प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ११/१ pp. ४-६
  • तेस्रो सहस्र वर्ष कहिले सुरु हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो सहस्र वर्ष कहिले सुरु हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूको जन्म कहिले भएको थियो?
  • के तिनीहरूको सहस्र वर्षको आशा साकार हुनेछ?
  • २०००—के यो साँच्चै एउटा विशेष वर्ष हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सन्‌ २००० कत्तिको महत्त्वपूर्ण छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • नयाँ सहस्राब्दी अनि तपाईंको भविष्य
    नयाँ सहस्राब्दी अनि तपाईंको भविष्य
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ११/१ pp. ४-६

तेस्रो सहस्र वर्ष कहिले सुरु हुन्छ?

तेस्रो सहस्र वर्ष सन्‌ २००० मा नभई सन्‌ २००१ मा सुरु हुनेछ भनी दाबी गरेको के तपाईंले सुन्‍नुभएको छ? त्यो दाबी केही हदसम्म सही पनि छ। कोही कोहीले भनेअनुसार येशू ख्रीष्टको जन्म सा.यु.पू. १ मा भएको हिसाबअनुसार डिसेम्बर ३१, २००० मा (१९९९ मा होइन) दोस्रो सहस्र वर्षको अन्त हुनेछ र जनवरी १, २००१ मा तेस्रो सहस्र वर्षको सुरुआत हुनेछ।a तथापि, आज प्रायजसो सबै शास्त्रविद्‌हरू येशू ख्रीष्टको जन्म सा.यु.पू. १ मा भएको थिएन भन्‍ने कुरामा एक मत छन्‌। त्यसोभए उहाँको जन्म कहिले भएको थियो?

येशूको जन्म कहिले भएको थियो?

बाइबलले येशूको जन्म मिति तोकेको छैन। तर, उहाँको जन्म “हेरोद राजाको समयमा” भएको थियो भनेरचाहिं बताउँछ। (मत्ती २:१) थुप्रै बाइबलविद्‌हरू सा.यु.पू. ४ मा हेरोदको मृत्यु भयो र येशूको जन्म त्योभन्दा अलि अघि सा.यु.पू. ५ वा ६ मा भएको थियो भन्‍ने विश्‍वास गर्छन्‌। हेरोदको मृत्युबारे तिनीहरूको यस हिसाब प्रथम शताब्दीका यहूदी इतिहासकार फ्लेभियस जोसेफसको कथनमा आधारित छ।b

जोसेफसअनुसार राजा हेरोद मर्नुभन्दा केही समयअघि चन्द्रग्रहण लागेको थियो। बाइबलविद्‌हरू सा.यु.पू. ४ मार्च ११ मा भएको खण्डग्रास चन्द्रग्रहणलाई औंल्याउँदै हेरोदको मृत्यु सोही वर्षमै भएको हुनुपर्छ भन्छन्‌। तथापि सा.यु.पू. १ जनवरी ८ का दिन खग्रास र डिसेम्बर २७ का दिन खण्डग्रास चन्द्रग्रहण लागेको थियो। जोसेफसले सा.यु.पू. १ वा सा.यु.पू. ४ को ग्रहणबारे कुरा गरिरहेका थिए भनेर कसैले पनि बताउन सकेका छैनन्‌। त्यसकारण, हेरोदको मृत्यु भएको वर्ष पत्ता लगाउन हामीले जोसेफसका शब्दहरूलाई आधार मान्‍न मिल्दैन। त्यसैलाई आधार माने तापनि हामीले थप जानकारी नपाउञ्जेल येशूको जन्म भएको वर्ष पत्ता लगाउन सक्दैनौं।

