जनभाषण तयारी गर्ने तरिका
यहोवाका साक्षीहरूको अधिकांश मण्डलीमा प्रत्येक हप्ता बाइबलआधारित जनभाषण दिइन्छ। तपाईं एल्डर वा सहायक सेवक हुनुहुन्छ भने के आफूलाई प्रभावकारी जनवक्ता अनि शिक्षक साबित गर्नुभएको छ? छ भने तपाईंलाई जनभाषण दिने जिम्मेवारी दिइन सक्छ। ईश्वरतान्त्रिक सेवा स्कूलले हजारौं भाइलाई सेवाको यस सुअवसरको लागि योग्य बन्न मदत गरेको छ। जनभाषण दिने जिम्मेवारी पाउँदा कसरी तयारी थाल्नुपर्छ?
रूपरेखा अध्ययन गर्नुहोस्
भाषणको रूपरेखा राम्ररी नबुझेसम्म पढिरहनुहोस् र त्यसमा मनन गरिरहनुहोस्। भाषणको शीर्षक अर्थात् मूल-विषय मनमा ठप्प बसाल्नुहोस्। तपाईंले श्रोतालाई सिकाउनुपर्ने कुरा के हो? तपाईंको भाषणको उद्देश्य के हो?
मुख्य बुँदा राम्ररी पढ्नुहोस् अनि त्यसलाई केलाउनुहोस्। प्रत्येक मुख्य बुँदा मूल-विषयसित कसरी सम्बन्धित छन्? प्रत्येक मुख्य बुँदाअन्तर्गत केही सहायक बुँदा दिइएका हुन्छन्। यी बुँदामुनि यिनलाई समर्थन गर्ने थप बुँदा राखिएका हुन्छन्। रूपरेखाको प्रत्येक भाग अघिल्लो भागसित र पछिल्लो भागसित कसरी सम्बन्धित छन् अनि भाषणको उद्देश्य प्राप्त गर्न प्रत्येक भागले कसरी मदत पुऱ्याउँछन्, विचार गर्नुहोस्। भाषणको मूल-विषय, उद्देश्य र मुख्य बुँदाले त्यो उद्देश्य प्राप्त गर्न कसरी मदत पुऱ्याउँछ भन्ने कुरा बुझिसकेपछि विषयवस्तुलाई विस्तार गर्न सक्नुहुन्छ।
सुरुमा रूपरेखामा भएका मुख्य बुँदाअनुसार भाषणलाई चार-पाँचवटा छोटो भाषणजस्तै ठान्दा तपाईंलाई तयारी गर्न सजिलो हुन्छ। त्यसपछि प्रत्येक छोटो भाषणलाई छुट्टा-छुट्टै तयारी गर्नुहोस्।
रूपरेखा भाषणको तयारी गर्नको लागि मात्र दिइएको हो। यसबाटै हेरेर भाषण दिन यो रूपरेखा उपलब्ध गराइएको होइन। तयारी गर्दा तपाईंले यसैको आधारमा छुट्टै रूपरेखा बनाउनुपर्छ र त्यही रूपरेखा प्रयोग गरेर भाषण दिनुपर्छ। तपाईंलाई दिइएको रूपरेखा बनाउँदै गरेको घरजस्तै हो। घर तयार पारेर बस्न लायकको बनाउनुअघि त्यस घरमा गारो लगाउनुपर्छ, झ्यालढोका र छाना हाल्नुपर्छ।
बाइबलको प्रयोग
येशू ख्रीष्ट र उहाँका चेलाहरूको शिक्षा धर्मशास्त्रमा आधारित हुन्थ्यो। (लूका ४:१६-२१; २४:२७; प्रेषि. १७:२, ३) त्यसैगरि तपाईंको भाषण पनि बाइबलमा आधारित हुनुपर्छ। रूपरेखामा दिइएका बुँदालाई सरसरती बताएर अनि जीवनमा लागू गर्ने तरिका भनेर मात्र पुग्दैन। ती बुँदालाई बाइबलले कसरी समर्थन गर्छ, त्यो बुझेर बाइबलबाट सिकाउनुपर्छ।
भाषणको तयारी गर्दा रूपरेखामा उल्लेख गरिएका प्रत्येक शास्त्रपद जाँच्नुहोस्। शास्त्रपद कुन सन्दर्भमा लेखिएको हो, ध्यान दिनुहोस्। कुनै शास्त्रपद त्यतिबेलाको पृष्ठभूमि बुझ्न मात्र दिइएका हुन्छन्। भाषण दिंदा उल्लिखित सबै शास्त्रपद पढ्नुपर्दैन वा त्यसबारे बयान गर्नुपर्दैन। श्रोतालाई सबैभन्दा सुहाउने शास्त्रपद छान्नुहोस्। रूपरेखामा दिइएका पदमा नै ध्यान दिनुभयो भने थप पद चलाउनु आवश्यक पर्दैन।
