अध्याय ७
मुख्य विचारहरूमा जोड दिनुहोस्
राम्ररी पढ्ने व्यक्तिले वाक्य-वाक्यमा वा अनुच्छेदमा मात्र ध्यान दिंदैनन्। बरु तिनी विषयवस्तुको मुख्य विचारहरूलाई मनमा राखेर पढ्छन्। यसो गर्दा कहाँ जोड दिने भन्ने कुरामा फरक पर्छ।
यसरी पढिएको छैन भने प्रस्तुति प्रभावकारी हुँदैन; कुनै पनि कुरा प्रस्ट हुँदैन। प्रस्तुति सिद्धिएपछि त्यसमा सम्झन लायकको कुरा के थियो भन्नै गाह्रो हुन्छ।
बाइबलबाट कुनै विवरण पढ्दा मुख्य विचारहरूमा जोड दिइएको छ भने उक्त पढाइ जीवन्त हुन्छ। गृह बाइबल अध्ययनमा होस् वा सभामा होस्, यसरी अनुच्छेद पढ्दा पढाइ अझै अर्थपूर्ण हुन्छ। अधिवेशनमा पाण्डुलिपिबाट भाषण दिंदा मुख्य विचारहरूमा जोड दिनु एकदमै महत्त्वपूर्ण छ।
यसो गर्ने तरिका: तपाईंलाई स्कूलमा बाइबलबाट केही भाग पढ्ने जिम्मेवारी दिइन सक्छ। तपाईंले केमा जोड दिएर पढ्नुपर्छ? कुनै मुख्य विचार वा घटनालाई आधार बनाएर तयार पारिएको लेख पढ्दा उक्त विचार वा घटना प्रस्ट हुनेगरि जोड दिएर पढ्नुपर्छ।
कविता होस् वा साधारण लेख; उखान-टुक्का होस् वा कथा, तपाईंले राम्ररी पढ्नुभयो भने मात्र श्रोताले लाभ उठाउन सक्छन्। (२ तिमो. ३:१६, १७) यसको लागि तपाईंले पढ्ने भागलाई ध्यान दिनुपर्छ र श्रोतालाई पनि बिर्सनुहुँदैन।
गृह बाइबल अध्ययनमा होस् वा सभामा होस्, तपाईं कुनै प्रकाशनबाट पढ्दै हुनुहुन्छ भने कस्ता मुख्य विचारहरूमा जोड दिनुपर्छ? छापिएको प्रश्नको जवाफलाई मुख्य विचार मानेर जोड दिनुहोस्। साथै गाढा अक्षरमा लेखिएको उपशीर्षक मुनिको भाग पढ्दा उपशीर्षकसँग मेल खाने विचारमा जोड दिनुहोस्।
मण्डलीमा भाषण दिंदा एक-एक शब्द लेखेर पाण्डुलिपि बनाउने सल्लाह हामी तपाईंलाई दिंदैनौं। तर कहिलेकाहीं अधिवेशनको कुनै-कुनै भाषणमा पाण्डुलिपि उपलब्ध गराइएको हुन्छ। किन? संसारभरका सबै अधिवेशनमा एउटै तरिकाले उस्तै विचार प्रस्तुत गर्न सकियोस् भनेर। पाण्डुलिपिबाट भाषण दिने बेला मुख्य विचारहरूमा जोड दिन वक्ताले सबैभन्दा पहिला विषयवस्तु राम्ररी अध्ययन गर्नुपर्छ। मुख्य बुँदा के-के हुन्? वक्ताले ती पत्ता लगाउनुपर्छ। तिनलाई रोचक लागेको कुरा नै मुख्य बुँदा हो भन्ठान्नुहुँदैन। विषयवस्तु जुन कुराको आधारमा विस्तार गरिएको छ, वास्तवमा ती नै मुख्य विचारहरू हुन्। कहिलेकाहीं पाण्डुलिपिमा भाषणको मुख्य विचारलाई छोटो वाक्यको रूपमा दिइएको हुन्छ र त्यसपछि छोटो विवरण वा तर्क दिइएको हुन्छ। प्रायजसो त मुख्य विचारलाई समर्थन गर्ने प्रमाण पेस गरिसकेपछि कुनै बलियो तर्क प्रस्तुत गरिन्छ। यस्ता मुख्य बुँदाहरू पत्ता लगाइसकेपछि वक्ताले पाण्डुलिपिमा चिनो लगाउनुपर्छ। प्रायः मुख्य बुँदा थोरै हुन्छ अर्थात् पाँचवटा वा छवटाभन्दा धेरै हुँदैन। यसरी मुख्य बुँदा पत्ता लगाइसकेपछि श्रोताले पनि मुख्य विचारहरू झट्टै चिन्न सक्ने तरिकामा वक्ताले पाण्डुलिपि पढ्ने अभ्यास गर्नुपर्छ। यी नै भाषणका मुख्य विचारहरू हुन्। विषयलाई ठीक ढङ्गमा जोड दिएर प्रस्तुत गरिएको छ भने मुख्य विचारहरू सम्झन सक्ने सम्भावना धेरै हुन्छ। वक्ताको लक्ष्य यस्तै हुनुपर्छ।
मुख्य बुँदा कुन हो भनेर श्रोताले ठम्याउन सक्नेगरि वक्ताले विभिन्न तरिकाले जोड दिन सक्छन्। जस्तै:- उत्साह बढाएर, बोल्ने गति परिवर्तन गरेर, गहिरो भाव व्यक्त गरेर, सुहाउँदो हावभाव देखाएर इत्यादि।