प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be p. १३-p. १६ par. ५
  • ‘कसरी सुन्‍नुहुन्छ, ध्यान दिनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘कसरी सुन्‍नुहुन्छ, ध्यान दिनुहोस्‌’
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मन लगाउनुहोस्‌
  • एकाग्रचित्तको हुनुहोस्‌
  • भाषण सुन्‍नुहोस्‌
  • छलफल गर्दा सुन्‍नुहोस्‌
  • सम्मेलन र अधिवेशनमा सुन्‍नुहोस्‌
  • छोराछोरीलाई सुन्‍न तालिम दिनुहोस्‌
  • ध्यान दिएर सुन्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘ध्यान दिएर सुन्‍नुहोस्‌ र आफ्नो विद्या बढाउनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००१
  • ख्याल राख्दै सुन्‍ने एउटा कला
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be p. १३-p. १६ par. ५

‘कसरी सुन्‍नुहुन्छ, ध्यान दिनुहोस्‌’

कुनै कुरा सिक्नको लागि सुन्‍नु जरुरी छ। सुन्दा जीवन जोगिन पनि सक्छ। आफ्ना मानिसहरूलाई मिश्रको दासत्वबाट छुटाउने तयारी गर्दा यहोवा परमेश्‍वरले मोशालाई केही निर्देशन दिनुभयो। मोशाले इस्राएलका बूढाप्रधानहरूलाई बोलाएर इस्राएलीहरूका जेठा सन्तानहरूलाई स्वर्गदूतको हातबाट जोगाउन के गर्नुपर्छ, त्यो बताए। (प्रस्थ. १२:२१-२३) त्यसपछि ती बूढाप्रधानहरूले प्रत्येक घरानालाई यो जानकारी दिए। त्यसबेला मौखिक रूपमा यो जानकारी दिइएको थियो। त्यसैले मानिसहरूले ध्यान दिएर सुन्‍नुपर्थ्यो। यस्तो जानकारी पाउँदा तिनीहरूले के गरे? बाइबलले दिएको विवरण यस्तो छ: “परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे।” (प्रस्थ. १२:२८, ५०, ५१) फलस्वरूप इस्राएलीहरूले अचम्मलाग्दो तरिकामा छुटकारा पाए।

त्योभन्दा पनि अचम्मलाग्दो छुटकारा दिन यहोवा परमेश्‍वर अहिले हामीलाई तयार पार्दै हुनुहुन्छ। त्यसैकारण उहाँले दिने निर्देशनलाई हामीले एकदमै ध्यान दिएर सुन्‍नुपर्छ। यस्ता निर्देशन मण्डलीका सभाहरूमा दिइन्छ। के तपाईं यस्ता सभामा गएर भरपूर फाइदा उठाउँदै हुनुहुन्छ? तपाईं कसरी सुन्‍नुहुन्छ, जवाफ त्यसैमा भर पर्छ।

के तपाईंलाई सभामा दिइएको निर्देशनका मुख्य बुँदाहरू याद हुन्छ? दिइएको निर्देशन जीवनमा लागू गर्ने तरिकाहरू खोज्ने वा ती निर्देशन अरूसित बाँड्‌ने बानी बसाल्नुभएको छ?

मन लगाउनुहोस्‌

सभामा दिइएको निर्देशनबाट पूरापूर फाइदा उठाउन हामीले मन लगाउनै पर्छ। यसो गर्नु कत्तिको महत्त्वपूर्ण छ, यहूदाका राजा यहोशापातको शासनमा भएको एउटा घटनाले प्रस्ट पार्छ। यहोशापातले साहसी भई साँचो उपासनाको पक्ष लिए। “तिनले यहूदाका डाँडाहरूका पूजा-थानहरू र अशेरा-देवीहरू हटाइदिए” र यहूदाका मानिसहरूलाई यहोवा परमेश्‍वरको व्यवस्था सिकाउनू भनेर अफिसरहरू, लेवीहरू र पूजाहारीहरूलाई अह्राए। तैपनि “डाँडाहरूका पूजा-थानहरू” पूर्णतया हटाइएन। (२ इति. १७:६-९; २०:३३) झूटा देवीदेवताहरूको पूजा-अर्चना गर्ने र यहोवाको इच्छाविपरीत डाँडाहरूमा उहाँको उपासना गर्ने चलनले जरो गाडेको हुँदा डाँडाहरूबाट पूजा-थानहरू पूर्णतया नामेट गर्न सकिएन।

