अध्याय २१
बाइबल पद ठीक ठाउँमा जोड दिएर पढ्नुहोस्
परमेश्वरका उद्देश्यबारे अरूसित व्यक्तिगत रूपमा कुरा गर्दा वा मञ्चबाट बताउँदा तपाईंको कुरा परमेश्वरको वचनमा केन्द्रित हुनुपर्छ। यसो गर्नुमा साधारणतया बाइबल पद पढ्नु समावेश छ र पद राम्ररी पढ्नुपर्छ।
ठीक ठाउँमा जोड दिन भावसहित पढ्नुपर्छ। भावसहित बाइबल पद पढ्नुपर्छ। केही उदाहरण विचार गर्नुहोस्। तपाईं भजन ३७:११ ठूलो स्वरले पढ्दै हुनुहुन्छ भने त्यस पदमा प्रतिज्ञा गरिएको शान्तिको सुखद प्रत्याशा तपाईंको आवाजमा झल्किनुपर्छ। दुःखकष्ट र मृत्युको अन्तबारे प्रकाश २१:४ पढ्दै हुनुहुन्छ भने त्यस पदमा भविष्यवाणी गरिएको आश्चर्यजनक छुटकाराप्रतिको हार्दिक कृतज्ञता तपाईंको आवाजमा झल्किनुपर्छ। पापमा डुबेको “महान् बेबिलोन”-बाट बाहिर निस्कन प्रकाश १८:२, ४, ५ मा गरिएको आह्वानलाई अविलम्बी भावसहित पढ्नुपर्छ। तपाईंले देखाउने भाव हृदयदेखि नै निस्केको हुनुपर्छ, चाहिनेभन्दा बढी भाव देखाउनुहुँदैन। भाव कत्तिको देखाउने भन्ने कुरा पढ्ने पद र त्यसलाई प्रयोग गर्ने तरिकामा भर पर्छ।
ठीक-ठीक शब्दमा जोड दिनुहोस्। कुनै पदबारे तपाईंले भन्ने कुरा त्यस पदको केही भागमा केन्द्रित छ भने तपाईंले त्यो भागलाई जोड दिएर पढ्नुपर्छ। उदाहरणका लागि मत्ती ६:३३ पढ्दा तपाईं “उहाँको राज्यलाई . . . पहिलो स्थान दिइरहो” भन्ने कुराको अर्थ खुलाउन चाहनुहुन्छ भने “उहाँको स्तरबमोजिमको असल कामलाई” र “यी सबै कुरा” भन्ने वाक्यांशहरूमा विशेष जोड दिनुहुँदैन।
सेवा सभाको कुनै भागमा तपाईंले मत्ती २८:१९ पढ्ने विचार गर्नुभएको होला। त्यस पदमा तपाईंले कुन-कुन शब्दमा जोड दिनुपर्छ? गृह बाइबल अध्ययन सुरु गर्न लगनशील हुनुपर्छ भनेर प्रोत्साहन दिन चाहनुहन्छ भने “चेला बनाओ” भन्ने शब्दमा जोड दिनुपर्छ। अर्कोतर्फ अर्कै देशबाट बसाइँ सरेका मानिसहरूसित बाइबल सत्य बाँड्ने ख्रीष्टियन जिम्मेवारीबारे बताउने विचार गर्नुभएको छ भने वा कुनै प्रकाशकलाई आवश्यकता धेरै भएको ठाउँमा सरेर सेवा गर्न प्रोत्साहन दिन चाहनुहुन्छ भने तपाईंले “सबै जातिका मानिसहरूलाई” भन्ने वाक्यांशलाई जोड दिनुपर्छ।
प्रायः कुनै प्रश्नको जवाफ दिंदा अथवा अरूले विवादास्पद ठानेका विषयमा तर्क गर्दा बाइबल पद प्रयोग गरिन्छ। पदमा भएका हरेक भावलाई एकैनासले जोड दिइयो भने श्रोताले तपाईंको कुरा र पदबीचको सम्बन्ध बुझ्न नसक्लान्। आफूले भन्न चाहेको कुरा तपाईंलाई स्पष्ट होला तर श्रोतालाई त्यो स्पष्ट हुँदैन।
उदाहरणका लागि तपाईं बाइबलबाट परमेश्वरको नाम भएको प्रकाश ४:११ पढ्दै हुनुहुन्छ भने “तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य” भन्ने अंशमा पूरै जोड दिंदा घरधनीले परमेश्वरको व्यक्तिगत नाम छ भनेर स्पष्टसित बुझ्न सक्दैनन्। तपाईंले “यहोवा” नाममा जोड दिनुपर्छ। तर यहोवाको सार्वभौमिकताबारे छलफल गर्दा सोही पद पढ्दै हुनुहुन्छ भने तपाईंले मुख्यतया “तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य” भन्ने अंशमा जोड दिनुपर्छ। त्यसैगरि विश्वासका साथसाथै काम पनि गर्नुपर्छ भन्ने कुराको महत्त्व बुझाउन याकूब २:२४ पढ्दा तपाईंले “काम” शब्दमा जोड नदिई “परमेश्वरको नजरमा असल ठहराइनेछ” भन्ने अंशमा जोड दिनुभयो भने भन्न खोजेको कुरा श्रोताले बुझ्दैनन्।
