‘ध्यान दिएर सुन्नुहोस् र आफ्नो विद्या बढाउनुहोस्’
१ हितोपदेशको पुस्तकले बुद्धिबारे यसो भन्छ: “सुन, म राम्ररी बताउनेछु, तिमीहरूले यसबाट सफा कुरा सुन्नेछौ। मेरो बल प्रभावशाली छ, मेरो योग्यता पनि छ, समझ-शक्ति र शक्ति मेरै हुन्। . . . मेरो कुरा सुन, अर्ती सुन र बुद्धिमान हुँदै जाऊ, र त्यसलाई इन्कार नगर। त्यो मानिस सुखी हो जो मेरा चालमा हिंड़छ, किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ।” (हितो. ८:६, १४, ३२, ३५) यी शब्दहरूले निर्देशनको महत्त्वलाई राम्ररी व्याख्या गर्छ र “परमेश्वरको वचनका शिक्षकहरू” विषयक अधिवेशनमा यस्तै निर्देशनहरू पाउनेछौं।
२ विश्वव्यापी भ्रातृत्व आवश्यक छ भन्ने कुरा महसुस गरिएको छ र यसैअनुरूप अधिवेशनका कार्यक्रमहरू तयार पारिएका छन्। अधिवेशनमा प्रस्तुत गरिने आध्यात्मिक निर्देशन तथा व्यावहारिक सल्लाहहरू व्यवहारमा उतारेको खण्डमा त्यसले हामीलाई खुसी रहन, यहोवासँग राम्रो सम्बन्ध कायम राख्न र अनन्त जीवनको मार्गमा हिंडिरहन मदत गर्छ। निस्सन्देह, ‘ध्यानसित सुन्ने र आफ्नो विद्या बढाउने’ हामीसित जायज कारणहरू छन्।—हितो. १:५.
३ कार्यक्रमअघि: प्रस्तुत गरिने कार्यक्रमबाट पूरापूर लाभ उठाउन कार्यक्रम सुरु हुनुअघि नै सही मनोभावसहित आ-आफ्नो सिटमा बसिसकेको हुनुपर्छ। यसो गर्न व्यक्तिगत रूपमा आफै सुव्यवस्थित हुनुपर्छ। सबैभन्दा मुख्य कुरा कामकुरा सबेरै थाल्नु आवश्यक छ। बेलुकी छिटो सुतेर बिहान सबैरे उठ्नुहोस्। यसो गर्दा तपाईंको साथमा जाने सबैलाई छिटो तयार हुन र नास्ता गर्न पर्याप्त समय हुनेछ। अधिवेशनस्थलमा अलि चाँडै पुग्नुहोस्। यसो गर्दा तपाईंले सजिलै सिट पाउन सक्नुहुनेछ र कार्यक्रम सुरु हुनुअघि नै अन्य आवश्यक कुराहरूको बन्दोबस्त मिलाउन सक्नुहुनेछ। प्रत्येक दिन अधिवेशनको मूलद्वार बिहान ८:०० बजे खोलिनेछ र कार्यक्रम बिहान ९:३० बजे सुरु हुनेछ।
४ भेला हुनुको मुख्य उद्देश्य “समुदायहरूमा” यहोवाको प्रशंसा गर्नु भएकोले हरेक कार्यक्रमको सुरुआत परमेश्वरको प्रशंसा हुने ढंगमा गरिनुपर्छ। (भज. २६:१२) त्यसकारण, सुरुको गीत गाउन घोषणा गरिनु-अघि नै सबैलाई आ-आफ्नो सिटमा बस्न प्रोत्साहित गरिन्छ। यो धर्मशास्त्रीय सल्लाहअनुरूपै छ: “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू।” (१ कोरि. १४:४०) हामी प्रत्येकको लागि यसले के अर्थ राख्छ? धुन बज्न सुरु हुँदा अध्यक्ष मञ्चमा आएर बसेको देख्नुभएपछि तत्काल आ-आफ्नो सिटमा बसिहाल्नुहोस्। यसो गर्दा प्रत्येक कार्यक्रम सुरु हुनअघि पूरा तनमनले गीत गाउँदै यहोवाको प्रंशसा गर्नसक्ने छौं।—भज. १४९:१.
५ कार्यक्रमको दौडान: एज्राले यहोवाको “व्यवस्था अध्ययन गर्न र पालन गर्न . . . मन” दिए। (एज्रा ७:१०) यहोवाले प्रदान गर्नुहुने निर्देशन प्राप्त गर्न हामी आफ्नो मनलाई कसरी तयार पार्नसक्छौं? कार्यक्रम पर्चीमा सूचीबद्ध गरिएका विभिन्न शीर्षकहरू हेर्नुहुँदा आफैलाई सोध्नुहोस्, ‘यस कार्यक्रममार्फत यहोवा मलाई के भन्दै हुनुहुन्छ? म र मेरो परिवारको फाइदाको लागि यी जानकारीहरू कसरी प्रयोगमा ल्याउनसक्छु?’ (यशै. ३०:२१; एफि. ५:१७) अधिवेशन अवधिभरि नै यी प्रश्नहरू पटकपटक सोधिरहनुहोस्। आफूले प्रयोगमा ल्याउन चाहेका बुँदाहरूको टिपोट लिनुहोस्। प्रत्येक दिनको कार्यक्रमको अन्तमा आफूले टिपोट गरेका यी बुँदाहरूबारे विचार गर्न समय निकाल्नुहोस्। यसले तपाईंलाई ती जानकारीहरू सम्झन र प्रयोगमा ल्याउन मदत गर्नेछ।
६ एकाग्रचित्त भई धेरै घण्टा सुनिरहनु गाह्रो हुनसक्छ। मनलाई यताउता डुल्न नदिन हामीलाई केले मदत गर्नसक्छ? आफ्नो आँखाको शक्तिलाई प्रयोग गर्नुहोस्। धेरै हदसम्म, हामीले आफ्नो आँखालाई जुन कुरामा केन्द्रित गर्छौं त्यही कुरामा हाम्रो ध्यान पनि केन्द्रित हुन्छ। (मत्ती ६:२२) त्यसकारण, हल्ला हुने बित्तिकै वा कोही चलमलाएको देख्नसाथै घरिघरि त्यतैतिर टाउको नघुमाउनुहोस्। आफ्नो आँखालाई वक्तामा केन्द्रित गर्नुहोस्। वक्ताले शास्त्रपद पढ्दा तपाईं आफैले पनि बाइबल पल्टाएर हेर्नुहोस् र उक्त पदबारे छलफल भएसम्म बाइबलको त्यस अंशलाई खुल्लै राख्नुहोस्।
७ मसीही प्रेमले हामीलाई कार्यक्रम सञ्चालन भइरहेको बेला अरूको शान्ति भंग हुने कार्यहरू गर्न देखि रोक्छ। (१ कोरि. १३:५) यो “चुप्प लाग्ने” अनि सुन्ने समय हो। (उप. ३:७) त्यसैकारण, अनावश्यक गफ गर्ने वा चल्ने नगर्नुहोस्। पहिल्यै सोचविचार गरेर अनावश्यक रूपमा शौचालय नजानुहोस्। कुनै गम्भीर स्वास्थ्य समस्या छैन भने निर्धारित समयअघि केही पिउने वा खाने नगर्नुहोस्। भिडियो क्यामेरा, सेलुलर फोन, पेजर र क्यामेरा ल्याउनेहरूले अरूको ध्यान भंग हुने किसिमले उक्त उपकरणहरू चलाउनु हुँदैन। आमाबाबुले आफ्ना किशोरकिशोरी छोराछोरीलगायत सम्पूर्ण परिवार सँगै बस्ने प्रबन्ध मिलाउनुपर्छ ताकि तिनीहरूले आफ्ना छोराछोरीको राम्ररी रेखदेख गर्न सकोस्।—हितो. २९:१५.
८ गत वर्ष, दशकौंदेखि अधिवेशनहरूमा उपस्थित हुँदै आइरहेका एक जना प्राचीनले यस्तो टिप्पणी गरे: “मेरो विचारमा यो अधिवेशन अर्को एउटा कारणले गर्दा पनि उत्कृष्ट छ। स-साना केटाकेटीलगायत प्रायः सबै श्रोताहरूले टिपोट लिइरहेका थिए। यस्तो देख्दा मलाई असाध्यै रमाइलो लाग्यो। वक्ताले बाइबल खोल्न आग्रह गर्दा सबैले बाइबल खोले।” यसरी ध्यानमग्न भई सुन्नु साँच्चै प्रशंसनीय कुरा हो। यसले हामी र अधिवेशनमा उपस्थित हाम्रा सह-प्रतिनिधिहरूलाई फाइदा पुऱ्याउने मात्र होइन तर हाम्रा महान् शिक्षक, यहोवाको महिमा गर्छ।—यशै. ३०:२०.