यहोशापातले जारी गरेको निर्देशन किन लामो समयसम्म पालना हुन सकेन? बाइबल विवरण अझै यसो भन्छ: “मानिसहरूले आफ्ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्नो मन लाएनन्‌।” मानौं तिनीहरू कानमा तेल हालेर बसेका थिए; तिनीहरूले सुन्‍न त सुने तर सुनेअनुसार गरेनन्‌। सायद बलिदान चढाउन यरूशलेमसम्म जानुभन्दा डाँडातिर उक्लनु नै तिनीहरूलाई सजिलो लाग्यो। कुरो जे होस्‌, तिनीहरूको विश्‍वासले तिनीहरूलाई सही काम गर्न जुरमुऱ्‍याउन सकेन।

फेरि सैतानको संसारमा फर्केर नजाने हो भने यहोवाले अहिले दिइरहेको निर्देशन पालन गर्न हामीले मन लगाउनै पर्छ। कसरी? एउटा महत्त्वपूर्ण तरिका हो, प्रार्थना। परमेश्‍वरले दिने निर्देशनप्रति धन्यवादी हुन सकौं भनेर हामीले प्रार्थना गर्नुपर्छ। (भज. २७:४; ९५:२) प्रार्थनाले हामीलाई त्रुटिपूर्ण भए पनि यहोवाका मानिसहरूलाई उहाँको शिक्षा सिकाउन प्रयास गर्ने दाजुभाइको कदर गर्न मदत गर्नेछ। अनि यसले हामीलाई सिकिरहेको नयाँ कुराहरूको लागि मात्र नभई पहिले सिकेका कुराहरूप्रति हाम्रो समझ अझै गहिरिएकोमा पनि यहोवालाई धन्यवाद दिन उत्प्रेरित गर्नेछ। तनमनले परमेश्‍वरको इच्छा पूरा गर्न चाहेकोले हामी यसरी प्रार्थना गर्छौं: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌ . . . तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भज. ८६:११.

एकाग्रचित्तको हुनुहोस्‌

एकाग्रचित्तको भएर सुन्‍न बाधा पुऱ्‍याउने थुप्रै कुरा छन्‌। हाम्रो मनमा तीनथुप्रो पीर होला। सभा भइरहेको ठाउँमा बाहिरबाट आएको आवाजले वा भित्र श्रोताकै आवाज र चलहलले हाम्रो ध्यान भङ्‌ग गर्न सक्छ। बिसन्चो हुँदा पनि ध्यान दिन गाह्रो हुन्छ। साना केटाकेटी भएका बुबाआमाको ध्यान अक्सर सजिलै भङ्‌ग हुन्छ। कार्यक्रममा एकाग्रचित्त भएर ध्यान दिन हामीलाई केले मदत गर्न सक्छ?

आँखाले हाम्रो ध्यानलाई वशमा राखेको हुन्छ। हामी जता हेर्छौं, हाम्रो ध्यान पनि उतै मोडिन्छ। त्यसैले वक्‍तालाई एक टक लगाएर हेर्नुभयो भने एकाग्रचित्त हुन सक्नुहुन्छ। वक्‍ताले बाइबल पद बताउँदा तपाईं पनि बाइबल पल्टाउनुहोस्‌ र वक्‍ताले उक्‍त पद पढ्‌दा तपाईं पनि बाइबलमा हेर्नुहोस्‌। वक्‍ताले तपाईंलाई थाह भएकै पद पढ्‌दा पनि आफ्नो बाइबल पल्टाएर हेर्नुहोस्‌। कसैले बोलेको वा सऱ्‍याकसुरुक गरेको सुन्‍नेबित्तिकै टाउको घुमाइहाल्ने सकसकी हटाउनुहोस्‌। जता-जता आँखा घुमायो, त्यतैतिर ध्यान जाने भएकोले वक्‍ताले भनिरहेको कुरा तपाईंले आधाआधी मात्र सुन्‍न सक्नुहुन्छ।

“मनमा ज्यादा फिक्री” भएकोले तपाईंलाई कार्यक्रममा ध्यान दिन गाह्रो भइरहेको छ भने ‘ध्यान दिन सक्नेगरि दिमाग र मन शान्त गर्न सकूँ’ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (भज. ९४:१९; फिलि. ४:६, ७) आवश्‍यक छ भने घरीघरी प्रार्थना गर्नुहोस्‌। (मत्ती ७:७, ८) मण्डलीका सभाहरू यहोवाले गरेका प्रबन्ध हुन्‌। तपाईंले ती सभाहरूबाट फाइदा उठाएको यहोवा चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—१ यूह. ५:१४, १५.

