मण्डलीको लागि भाषणको तयारी गर्ने तरिका
ईश्वरतान्त्रिक सेवा स्कूलका कार्यक्रम सम्पूर्ण मण्डलीले लाभ उठाउन सक्नेगरि तयार पारिएका छन्। मण्डलीका अरू सभामा, सम्मेलन र अधिवेशनमा पनि महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिन्छ। यी कार्यक्रममध्ये कुनै एउटामा तपाईंले भाषण दिने मौका पाउनुभयो भने यसलाई हल्कासित नलिनुहोस्, यो गहन जिम्मेवारी हो। प्रेषित पावलले ख्रीष्टियन निरीक्षक तिमोथीलाई आफ्नो शिक्षाको विषयमा सधैं होसियार रहन आग्रह गरे। (१ तिमो. ४:१६) ख्रीष्टियन सभा र सम्मेलनमा परमेश्वरसित अझै घनिष्ठ सम्बन्ध गाँस्नेबारे निर्देशन पाइने भएकोले यस्ता जमघटमा उपस्थित हुन भाइबहिनीले आफ्नो अमूल्य समय छुट्ट्याएका हुन्छन्। कसै-कसैले यस्ता सभामा उपस्थित हुन निकै प्रयास गरेका हुन्छन्। यस्ता जमघटमा निर्देशन दिने जिम्मेवारी पाउनु साँच्चै एउटा ठूलो सुअवसर हो! त्यसो भए तपाईं यो जिम्मेवारी कसरी राम्ररी पूरा गर्न सक्नुहुन्छ?
बाइबल पढाइका विशेषताहरू
स्कूलको यो भाग त्यस हप्ताका लागि तोकिएको बाइबल पढाइमा आधारित हुन्छ। त्यसबाट आज हामीले सिक्न सक्ने कुरामा जोड दिनुपर्छ। नहेम्याह ८:८ मा बताइएअनुसार पुजारी एज्रा र लेवीहरूले परमेश्वरको वचन सबैसामु पढे, त्यसको व्याख्या गरे, “अर्थ बुझाइदिए” अनि त्यसबाट शिक्षा दिए। बाइबलका विशेषताहरू प्रस्तुत गर्दा तपाईंले पनि त्यसै गर्ने मौका पाउनुहुन्छ।
तपाईंले यो भागको तयारी कसरी गर्नुपर्छ? तपाईंले प्रस्तुत गर्नुपर्ने बाइबल विशेषताका अध्यायहरू सकेसम्म हप्तादिनअघि वा अझै अघिदेखि नै पढ्नुहोस्। आफ्नो मण्डली र त्यसका आवश्यकताबारे विचार गर्नुहोस्। त्यसबारे प्रार्थना गर्नुहोस्। ती आवश्यकतासित मिल्ने कुनै सल्लाह, उदाहरण वा सिद्धान्त परमेश्वरको वचनको यस अंशमा पाइन्छ कि?
अनुसन्धान गर्नु जरुरी छ। सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय, यहोवाका साक्षीहरूको प्रकाशन सूची वा हरेक वर्षको अन्तमा आउने प्रहरीधरहरा-को विषयसूची तपाईंले बुझ्ने भाषामा उपलब्ध छ? छ भने त्यसबाट अनुसन्धान गर्नुहोस्। जोड दिन चाहेका पदबारे प्रकाशनहरूमा अनुसन्धान गर्दा तपाईं यी कुरा भेट्टाउन सक्नुहुन्छ:- त्यस विषयमा थप जानकारी दिने विषयवस्तु अनि भविष्यवाणीहरू कसरी पूरा भए भन्ने व्याख्या; केही खास पदले यहोवाबारे प्रकट गरेको कुरा अथवा बाइबल सिद्धान्तको छलफल आदि। थुप्रै बुँदा ढाक्ने कोसिस नगर्नुहोस्। बरु केही खास पदमा मात्र ध्यान केन्द्रित गर्नुहोस्। थोरै पद रोजेर त्यसैलाई राम्ररी व्याख्या गर्नु बेस हो।
साप्ताहिक बाइबल पढाइबाट श्रोताले कस्तो लाभ उठाए भनेर टिप्पणी दिन लगाउनु पनि तपाईंको यो भागमा पर्छ। व्यक्तिगत अध्ययनमा र पारिवारिक अध्ययनमा, प्रचारमा वा जीवनका अन्य पक्षमा लाभ पुऱ्याउने कस्ता कुरा तिनीहरूले सिके? यहोवाले मानिसहरूसित व्यवहार गर्दा देखाएका कस्ता गुण तिनीहरूले याद गरे? श्रोताले आफ्नो विश्वास बलियो बनाउने र यहोवाप्रतिको आफ्नो कृतज्ञता बढाउने कस्ता कुराहरू सिके? जटिल बुँदा र स-साना कुरा पनि व्याख्या गरेर समय खेर नफाल्नुहोस्। रोजेका बुँदाको व्यावहारिक महत्त्व र अर्थमा जोड दिनुहोस्।
हाम्रा प्रकाशनहरूमा आधारित भाषण
यी भाषण प्रहरीधरहरा वा ब्यूँझनुहोस्! वा कुनै किताबमा आधारित हुन्छन्। धेरैजसो अवस्थामा तोकिएको समयभित्र भ्याउन नसकिने धेरै जानकारी हुन्छ। त्यस्तो भाषण कसरी प्रस्तुत गर्नुपर्छ? विषयवस्तु ढाकेर मात्रै पुग्दैन, शिक्षकको रूपमा सिकाउनुपर्छ। निरीक्षकसित “सिकाउने योग्यता हुनुपर्छ।”—१ तिमो. ३:२.
तयारी थाल्दा दिइएको विषयवस्तु पढ्नुहोस्। बाइबल खोलेर पदहरू हेर्नुहोस्। मनन गर्नुहोस्। भाषण दिइने दिनभन्दा धेरैअघि नै तयारी गर्ने प्रयास गर्नुहोस्। भाषण आधारित भएको विषयवस्तु अगाडि नै पढ्न भाइहरूलाई प्रोत्साहन दिइएको छ भन्ने कुरा नबिर्सनुहोस्। तपाईंको दायित्व विषयवस्तुलाई दोहोऱ्याउने वा त्यसको सार मात्र बताउने होइन बरु विषयवस्तु कसरी लागू गर्न सकिन्छ, त्यो बताउने हो। मण्डलीलाई साँच्चै फाइदा हुने उपयुक्त बुँदा छानेर भाषण दिनुहोस्।
प्रत्येक बालकको आफ्नै व्यक्तित्व भएझैं प्रत्येक मण्डलीको पनि आफ्नै विशेषता हुन्छ। प्रभावकारी ढङ्गमा सिकाउने आमा वा बुबाले छोराछोरीलाई नैतिक सिद्धान्त मात्र सिकाउँदैनन्, तर्क पनि गर्छन्। साथै बालकको व्यक्तित्व र उसले भोगिरहेको समस्यालाई मनमा राख्दै कुरा गर्छन्। त्यसैगरि शिक्षकले मण्डलीको आवश्यकता बुझ्ने प्रयास गर्छन् र त्यसैअनुसार सिकाउँछन्। श्रोतामध्ये कसैलाई लाजमा पार्ने उदाहरण समझदार शिक्षकले प्रयोग गर्दैनन्। बरु तिनी यहोवाको मार्गमा हिंड्दा पाएका आशिष्हरूबारे बताउँछन् र मण्डलीका भाइबहिनीले भोगिरहेको समस्या सफलतासाथ समाधान गर्न मदत दिने बाइबलको सल्लाहतिर ध्यान खिच्छन्।
राम्ररी सिकाउँदा श्रोताको मन छुन्छ। यसो गर्न तथ्य प्रस्तुत गरेर मात्र पुग्दैन बरु प्रस्तुत तथ्यले श्रोतालाई कसरी फाइदा पुऱ्याउँछ, त्यसप्रति कृतज्ञ हुन मदत गर्नु पनि आवश्यक छ। यसो गर्न जसलाई सिकाउँदै हुनुहुन्छ तिनीहरूप्रति साँचो चासो देखाउनुपर्छ। मण्डलीका गोठालोहरूले आफ्नो बगाललाई चिन्नुपर्छ। यदि गोठालाहरूले भाइबहिनीलाई माया गरेका छन् र तिनीहरूले भोगिरहेका समस्या याद गरेका छन् भने तिनीहरूलाई प्रोत्साहन दिन सक्नेगरि बोल्न सक्छन्, तिनीहरूको परिस्थिति बुझ्न सक्छन् र तिनीहरूलाई दयालु व्यवहार गर्न सक्छन्।
भाषणको कुनै खास उद्देश्य हुन्छ भनेर प्रभावकारी शिक्षकले बुझेका हुन्छन्। त्यसैकारण मुख्य बुँदा प्रस्टै छुट्टिनेगरि र पछिसम्म सम्झन सक्नेगरि विषयवस्तु प्रस्तुत गर्नुपर्छ। श्रोताले आफ्नो जीवनमा लागू गर्नुपर्ने बुँदाहरू सम्झन सक्ने हुनुपर्छ।
सेवा सभा
हाम्रो राज्य सेवा-को लेखमा आधारित भाषण दिंदा भने बेग्लै चुनौतीको सामना गर्नुपर्ने हुन्छ। आफूलाई सबैभन्दा उपयुक्त लागेको बुँदा मात्रै छानेर बताउने गर्नुहुँदैन। लेखमा दिइएको सम्पूर्ण जानकारी श्रोतालाई बताउनुपर्छ। कुनै पनि पदमा आधारित सल्लाह किन दिइँदैछ, त्यो बुझ्न श्रोतालाई मदत गर्नुहोस्। (ती. १:९) समय सीमित हुने भएकोले प्रायजसो अवस्थामा थप बुँदा समावेश गर्न भ्याइँदैन।
अर्कोतर्फ तपाईंलाई हाम्रो राज्य सेवा-बाहेक अन्य विषयवस्तुबाट कुनै भाग प्रस्तुत गर्न लगाइन सक्छ। स्रोतको रूपमा प्रहरीधरहरा-को कुनै लेख दिइएको होला अथवा थोरै जानकारी मात्र दिइएको हुन सक्छ। दिइएको भागलाई मण्डलीको आवश्यकताअनुसार कसरी प्रस्तुत गर्ने भनेर शिक्षकको हैसियतमा तपाईंले विचार गर्नुपर्छ। तपाईंले सायद छोटो अनि स्पष्ट उदाहरण वा सुहाउँदो अनुभव बताउनुपर्ने हुन सक्छ। नबिर्सनुहोस्, तपाईंको जिम्मेवारी विषयसित सम्बन्धित कुरा बताउनु मात्र होइन। परमेश्वरको वचनमा तोकिएको काम पूरा गर्न मदत गर्ने र त्यो काम पूरा गरेर आनन्दित हुन मण्डलीलाई मदत पुग्ने तरिकामा विषयवस्तु प्रस्तुत गर्नु पनि हो।—प्रेषि. २०:२०, २१.
आफ्नो भागको तयारी गर्दा मण्डलीका भाइबहिनीको परिस्थिति कस्तो छ, विचार गर्नुहोस्। तिनीहरूले गरिरहेका कामको प्रशंसा गर्नुहोस्। दिइएका सुझावहरू लागू गर्दा प्रचारमा अझ प्रभावकारी र आनन्दित हुन तिनीहरूले कसरी मदत पाउँछन्?
तपाईंको भागमा प्रस्तुति देखाउनुपर्ने वा अन्तरवार्ता लिनुपर्ने छ कि? छ भने त्यसको लागि पहिल्यै राम्ररी तयारी गर्नुपर्छ। कसैलाई तयारी गर्नुहोस् भन्नु सजिलो त होला तर त्यसो गर्दा नतिजा सधैं राम्रो हुन्छ भन्ने छैन। सकेसम्म सभा हुने दिनभन्दा अघि नै प्रदर्शन वा अन्तरवार्ताको अभ्यास गर्नुहोस्। दिइएका निर्देशनहरू प्रभावकारी छन् भनेर प्रस्ट हुने किसिमले प्रदर्शन वा अन्तरवार्ता प्रस्तुत गर्नुहोस्।
सम्मेलन र अधिवेशन
आध्यात्मिक गुणहरू विकास गरेका र प्रभावकारी जनवक्ता र शिक्षकको रूपमा चिनिएका भाइलाई समयमा सम्मेलन वा अधिवेशनको कुनै भाग प्रस्तुत गर्न लगाइन सक्छ। परमेश्वरबाट शिक्षा पाउन यी कार्यक्रमहरू साँच्चै विशेष अवसरहरू हुन्। तिनलाई पाण्डुलिपि (म्यानुस्क्रिप्ट अर्थात् पहिल्यै एक-एक शब्द लेखिएको), रूपरेखा, आधुनिक समयमा लागू हुने बाइबल नाटकसम्बन्धी निर्देशनहरू वा सम्मेलनसम्बन्धी अन्य छोटो निर्देशन जस्ता कुनै पनि भागबाट प्रस्तुत गर्न लगाइन सक्छ। यस्तो कार्यक्रममा भाग लिने सुअवसर पाउनुभएको छ भने तपाईंलाई दिइएको विषयवस्तुलाई राम्ररी अध्ययन गर्नुहोस्। विषयवस्तुको महत्त्व राम्ररी नबुझेसम्म पढिरहनुहोस्।
पाण्डुलिपिबाट भाषण दिने भाइहरूले पाण्डुलिपिका एक-एक शब्द पढ्नुपर्छ। तिनीहरूले विषयवस्तुलाई आफ्नै शब्दमा भन्नुहुँदैन वा दिइएका बुँदालाई तलमाथि गर्नुहुँदैन। मुख्य बुँदा के-के हुन् र ती कसरी विस्तार गरिएका छन् भनेर तिनीहरू बुझ्ने कोसिस गर्छन्। भाषणको भावलाई जोड दिएर उत्साहवर्द्धक ढङ्गमा, न्यानोपनसहित, मन छुने तरिकामा, गम्भीरता र दृढ विश्वास झल्किनेगरि अनि श्रोताको जमातलाई मिल्नेगरि ठूलो आवाजमा र जोसिलो भएर प्रस्तुत गर्न सक्ने नभएसम्म तिनीहरू स्वर निकालेर पढ्ने अभ्यास गर्छन्।
रूपरेखाबाट भाषण दिने जिम्मेवारी पाएका भाइले रूपरेखासित मेल खानेगरि भाषणको विषयवस्तुलाई विस्तार गर्नुपर्छ। भाषण दिंदा रूपरेखाबाट सरसरती पढ्नु वा भाषणका एक-एक शब्द लेखेर पाण्डुलिपिजस्तै बनाउनुको सट्टा वक्ताले टिपोट नहेरी स्वतःस्फूर्त ढङ्गमा मनदेखि नै प्रस्तुत गर्न सक्नुपर्छ। प्रत्येक मुख्य बुँदालाई स्पष्ट रूपमा प्रस्तुत गर्न रूपरेखामा तोकिएको समयअनुसार नै प्रत्येक अंश प्रस्तुत गर्नुपर्छ। वक्ताले मुख्य बुँदाअन्तर्गत दिइएका विचारलाई र शास्त्रपदलाई राम्ररी प्रयोग गर्नुपर्छ। रूपरेखामा दिइएको बुँदालाई नै हटाएर आफूलाई मन परेको कुरा थप्नुहुँदैन। जे-जति निर्देशन दिइन्छन्, ती परमेश्वरको वचनमा आधारित हुनुपर्छ। ख्रीष्टियन एल्डरहरूको जिम्मेवारी “वचन प्रचार” गर्नु हो। (२ तिमो. ४:१, २) त्यसकारण वक्ताले रूपरेखामा दिइएका शास्त्रपदमा विशेष ध्यान दिनुपर्छ अर्थात् पदमा तर्क गर्नुपर्छ अनि त्यसको उपयोगिता स्पष्ट पार्नुपर्छ।
आलेटाले नगर्नुहोस्
के तपाईं मण्डलीमा बारम्बार भाषण दिने मौका पाइरहनुहुन्छ? त्यसो हो भने प्रत्येक भाषणको तयारी गर्दा उत्तिकै ध्यान कसरी दिन सक्नुहुन्छ? उजेलीपुजेली दिन गुमाई, जुनेली रातमा बिस्कुन सुकाई भनेझैं अन्तमा आएर आफ्नो भागको तयारी गर्ने बानी नगर्नुहोस्।
मण्डलीका सबैले लाभ उठाउन सक्ने भाषण दिन पहिल्यै सोचविचार गर्नुपर्छ। त्यसैले भाषण दिने जिम्मेवारी पाउनेबित्तिकै त्यसको विषयवस्तु पढिहाल्ने बानी बसाल्नुहोस्। यसो गर्दा तपाईं अरू कामकुरामा लाग्दा पनि आफ्नो भागबारे मनन गर्न सक्नुहुन्छ। भाषण दिनुभन्दा केही दिनअघि वा केही हप्ताअघि आफ्नो भाषणमा लागू गर्न सकिने राम्रो बुँदा सुन्न सक्नुहुन्छ होला। अथवा तपाईंले भाषणमार्फत दिन लागेको जानकारी समय सुहाउँदो छ भनेर देखिने परिस्थिति आउन सक्छ। भाग पाउनेबित्तिकै पढ्न वा त्यसबारे सोच्न समय लाग्छ तर त्यो समयको बर्बादी भने होइन। पहिल्यै सोचविचार गरेकोले कत्तिको फाइदा हुने रहेछ भनेर भाषण बनाउन थाल्दा पो बल्ल बुझ्नुहुनेछ। यसरी तयारी गर्दा तनाव धेरै कम हुन्छ र मण्डलीका भाइबहिनीको मन छुनेगरि अनि व्यावहारिक ढङ्गमा भाषण दिन सक्नुहुन्छ।
यहोवाले आफ्ना जनलाई शिक्षा दिन सञ्चालन गरिरहेको कार्यक्रममा तपाईंलाई पनि जिम्मेवारी दिइएको छ। तपाईं यो जिम्मेवारीको जति धेरै कदर गर्नुहुन्छ, त्यत्ति नै यहोवाको आदर गर्न सक्नुहुन्छ र उहाँलाई प्रेम गर्नेहरूको लागि आशिष् साबित हुन सक्नुहुन्छ।—यशै. ५४:१३; रोमी १२:६-८.