अध्याय १४
स्वाभाविकता
स्वाभाविक तरिकामा आफ्नो कुरा व्यक्त गर्नुभयो भने अरूले तपाईंको कुरा पत्याउँछन्। आफ्नो परिचय लुकाउन खोज्ने व्यक्तिले भनेको कुरामाथि तपाईं विश्वास गर्नुहुन्छ र? अहँ! पटक्कै गर्नुहुन्न। त्यसैले तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै हुनुहोस्।
स्वाभाविक हुनु, लापरबाही हुनु होइन। व्याकरणका नियमलाई बेवास्ता गर्नु, गलत उच्चारण गर्नु र शब्द चपाएर बोल्नु उपयुक्त हुँदैन। ख्रीष्टियनले प्रयोग गर्न नमिल्ने अशिष्ट बोली बोल्नुहुँदैन। हामी आफ्नो बोलीवचन र व्यवहारमा सधैं मर्यादित हुन चाहन्छौं। यसरी स्वाभाविक भई बोल्ने व्यक्ति अति नै अनौपचारिक रूपमा प्रस्तुत पनि हुँदैन, अरूलाई प्रभावित पार्न लागिपर्ने पनि गर्दैन।
प्रचारमा: साक्षी दिन कसैको घरअघि उभिंदा वा सार्वजनिक ठाउँमा कसैलाई साक्षी दिन खोज्दा के तपाईं हडबडिनुहुन्छ? हामीमध्ये प्रायजसो त हडबडिन्छौं तर कोही-कोही भने अति नै हडबडिन्छन्। तनावग्रस्त भएकोले तिनीहरूको बोली नै काँप्न थाल्छ वा अस्वाभाविक सुनिन्छ। अथवा हात चलाएको तरिका वा शिर हल्लाएको तरिकाबाट उक्त व्यक्ति आत्तिएका छन् भनेर प्रस्टै देखिन्छ।
प्रकाशक यसरी हडबडिनुका विभिन्न कारण होलान्। मानिसमा कस्तो प्रभाव पर्ला भनेर वा प्रस्तुति सफल होला कि नहोला भनेर मात्र तिनले सोचिरहेका होलान्। त्यस्तो लाग्नु असामान्य होइन। तर यी कुराबारे चाहिनेभन्दा धेरै सोच्न थाल्यौं भने समस्या नै हुन्छ। प्रचारमा जानुअघि हडबडिनुभयो भने यो समस्याको समाधान कसरी गर्न सक्नुहुन्छ? होसियार भई तयारी गरेर अनि यहोवालाई व्यग्र प्रार्थना गरेर। (प्रेषि. ४:२९) यहोवाले मानिसलाई प्रमोदवनमा स्वस्थ अनि अनन्त जीवनको आनन्द उठाउन निम्तो दिएर देखाएको अपार दयाबारे सोच्नुहोस्। जसलाई मदत गरिरहनुभएको छ, तिनीहरूबारे र तिनीहरूले सुसमाचार सुन्नै पर्ने आवश्यकताबारे सोच्नुहोस्।
मानिसहरूसित छनौट गर्ने अधिकार भएकोले तिनीहरू हाम्रो सन्देश स्वीकार्न पनि सक्छन् वा नकार्न पनि सक्छन् भनेर नबिर्सनुहोस्। इस्राएलमा येशूले प्रचार गर्दा उहाँलाई मानिसहरूले त्यस्तै गरे। जेहोस्, तपाईंले पाएको जिम्मेवारी हो, प्रचार गर्नु। (मत्ती २४:१४) मानिसहरूले तपाईंलाई बोल्नै दिएनन् भने तपाईंको उपस्थितिले मात्र पनि साक्षी दिन्छ। तपाईं सफल हुनुभएको हो किनकि तपाईंले यहोवा परमेश्वरको इच्छाबमोजिम चल्न आफैलाई उहाँमा सुम्पनुभएको छ। त्यसैले प्रचारमा बोल्ने मौका पाउनुभयो भने तपाईंको बोली कस्तो हुनुपर्छ? अरूको आवश्यकतामा ध्यान दिन सिक्नुभयो भने तपाईंको बोली स्वाभाविक अनि मीठो सुनिन्छ।
सधैंको जस्तै बोल्नुभयो र व्यवहार गर्नुभयो भने तपाईंको कुरा सुन्नेहरूलाई सजिलो महसुस हुन्छ। तपाईंले बाइबलबाट बताउन खोजेको कुरा सुन्न सायद तिनीहरू अझै तयार होलान्। भाषण नै सुनाउनुको साटो तिनीहरूसित कुराकानी गर्नुहोस्। मित्रैलो हुनुहोस्। तिनीहरूमा चासो देखाउनुहोस् र तिनीहरूले भन्न खोजेको कुरा सुन्नुहोस्। स्थानीय चलनअनुसार अपरिचित व्यक्तिसित कुराकानी गर्दा कुनै खास किसिमको भाषा प्रयोग गर्नुपर्छ अथवा कुनै खास किसिमको शिष्टाचार देखाउनुपर्छ भने ती चलनअनुसार गर्नुहोस्। हँसिलो भई प्रस्तुत हुनुभएको छ भने त सुनमा सुगन्ध भनेझैं हुन्छ।
मञ्चमा: मानिसहरूको जमातलाई सम्बोधन गर्दै हुनुहुन्छ भने पनि प्रायजसो अवस्थामा कुराकानी गरेझैं बोल्नु राम्रो हुन्छ। श्रोता धेरै छन् भने तपाईंले टड्कारो आवाजमा बोल्नुपर्ने हुन्छ। भाषण कण्ठ पार्नुभएको छ अथवा भाषणको एक-एक शब्द लेख्नुभएको छ भने त्यसबाट तपाईं भाषणमा ठीक-ठीक शब्द प्रयोग गर्ने सन्दर्भमा अति नै चिन्ता गर्नुहुन्छ भन्ने देखिन्छ। हुन त ठीक-ठीक शब्द प्रयोग गर्नु महत्त्वपूर्ण छ, तर त्यसलाई चाहिनेभन्दा धेरै ध्यान दिएमा भाषण अरट्ठो र औपचारिक सुनिन्छ। स्वाभाविकता भन्ने कुरा बाँकी रहँदैन। के विचार व्यक्त गर्ने भन्नेबारे तपाईंले पहिल्यै सोच्नुपर्छ। प्रयोग गरिने शब्द-शब्दलाई होइन, व्यक्त गरिने विचारलाई धेरै ध्यान दिनुपर्छ।
सभामा तपाईंको अन्तरवार्ता लिइँदैछ भने पनि त्यही कुरा लागू हुन्छ। राम्ररी तयारी गर्नुहोस् तर जवाफ दुरुस्तै पढेर सुनाउने वा कण्ठ पारेको जवाफ दिने नगर्नुहोस्। चाहिने मात्रामा स्वर परिवर्तन गर्दा तपाईंको बोली स्वाभाविक सुनिनेछ।
ईश्वरतान्त्रिक सेवा स्कूलमा काम गर्न दिइएका विभिन्न बुँदालाई बढ्तै महत्त्व दियौं भने हाम्रो बोली र प्रस्तुति नाटकीय हुन्छ। जस्तै, तपाईंले प्रस्टसित बोल्नुपर्छ र सही उच्चारण गर्नुपर्छ, तर तपाईंको बोली नै अस्वाभाविक सुनिनेगरि त होइन। जोड दिन गरिने इशारा अथवा वर्णनात्मक इशारा आवश्यक ठाउँमा सही तरिकाले प्रयोग गर्नुभएको छ भने तपाईंको भाषण जीवन्त हुन्छ। तर अचाक्ली इशारा गर्न थाल्नुभयो भने श्रोताको ध्यान तपाईंको कुरामा होइन इशारामा जान्छ। सबैले सुन्नेगरि बोल्नुपर्छ तर चर्को अनि कर्कश आवाजमा होइन। बेलाबेलामा उत्साहित हुनु त राम्रै होला तर ज्यादै उत्साहित हुनदेखि भने जोगिनै पर्छ। स्वर परिवर्तन गर्नुहोस्, उत्साहित हुनुहोस् र भावना व्यक्त गर्नुहोस्। तर आफूतिर ध्यान खिच्नेगरि अथवा श्रोतालाई नै अप्ठ्यारो लाग्नेगरि होइन।
कसै-कसैले भाषण दिंदा मात्र होइन अरू बेला पनि स्वतः प्रस्टसित उच्चारण गर्ने गर्छन्। अरू भने ठेट शब्द प्रयोग गरेर बोल्न सिपालु हुन्छन्। महत्त्वपूर्ण कुरा, हरेक दिन ठीकसित बोल्नु र ख्रीष्टियन मर्यादासहित व्यवहार गर्नु हो। त्यसो गर्दा मञ्चमा तपाईं सजिलै र स्वाभाविक तरिकामा बोल्न सक्नुहुन्छ।
मानिसहरूसामु पढ्दा: मानिसहरूसामु स्वाभाविक तरिकामा पढ्न मेहनत गर्नुपर्छ। त्यसमा सफल हुन लेखका मुख्य विचारहरू पत्ता लगाउनुपर्छ र ती विचार कसरी अघि बढाइएका छन्, थाह पाउनुपर्छ। यी कुरा मनमा ठप्प राख्नुहोस्, नत्रता तपाईंले शब्दहरू मात्रै पढिरहेको हुनेछ। नौला शब्दको उच्चारण कसरी गर्ने, सिक्नुहोस्। चाहिने मात्रामा आवाजमा तिखोपन ल्याएर ठूलो स्वरमा उच्चारण गर्ने प्रयास गर्नुहोस् र विचार पोख्न शब्दहरूलाई वाक्यांशको रूपमा हेर्नुहोस्। नअड्कीकन सरर्र पढ्न नसकुन्जेल बारम्बार यसो गर्नुहोस्। लेखमा भएका कुरासित राम्ररी परिचित हुनुहोस्। त्यसो गर्नुभएको छ भने ठूलो स्वरले पढ्दा पनि तपाईंको पढाइ जीवन्त हुनेछ। यसलाई नै स्वाभाविकता भनिन्छ।
हुन त मानिसहरूसामु हामीले पढ्ने अधिकांश प्रकाशन बाइबलआधारित हुन्छन्। ईश्वरतान्त्रिक सेवा स्कूलमा पनि हामी कुनै अंश पढ्ने भाग पाउँछौं। यसबाहेक प्रचारमा र मञ्चबाट भाषण दिंदा पनि शास्त्रपद पढ्ने गर्छौं। प्रहरीधरहरा अध्ययन र मण्डली बाइबल अध्ययनमा छलफल गरिने लेख भाइहरूलाई पढ्न लगाइन्छ। केही योग्य भाइलाई अधिवेशनमा भाषणको पाण्डुलिपि पढ्न लगाइन्छ। बाइबल पढ्दा होस् वा अन्य सामग्री पढ्दा होस्, उद्धरण गरिएको कसैको भनाइ विषयवस्तु नै जीवन्त हुनेगरि पढ्नुहोस्। लेखमा थुप्रै व्यक्तिको भनाइ उद्धरण गरिएको छ भने प्रत्येकले भनेको कुरा फरक-फरक ढङ्गमा पढ्नुहोस्। होसियार! धेरै नाटकीय नहुनुहोस्! स्वाभाविक तरिकामा पढ्नुहोस्।
स्वाभाविक तरिकामा पढ्नु, कुराकानी गरेको जस्तै हो। त्यो स्वाङ पारेको जस्तो सुनिंदैन, बरु त्यस्तो पढाइमा विश्वस्तता झल्किन्छ।