प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ५/१५ पृ. १०-१५
  • पढ्‌नमा समय लगाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पढ्‌नमा समय लगाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “जसले . . . [ठूलो स्वरले, NW] . . . पढ़छ . . . धन्यका हुन्‌”
  • सोच्ने प्रयास र मनन गर्नुहोस्‌
  • पुराना बुँदाहरूसित नयाँ बुदाँहरू मिलान गर्नुहोस्‌
  • धर्मशास्त्रीय घटनाहरूबारे कल्पना गर्नुहोस्‌
  • बहुमूल्य पाठहरू सिक्ने
  • परिवारको रूपमा बाइबल पढेर लाभ उठाउनुहोस्‌
  • पढाइ र मसीही सेवकाई
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरको वचन पढेर प्रसन्‍न हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ५/१५ पृ. १०-१५

पढ्‌नमा समय लगाउनुहोस्‌

“म नआउञ्जेल धर्मशास्त्र पढ़ाइ, अर्ती र शिक्षामा ध्यान देऊ।” —१ तिमोथी ४:१३.

१. हामीले बाइबल पढेर कसरी लाभ उठाउनसक्छौं?

यहोवा परमेश्‍वरले मानिसजातिलाई लेखपढ गर्न सिक्ने अद्‌भुत क्षमता दिनुभएको छ। हामी सुनिर्देशित हुन सकोस्‌ भनी उहाँले आफ्नो वचन बाइबल पनि दिनुभएको छ। (यशैया ३०:२०, २१) भनौं भने, यसका पृष्ठहरूद्वारा हामी अब्राहाम, इसहाक र याकूबजस्ता ईश्‍वरभीरु कुलपिताहरूसित “हिंड्‌न” सक्छौं। सारा, रिबेका र वफादार मोआबी रूथजस्ता ईश्‍वरभीरु स्त्रीहरूलाई “देख्न” सक्छौं। हो, हामीले येशू ख्रीष्टको डाँडाको उपदेश पनि “सुन्‍न” सक्छौं। हामी असल पाठकहरू भयौं भने, पवित्र धर्मशास्त्रका माथि उल्लिखित सबै आनन्द र महान्‌ निर्देशनहरू पाउनसक्छौं।

२. येशू अनि उहाँका प्रेरितहरूले राम्ररी पढ्‌नसक्थे भनेर कुन कुराले संकेत गर्छ?

२ निस्सन्देह, सिद्ध मानिस येशू ख्रीष्टको पढ्‌ने क्षमता उत्कृष्ट थियो र उहाँ निश्‍चय पनि हिब्रू धर्मशास्त्रमा पोख्त हुनुहुन्थ्यो। अतः दियाबलले प्रलोभित गर्दा उहाँले बारम्बार हिब्रू धर्मशास्त्रलाई उद्धरित गर्नुहुँदै यसो भन्‍नुभयो: “यस्तो लेखिएको छ।” (मत्ती ४:४, ७, १०) नासरतको सभाघरमा उहाँले एक चोटि जनसाधारणसमक्ष यशैयाको भविष्यवाणी पढ्‌नुभयो र त्यसका केही अंश आफूमा पूरा भएको देखाउनुभयो। (लूका ४:१६-२१) येशूका प्रेरित चेलाहरू कस्ता थिए नि? तिनीहरूले आफ्ना लेखोटहरूमा प्रायजसो हिब्रू धर्मशास्त्रलाई उद्धृत गरेका छन्‌। पत्रुस र यूहन्‍नाले हिब्रू स्कूलहरूबाट उच्च शिक्षा हासिल नगरेकोले यहूदी शासकहरूले तिनीहरूलाई अशिक्षित र साधारण मानिसहरू ठान्थे। तर तिनीहरू लेखपढ गर्नसक्थे भनी ईश्‍वरप्रेरित पत्रहरूले स्पष्टतः प्रमाणित गर्छ। (प्रेरित ४:१३) तर के पढ्‌न सक्षम हुनु साँच्चै महत्त्वपूर्ण छ?