अर्को उदाहरण हामी रोमी १५:७-१३ मा पाउँछौं। यी पद यहूदीहरू र अन्यजाति दुवै मिलेर बनेको मण्डलीलाई प्रेषित पावलले लेखेको पत्रको एउटा अंश हो। अन्यजातिहरूले पनि “परमेश्वरले देखाउनुभएको कृपाको लागि . . . उहाँको प्रशंसा” गर्न सकून् भनेर खतना भएका यहूदीहरूले मात्र होइन, अन्यजातिहरूले पनि येशूको सेवाको कामबाट लाभ उठाउन सक्छन् भनी पावल तर्क गर्छन्। त्यसपछि पावल चारवटा पद उद्धरण गरेर अन्यजातिसामु रहेको त्यो मौकातर्फ ध्यान खिच्छन्। पावलले बताउन खोजेको कुरालाई जोड दिन तपाईंले पदका यी उद्धरणलाई कसरी पढ्नुपर्छ? जोड दिन तपाईं पद ९ को “अन्यजातिहरू,” पद ११ को “सबै मानिस,” पद १२ को “जाति-जातिमाथि” र पद ९-१२ को “जाति-जातिका मानिसहरू”-मा चिनो लगाउन सक्नुहुन्छ। यी शब्दमा जोड दिंदै रोमी १५:७-१३ पढ्नुहोस्। यसरी पढ्दा पावलले पेस गरेको तर्क स्पष्ट हुन्छ र बुझ्न सजिलो हुन्छ।
जोड दिने विभिन्न तरिका: तपाईंले व्यक्त गर्न चाहेको कुरा प्रस्ट हुने शब्दलाई विभिन्न तरिकाले जोड दिन सकिन्छ। तर त्यो तपाईंले प्रयोग गर्ने पद र भाषणको भूमिकामा भर पर्छ। केही सुझाव तल दिइएका छन्।
आवाजद्वारा: व्यक्त गर्न चाहेको कुरा प्रस्ट हुने शब्दलाई वाक्यको बाँकी भागभन्दा छुट्टै सुनिनेगरि आवाजद्वारा जोड दिनुपर्छ। आवाज ठूलो बनाएर वा सानो बनाएर जोड दिन सकिन्छ। थुप्रै भाषामा स्वरको तिखोपनमा घटबढ गरेर जोड दिन सकिन्छ। तर त्यसरी स्वरको तिखोपनमा घटबढ गर्दा कुनै-कुनै भाषामा अर्थ नै फरक पर्ने पनि हुन सक्छ। मुख्य विचारलाई बिस्तारै बताउँदा त्यो गहकिलो सुनिन्छ। तर आवाजद्वारा मुख्य विचारलाई जोड दिन नसकिने भाषामा भने त्यस भाषाको चलनअनुसार जसरी जोड दिइन्छ, त्यसै गर्दा चाहेको नतिजा हासिल गर्न सकिन्छ।
रोकिएर: पदको कुनै भाग पढ्नुअघि वा पढिसकेपछि वा दुवै पटक एकछिन रोकिंदा जोड दिन सकिन्छ। मुख्य विचार भएको पद पढ्नुअघि एकछिन रोकिंदा श्रोतामा उत्सुकता जगाउन सकिन्छ भने पढिसकेपछि एकछिन रोकिंदा मुख्य विचार मनभित्रसम्म पुऱ्याउन मदत मिल्छ। तर पद पढ्दा घरीघरी रोकिनुभयो भने मुख्य बुँदा प्रस्ट हुँदैन।
दोहोऱ्याएर: कुनै भाग पढ्दा पढ्दै बीचमै रोकिएर जोड दिन चाहेको शब्द वा वाक्यांशलाई फेरि पढेर जोड दिन सक्नुहुन्छ। प्रायजसोलाई पद पढिसकेपछि पदको मुख्य शब्द फेरि दोहोऱ्याउन मन पर्छ।
इशारा गरेर: शरीरको वा अनुहारको हावभावद्वारा अक्सर कुनै शब्दलाई वा वाक्यांशलाई जोड दिन सकिन्छ।
स्वरमा उतार-चढाव ल्याएर: कुनै-कुनै भाषामा स्वरमा उतार-चढाव ल्याएर पढ्दा अर्थ नै फरक पर्न जान्छ र त्यही अंशमा ध्यान खिचिन्छ। त्यसैले विशेषगरि व्यङ्ग्यात्मक वाक्य पढ्दा हामीले सोचविचार गरेर ठीक तरिकाले पढ्नुपर्छ।
अरूले पद पढ्दा जोड दिनुहोस्। घरधनीले बाइबल पद पढ्दा तिनले कुनै पनि शब्दमा जोड नदिईकन वा गलत ठाउँमा जोड दिएर पढ्छन्। त्यतिबेला तपाईं के गर्न सक्नुहुन्छ? साधारणतया पदको उपयोगिता बताएर अर्थ खुलाउनु बेस हुन्छ। त्यसरी उपयोगिता बताइसकेपछि पदले भन्न खोजेको कुरा प्रस्ट पार्न सकिने शब्दतर्फ ध्यान खिच्नुहोस्।