रूपरेखा बनाउने तरिका
भाषण दिने जिम्मा पाउँदा धेरैजसोले सुरुदेखि अन्तसम्मका एक-एक शब्द घुँडा धसेर लेख्छन्। भाषण तयार हुनेबेलासम्म त निकै पटक भाषणको खेस्रा तयार पारिसकेका हुन्छन्। यसरी भाषण तयार पार्न घण्टौं लाग्छ।
के तपाईं त्यसरी नै आफ्नो भाषणको तयारी गर्नुहुन्छ? अझै सजिलो तरिका सिक्न चाहनुहुन्छ कि? रूपरेखा बनाउने तरिका सिक्नुभयो भने भएभरको कुरा लेखिरहनुपर्दैन। यसले गर्दा भाषण दिनुअघि अभ्यास गर्न तपाईं अझ धेरै समय पाउन सक्नुहुन्छ। रूपरेखा बनाउँदा तपाईंलाई भाषण दिन सजिलो हुने मात्र होइन श्रोतालाई पनि तपाईंको भाषण सुन्दा अझ रमाइलो हुन्छ र तिनीहरू अझ उत्प्रेरित हुनेछन्।
हुन त जनभाषणका लागि रूपरेखा दिइन्छ। तर जुनसुकै भाषणको पनि रूपरेखा हुन्छ भन्ने चाहिं होइन। तपाईंलाई कुनै विषय वा मूल-विषय मात्रै दिइएको हुन सक्छ। अथवा कुनै लेखलाई आधार मानेर तपाईंले भाषण बनाउनुपर्ने हुन्छ। कहिलेकाहीं तपाईंलाई केही मात्र जानकारी दिइएको हुन सक्छ। यस्ता सबै भाषणका लागि तपाईंले आफ्नै रूपरेखा बनाउनुपर्छ।
छोटो रूपरेखा कसरी बनाउने भन्नेबारे पृष्ठ ४१ मा दिइएको नमुनाले तपाईंलाई मदत गर्न सक्छ। याद गर्नुहोस्, मुख्य बुँदा गाढा अक्षरमा लेखिएको छ। अनि त्यसैमुनि मुख्य बुँदासित सम्बन्धित सहायक बुँदा दिइएका छन्। त्यसपछि बायाँतिरबाट अलि भित्र सहायक बुँदाअन्तर्गत पर्ने थप बुँदा दिइएका छन्। यस रूपरेखालाई राम्ररी नियाल्नुहोस्। गाढा अक्षरमा लेखिएका दुई मुख्य बुँदा उक्त नमुनामा दिइएको भाषणको मूल-विषयसित सोझै सम्बन्धित छन्। दिइएका उपबुँदा चाखलाग्दा कुरा मात्रै होइनन्; तिनले मुख्य बुँदा वा सहायक बुँदालाई समर्थन गर्छन् भनेर पनि नबिर्सनुहोस्।
तपाईंले बनाएको भाषणको रूपरेखा पृष्ठ ४१ को नमुना जस्तो नदेखिएला। तर रूपरेखा बनाउने यो तरिका बुझ्नुभयो भने यसले विषयवस्तु मिलाउन र घण्टौं खर्च नगरीकनै राम्रो भाषण तयार पार्न तपाईंलाई मदत गर्नेछ। त्यसो भए तपाईं कसरी भाषण बनाउन थाल्न सक्नुहुन्छ?
