अध्याय ६
भावलाई ठीकसँग जोड दिनुहोस्
ठूलो स्वर निकालेर पढ्दा तपाईंले शब्दहरू ठीकसँग भन्न सकेर मात्र पुग्दैन। तपाईंले मुख्य शब्द र लेखको विचार बुझाउने वाक्यलाई राम्ररी बुझ्न सक्नेगरि जोड दिनुपर्छ।
केही शब्दलाई जोड दिएर पढ्दैमा भावलाई ठीकसँग जोड दिएको भन्न मिल्दैन। जुन शब्दलाई जोड दिनुपर्ने हो, त्यही शब्दलाई जोड दिनुपर्छ। जोड दिनु नपर्ने ठाउँमा जोड दिनुभयो भने तपाईंले भन्न खोजेको कुरा श्रोताले प्रस्टसँग बुझ्दैनन् र उनीहरूको ध्यान अन्तै जान्छ। विषय एकदमै राम्रो होला तर त्यसलाई प्रस्तुत गर्दा उचित तरिकाले पर्याप्त मात्रामा जोड दिइएको छैन भने प्रस्तुति त्यत्ति प्रभावकारी हुँदैन र श्रोता पनि कुनै कदम चाल्न उत्प्रेरित हुँदैनन्।
जोड दिने तरिका अनेक छन्। जोड दिन यी तरिका प्रायजसो सँगसँगै प्रयोग गरिन्छन्:- आवाज ठूलो बनाएर, आवाजमा भाव व्यक्त गरेर, बिस्तारै बोलेर, कुनै कुरा बताउनुअघि वा बताएपछि (वा दुवै पल्ट) एकछिन रोकिएर, इशारा गरेर र अनुहारको भावबाट व्यक्त गरेर। नेपाली भाषालगायत कुनै-कुनै भाषामा आवाजलाई मधुरो वा तीखो बनाएर पनि जोड दिन सकिन्छ। विषय र परिस्थितिलाई विचार गरेर जोड दिने तरिकामध्ये कुन-कुन तरिका प्रयोग गर्न सकिन्छ, निधो गर्नुहोस्।
कहाँ-कहाँ जोड दिने भनेर निधो गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्:- (१) कुनै पनि वाक्यमा कुन शब्दलाई जोड दिने भनेर वाक्यको बाँकी भाग हेरेर मात्र होइन, सन्दर्भ हेरेर पनि निधो गर्नुपर्छ। (२) मुख्य बुँदा होस् वा नयाँ तर्क होस्, भाषणमा नयाँ विचार प्रस्तुत गरेको देखाउन भावलाई जोड दिनु उपयुक्त हुन्छ। प्रस्तुत गरेको तर्क टुङ्गियो भनेर श्रोताको ध्यान खिच्न पनि भावलाई जोड दिन सकिन्छ। (३) कुनै कुरा आफूलाई कस्तो लाग्छ भनेर देखाउन पनि वक्ताले भावलाई जोड दिन सक्छन्। (४) भाषणको मुख्य बुँदा प्रस्ट पार्न पनि यो तरिका प्रयोग गर्न सकिन्छ।
यस्ता तरिकामा भावलाई जोड दिंदा वक्ताले वा मानिसहरूसामु पढ्ने व्यक्तिले आफ्नो विषयवस्तु राम्ररी बुझेको हुनुपर्छ र श्रोताले यसबाट प्रशस्त लाभ उठाऊन् भन्ने चाहना राख्नुपर्छ। एज्राको समयमा दिइएको निर्देशनबारे नहेम्याह ८:८ मा यसरी लेखिएको छ: “तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ बुझाइदिए। औ जे पढिएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।” कुरा प्रस्ट छ, पढिएको कुराको अर्थ श्रोताले बुझ्नुपर्छ, मनमा राख्नुपर्छ र जीवनमा उतार्नुपर्छ भनेर परमेश्वरको वचन पढेर अर्थ खुलाइदिनेहरूले राम्ररी बुझेका थिए।
जोड दिन गाह्रो हुन सक्ने कारण: कुराकानी गर्दा धेरैजसो मानिस आफूले भन्न चाहेको कुरा राम्ररी बुझाउन सक्छन्। तर अरूले लेखेको विषय पढ्दा भने कहाँ जोड दिने भनेर ठम्याउन तिनीहरूलाई गाह्रो हुन्छ। तर विषयवस्तु राम्ररी बुझेको छ भने जोड दिने ठाउँ ठम्याउन सजिलो हुन्छ। त्यसको लागि लेखिएको कुरा राम्ररी पढ्नुपर्छ। त्यसैले सभामा पढ्ने जिम्मा पाउनुभयो भने लर्तरो तयारीले पुग्दैन।
जोड दिनु अर्थपूर्ण होस् वा नहोस्, कसै-कसैको भने भावलाई जोड दिनुको सट्टा छिनछिनमै जोड दिने बानी हुन्छ। कोही भने विभक्ति, प्रत्यय वा संयोजकलाई जोड दिने गर्छन्। जोड दिंदा अर्थ प्रस्ट भएन भने श्रोताको ध्यान अन्तै जान्छ।
भावलाई जोड दिन कुनै-कुनै वक्ता एकदमै चर्को आवाजमा बोल्छन् जसले गर्दा श्रोतालाई हप्कीदप्की लगाएको महसुस हुन्छ। यसो गर्दा पक्कै पनि नतिजा राम्रो हुँदैन। ठीकसँग भावलाई जोड दिइएको छैन भने श्रोताले आफूलाई होच्याएको महसुस गर्न सक्छन्। तर यसको विपरीत श्रोतालाई माया गरेकोले र आफूले बताएको कुरा धर्मशास्त्रमा आधारित छ र व्यावहारिक छ भनेर बुझाउन चाहेकोले मीठो तरिकामा बताउनु बेस हुन्छ।
कसरी प्रगति गर्न सकिन्छ? भावलाई ठीकसँग जोड दिन नसक्ने व्यक्तिलाई आफ्नो यस्तो समस्याबारे थाहै हुँदैन। अरूले नै उसलाई त्यो समस्याबारे बताइदिनुपर्छ। यस क्षेत्रमा तपाईंले उन्नति गर्नुपर्छ भने स्कूल निरीक्षकले तपाईंलाई मदत गर्नेछन्। यसबाहेक कुनै राम्रो वक्तासँग मदत माग्न पनि नहिचकिचाउनुहोस्। तपाईंले पढ्दा वा बोल्दा तिनलाई सुन्न लगाउनुहोस् र प्रगति गर्न सुझाव माग्नुहोस्।
सुरुमा त स्कूल निरीक्षकले तपाईंलाई प्रहरीधरहरा-को कुनै लेख पढेर अभ्यास गर्ने सुझाव देलान्। ‘लेखको हरेक वाक्य विश्लेषण गर्नुहोस् र कुन शब्द वा वाक्यांशमा जोड दिने भनेर ठम्याउनुहोस्। यसो गर्दा लेखले भन्न खोजेको कुरा श्रोताले राम्ररी बुझ्न सक्नेछन्’ भनेर स्कूल निरीक्षकले तपाईंलाई भन्नेछन्। जोड दिन लेखमा कतै शब्दहरू छड्के गरिएका, गाढा पारिएका, उद्धरण-चिह्नभित्र राखिएका छन् वा शब्दहरूमुनि धर्सो तानिएको छ कि भनेर पनि ध्यान दिन स्कूल निरीक्षकले भन्नेछन्। नबिर्सनुहोस्, वाक्यमा शब्दहरूलाई समूहको रूपमा पढ्दा मात्र अर्थ खुल्छ। प्रायजसो अवस्थामा कुनै एउटा शब्दलाई मात्र होइन तर वाक्यांशलाई जोड दिनुपर्ने हुन्छ। कुनै-कुनै भाषामा मात्राहरू प्रयोग गरिने भएकोले भावलाई ठीकसँग जोड दिन विद्यार्थीलाई मात्रामा ध्यान दिनको लागि प्रोत्साहन दिइन्छ।
त्यसपछि स्कूल निरीक्षकले तपाईंलाई जोड दिन कुनै वाक्यलाई मात्र होइन, तल-माथिका वाक्यलाई पनि राम्ररी बुझेको हुनुपर्छ भनेर बताउनेछन्। यसबाहेक यी कुरालाई पनि ध्यान दिनै पर्छ:- अनुच्छेदले भन्न खोजेको मुख्य कुरा के हो? त्यो कुरा बुझेपछि कुन-कुन वाक्यलाई जोड दिने ठम्याउन सक्नुहुन्छ। लेखको शीर्षक हेर्नुहोस् र तपाईंले पढ्न लागेको अनुच्छेदमाथिको उपशीर्षकमा ध्यान दिनुहोस्। यसलाई ध्यानमा राख्दा तपाईं कुन शब्द वा कुन वाक्यांशलाई जोड दिनुहुन्छ? भावलाई ठीकसँग जोड दिन यी सब कुरामा विचार पुऱ्याउनुपर्छ। तर धेरै शब्दमा एकदमै जोड दिने पनि नगर्नुहोस्।
स्वतःस्फूर्त तरिकामा बोलिरहेको होस् वा पढिरहेको होस्, स्कूल निरीक्षकले तपाईंलाई तर्कअनुसार भावलाई जोड दिने प्रोत्साहन दिन सक्छन्। तपाईंले गरेको तर्क कहिले सकिन्छ वा तपाईंको प्रस्तुतिमा एउटा बुँदा सकिएर अर्को बुँदा कहिले सुरु हुन्छ, तपाईंले बुझेको हुनुपर्छ। यस्ता कुरा राम्ररी बुझिनेगरि भाषण दिनुभयो भने श्रोताले तपाईंको प्रस्तुति राम्ररी बुझ्नेछन्। यसको लागि तपाईं यस्ता संयोजक प्रयोग गर्न सक्नुहुन्छ:- सुरुमा, त्यसपछि, अन्तमा, त्यसकारण, बरु, तापनि, किनकि इत्यादि।
तपाईंले विशेष भावसहित जोड दिन चाहेको बुँदामा पनि स्कूल निरीक्षकले तपाईंको ध्यान खिच्न सक्छन्। यसको लागि तपाईंले यस्ता शब्दमा जोड दिनुपर्ने हुन सक्छ:- झनै, सधैं, पक्कै पनि, महत्त्वपूर्ण इत्यादि। त्यसो गर्दा तपाईंले भनेको कुराले श्रोताको भावनामा फरक पार्छ। यसबारे “न्यानोपन र भावमय” शीर्षकको अध्याय ११ मा अझै सिक्न सकिन्छ।
भावलाई ठीकसँग जोड दिने क्षेत्रमा उन्नति गर्न जुन बुँदा श्रोताले सम्झून् भन्ने चाहनुहुन्छ, पहिला आफैले मनमा ठप्प बसाल्न पनि तपाईंलाई प्रोत्साहन दिइनेछ। अध्याय ७,“मुख्य विचारहरूमा जोड दिनुहोस्”-मा मानिसहरूसामु कसरी पढ्ने त्यसबारे र अध्याय ३७, “मुख्य बुँदालाई जोड दिनुहोस्”-मा मानिसहरूसामु कसरी बोल्ने त्यसबारे अझै छलफल गरिनेछ।
प्रचारमा आफ्नो क्षमता तिखार्न चाहनुहुन्छ भने बाइबल पद कसरी पढेर सुनाउनुहुन्छ, त्यसमा ध्यान दिनुहोस्। पद पढ्नुअघि आफूलाई सधैं यसरी सोध्ने गर्नुहोस्:- ‘म यो पद किन पढ्दै छु?’ शब्दहरू ठीकसँग भन्न जानेर मात्र शिक्षकको जिम्मा पूरा हुँदैन। लेख भावसहित पढेर मात्र पनि पुग्दैन। तपाईं कुनै प्रश्नको जवाफ दिंदै हुनुहुन्छ वा बाइबल सत्य सिकाउँदै हुनुहुन्छ भने छलफल भइरहेको विषयलाई बाइबल पदबाटै समर्थन गर्नुपर्छ। यसको लागि पढिएको पदको सम्बन्धित शब्दमा वा वाक्यांशमा जोड दिनु उपयुक्त हुन्छ। त्यसो गर्नुभएन भने तपाईंले बुझाउन खोजेको कुरा श्रोताले बुझ्न सक्दैनन्।
भावलाई ठीकसँग जोड दिन कुनै खास शब्द वा वाक्यांशलाई जोड दिनुपर्ने भए तापनि कम अनुभवी वक्ताले ती शब्द वा वाक्यांशलाई अति नै जोड दिने गर्छन्। यसो गर्दा भर्खरै सङ्गीत सिकिरहेको व्यक्तिले सुर-ताल केही नमिलाई बाजा बजाएको जस्तै हुन्छ। तर धेरै अभ्यास गरेपछि भने सुर-ताल मिलेर मीठो धुन तयार हुन्छ।
भावलाई ठीकसँग जोड दिने केही तरिका सिकिसकेपछि अनुभवी वक्ताले भाषण दिएको तरिका हेरेर तपाईं अझै सिक्न सक्नुहुन्छ। विभिन्न तरिकाले जोड दिंदा श्रोतामा कस्तो प्रभाव पर्दो रहेछ, त्यो पनि बुझ्नुहुन्छ। आफूले भन्न खोजेको कुराको अर्थ प्रस्टसँग बुझाउन फरक-फरक तरिकाले जोड दिनु किन महत्त्वपूर्ण छ भनेर पनि तपाईं सिक्न सक्नुहुन्छ। भावलाई ठीकसँग जोड दिन सिकिसकेपछि तपाईंले पढ्दा र बोल्दा धेरै प्रभावकारी हुन्छ।
भावलाई ठीकसँग जोड दिने तरिका सिकिहालें भनेर नबस्नुहोस्। प्रभावकारी तरिकामा कुराकानी गर्ने हो भने भावलाई ठीकसँग जोड दिन पोख्त नभएसम्म सिकेको कुरा प्रयोग गरिरहनुहोस्। साथै अरूलाई स्वाभाविक लाग्ने तरिकामा भावलाई जोड दिनुहोस्।