धेरैवटा पद प्रयोग गर्दैमा तपाईंको भाषण राम्रो भयो भन्न सकिंदैन। भाषण राम्रो हुन तपाईंको सिकाउने तरिका गुणस्तरीय हुनुपर्छ। कुनै पनि शास्त्रपद किन प्रयोग गरियो, त्यसको कारण बताउनुहोस्। पद कसरी लागू गर्न सकिन्छ, समय लगाएर बुझाउनुहोस्। पद पढिसकेपछि पनि बाइबल खुल्लै राखेर पदबारे छलफल गर्नुहोस्। त्यसो गर्नुभयो भने श्रोताले पनि बाइबल खुल्लै राख्नेछन्। श्रोताको चासो जगाउन र तिनीहरूलाई परमेश्वरको वचनबाट भरपूर लाभ उठाउन तपाईं कसरी मदत दिन सक्नुहुन्छ? (नहे. ८:८, १२) पदको व्याख्या गरेर, दृष्टान्त बताएर अनि पदको उपयोगिता बताएर।
व्याख्या। भाषणको मुख्य पद व्याख्या गर्न तयारी गर्दा आफैलाई यस्ता प्रश्न सोध्नुहोस्: ‘यस पदको अर्थ के हो? भाषणमा यो पद किन प्रयोग गर्दैछु? यस पदबारे श्रोताको मनमा कस्ता प्रश्न उठ्छन्?’ यो पद कुन सन्दर्भमा, कस्तो पृष्ठभूमिमा र कस्तो परिवेशमा लेखियो, केलाउनुपर्छ। साथै पदका शब्द कति सशक्त छन् र प्रेरित लेखकले कुन उद्देश्यले लेखेका हुन्, त्यो पनि केलाउनुपर्छ। यसको लागि अनुसन्धान गर्नुपर्छ। “विश्वासी र बुद्धिमान् दास”-ले उपलब्ध गराएका प्रकाशनहरूमा प्रशस्त मूल्यवान् जानकारी पाउन सक्नुहुन्छ। (मत्ती २४:४५-४७) पदबारे भएभरको कुरा बताउने कोसिस नगर्नुहोस्। बरु भर्खर पढिएको पद विषयसित कसरी सम्बन्धित छ, व्याख्या गर्नुहोस्।
दृष्टान्त। दृष्टान्त बताउनुको उद्देश्य छलफल गरेको विषय गहिरिएर बुझ्न वा कुनै बुँदा वा सिद्धान्त सम्झन श्रोतालाई मदत दिनु हो। तपाईंले भनेका कुरा राम्ररी बुझ्न र ती कुरालाई पहिल्यै थाह भइसकेको कुरासित तुलना गर्न दृष्टान्तले श्रोतालाई मदत गर्छ। डाँडामा दिइएको उपदेशमा येशूले त्यसै गर्नुभयो। “आकाशका चराचुरुङ्गी,” “मैदानका फूलहरू,” “साँघुरो ढोका,” ‘चट्टानमाथिको घर’ र यस्तै अन्य दृष्टान्तले उहाँको शिक्षालाई सशक्त, स्पष्ट र बिर्सनै नसकिने बनायो।—मत्ती अध्या. ५-७.
उपयोगिता। तपाईंले पद व्याख्या गर्दा र त्यो बुझाउन दृष्टान्त बताउँदा श्रोताले बुझ्न त बुझ्छन् तर त्यो ज्ञानलाई व्यवहारमा उतार्दा मात्र लाभ उठाउन सक्छन्। हुन त बाइबलको शिक्षा व्यवहारमा लागू गर्ने जिम्मेवारी श्रोताकै हो। तैपनि के गर्नुपर्छ भनेर ठम्याउन तपाईंले तिनीहरूलाई मदत दिनुपर्छ। छलफल गरिएको पद र त्यसको व्यावहारिक महत्त्व श्रोताले बुझेका छन् भन्ने कुरामा तपाईं विश्वस्त भइसकेपछि त्यसले तिनीहरूको विश्वास अनि बानी-बेहोरामा कस्तो प्रभाव पार्नुपर्छ भनेर बुझाउन पर्याप्त समय निकाल्नुहोस्। छलफल गरिएको बाइबल सत्यसित बाझिने गलत विचार र नराम्रा आनीबानी त्याग्दा के-कस्ता फाइदा हुन्छन्, त्यसमा जोड दिनुहोस्।
पदको उपयोगिताबारे बताउने विचार गर्दा श्रोताको पृष्ठभूमि फरक-फरक छ र तिनीहरूले विभिन्न परिस्थितिको सामना गरिरहेका छन् भन्ने कुरा नबिर्सनुहोस्। तपाईंका श्रोता नवजिज्ञासु, युवा, वृद्ध र विभिन्न समस्यासित सङ्घर्ष गरिरहेकाहरू हुन सक्छन्। भाषणलाई कथाजस्तो नभई व्यावहारिक शिक्षा दिने खालको बनाउनुहोस्। केही खास व्यक्तिलाई मात्र तोकेर सल्लाह दिएको जस्तोगरि भाषण नदिनुहोस्।
वक्ताको रूपमा तपाईंले गर्ने निर्णय
भाषणको रूपरेखामा तपाईंको लागि केही निर्णय पहिल्यै गरिएका हुन्छन्। जस्तै:- मुख्य-मुख्य बुँदा स्पष्ट हुनेगरि दिइएका हुन्छन् र प्रत्येक मुख्य बुँदा छलफल गर्दा कति समय लगाउनुपर्ने हो, त्यो प्रस्टै उल्लेख गरिएको हुन्छ। अरू निर्णय भने तपाईं आफैले गर्नुपर्ने हुन्छ। कुनै खास सहायक बुँदामा तपाईं धेरै समय दिने छनौट गर्न सक्नुहुन्छ भने कुनैमा थोरै। प्रत्येक बुँदामा उत्तिकै समय दिनुपर्छ भन्ने नठान्नुहोस्। किनकि सबै बुँदामा उत्तिकै समय दिंदा भाषण सिध्याउने धुनमा छिटो-छिटो बोल्नुपर्ने हुन्छ र श्रोता अलमलिन सक्छन्। त्यसो भए कुन बुँदालाई विस्तृत रूपमा बुझाउने र कुनचाहिंलाई छोटकरीमा बताउने भनी तपाईं कसरी निर्णय गर्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्: ‘भाषणको मूल-विषय बुझाउन कुन बुँदा मदतकारी हुनेछ? कुनचाहिं बुँदा श्रोताको लागि सबैभन्दा लाभदायी हुन सक्छ? उल्लिखित कुनै खास पद र त्यससित सम्बन्धित बुँदा हटाउँदा प्रस्तुत गर्ने प्रमाणको क्रम नै टुट्ने हो कि?’
भाषणमा अनुमान गरेका कुरा वा व्यक्तिगत विचारधारा कुनै पनि हालतमा नघुसाउनुहोस्। परमेश्वरका छोरा येशू ख्रीष्टले समेत “आफ्नै तर्फबाट” बोल्नुभएन। (यूह. १४:१०) मानिसहरू यहोवाका साक्षीहरूको सभामा बाइबलआधारित छलफल सुन्न आउँछन् भन्ने कुरा नबिर्सनुहोस्। आफूतर्फ नभई परमेश्वरको वचनमा ध्यान खिचेकोले तपाईं राम्रो वक्ताको रूपमा चिनिनुभएको हो। नबिर्सनुहोस्, बाइबलमा आधारित भएर भाषण दिइएकोले नै तपाईंको भाषण श्रोतालाई राम्रो लागेको हो।—फिलि. १:१०, ११.
सरल रूपरेखालाई बाइबलको आधारमा विस्तृत व्याख्या गरेर भाषण तयार पारिसकेपछि तपाईंले चाल्नुपर्ने अर्को कदम हो—भाषणको अभ्यास। आवाज निकालेर अभ्यास गर्नु राम्रो हो। तपाईंले भाषणका सबै बुँदा राम्ररी सम्झनुभएको छ कि छैन, त्यो पक्का गर्नुपर्छ। तपाईं पूर्णतया विश्वस्त भएर बोल्न सक्ने हुनै पर्छ, भाषणलाई जीवन्त ढङ्गमा प्रस्तुत गर्न सक्ने हुनै पर्छ र बाइबल सत्यलाई उत्साहका साथ प्रस्तुत गर्न सक्ने हुनै पर्छ। भाषण दिनुअघि आफैलाई सोध्नुहोस्: ‘मैले भाषण दिनुको उद्देश्य के हो? मैले भन्न खोजेका मुख्य बुँदा स्पष्ट छन्? के मैले बाइबललाई आफ्नो भाषणको आधार बनाएको छु? के प्रत्येक मुख्य बुँदाले स्वतः अर्को बुँदातर्फ डोऱ्याउँछ? के मेरो भाषणले गर्दा यहोवाप्रति अनि उहाँका प्रबन्धहरूप्रति कृतज्ञ हुन श्रोतालाई मदत दिन्छ? भाषणको समापन मूल-विषयसित मिल्छ? अनि समापनले श्रोतालाई के गर्नुपर्छ भनेर देखाउनुका साथै त्यसैअनुसार कदम चाल्न उत्प्रेरित गर्छ?’ यी प्रश्नका सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने तपाईं अरूको भलाइ हुने गरी ‘ज्ञान फैलाउन’ सक्नुहुन्छ। यस्तो ज्ञानले मण्डलीलाई फाइदा पुग्छ र यहोवाको पनि प्रशंसा गर्छ।—हितो. १५:२.