केलाउनुहोस्, छान्नुहोस् र मिलाउनुहोस्
तपाईंले एउटा मूल-विषय छान्नुपर्छ। मूल-विषय केवल विस्तृत कुरा ढाक्ने एउटै शब्दमा व्याख्या गर्न सकिने विषय होइन। यो तपाईंले भन्न खोजेको मूल-सन्देश हो। तपाईंले श्रोताको ध्यान खिच्न चाहेको बुँदालाई मूल-विषयले प्रस्ट पार्छ। मूल-विषय पहिल्यै दिइएको छ भने त्यसको हरेक मुख्य शब्द राम्ररी केलाउनुहोस्। दिइएको मूल-विषयलाई कुनै लेखको आधारमा व्याख्या गर्नुपर्ने हो भने मूल-विषयलाई मनमा राखेर उक्त लेख पढ्नुहोस्। तपाईंलाई विषय मात्र दिइएको छ भने उक्त विषयको कुन पक्षलाई मूल-विषयको रूपमा छान्ने, त्यो तपाईंकै निर्णय हो। तर त्यसरी मूल-विषय छान्नुअघि केही अनुसन्धान गर्नुभयो भने मदत पाउन सक्नुहुन्छ। खुला विचारले सोच्नुभयो भने नयाँ-नयाँ जुक्ति मनमा आउन सक्छन्।
यी कदम चाल्दा आफैलाई सोध्नुहोस्: ‘यो सामग्री श्रोताको लागि किन महत्त्वपूर्ण छ? मेरो भाषणको उद्देश्य के हो?’ तपाईंको उद्देश्य जानकारी दिनु वा विभिन्न रमाइला विषय बताउनु मात्रै होइन तर श्रोतालाई उपयोगी हुने कुरा बताउनु हो। उद्देश्य के हो भनेर थाह पाएपछि त्यो लेख्नुहोस्। तयारी गर्दा त्यो उद्देश्यबारे आफैलाई सम्झाइरहनुहोस्।
आफ्नो भाषणको उद्देश्य पक्का गरिसकेपछि र त्यससित मिल्ने मूल-विषय छानिसकेपछि (वा दिइएको मूल-विषय उद्देश्यसित कतिको मेल खान्छ भनेर केलाइसकेपछि) आवश्यक कुरा मात्रै अनुसन्धान गर्नुहोस्। श्रोतालाई उपयोगी हुने जानकारी खोज्नुहोस्। ठूलठूला कुरा खोज्नुको सट्टा जानकारीमूलक र साँच्चै मदतकारी कुराहरू खोज्नुहोस्। जति जानकारी चाहिन्छ त्यति मात्रै अनुसन्धान गर्नुहोस्। अनुसन्धान गर्दा भाषणमा प्रस्तुत गर्न सक्नेभन्दा धेरै कुरा तपाईंले पाउनुहुनेछ। त्यसैकारण चाहिने जानकारी मात्रै समावेश गर्नुहोस्।
भाषणको मूल-विषयलाई अघि बढाउन र उद्देश्य पूरा गर्न छलफल गर्नुपर्ने मुख्य बुँदा पत्ता लगाउनुहोस्। यी तपाईंको भाषणको आधार हुनेछन्। तपाईंको भाषणमा कतिवटा मुख्य बुँदा हुनुपर्छ? एक घण्टा लामो भाषणको लागि पाँचवटा बुँदा भए पुग्छ भने छोटोमा दुइटै पर्याप्त हुन्छ। मुख्य बुँदा जति थोरै हुन्छन्, श्रोताले सम्झन सक्ने सम्भावना उति नै धेरै हुन्छ।
भाषणको मूल-विषय र मुख्य बुँदा ठम्याइसकेपछि अनुसन्धान गरेको सामग्रीलाई मिलाउनुहोस्। मुख्य बुँदासित सोझै के-के सम्बन्धित छन्, पक्का गर्नुहोस्। प्रस्तुतिमा नयाँपन ल्याउने जानकारी समावेश गर्नुहोस्। मुख्य बुँदालाई समर्थन गर्ने पद छान्दा ती पदबाट अर्थपूर्ण तरिकामा तर्क गर्न मदत गर्ने बुँदाहरू विचार गर्नुहोस्। ती बुँदालाई सम्बन्धित मुख्य बुँदाअन्तर्गत राख्नुहोस्। मुख्य बुँदासित नमिल्ने जानकारी जतिसुकै रोचक भए पनि भाषणमा राख्दै नराख्नुहोस्। बरु अर्को पटकको लागि फाइलमा राख्नुहोस्। सबैभन्दा राम्रो बुँदा मात्र प्रयोग गर्नुहोस्। धेरै बुँदा ढाक्ने कोसिस गर्नुभयो भने तपाईंले छिटोछिटो बोल्नुपर्ने हुन्छ र भाषण गहकिलो हुँदैन। श्रोतालाई उपयोगी हुने बुँदा थोरै मात्रै भए पनि राम्ररी प्रयोग गर्नु महत्त्वपूर्ण छ। दिइएको समयभित्रै भाषण सिध्याउनुहोस्।