भाषण सुन्‍नुहोस्‌

भाषणमा मन परेको बुँदा तपाईं अहिले पनि सम्झन सक्नुहुन्छ होला। तर भाषण सुन्‍नु भनेको भाषणको रोचक बुँदा सम्झने मात्र होइन। भाषणलाई यात्रासित तुलना गर्न सकिन्छ। यात्रामा निस्कँदा दायाँबायाँ थुप्रै रोचक कुरा देख्छौं तर यात्राको मुख्य उद्देश्‍य गन्तव्यमा पुग्नु हो। त्यसैगरि भाषण दिंदा वक्‍ताले थुप्रै बुँदा भन्लान्‌ तर तिनको मुख्य उद्देश्‍य श्रोतालाई एउटा निश्‍चित बुँदा बुझ्न वा केही खास कदम चाल्न मदत गर्नु हो।

यहोशूले इस्राएलीहरूसामु दिएको भाषणलाई विचार गर्नुहोस्‌। उक्‍त भाषण यहोशू २४:१-१५ मा छ। यहोशूको मुख्य उद्देश्‍य यस्तो थियो: इस्राएलीहरूलाई वरपरका मूर्तिपूजक राष्ट्रबाट पूर्णतया अलग हुन र साँचो उपासनाको पक्षमा दृढ अडान लिन मदत गर्नु। किन? वरपर व्याप्त झूटो उपासनाले गर्दा यहोवा परमेश्‍वरसित इस्राएलीहरूको सम्बन्ध नै खतरामा पर्न सक्थ्यो। त्यसैले यहोशूले त्यस्तो भाषण दिनु जरुरी थियो। यहोशूले गरेको आग्रहको जवाफ इस्राएलीहरूले कसरी दिए? तिनीहरूले यसो भने: “परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न हामीले नपरोस्‌ . . . हामीहरू . . . परमप्रभुको सेवा गर्नेछौं।” तिनीहरूले त्यसै गरे।—यहो. २४:१६, १८, ३१.

भाषण सुन्दा भाषणको उद्देश्‍य बुझ्ने कोसिस गर्नुहोस्‌। त्यस उद्देश्‍यमा पुग्न वक्‍ताले बुँदाहरू आपसमा कसरी गाँस्दैछन्‌, विचार गर्नुहोस्‌। भाषण सुनेपछि तपाईंले के गर्नुपर्ने हो, आफैलाई सोध्नुहोस्‌।

छलफल गर्दा सुन्‍नुहोस्‌

प्रहरीधरहरा अध्ययन, मण्डली बाइबल अध्ययन र सेवा सभाका केही भाग प्रश्‍न-उत्तरको रूपमा छलफल गरिन्छ। ती छलफल बाइबलआधारित प्रकाशनबाट गरिन्छ।

यस्तो छलफल सुन्‍नु, केही हदसम्म कुराकानीमा भाग लिएझैं हो। त्यसबाट पूर्णतया फाइदा उठाउन ध्यान दिएर सुन्‍नुहोस्‌। छलफल कतातिर मोडिंदैछ, याद गर्नुहोस्‌। सञ्चालकले मूल-विषय र मुख्य बुँदाहरूलाई कसरी जोड दिन्छन्‌, त्यो पनि याद गर्नुहोस्‌। तिनले सोधेको प्रश्‍नको जवाफ मनमनै दिनुहोस्‌। अरूले व्याख्या गर्दा र विषयवस्तुको उपयोगिता बताउँदा सुन्‍नुहोस्‌। आफूलाई थाह भएको विषयलाई अरूको नजरबाट हेर्दा थप कुरा बुझ्न मदत मिल्छ। आफ्नो विश्‍वास व्यक्‍त गरेर अरूलाई पनि थप कुरा बुझ्न मदत गर्नुहोस्‌।—रोमी १:१२.

त्यस हप्ताको लागि पढ्‌नुपर्ने विषय पहिल्यै पढ्‌नुभयो भने छलफलमा ध्यान दिन सक्नुहुन्छ र अरूले टिप्पणी दिंदा पछ्याउन सक्नुहुन्छ। परिस्थितिले गर्दा पढ्‌नुपर्ने विषय राम्ररी पढ्‌न भ्याउनुभएन भने पनि केही मिनेट निकालेर सरसर्ती हेर्नुहोस्‌। यसो गर्नुभयो भने छलफलबाट तपाईंले निकै लाभ उठाउन सक्नुहुन्छ।

सम्मेलन र अधिवेशनमा सुन्‍नुहोस्‌

मण्डलीका सभाहरूमा भन्दा सम्मेलन तथा अधिवेशनहरूमा ध्यान खलबल्याउने कुरा धेरै हुन्छन्‌। त्यसकारण ध्यान दिएर सुन्‍नु चुनौती नै हुन्छ। तैपनि सम्मेलन र अधिवेशनमा ध्यान दिएर सुन्‍ने मदत कसरी पाउन सक्छौं?

एउटा महत्त्वपूर्ण कदम हो—राती मजाले सुत्नु। हरेक दिन कार्यक्रम सुरु हुनुभन्दा अघि त्यस दिनको मूल-विषय मनमा ठप्प बसाल्नुहोस्‌। हरेक भाषणको विषय हेर्नुहोस्‌ र त्यस भाषणमा के-के बुँदा प्रस्तुत गरिनेछन्‌, अनुमान लगाउनुहोस्‌। बाइबल पल्टाएर हेर्ने गर्नुहोस्‌। धेरैले मुख्य बुँदा टिपोट गर्दा पनि कार्यक्रममा ध्यान दिइरहन सकेको महसुस गरेका छन्‌। आफ्नो जीवन र प्रचारमा लागू गर्ने योजना बनाएको निर्देशन टिप्नुहोस्‌। सम्मेलनबाट हरेक दिन आउँदा-जाँदा सम्मेलनसम्बन्धी केही बुँदा छलफल गर्नुहोस्‌। यसो गर्दा जानकारी सम्झिरहन सक्नुहुन्छ।

छोराछोरीलाई सुन्‍न तालिम दिनुहोस्‌

ख्रीष्टियन आमाबाबुले छोराछोरीलाई र नाबालकहरूलाई समेत सभा, सम्मेलन तथा अधिवेशनहरूमा लगेर ‘उद्धार गर्ने’ “बुद्धि” प्राप्त गर्न सघाउन सक्छन्‌। (२ तिमो. ३:१५) केटाकेटीको स्वभाव र ध्यान दिन सक्ने क्षमता फरक-फरक हुने भएकोले तिनीहरूलाई ध्यान दिएर सुन्‍न सक्ने बनाउन आमाबाबुलाई समझशक्‍ति चाहिन्छ। निम्न सुझावहरूबाट तपाईं मदत पाउन सक्नुहुन्छ।

आफ्ना साना केटाकेटीलाई शान्त भएर बस्न र हाम्रा प्रकाशन पढ्‌न वा त्यसमा दिइएका चित्रहरू हेर्न घरमै सिकाउनुहोस्‌। सभामा साना केटाकेटीलाई खेलौना नदिनुहोस्‌। पुरातन इस्राएलमा जस्तै आज पनि साना केटाकेटी सभामा ‘सुन्‍न र सिक्न’ उपस्थित हुन्छन्‌। (व्यव. ३१:१२) उपयुक्‍त छ भने केही आमाबाबुले साना छोराछोरीलाई पनि छलफल गरिरहेको प्रकाशन दिन्छन्‌। छोराछोरी अलि ठूलो भएपछि श्रोताहरूले भाग लिन सक्ने कार्यक्रममा सहभागी हुन सक्नेगरि तयारी गर्न तिनीहरूलाई मदत गर्नुहोस्‌।

यहोवाको कुरा सुन्‍नु र उहाँको आज्ञा पालना गर्नुबीच नजिकको सम्बन्ध छ भनी बाइबलले देखाउँछ। यो कुरा मोशाले इस्राएलीहरूलाई भनेका यी शब्दबाट स्पष्ट हुन्छ: “हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।” तिनले अझै यसो भने: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष्‌ र सराप राखेको छु। यसकारण जीवननै रोज . . . परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।” (व्यव. ५:१; ३०:१९, २०) यहोवा परमेश्‍वरको अनुग्रह र अनन्त जीवनको आशिष्‌ पाउन उहाँले दिने निर्देशन सुन्‍नै पर्छ र त्यसलाई आफ्नो जीवनमा आज्ञाकारी भएर लागू गर्नै पर्छ। त्यसैले येशूको यो सल्लाहलाई ध्यान दिनु एकदमै महत्त्वपूर्ण छ: “तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।”—लूका ८:१८.

ध्यान दिएर सुन्‍ने केही तरिका

  • कार्यक्रममा ध्यान दिन सकूँ भनेर प्रार्थना गर्नुहोस्‌

  • वक्‍तालाई एक टक लगाएर हेर्नुहोस्‌

  • वक्‍ताले बाइबल पद बताउँदा आफ्नो बाइबल पल्टाएर हेर्नुहोस्‌

  • भाषणको उद्देश्‍य बुझ्ने कोसिस गर्नुहोस्‌

  • सोधेको प्रश्‍नको जवाफ मनमनै दिनुहोस्‌; अरूले दिएको टिप्पणी ध्यान दिएर सुन्‍नुहोस्‌

  • टिपोट लिनुहोस्‌

  • लागू गर्न चाहेको बुँदा टिप्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने