प्रश्न पेटी
▪ सभाहरूमा अनुच्छेदहरू पढ्ने सन्दर्भमा कुन कुरालाई ध्यान दिनुपर्छ?
प्रहरीधरहरा अध्ययन तथा मण्डली पुस्तक अध्ययनको अधिकांश समय अनुच्छेदहरूको पढाइमा प्रयोग हुन्छ। यसको अर्थ, पढ्ने जिम्मा पाएका भाइले शिक्षकको हैसियतमा गहन जिम्मेवारी वहन गर्छन्। तिनले पाठ्य विषयवस्तुको ‘अर्थ बुझ्ने’ ढंगमा पढ्नुपर्छ जसले गर्दा श्रोताहरू सुन्न मात्र होइन तर कदम चालिहाल्न प्रेरित हुनेछन्। (नहे. ८:८) यसर्थ, पढ्ने भाइले आफूलाई सुम्पिएको जिम्मेवारी राम्ररी तयार गर्नुपर्छ। (१ तिमो. ४:१३; पाठशाला निर्देशन पुस्तक-को [अंग्रेजी] पाठ ६ हेर्नुहोस्।) अर्थपूर्ण जनपढाइका लागि चाहिने केही अत्यावश्यक तत्त्वहरू तल दिइएका छन्।
ठीक ठीक ठाउँमा जोड दिनुहोस्: सही अर्थ बुझाउन कुन कुन शब्द वा बुँदामा जोड दिनुपर्छ भनेर पहिल्यै निर्धारण गर्नुहोस्।
शब्दहरूको सही उच्चारण गर्नुहोस्: श्रोतागणले प्रकाशनमा उल्लिखित अभिव्यक्तिहरू बुझ्नका लागि सही उच्चारण तथा स्पष्ट लबज महत्त्वपूर्ण छन्। नौलो वा कहिलेकाहीं मात्र प्रयोग गरिने शब्दहरूलाई शब्दकोशमा हेर्नुहोस्।
ठूलो स्वरले उत्साहका साथ बोल्नुहोस्: ठूलो स्वरले उत्साहका साथ बोल्दा चासो जाग्छ, भावनाहरू उत्तेजित हुन्छन् र श्रोता उत्प्रेरित हुन्छन्।
न्यानो तथा वार्तालापीय ढंगमा पढ्नुहोस्: कतै नअड्की पढ्न सक्यौं भने स्वाभाविक तथा सरल ढंगमा पढ्न सकिन्छ। पहिले नै तयारी तथा पूर्वाभ्यास गरेको छ भने पढ्ने व्यक्तिले नहडबडाई पढ्नसक्छन् र फलस्वरूप पढाइ एकोहोरो तथा पट्टाइलाग्दो हुनुको साटो आकर्षक हुन्छ।—हब. २:२.
जे छापिएको छ, त्यही पढ्नुहोस्: छापिएको विषयवस्तुलाई स्पष्ट पार्छ भने पादटिप्पणीहरूलगायत बन्धनी र कोष्ठक चिह्नभित्रका सबै जानकारीहरू साधारणतया ठूलो स्वरले पढिन्छ। केवल अपवाद चाहिं स्रोत विषयवस्तुलाई चिनाउने सन्दर्भ सामग्रीहरू हुन्। अनुच्छेदमा जहाँ पादटिप्पणी उल्लेख भएको छ त्यो यसरी पढ्नुपर्छ: “पादटिप्पणी यसो भन्छ . . .” त्यसपछि अनुच्छेदको बाँकी भाग यथावतै पढ्नुहोस्।
जनपढाइ राम्ररी गरियो भने हाम्रो महान् शिक्षकले ‘आज्ञा गर्नुभएका कुराहरू अरूलाई सिकाउन’ त्यसले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।—मत्ती २८:२०.