आफ्नो विषयवस्तुलाई तार्किक ढङ्गमा क्रमअनुसार मिलाइसक्नुभएको छैन भने अब मिलाउनुहोस्। सुसमाचारका लेखक लूकाले यस्तै गरे। विषयसित सम्बन्धित प्रशस्त जानकारी सङ्कलन गरिसकेपछि तिनले ती “क्रमैअनुसार” मिलाएर लेखे। (लूका १:३) भाषण दिनुको उद्देश्य प्राप्त गर्न सबैभन्दा प्रभावकारी तरिका कुन हुन्छ, त्यसैअनुसार विषयवस्तु मिलाउनुहोस्। जस्तै:- ऐतिहासिक क्रमअनुसार र विषयअनुसार अथवा कारण र परिणाम, समस्या र समाधान प्रस्तुत गर्ने तरिकामा मिलाउन सक्नुहुन्छ। एउटा बुँदाबारे कुरा गर्दा गर्दै अचानक अर्को बुँदामा फड्को नमार्नुहोस्। श्रोताले दुई बुँदाबीचको सम्बन्ध सजिलै बुझ्न सक्ने हुनुपर्छ। प्रस्तुत प्रमाणले श्रोतालाई सही निष्कर्षमा पुग्न मदत गर्नुपर्छ। बुँदाहरू जुन क्रममा मिलाउनुहुन्छ, त्यसलाई श्रोताले बुझ्न सक्छन् कि सक्दैनन्, त्यो विचार गर्नुहोस्। तपाईंले जसरी भाषण अगाडि बढाइरहनुभएको छ श्रोताले पनि त्यसरी नै बुझिरहेका छन् कि छैनन्? जुन उद्देश्य राखेर भाषण तयार गर्नुभएको थियो, भाषण सुनिसकेपछि श्रोता त्यसैअनुसार गर्न उत्प्रेरित हुनेछन्?
त्यसपछि विषयप्रति कौतूहलता जगाउने किसिमको परिचय तयार पार्नुहोस्। परिचय सुनेर नै श्रोताले तपाईंको भाषणबाट सिक्न सक्ने पाठबारे अनुमान लगाउन सक्छन्। परिचयको लागि केही वाक्य लेख्नु सजिलो हुन सक्छ। अन्तमा उत्प्रेरणा दिने र भाषणको उद्देश्यसित मिल्ने खालको समापन तयार पार्नुहोस्।
निकै अघिदेखि नै भाषणको तयारी गर्नुभयो भने भाषणमा आवश्यक सुधार गर्न प्रशस्त समय पाउन सक्नुहुन्छ। तथ्याङ्क, उदाहरण वा अनुभव राखेर कुनै-कुनै बुँदालाई अझै प्रस्ट्याउन सकिने ठाउँ पनि देख्न सक्नुहुन्छ। ताजा घटना वा स्थानीय इलाकाका मानिसलाई चासो लाग्ने कुनै जानकारी दिंदा पनि भाषणबाट सिक्न सकिने व्यावहारिक पक्ष श्रोताले सजिलै बुझ्न सक्छन्। भाषणलाई दोहोऱ्याइ-तेहऱ्याइ हेर्दा श्रोताअनुसार भाषणलाई छाँटकाँट गर्न सक्नुहुन्छ। विषयवस्तुलाई चट्ट मिलाएर प्रभावकारी भाषण प्रस्तुत गर्न भाषणलाई केलाइरहनुपर्छ, छाँटकाँट गरिरहनुपर्छ।
कुनै-कुनै वक्तालाई भने अलि लामो टिपोट चाहिन्छ। तर भाषणमा केही मुख्य बुँदा मात्र राखेर विषयवस्तु मिलाउनुभयो, सन्दर्भसित नमिल्ने बुँदालाई हटाउनुभयो र प्रस्तुत गर्न लागेको बुँदालाई तार्किक क्रमअनुसार राख्नुभयो भने केही समयभित्रै तपाईंले भाषणको एक-एक शब्द लेख्नु नपर्ने रहेछ भनेर थाह पाउनुहुनेछ। यसो गर्नुभयो भने तपाईंको धेरै समय जोगिनेछ। त्यतिमात्र होइन तपाईंको भाषणको गुणस्तर पनि बढ्नेछ। तपाईंले ईश्वरतान्त्रिक सेवा स्कूलबाट साँच्चै फाइदा उठाइरहनुभएको छ भनेर प्रस्टै देखिन्छ।