमी धारणाको उल्लेख गर्दैछौं। यद्यपि, किटेरै भन्ने हो भने, नयाँ सहस्राब्दी जनवरी १, २००१ देखि सुरु हुन्छ।