“जसले . . . [ठूलो स्वरले, NW] . . . पढ़छ . . . धन्यका हुन्‌”

३. धर्मशास्त्र र मसीही प्रकाशनहरू पढ्‌नु किन अत्यावश्‍यक छ?

३ धर्मशास्त्रबाट सही ज्ञान लिएर त्यसअनुरूप गर्नुको परिणाम अनन्त जीवन हुनसक्छ। (यूहन्‍ना १७:३) अतः यहोवाका साक्षीहरूले पवित्र धर्मशास्त्र तथा परमेश्‍वरले अभिषिक्‍त मसीहीहरूका विश्‍वासी र बुद्धिमान दास मार्फत प्रबन्ध गर्नुभएको मसीही प्रकाशनहरू पढ्‌नु र अध्ययन गर्नु अत्यावश्‍यक छ भनेर बुझेका छन्‌। (मत्ती २४:४५-४७) यद्यपि, विशेष ढंगमा तयार पारिएको वाच टावर प्रकाशनहरूद्वारा हजारौं व्यक्‍तिहरूले पढ्‌न सिकेका छन्‌ र परमेश्‍वरको वचनको जीवनदायी ज्ञान प्राप्त गरेका छन्‌।

४. (क) परमेश्‍वरको वचन पढ्‌दा, अध्ययन गर्दा र त्यसलाई व्यवहारमा उतारेर किन आनन्दित हुनसक्छौं? (ख) पढ्‌ने सन्दर्भमा पावलले तिमोथीलाई के भने?

४ परमेश्‍वरको वचन पढेर, अध्ययन गरेर अनि त्यसलाई व्यवहारमा उतार्दा आनन्द प्राप्त हुन्छ। किनभने त्यसो गर्दा हामीले परमेश्‍वरलाई आनन्दित तुल्याउँछौं र उहाँको आदर गर्छौं। अनि उहाँबाट आशिष्‌ पाउनुका साथै आनन्दित हुन्छौं। यहोवा आफ्ना सेवकहरू आनन्दित भएको चाहनुहुन्छ। यसकारण पुरातन इस्राएलका मानिहरूसमक्ष व्यवस्था पढ्‌न उहाँले पूजाहारीहरूलाई आज्ञा दिनुभयो। (व्यवस्था ३१:९-१२) प्रतिलिपिक एज्रा तथा अन्य पुरुषहरूले यरूशलेममा भेला भएका सबै मानिसहरूसमक्ष व्यवस्था पढेर त्यसको अर्थ खुलाइ दिंदा तिनीहरू “धूमधामसित उत्सव मनाउन” गए। (नहेम्याह ८:६-८, १२) पछि मसीही प्रेरित पावलले आफ्नो सहकर्मी तिमोथीलाई यसो भने: “म नआउञ्जेल धर्मशास्त्र पढ़ाइ, अर्ती, र शिक्षामा ध्यान देऊ।” (१ तिमोथी ४:१३) अर्को अनुवादले यसो भन्छ: “जनसाधारणअघि धर्मशास्त्र पढ्‌न समय लगाओ।”—नयाँ अन्तरराष्ट्रिय संस्करण (अंग्रेजी)।

५. प्रकाश १:३ मा आनन्दलाई पढाइसित कसरी जोडिएको छ?