येशूको जन्म मितिको सन्दर्भमा हामीसित भएको सबैभन्दा बलियो आधार बाइबल हो। प्रेरित वचनअनुसार येशूको नातेदार, बप्तिस्मा दिने यूहन्‍नाले रोमी सम्राट सिजर टाइबेरियसको १५ औं वर्षमा अगमवक्‍ताको रूपमा आफ्नो काम सुरु गरे। (लूका ३:१, २) उपलब्ध अन्य इतिहास पुस्तकहरूले टाइबेरियस सा.यु. १४, सेप्टेम्बर १५ का दिन सम्राट बनाइएको थियो भनी पुष्टि दिन्छ र यसअनुसार तिनको शासनको १५ औं वर्ष भनेको सा.यु. २८ को अन्तदेखि सा.यु. २९ को अन्तसम्म हुन्छ। त्यही बेलातिर यूहन्‍नाले आफ्नो सेवकाई सुरु गरे भने येशूले त्यसको छ महिनापछि सुरु गर्नुभयो। (लूका १:२४-३१) यो र अन्य सबै प्रमाणहरू हेर्दा येशूले आफ्नो सेवकाई सा.यु. २९ को हेमन्त ऋतुमा सुरु गर्नुभयो।c येशूले आफ्नो सेवकाई थाल्नुहुँदा उहाँ “करीब तीस वर्षको हुनुहुन्थ्यो” भनी बाइबलले बताउँछ। (लूका ३:२३, नयाँ संशोधित संस्करण) सा.यु. २९ को हेमन्त ऋतुमा उहाँ ३० वर्षको हुनुहुन्थ्यो भने उहाँको जन्म सा.यु.पू. २ को हेमन्त ऋतुमा भएको हुनुपर्छ। त्यसैले सा.यु.पू. २ को हेमन्त ऋतुदेखि दुई हजार वर्ष हिसाब गर्दा (स्मरण रहोस्‌, शून्य वर्ष नहुने हुँदा सा.यु.पू. २ देखि सा.यु. १ सम्म दुई वर्ष हुन्छ) दोस्रो सहस्र वर्षको अन्त र तेस्रो सहस्र वर्षको सुरुआत १९९९ को हेमन्त ऋतुमा हुन्छ भनी हामी थाह पाउनसक्छौं!

के यसले कुनै फरक पार्छ? उदाहरणका लागि, के तेस्रो सहस्र वर्षको सुरुआतले प्रकाशको पुस्तकमा बताइएको येशू ख्रीष्टको हजार वर्षीय राज्यको थालनीलाई संकेत गर्छ? अहँ, गर्दैन। बाइबलले कतै पनि तेस्रो सहस्र वर्ष र ख्रीष्टको हजार वर्षीय राज्यबीच सम्बन्ध गाँसेको छैन।

येशूले आफ्ना अनुयायीहरूलाई तिथिमितिबारे बढ्‌तै चिन्तित नहुन चेताउनी दिनुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्‍न खोज्नु तिमीहरूको काम होइन।” (प्रेरित १:७) अनि येशू आफैले समेत परमेश्‍वरले कहिले दुष्ट रीतिरिवाजमाथि न्याय गर्नुभएर ख्रीष्टको हजार वर्षीय राज्यको निम्ति बाटो तयार गर्नुहुन्छ थाह छैन भन्‍नुभयो। उहाँले भन्‍नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।”—मत्ती २४:३६.

मानवको रूपमा जन्मनुभएको दिनको ठीक २,००० वर्षपछि ख्रीष्टको पुनरागमन हुनेछ भनी आशा गर्नु के व्यवहारिक हो? अहँ, पटक्कै होइन। येशूलाई आफ्नो जन्म मिति थाह थियो होला। अनि उहाँलाई पक्कै पनि आफ्नो जन्म दिनदेखि २,००० वर्षको हिसाब गर्न आउँथ्यो। तैपनि उहाँलाई आफ्नो पुनरागमनको दिन र घडीबारे थाह थिएन। स्पष्टतः उहाँको पुनरागमनको ठीक दिन तोक्न सजिलो छैन! ‘समय र बेला’ पिताको हातमा छ र यसको तालिका उहाँलाई मात्र थाह छ।

यसबाहेक, येशूले आफ्ना अनुयायीहरूलाई कुनै एउटा खास भौगोलिक क्षेत्रमा पर्खने आज्ञा दिनुभएन। उहाँले तिनीहरूलाई एकै ठाउँमा गुजमुज्ज परेर बस्न होइन तर “पृथ्वीको अन्तसम्म” फैलिएर सबै राष्ट्रका मानिसहरूलाई चेला बनाउने आज्ञा दिनुभयो। अनि उहाँले यो आज्ञा कहिल्यै हेरफेर गर्नुभएन।—प्रेरित १:८; मत्ती २८:१९, २०.

के तिनीहरूको सहस्र वर्षको आशा साकार हुनेछ?

यद्यपि, केही धार्मिक कट्टरपन्थीहरूले सन्‌ २००० मा ठूलठूला आशाहरू राखेका छन्‌। केही महिनाभित्र प्रकाशको पुस्तकको केही अंशको शाब्दिक पूर्ति हुनेछ भनी तिनीहरू विश्‍वास गर्छन्‌। अनि तिनीहरू आफै पनि त्यस भविष्यवाणीको भाग हुनेछु भन्ठान्छन्‌। उदाहरणका लागि, तिनीहरू प्रकाश ११:३, ७, ८ मा दुई साक्षीहरूबारे गरिएको भविष्यवाणीलाई औल्याउँछन्‌। त्यहाँ यसो भनिएको छ, “दृष्टान्तको रूपका सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।” ती दुई साक्षीले साक्षी दिइसकेपछि अगाध खाँदबाट निस्केको पशुबाट तिनीहरू मारिन्छन्‌।

डिसेम्बर २७, १९९८ को द न्यु योर्क टाइम्स पत्रिका-को रिपोर्टअनुसार एउटा धार्मिक समूहको नेताले “आफ्ना अनुयायीहरूलाई तिनी दुई साक्षीमध्ये एक हुन्‌ र तिनले नै पृथ्वीको विनाश र प्रभुको आगमनबारे घोषणा गर्नेछन्‌ र यरूशलेममा शैतानबाट मारिनेछन्‌ भन्छन्‌।” यसकारण, इजरायली अधिकारीहरू चिन्तित हुनुको कारण बुझ्नसक्छौं। तिनीहरू उक्‍त भविष्यवाणी केही आतंककारीहरूले “पूरा” गरिदेलान्‌ भनी त्रसित छन्‌, त्यसको अर्थ सशस्त्र युद्ध सुरु गर्ने नै किन नहोस्‌! तथापि, परमेश्‍वरलाई आफ्नो उद्देश्‍य पूरा गर्न मानिसको “मदत” चाहिंदैन। बाइबलका सबै भविष्यवाणीहरू परमेश्‍वरको आफ्नै समय र तरिकामा पूरा हुनेछन्‌।

प्रकाशको पुस्तक “चिह्नमा” लेखिएको थियो। प्रकाश १:१ अनुसार येशूले के के घटनाहरू हुनेछन्‌ भनी “आफ्ना दासहरूलाई” (सारा संसारलाई होइन) प्रकाश पार्न चाहनुहुन्थ्यो। प्रकाशको पुस्तक बुझ्न ख्रीष्टका चेलाहरू वा अनुयायीहरूलाई परमेश्‍वरको पवित्र आत्माको खाँचो पर्छ जुन यहोवाले उहाँलाई प्रसन्‍न तुल्याउनेहरूलाई दिनुहुन्छ। प्रकाशको पुस्तकलाई शाब्दिक अर्थमा बुझ्ने हो भने अविश्‍वासी मानिसले पनि त्यो पढेर बुझ्नसक्छ। अनि त्यसो हुँदो हो त मसीहीहरूले प्रकाशको पुस्तक बुझ्न पवित्र आत्माको लागि प्रार्थना गर्नु पर्ने नै थिएन।—मत्ती १३:१०-१५.

बाइबलीय प्रमाणअनुसार येशू जन्मनु भएको दिनदेखि हिसाब गर्दा तेस्रो सहस्र वर्ष १९९९ को हेमन्त ऋतुमा सुरु हुन्छ। त्यसकारण त्यो दिन, जनवरी १, २००० वा जनवरी १, २००१ को कुनै विशेष महत्त्व छैन। यद्यपि, मसीहीहरूले गहिरो चासो राख्ने एउटा सहस्र वर्ष छ। तेस्रो सहस्र वर्ष होइन भने कुन त? यस श्रृंखलाको अन्तिम लेखले यस प्रश्‍नको उत्तर दिनेछ।

[फुटनोटहरू]

a पृष्ठ ५ मा “सन्‌ २००० वा २००१?” हेर्नुहोस्‌।

b यी शास्त्रविद्‌हरूको कालक्रमअनुसार तेस्रो सहस्र वर्ष १९९५ वा १९९६ मा सुरु हुन्छ।

c थप जानकारीको निम्ति वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तर्दृष्टि, खण्ड १, पृष्ठ १०९४-५ हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको पेटी]

२००० वा २००१?

कतिपयले किन येशूको जन्मदेखि तेस्रो सहस्र वर्ष जनवरी १, २००१ मा सुरु हुन्छ भनी दाबी गर्छन्‌ भनी बुझ्न यस उदाहरणलाई लिनुहोस्‌। मानी लिनुहोस्‌ तपाईं २०० पाना भएको पुस्तक पढ्‌दै हुनुहुन्छ। तपाईंले पृष्ठ २०० मा पढ्‌न थाल्नुहुँदा १९९ पाना पढिसक्नुभएको हुनेछ एउटा पाना पढ्‌न बाँकी हुन्छ। तपाईंले पृष्ठ २०० को अन्तसम्म पढ्‌नु नभएसम्म पुस्तक पूरा पढिसक्नुभएको हुँदैन। त्यस्तै गरी डिसेम्बर ३१, १९९९ मा वर्तमान सहस्र वर्षको १,९९९ वर्ष मात्र पूरा हुन्छ र सहस्र वर्षको अन्त हुन अझ एक वर्ष बाँकी रहन्छ। त्यसअनुसार तेस्रो सहस्र वर्ष जनवरी १, २००१ मा सुरु हुन्छ। तर, यस लेखले देखाएअनुसार यसको अर्थ त्यो मितिमा येशू जन्मनुभएको ठ्याक्क २,००० वर्ष पुगेको चाहिं हुँदैन।

[पृष्ठ ६-मा भएको पेटी]

ई.पू.-ए.डी. शैलीको तिथिपत्र कसरी सुरु भयो

सा.यु. छैठौं शताब्दीको सुरुतिर पोप जोन प्रथमले डियनुसियस एक्सिगुस नाउँ गरेको पादरीलाई इस्टरको आधिकारिक दिन निकाल्न दिन हिसाब गर्ने एउटा तरिका विकास गर्ने काम अह्राए।

डियनुसियस काममा लागे। तिनले येशूको मृत्यु भएको दिनदेखि अघिको हिसाब गरेर उहाँको जन्म भएको दिनसम्म गने र त्यसपछि तिनले हरेक वर्ष गन्ती गरे। डियनुसियसले येशूको जन्मदेखि यताको समयलाई “ए.डि.” नामाकरण गरे। (एनो डोमिनो—“हाम्रो प्रभुको वर्षमा”) डियनुसियसको उद्देश्‍य प्रत्येक वर्ष इस्टरको मिति निकाल्ने मात्र थियो तर तिनले यसै क्रममा येशूको जन्मदेखि यताको वर्ष गन्‍ने तरिका पनि थाल्न पुगे।

थुप्रै शास्त्रविद्‌हरू डियनुसियसले हिसाब गरेको मितिमा येशूको जन्म भएको होइन भनी सहमत भए तापनि तिनको तिथि हिसाब गर्ने शैलीले समयको क्रममा भएका घटनाहरू र तिनीहरू बीचको सम्बन्ध पत्ता लगाउन सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने