ध्यान दिएर सुन्नुहोस्
१ ध्यान दिएर सुन्न अनुशासन चाहिन्छ। सुनेका कुराहरूबाट सिक्ने अनि लाभ उठाउने चाहना राख्नु पनि उत्तिकै आवश्यक छ। तसर्थ, येशू ख्रीष्टले “होशियार रहो, तिमीहरू कसरी सुन्छौ” भन्नुहुँदा ध्यान दिएर सुन्नु पर्ने आवश्यकतालाई जोड दिनुभयो।—लूका ८:१८.
२ यो कुरा विशेष गरी मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुँदा लागू हुन्छ। यी हामीले ध्यान दिएर सुन्नै पर्ने अवसरहरू हुन्। (हिब्रू २:१) यस्ता मसीही जमघटहरूमा ध्यान दिएर सुन्न मदत गर्ने केही बुँदाहरू तल दिइएका छन्।
◼ सभाहरूको मूल्यांकन गर्नुहोस्। “विश्वासी र बुद्धिमान भण्डारे” द्वारा ‘परमप्रभुबाट सिकाइएका हुने’ प्रमुख स्रोत नै सभाहरू हुन्।—यशै. ५४:१३; लूका १२:४२.
◼ पूर्व तयारी गर्नुहोस्। छलफल हुने विषयवस्तु पुनरावृत्ति गर्नुहोस् र बाइबल तथा अध्ययन हुने प्रकाशनको व्यक्तिगत प्रति ल्याउन नबिर्सनुहोस्।
◼ सभाहरूको दौडान ध्यान दिएर सुन्न विशेष प्रयत्न गर्नुहोस्। आफूसँगै बसेका व्यक्तिसँग कुरा गर्ने र अरूले के गरिरहेका छन् भनेर हेर्ने गर्नुहुँदैन। सभापछि आफूले गर्ने काम वा अन्य व्यक्तिगत कुराहरू सोचेर आफ्नो ध्यान खलल नपार्नुहोस्।
◼ प्रस्तुत गरिएका विषयमाथि विश्लेषण गर्नुहोस्। आफैलाई यी प्रश्नहरु सोध्नुहोस्: ‘यो मलाई कसरी लागू हुन्छ? म कहिले यसलाई प्रयोगमा ल्याउँदैछु?’
◼ मुख्य बुँदा तथा धर्मशास्त्रीय पदहरूको छोटो टिपोट बनाउनुहोस्। यसले छलफल भइरहेको विषयवस्तुमाथि ध्यानकेन्द्रित गर्न मदत दिनुका साथै पछि प्रयोग गर्नको लागि मुख्य बुँदाहरू सम्झन मदत दिन्छ।
३ आफ्ना छोराछोरीलाई ध्यान दिएर सुन्न सिकाउनुहोस्: छोराछोरीहरूलाई आध्यात्मिक निर्देशन चाहिन्छ। (व्यव. ३१:१२) पुरातन समयमा परमेश्वरका जनहरूमाझ व्यवस्था पढेर सुनाइँदा “सुनेका कुरा बुझ्नसक्ने सबै” व्यक्तिहरूले ध्यान दिएर सुन्नुपर्थ्यो। (नहे. ८:१-३) आमाबाबु सभामा उपस्थित भएर एकाग्रचित्त भई ध्यान दिएर सुनेको खण्डमा छोराछोरीले पनि त्यसै गर्नसक्छन्। बच्चाहरूलाई सभाहरूमा भुल्न दिनको लागि खेलौनाहरू तथा चित्र रंगाउने किताबहरू ल्याउनु बुद्धिमानी होइन। अनावश्यक तवरमा शौचालय जानाले पनि तिनीहरूको ध्यान भंग हुन्छ। “बालकको हृदयभित्र मूर्खता गाडिएको” हुनाले आमाबाबुले आफ्ना छोराछोरीलाई सभाहरूमा शान्तपूर्वक बस्न तथा ध्यान दिएर सुन्न लगाउन सक्दो प्रयास गर्नुपर्छ।—हितो. २२:१५.
४ ध्यान दिई सुनेर हामी साँच्चै बुद्धिमान् छौं र ‘आफ्नो विद्या बढ़ाउन’ चाहन्छौं भनी साबित गरिरहेका हुन्छौं।—हितो. १:५.