५ परमेश्‍वरको वचन पढ्‌नु र लागू गर्नुमा हाम्रो आनन्द निर्भर छ भनेर प्रकाश १:३ मा स्पष्ट पारिएको छ। त्यहाँ यसो भनिएको छ: “जसले यो अगमवाणीका वचनहरू [ठूलो स्वरले, NW] पढ़छ, र जस जसले सुन्छन्‌, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्‌, तिनीहरू धन्यका हुन्‌, किनभने समय नजीकै छ।” हो, हामीले प्रकाशको पुस्तकलगायत सम्पूर्ण धर्मशास्त्रका भविष्यसूचक शब्दहरू ठूलो स्वरले पढ्‌नु र सुन्‍नु आवश्‍यक छ। साँच्चै आनन्दित व्यक्‍ति “परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहने, र दिनरात उहाँकै व्यवस्थामा ध्यान दिने हुन्छ।” यसको नतिजा? “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:१-३) तसर्थ, यहोवाको संगठनले हामी प्रत्येकलाई हाम्रै भलाइको निम्ति उहाँको वचन व्यक्‍तिगत, परिवारको रूपमा तथा साथीहरूसित पढ्‌न र अध्ययन गर्न आग्रह गर्छ।

सोच्ने प्रयास र मनन गर्नुहोस्‌

६. यहोशूलाई के पढ्‌ने निर्देशन दिइयो र यो कसरी लाभदायी साबित भयो?

६ परमेश्‍वरको वचन तथा मसीही प्रकाशनहरूको पढाइबाट तपाईंले कसरी अत्यधिक मात्रामा लाभ उठाउन सक्नुहुन्छ? पुरातन इस्राएलका ईश्‍वरभीरु नेता यहोशूले जस्तै गर्नु लाभदायी होला। तिनलाई यस्तो आज्ञा दिइएको थियो: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू [मनमनै पढ्‌नु, NW] अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।” (यहोशू १:८) ‘मनमनै पढ्‌नुको’ अर्थ सानो स्वरले आफै पढ्‌नु हो। यसले स्मरण गर्न सहयोग पुऱ्‍याउँछ किनभने यसो गर्दा विषयवस्तु मनमा राख्न मदत मिल्छ। यहोशूले परमेश्‍वरको व्यवस्था “दिन-रात” वा नियमित तवरमा पढ्‌नुपर्थ्यो। ईश्‍वरप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सफल र बुद्धिमानीपूर्वक चल्ने तरिका त्यही थियो। परमेश्‍वरको वचन नियमित तवरमा पढ्‌दा तपाईंले पनि त्यस्तै मदत पाउन सक्नुहुन्छ।

७. हामीले परमेश्‍वरको वचन हतारमा पढ्‌ने विचार किन गर्नु हुँदैन?

७ परमेश्‍वरको वचन हतारमा पढ्‌ने विचार नगर्नुहोस्‌। तपाईंले बाइबल वा केही मसीही प्रकाशनहरू पढ्‌न समय तोक्नुभएको छ भने त्यो पूरै समय लगाएर पढ्‌नुहोस्‌। कुनै उल्लेखनीय बुँदाहरू सम्झने उद्देश्‍य राखेर अध्ययन गर्नुभएको छ भने यो विशेषगरि महत्त्वपूर्ण हुन्छ। तपाईंले पढ्‌दाखेरि सोच्ने प्रयास गर्नुहोस्‌। बाइबल लेखकहरूका कथनहरू विश्‍लेषण गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘तिनले के भन्‍न खोजेका हुन्‌? म यो जानकारी कसरी लागू गर्नसक्छु?’

८. धर्मशास्त्र पढ्‌दा मनन गर्नु किन लाभदायी हो?

८ पवित्र धर्मशास्त्र पढ्‌नुहुँदा मनन गर्ने समय निकाल्नुहोस्‌। यसो गर्दा तपाईंले बाइबलका विवरणहरू सम्झन र धर्मशास्त्रीय सिद्धान्तहरू लागू गर्न मदत पाउनुहुनेछ। परमेश्‍वरको वचनमा मनन गरेर मुख्य बुँदाहरू सम्झनुभयो भने तपाईंले निष्कपट जिज्ञासुहरूलाई हृदयदेखि सही जवाफ दिन सक्नुहुनेछ र पछि पछुतो गर्नुपर्ने छैन। ईश्‍वरप्रेरित हितोपदेशले यसो भन्छ: “जवाफ दिनअघि धर्मीहरू सोच्दछन्‌।”—हितोपदेश १५:२८.

पुराना बुँदाहरूसित नयाँ बुदाँहरू मिलान गर्नुहोस्‌

९, १०. तपाईंले बाइबल पढ्‌दा धर्मशास्त्रीय नयाँ बुँदाहरूलाई सिकिसकेका बुँदाहरूसित मिलान गरेर कसरी उन्‍नति गर्न सक्नुहुन्छ?

९ कुनै समयमा आफूलाई परमेश्‍वर, उहाँको वचन अनि उद्देश्‍यहरूबारे ज्यादै कम मात्र थाह थियो भनेर अधिकांश मसीहीहरूले स्वीकार्नैपर्छ। तथापि, आज यी मसीही सेवकहरूले नै सृष्टिदेखि लिएर पापमा मानिसको पतन, ख्रीष्टको बलिदानको उद्देश्‍य, यस दुष्ट रीतिरिवाजको विनाश र पार्थिव प्रमोदवनमा आज्ञाकारी मानवजातिले कसरी अनन्त जीवनको आशिष्‌ पाउनेछ भनेर देखाउनसक्छन्‌। यो हुनुको कारण मुख्यतया यहोवाका यी सेवकहरूले बाइबल अनि मसीही प्रकाशनहरू अध्ययन गरेर “परमेश्‍वरको ज्ञान” लिएकोले हो। (हितोपदेश २:१-५) तिनीहरूले पुराना बुँदाहरूलाई सिकेका नयाँ बुँदाहरूसित क्रमबद्ध रूपमा मिलान गरेका छन्‌।

१० तपाईंले बुझिसक्नुभएको धर्मशास्त्रीय बुँदाहरूलाई नयाँ बुँदाहरूसित मिलान गर्नु लाभदायी तथा इनामदायी हुन्छ। (यशैया ४८:१७) बाइबलका नियम, सिद्धान्त वा कुनै अस्पष्ट धारणाहरू प्रस्तुत गरिए तापनि तपाईंलाई थाह भएको बुँदाहरूसित त्यो मिलान गर्नुहोस्‌। “पक्का कुराहरूको नमूना[बारे]” सिकिसक्नुभएका कुराहरूसित नविनतम जानकारीहरू मिलाउनुहोस्‌। (२ तिमोथी १:१३) परमेश्‍वरसित सम्बन्ध सुदृढ पार्नसक्ने, तपाईंको मसीही व्यक्‍तित्वमा उन्‍नति गर्नसक्ने वा अरूसित बाइबल सत्यहरू बाँड्‌न सहयोग पुऱ्‍याउनसक्ने मदतकारी जानकारीहरू खोज्नुहोस्‌।

११. आचरणबारे बाइबलमा पढ्‌दा तपाईंले के गर्नु लाभदायी हुनेछ? उदाहरण दिनुहोस्‌।

११ आचरणबारे बाइबलमा कुनै कुरा पढ्‌दै हुनुहुन्छ भने यसमा समाविष्ट सिद्धान्तलाई बुझ्ने प्रयास गर्नुहोस्‌। त्यसमा मनन गर्नुहोस्‌ र त्यस्तै प्रकारको परिस्थितिमा तपाईंले के गर्नुहुनेछ निर्णय गर्नुहोस्‌। याकूबका छोरा यूसुफले पोतीफरकी पत्नीसित अनैतिक यौन सम्बन्ध राख्न बारम्बार अस्वीकार गर्दै यसो भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:७-९) तपाईंले यस हृदयस्पर्शी विवरणमा एउटा आधारभूत सिद्धान्त पाउनुहुन्छ। त्यो हो, यौन अनैतिकता परमेश्‍वर विरुद्ध पाप हो। तपाईंले यो सिद्धान्तलाई परमेश्‍वरको वचनका अन्य कथनहरूसित मनमनै मिलान गर्न सक्नुहुन्छ र यस्तै गलत कार्य गर्न प्रलोभित हुनुहुँदा त्यसलाई सम्झेर लाभ उठाउन सक्नुहुनेछ।—१ कोरिन्थी ६:९-११.

धर्मशास्त्रीय घटनाहरूबारे कल्पना गर्नुहोस्‌

१२. बाइबलका विवरणहरू पढ्‌दै जानुहुँदा त्यसलाई किन कल्पना गर्ने?

१२ तपाईंले पढ्‌दाखेरि बुँदाहरू मनमा राख्न घटनाबारे कल्पना गर्नुहोस्‌। मनमनै त्यस भूभाग, घर तथा मानिसहरूबारे कल्पना गर्नुहोस्‌। तिनीहरूको स्वर सुन्‍नुहोस्‌। चुलोमा पकाउँदै गरेको रोटीको मीठो बास्ना लिनुहोस्‌। ती दृश्‍यहरूलाई पुनर्जीवित गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंको पढाइ रोमाञ्चकारी हुनेछ किनभने तपाईंले पुरातन शहर देख्नु होला, अग्लो पहाड चढ्‌नु होला, अद्‌भुत सृष्टिमा आश्‍चर्यचकित हुनु होला वा ठूलो विश्‍वास राखेका स्त्री तथा पुरुषहरूसित भेट्‌नु होला।

१३. न्यायकर्त्ता ७:१९-२२ मा लिपिबद्ध विवरणलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१३ मानौं, तपाईं न्यायकर्त्ता ७:१९-२२ पढ्‌दै हुनुहुन्छ। त्यहाँ भइरहेको घटनाबारे यसो कल्पना गर्नुहोस्‌। न्यायकर्ता गिदोन र तीन सय साहसी इस्राएली पुरुषहरू मिद्यानी छाउनीको छेउमा छन्‌। “राती दोस्रो पहरा शुरू” हुँदा रातको लगभग दश बजेको छ। मिद्यानी पहरा चौकीहरूलाई भर्खरै मात्र खटाइएका छन्‌ र इस्राएलका शत्रुहरू राती मस्त निदाइरहेका छन्‌। हेर्नुहोस्‌! गिदोन र तिनका मानिसहरू तुरहीले सुसज्जित छन्‌। तिनीहरूले देब्रे हातमा गाग्रो र त्यसभित्र राँको बोकेका छन्‌। अकस्मात्‌ प्रत्येक दलमा एक सय जना मानिस भएका तीनै दलले आ-आफ्नो तुरही फुक्छन्‌, गाग्रो फुटाउँछन्‌ र राँको माथि उठाउँदै कराउँछन्‌: “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” छाउनीमा हेर्नुहोस्‌ त। मिद्यानीहरू कराउँदै भागिरहेका छन्‌! तीन सयले तुरही फुक्दै गर्दा परमेश्‍वरले मिद्यानीहरूलाई एकअर्का विरुद्ध उठा- उनुहुन्छ। मिद्यानीहरू भागे र यहोवाले इस्राएललाई विजयी गराउनुभएको छ।

बहुमूल्य पाठहरू सिक्ने

१४. छोराछोरीलाई नम्र हुनुपर्ने आवश्‍यकताबारे सिकाउन न्यायकर्त्ता अध्याय ९ कसरी प्रयोग गर्न सकिन्छ?

१४ हामीले परमेश्‍वरको वचन पढेर धेरै पाठ सिक्नसक्छौं। उदारहणका लागि, तपाईं आफ्ना छोराछोरीलाई नम्र हुनुपर्ने आवश्‍यकताबारे सिकाउन चाहनुहुन्छ होला। गिदोनको छोरा योतामको भविष्यवाणीमा भनिएको कुरा कल्पना गर्न र त्यसको मुख्य बुँदा बुझ्न सजिलो हुनुपर्ने हो। न्यायकर्त्ता ९:८ देखि पढ्‌न थाल्नुहोस्‌। योतामले यसो भने: “एकपल्ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए।” भद्राक्ष, नेभारा र अंगूरको रूखले शासन गर्न अस्वीकार गरे। तर तुच्छ काँढाको झाडी शासक हुन हर्षित भयो। आफ्ना छोराछोरीसित ठूलो स्वरले यो विवरण पढेपछि तपाईंले ती बहुमूल्य बिरुवाहरूले आफ्ना सँगी इस्राएलीहरूमाथि शासन गर्न अस्वीकार गरेका योग्य व्यक्‍तिहरूको प्रतिनिधित्व गर्छ भनेर बुझाउन सक्नुहुन्छ। दाउराको निम्ति मात्रै उपयोगी काँढाको झाडीले अरूमाथि प्रभुत्व जमाउन चाहने हत्यारा र घमण्डी अबीमेलेकको राजत्वलाई प्रतिनिधित्व गऱ्‍यो। तर योतामको भविष्यवाणीअनुरूप नै तिनको मृत्यु भयो। (न्यायकर्त्ता, अध्याय ९) कुन चाहिं बालक हुर्केर काँढाको झाडीजस्तो हुन चाहला र?

१५. रूथको पुस्तकमा वफादार हुनुको महत्त्वलाई कसरी प्रकाश पारेको छ?

१५ बाइबल पुस्तक रूथमा वफादार हुनुको महत्त्वलाई स्पष्ट पारिएको छ। मानौं, तपाईंको परिवारमा प्रत्येकले त्यस विवरणलाई पालैपालो ठूलो स्वरले पढेर त्यसमा भनेको कुरा बुझ्न खोजिरहेको छ। आफ्नो विधवा सासु नाओमीसित मोआबी रूथ बेतलेहेम गइरहेकी देख्नुहुन्छ र रूथले यसो भनेको सुन्‍नुहुन्छ: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१६) बोअजको खेतमा खेतालाहरूको पछिपछि मेहनती रूथ शिला-बाला खोज्न गएको देखिन्छिन्‌। बोअजले तिनको यसरी प्रशंसा गरेको तपाईंहरू सुन्‍नुहुन्छ: “तिमी गुणवती छौ भन्‍ने कुरा यस नगरका सबै मानिसहरूलाई थाह भइसकेको छ।” (रूथ ३:११) चाँडै, बोअजले रूथलाई विवाह गर्छन्‌। देवर-भाउजू विवाहको प्रबन्धअनुरूप तिनले बोअजद्वारा “नाओमीको” निम्ति छोरा जन्माउँछिन्‌। रूथ, दाऊद र अन्ततः येशू ख्रीष्टको पुर्खा भइन्‌। यसरी तिनले “पाउनुपर्ने सबै कुरा” पाइन्‌। यसबाहेक, यस धर्मशास्त्रीय विवरण पढ्‌नेहरूले बहुमूल्य पाठ सिक्छन्‌: यहोवाप्रति वफादार हुनुहोस्‌ र तपाईंले प्रचुर मात्रामा आशिष्‌ पाउनुहुनेछ।—रूथ २:१२; ४:१७-२२; हितोपदेश १०:२२; मत्ती १:१, ५, ६.

१६. तीन हिब्रूहरूले कस्तो परीक्षा सामना गरे र यो विवरणले हामीलाई कसरी मदत गर्नसक्छ?

१६ शद्रक, मेशक र अबेद्‌नगो नाउँ भएका हिब्रूहरूको विवरणले हामीलाई परीक्षाको क्षणमा पनि परमेश्‍वरप्रति विश्‍वासी हुन मदत दिनसक्छ। दानियल अध्याय ३ ठूलो स्वरले पढ्‌नुहुँदा त्यो घटनालाई कल्पना गर्नुहोस्‌। दूरा भन्‍ने मैदानमा एउटा ठूलो सुनको मूर्ति खडा गरियो र त्यहाँ सबै बेबिलोनी पदाधिकारीहरू भेला भएका छन्‌। बाजाहरू बजेको सुन्‍ने बित्तिकै, राजा नबूकदनेसरले खडा गरेको मूर्तिसामु घोप्टो परेर तिनीहरू त्यसको उपासना गर्छन्‌। शद्रक, मेशक र अबेद्‌नगोबाहेक सबैले त्यसो गर्छन्‌। तिनीहरूले राजालाई आदरभावका साथ दृढतापूर्वक तिनका देवताहरू र त्यो सुनको मूर्तिलाई उपासना नगर्ने कुरा बताउँछन्‌। यी जवान हिब्रूहरू दन्केको आगोको भट्टीमा फालिन्छन्‌। तर के हुन्छ? त्यहाँ हेरिरहँदा राजाले चार हृष्टपुष्ट मानिसहरू देख्छन्‌ जसमध्ये एकको “अनुहारचाहिं . . . ईश्‍वरजस्तै देखिन्छ।” (दानियल ३:२५) ती तीन हिब्रूहरू आगोको भट्टीबाट निकालिन्छन्‌ र नबूकदनेसरले तिनीहरूका परमेश्‍वरको प्रशंसा गर्छन्‌। यस विवरणलाई कल्पना गर्नु इनामदायी भएको छ। परीक्षाको क्षणमा यहोवाप्रति विश्‍वासी हुने सन्दर्भमा कति राम्रो पाठ!

परिवारको रूपमा बाइबल पढेर लाभ उठाउनुहोस्‌

१७. तपाईंको परिवारले सँगै बसेर बाइबल पढ्‌दा सिक्नसक्ने केही लाभदायी बुँदाहरू छोटकरीमा उल्लेख गर्नुहोस्‌।

१७ तपाईंको परिवारले नियमित तवरमा सँगै बसेर बाइबल पढ्‌दा धेरै लाभहरूको आनन्द उठाउन सक्नुहुन्छ। उत्पत्तिबाट सुरु गरेर तपाईंले सृष्टि र मानिसको सुरुको प्रमोदवनरूपी घर हेर्न सक्नुहुन्छ। तपाईंले विश्‍वासी कुलपिता र तिनीहरूका परिवारका अनुभवहरू बाँड्‌न सक्नुहुन्छ र इस्राएलीहरू सँगसँगै लाल समुद्रको ओबानो भूमिमा हिंड्‌न सक्नुहुन्छ। ठिटो गोठालो दाऊदले अजङको पलिश्‍ती गोल्यतलाई हराएको हेर्न सक्नुहुन्छ। तपाईंको परिवारले यरूशलेममा निर्माणाधीन यहोवाको मन्दिरमा ध्यान दिनसक्छन्‌ अनि बेबिलोनी जमातद्वारा त्यसको नाश र राज्यपाल यरूबाबेलको नेतृत्त्वमा मन्दिर पुनःनिर्माण गरेको हेर्नसक्छन्‌। बेतलेहेमका निम्न वर्गीय गोठालाहरूसँगै तपाईंले येशूको जन्मबारे स्वर्गदूतहरूले गरेको घोषणा सुन्‍न सक्नुहुन्छ। उहाँको बप्तिस्मा, सेवकाईबारे सबै विवरणहरू पाउन सक्नुहुन्छ। छुडौतीको निम्ति आफ्नो मानव शरीर दिनुभएको देख्न सक्नुहुन्छ र उहाँको पुनरुत्थान भएको आनन्दमा भाग लिन सक्नुहुन्छ। त्यसपछि, तपाईं प्रेरित पावलसँगै यात्रा गर्न सक्नुहुन्छ र मसीही धर्म फैलिंदै जाँदा मण्डलीहरू स्थापना भएको हेर्न सक्नुहुन्छ। अनि तपाईंको परिवारले प्रकाशको पुस्तकमा ख्रीष्टको हजार वर्षीय शासनलगायत प्रेरित यूहन्‍नाले भविष्यबारे देखेका महान्‌ दर्शनहरूबाट आनन्द उठाउन सक्नुहुन्छ।

१८, १९. परिवारको रूपमा बाइबल पढ्‌ने सन्दर्भमा कस्ता सुझाउहरू प्रस्तुत गरिएका छन्‌?

१८ परिवारको रूपमा ठूलो स्वरले बाइबल पढ्‌दै हुनुहुन्छ भने स्पष्ट र उत्साहसाथ पढ्‌नुहोस्‌। धर्मशास्त्रका केही अंशहरूमा परिवारको एक सदस्यले अर्थात्‌ सम्भवतः बुबाले वर्णानात्मक विवरण पढ्‌नसक्छन्‌। परिवार- का अन्य सदस्यहरूले बाइबल पात्रहरूको भूमिका खेल्दै आ-आफ्नो भाग सुहाउँदो भावसाथ पढ्‌नसक्छन्‌।

१९ परिवारको रूपमा बाइबल पढ्‌दा तपाईंको पढ्‌ने क्षमतामा उन्‍नति हुनसक्छ। सम्भवतः परमेश्‍वरबारे तपाईंको ज्ञान बढ्‌नेछ र तपाईं परमेश्‍वरसित अझ घनिष्ठ हुन सक्नुहुन्छ। आसापले यसप्रकार गाए: “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ। मैले तपाईंका सबै कार्यहरूको बयान गरूँ भनी मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।” (भजन ७३:२८) यसले तपाईंको परिवारलाई मोशाजस्तै हुन मदत दिनेछ जसले यहोवा परमेश्‍वर अर्थात्‌ “अदृश्‍यलाई देखेझैं गरी . . . स्थिर रहे।”—हिब्रू ११:२७.

पढाइ र मसीही सेवकाई

२०, २१. हाम्रो पढ्‌ने क्षमतासित प्रचारकार्य कसरी सम्बन्धित छ?

२० “अदृश्‍यलाई” उपासना गर्ने इच्छाले हामीलाई असल पाठक हुन मेहनत गर्न उत्प्रेरित गर्नुपर्ने हो। राम्ररी पढ्‌नसक्ने क्षमताले हामीलाई परमेश्‍वरको वचनबाट साक्षी दिन मदत दिन्छ। निस्सन्देह, यसले हामीलाई परमेश्‍वरको राज्य प्रचारकार्यमा लागिरहन मदत दिन्छ। यसबारे येशूले आफ्ना अनुयायीहरूलाई यसरी आदेश दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०; प्रेरित १:८) यहोवाका जनहरूको प्रमुख कार्य साक्षी दिनु हो र यो सम्पन्‍न गर्न पढ्‌नसक्ने क्षमताले मदत दिन्छ।

२१ परमेश्‍वरको वचनको असल पाठक र निपुण शिक्षक हुन प्रयासको खाँचो पर्छ। (एफिसी ६:१७) अतः ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर्नुहोस्‌।’ (२ तिमोथी २:१५) पढ्‌नमा समय लगाएर धर्मशास्त्रीय सत्यबारे ज्ञान र यहोवाको साक्षीको हैसियतमा आफ्नो क्षमता बढाउनुहोस्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ परमेश्‍वरको वचन पढ्‌नुमा आनन्द कसरी निर्भर छ?

◻ तपाईंले बाइबलमा पढ्‌नुहुने कुराहरूबारे किन मनन गर्ने?

◻ धर्मशास्त्र पढ्‌दा मिलान र कल्पना किन गर्ने?

◻ बाइबल पढ्‌दा सिक्न सकिने केही पाठहरू के हुन्‌?

◻ परिवारको रूपमा ठूलो स्वरले बाइबल किन पढ्‌नुपर्छ र पढाइ मसीही सेवकाईसित कसरी सम्बन्धित छ?

[पृष्ठ १३-मा भएको चित्र]

परिवारको रूपमा बाइबल पढ्‌दा, दिइएका विवरणहरूबारे कल्पना गर्नुहोस्‌ र तिनका महत्त्वबारे मनन गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने